[1] अब्राम उनान्सय वर्ष पुग्दा याहवेह तिनीकहाँ प्रकट हुनुभयो र भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ; विश्वासयोग्य र निर्दोष भएर मेरो अगि हिँड्।
[2] अनि म मेरो करार तेरो र मेरो बीचमा बाँध्नेछु, र तेरा सन्तानहरूलाई अत्यन्तै बढाउनेछु।”
[3] त्यसपछि अब्राम घोप्टो परे; तब परमेश्वरले तिनलाई भन्नुभयो,
[4] “हेर्, मेरो करार तँसित यही हुनेछ, तँ धेरै जातिहरूका पिता हुनेछस्।
[5] अब उसो तँलाई अब्राम भनिनेछैन; तर तेरो नाम अब्राहाम हुनेछ; किनकि मैले तँलाई धेरै जातिहरूका पिता तुल्याएको छु।
[6] म तँलाई धेरै फलवन्त बनाउनेछु; अनि तँबाट नै जाति-जातिहरू बनाउनेछु, र तँबाट राजाहरू निस्कनेछन्।
[7] म मेरो करारलाई तेरो र मेरो, र तँपछिका तेरा सन्तानहरूको बीचमा आउने पुस्ताका निम्ति अनन्तको करारको रूपमा स्थापित गर्नेछु। अनि म तँ र तँपछि आउने तेरो सन्तानका परमेश्वर हुनेछु।
[8] तँ र तेरा पछिका सन्तानहरूलाई अहिले तँ प्रवासी भएर बसेको सम्पूर्ण कनान देश, अनन्तको सम्पत्तिको रूपमा दिनेछु; र म तिनीहरूका परमेश्वर हुनेछु।”
[9] तब परमेश्वरले अब्राहामलाई भन्नुभयो, “तेरो विषयमा चाहिँ, तँ र तँपछिका तेरा सन्तानहरूले आउने पुस्तौँ-पुस्तासम्म मेरो करार पालन गर्नुपर्छ।
[10] मेरो र तेरो, साथै तँपछिका तेरा सन्तानहरूसित मेरो करार यही हो, अर्थात् तिमीहरूले पालन गर्नुपर्ने करार: तिमीहरूका प्रत्येक पुरुषको खतना हुनुपर्छ।
[11] तिमीहरूका खलडीको खतना हुनुपर्छ, र योचाहिँ तँसित बाँधिएको मेरो करारको चिन्ह हुनेछ।
[12] अनि आउने पुस्तौँ-पुस्तासम्म तिमीहरूको बीचमा आठ दिन भएको प्रत्येक पुरुषको खतना हुनैपर्छ। तेरा घरानामा जन्मेका अथवा विदेशीहरूबाट रुपियाँपैसा दिएर किनिएका—जो तेरा आफ्नै सन्तान होइनन्,
[13] चाहे तेरा घरानामा जन्मेका होऊन्, अथवा तेरा रुपियाँपैसाले किनेका होऊन्, तिनीहरू सबैको खतना हुनैपर्छ। तेरो शरीरमा गरिएको मेरो करार अनन्तको करार हुनेछ।
[14] खतना नगरिएको कुनै पनि पुरुष, जसको शरीरमा खलडीको खतना भएको छैन, त्यो व्यक्ति आफ्ना जातिहरूबाट बहिष्कृत गरिनेछ; किनकि त्यसले मेरो करार भङ्ग गरेको छ।”
[15] परमेश्वरले अब्राहामलाई यो पनि भन्नुभयो, “तेरी पत्नी साराईको विषयमा चाहिँ, तैँले त्यसलाई अब उसो साराई भनेर नबोलाउनू; तर त्यसको नाम सारा हुनेछ।
[16] म त्यसलाई आशिष् दिनेछु, र म निश्चय तँलाई त्यसबाट एउटा छोरा दिनेछु। म त्यसलाई आशिष् दिनेछु, र त्यो धेरै जातिकी आमा हुनेछे; त्यसबाट जाति-जातिका राजाहरू उत्पन्न हुनेछन्।”
[17] तब अब्राहाम भुइँमा घोप्टो परे; अनि हाँसेर मनमनै भने, “के एक सय वर्ष पुगेको मानिसको पनि छोरा जन्मला र? के नब्बे वर्ष पुगेकी साराले पनि बच्चा जन्माउलिन् र?”
[18] अनि अब्राहामले परमेश्वरलाई भने, “इश्माएल तपाईंको आशिष्मुनि बाँच्छ भने पनि असल हुनेछ।”
[19] तब परमेश्वरले भन्नुभयो, “तेरी पत्नी साराले तेरो निम्ति एउटा छोरा जन्माउनेछे; र तैँले त्यसको नाम इसहाक राख्नू। म त्यससित र त्यसपछिका सन्तानका निम्ति मेरो करार अनन्तको करारको रूपमा स्थापित गर्नेछु।
[20] अनि इश्माएलको विषयमा चाहिँ मैले तेरो कुरा सुनेको छु; हेर्, म निश्चय नै त्यसलाई आशिष् दिनेछु; म त्यसलाई फलवन्त बनाउनेछु; अनि त्यसलाई संख्यामा असाध्यै बढाउनेछु। त्यो बाह्र शासकहरूका पिता हुनेछ, र म त्यसलाई एउटा महान् जाति बनाउनेछु।
[21] तर मेरो करारचाहिँ म इसहाकसँग नै स्थापित गर्नेछु, जसलाई साराले आउँदो साल यही समयमा तेरो निम्ति जन्माउनेछे।”
[22] परमेश्वर अब्राहामसित कुरा गरिसक्नुभएपछि तिनीबाट गइहाल्नुभयो।
[23] त्यही दिन नै परमेश्वरले तिनलाई भन्नुभएझैँ, अब्राहामले आफ्नो छोरा इश्माएल र आफ्ना घरानामा जन्मेका सबै, र आफ्नो रुपियाँपैसाले किनेका हरेक पुरुषको खलडीको खतना गरे।
[24] अब्राहामको खलडीको खतना हुँदा तिनी उनान्सय वर्षका थिए।
[25] अनि तिनको छोरा इश्माएलको खलडीको खतना हुँदा त्यो तेह्र वर्षको थियो।
[26] अब्राहाम र तिनको छोरा इश्माएलको खतना पनि त्यही दिनमै गरियो।
[27] अनि अब्राहामसँगै तिनका घरानाका, तिनका घरानामा जन्मेका, अथवा बिदेशीबाट किनिएका प्रत्येक पुरुषको खतना भयो।