[1] याकोब आफ्ना पिता परदेशी बनेर बसेको देश कनानमा बसे।
[2] याकोबका वंशको विवरण यही हो। योसेफ सत्र वर्षको जवान हुँदा तिनका दाजुहरूसँग भेडाबाख्राका बगालहरू चराउँथे। एक दिन तिनले आफ्ना पिताका पत्नीहरू बिल्हा र जिल्पाका छोराहरूको खराब व्यवहारको खबर आफ्ना बुबाकहाँ ल्याए।
[3] इस्राएलले योसेफलाई आफ्ना अरू छोराहरूभन्दा धेरै माया गर्थे; किनकि तिनी उनको बुढेसकालमा जन्मेका थिए; अनि तिनले उनका लागि एउटा राम्रो बुट्टेदार लबेदा बनाए।
[4] तिनका दाजुहरूले आफ्ना पिताले तिनलाई उनीहरूलाई भन्दा धेरै माया गरेको देखेर उनीहरूले तिनलाई घृणा गर्थे, र तिनीसँग नरम भएर बोल्दैनथे।
[5] योसेफले एउटा सपना देखे; अनि जब त्यो सपना तिनले आफ्ना दाजुहरूलाई सुनाए, तब उनीहरूले तिनलाई झन् धेरै घृणा गर्न थाले।
[6] तिनले उनीहरूलाई भने, “मैले देखेको सपना सुन्नुहोस्:
[7] हामी खेतमा अन्नका बिटाहरू बाँधिरहेका थियौँ; तब अकस्मात् मेरो बिटा उठेर सीधा खडा भयो; अनि तपाईंहरूका बिटाहरू मेरो बिटाका चारैतिर जम्मा भएर मेरो बिटालाई दण्डवत् गरे।”
[8] यो सुनेर तिनका दाजुहरूले तिनलाई भने, “के तँ हामीमाथि शासन गर्न खोज्दैछस्? के तैँले साँच्चै नै हामीमाथि शासन गर्नेछस्?” अनि त्यो सपना र तिनले भनेका कुराको कारण उनीहरूले तिनलाई झन् धेरै घृणा गरे।
[9] त्यसपछि तिनले अर्को सपना देखे, र तिनले त्यो आफ्ना दाजुहरूलाई सुनाए। तिनले भने, “सुन्नुहोस्, मैले अर्को सपना देखेको छु; अनि यस पटक सूर्य, चन्द्र र एघार ताराहरूले मलाई दण्डवत् गरिरहेका थिए।”
[10] जब तिनले आफ्ना दाजुहरूलाई बताएझैँ त्यो सपना आफ्ना पितालाई पनि बताए; तब तिनका पिताले तिनलाई हप्काउँदै भने, “तैँले देखेको यो सपना कस्तो हो? के तेरी आमा र मैले अनि तेरा दाजुहरूले साँच्चै आएर तेरो सामु भुइँसम्मै निहुरेर तँलाई दण्डवत् गर्नुपर्ने हो?”
[11] तिनका दाजुहरू तिनीप्रति डाही भए; तर तिनका पिताले चाहिँ यस कुरालाई मनमै राखे।
[12] अब तिनका दाजुहरू आफ्ना पिताका बगाल चराउन शेकेमको नजिक गएका थिए।
[13] अनि इस्राएलले योसेफलाई भने, “तँलाई थाहै छ कि तेरा दाजुहरू शेकेमको नजिक बगालहरू चराउँदैछन्। आइज, म तँलाई उनीहरूकहाँ पठाउँछु।” तिनले भने, “हवस्, म जान्छु।”
[14] यसकारण इस्राएलले तिनलाई भने, “गएर हेर्, तेरा दाजुहरू र बगालहरू ठिक छन् कि छैनन्, अनि मकहाँ खबर लिएर आइज।” तब उनले तिनलाई हेब्रोनको बेँसीबाट पठाइदिए। जब योसेफ शेकेममा आइपुगे,
[15] एक जना मानिसले तिनलाई खेततिर यताउति घुमिरहेका देखे, र सोधे, “तिमी के खोज्दैछौ?”
[16] तिनले जवाफ दिए, “म मेरा दाजुहरूलाई खोज्दैछु। उनीहरूले बगाल कहाँ चराउँदैछन्, के तपाईं मलाई भन्न सक्नुहुन्छ?”
[17] ती मानिसले जवाफ दिए, “उनीहरू यहाँबाट गइसके। उनीहरूले हामी ‘दोतानमा जाऊँ’ भन्दै गरेका मैले सुनेको थिएँ।” यसकारण योसेफ आफ्ना दाजुहरूलाई खोज्दै गए, र उनीहरूलाई दोतानको नजिक भेट्टाए।
[18] तर उनीहरूले तिनलाई टाढैबाट देखे, र तिनी उनीहरूकहाँ आइपुग्नुअगि नै तिनको उनीहरूले हत्या गर्ने षड्यन्त्र रचे।
[19] उनीहरूले आपसमा भने, “त्यो स्वप्नदर्शी आउँदैछ!”
[20] “अब आओ, हामी त्यसलाई मारेर एउटा खाडलमा फ्याँकिदिऔँ; अनि एउटा डरलाग्दो जनावरले त्यसलाई खाएछ भनेर भनिदिऔँ। तब त्यसका सपनाहरू के हुँदारहेछन्, हेरौँला।”
[21] जब रूबेनले यो कुरा सुने, तब उनले तिनलाई उनीहरूका हातबाट छुटाउने कोसिस गरे। उनले भने, “हामी त्यसको ज्यानचाहिँ नलिऔँ।
[22] रक्तपात नगरौँ। बरु त्यसलाई यहाँ मरुभूमिको यस खाडलमा फ्याँकिदिऔँ; तर त्यसमाथि हातचाहिँ नउठाऔँ।” रूबेनले तिनलाई तिनीहरूका हातबाट छुटाएर तिनलाई आफ्ना पिताकहाँ फर्काएर लगिदिनका लागि यसो भनेका थिए।
[23] यसकारण जब योसेफ आफ्ना दाजुहरूकहाँ आइपुगे, तब तिनले लगाएका राम्रा बुट्टेदार भएको लामो लबेदा उनीहरूले फुकालेर खोसे।
[24] अनि उनीहरूले तिनलाई लगेर एउटा खाडलमा फ्याँकिदिए। त्यो खाडल रित्तो थियो; त्यसभित्र पानी थिएन।
[25] जब उनीहरू खान बसे, तब उनीहरूले आँखा उठाएर हेरे; अनि गिलादबाट इश्माएलीहरूका एक दल आइरहेका देखे। तिनीहरूले ऊँटहरूमाथि मसलाहरू, सुगन्धित लेप र मूर्र लादेर इजिप्टमा लाँदैथिए।
[26] यहूदाले आफ्ना दाजुभाइहरूलाई भने, “आफ्ना भाइलाई मारेर त्यसको रगत लुकाएर हामीलाई के फाइदा छ र?
[27] बरु हामी यसलाई यी इश्माएलीहरूलाई बेचिदिऔँ, र यसमाथि हातचाहिँ नहालौँ; आखिर जे भए तापनि यो हाम्रै भाइ, हाम्रै मासु र रगत हो।” अनि उनका दाजुभाइहरू सहमत भए।
[28] यसकारण जब ती मिद्यानी व्यापारीहरू नजिक आइपुगे; तिनका दाजुहरूले योसेफलाई खाडलबाट तानेर माथि निकाले, र तिनलाई चाँदीका बीस शेकेलमा इश्माएलीहरूलाई बेचिदिए; जसले तिनलाई इजिप्टमा लगे।
[29] जब रूबेन खाडलमा फर्केर आए, तब योसेफलाई त्यहाँ नदेख्दा उनले आफ्ना वस्त्रहरू च्याते।
[30] उनी आफ्ना भाइहरूकहाँ गएर भने, “त्यो केटो त त्यहाँ छैन! अब म के गरूँ?”
[31] त्यसपछि उनीहरूले योसेफको लबेदा लिए, र एउटा बाख्रा मारेर त्यो लबेदालाई त्यस रगतमा चोपे।
[32] अनि त्यो राम्रो बुट्टेदार भएको लबेदा फर्काएर उनीहरूले आफ्ना पिताकहाँ लगेर भने, “हेर्नुहोस् त, हामीले यो लबेदा भेट्टाएका छौँ; के यो तपाईंको छोराको हो र?”
[33] तिनले त्यो चिनेर भने, “यो त मेरै छोराको लबेदा हो! कुनै डरलाग्दो जङ्गली पशुले योसेफलाई खाएछ क्यारे। पक्कै पनि त्यसलाई खाएर च्यात्तचुत्त पारेछ!”
[34] तब याकोबले आफ्ना वस्त्रहरू च्याते, भाङ्ग्रा ओढे र आफ्नो छोराको लागि धेरै दिनसम्म शोक गरिरहे।
[35] तिनका सबै छोराछोरीहरूले तिनलाई सान्त्वना दिन आए; तर तिनले शान्त हुन मानेनन्। तिनले भने, “होइनँ, म मेरो छोराकहाँ चिहानमा नगएसम्म शोक गरिरहनेछु।” यसरी तिनका पिताले तिनका निम्ति बिलौना गरिरहे।
[36] यही बीचमा ती मिद्यानीहरूले योसेफलाई इजिप्टमा फारोका अधिकारीहरूमध्ये एक जना अङ्गरक्षकका सेनापति पोतिफरलाई बेचिदिए।