[1] आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो।
[2] पृथ्वी आकारविनाको र शून्य थियो। गहिराइको सतहमाथि अन्धकार थियो, र पानीमाथि परमेश्वरको आत्मा घुमिरहनुहुन्थ्यो।
[3] अनि परमेश्वरले आज्ञा गर्नुभयो, “उज्यालो होस्,” तब उज्यालो भयो।
[4] अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो। उहाँले उज्यालो र अँध्यारोलाई अलग गर्नुभयो।
[5] परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” भनेर नाम दिनुभयो। साँझ पर्यो र बिहान भयो—पहिलो दिन।
[6] अनि परमेश्वरले आज्ञा गर्नुभयो, “पानीलाई पानीबाट अलग गर्नलाई पानीको बीचमा एउटा अन्तर होस्।”
[7] यसरी परमेश्वरले एउटा अन्तर बनाउनुभयो। अनि अन्तरमुनिको पानी र अन्तरमाथिको पानीलाई अलग-अलग गर्नुभयो। तब त्यस्तै भइहाल्यो।
[8] परमेश्वरले अन्तरलाई “आकाश” भनेर नाम दिनुभयो। साँझ पर्यो र बिहान भयो—दोस्रो दिन।
[9] त्यसपछि परमेश्वरले आज्ञा गर्नुभयो, “आकाशमुनि भएको पानी एक ठाउँमा जम्मा होस् र ओबानो भूमि देखा परोस्।” तब त्यस्तै भयो।
[10] परमेश्वरले सुक्खा जमिनलाई “भूमि” र जम्मा भएको पानीको भागलाई “समुद्र” भनेर नाम दिनुभयो। अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो।
[11] तब परमेश्वरले आज्ञा गर्नुभयो, “भूमिले वनस्पति, किसिम-किसिमका बिउ हुने बोटबिरुवा र बिउ हुने फल फल्ने रूखहरू पृथ्वीमा उमारोस्।” तब त्यस्तै भयो।
[12] भूमिले वनस्पति उमार्यो: आ-आफ्नै प्रकारअनुसारका बिउ भएका बिरुवा र रूखहरूले आ-आफ्नै प्रकारअनुसार बिउ भएका फलका रूखहरू उमार्यो। अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो।
[13] अनि साँझ पर्यो र बिहान भयो—तेस्रो दिन।
[14] तब परमेश्वरले आज्ञा गर्नुभयो, “आकाशको अन्तरमा दिन र रात छुट्याउनलाई ज्योतिहरू होऊन्। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू जनाउने चिन्हहरू होऊन्।
[15] अनि पृथ्वीमा प्रकाश दिनलाई आकाशमाथि ज्योतिहरू चम्कून्।” तब त्यस्तै भइहाल्यो।
[16] परमेश्वरले दुई वटा ठूला ज्योतिहरू बनाउनुभयो—ठूलो ज्योति दिनमा प्रभुत्व गर्नलाई र सानो ज्योति रातमा प्रभुत्व गर्नलाई। उहाँले ताराहरू पनि बनाउनुभयो।
[17] परमेश्वरले तिनीहरूलाई आकाशको अन्तरमा पृथ्वीमा उज्यालो दिन;
[18] अनि दिन र रातमा प्रभुत्व गर्न; अनि उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नलाई राख्नुभयो। अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो।
[19] अनि साँझ पर्यो र बिहान भयो—चौथो दिन।
[20] फेरि परमेश्वरले आज्ञा गर्नुभयो, “पानी जीवित प्राणीहरूले भरियोस् र पृथ्वीमाथि आकाशको अन्तरमा चाहिँ चराहरू उडून्।”
[21] यसरी परमेश्वरले समुद्रका आ-आफ्नै प्रकारका विशाल जलजन्तु र पानीमा झुण्ड-झुण्ड बनाएर पौडने तिनीहरूका आ-आफ्नै प्रकारका जीवित प्राणीहरू, र सबै पखेटा भएका चराहरूलाई आ-आफ्नै किसिमको गरी सृष्टि गर्नुभयो। अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो।
[22] परमेश्वरले तिनीहरू सबैलाई आशिष् दिनुभयो र आज्ञा गर्नुभयो, “फल्दै-फुल्दै अनि संख्यामा वृद्धि हुँदै समुद्रको पानीमा भरिँदै जाओ र चराहरू पृथ्वीमा वृद्धि हुँदै जाऊन्।”
[23] तब साँझ पर्यो र बिहान भयो—पाँचौँ दिन।
[24] फेरि परमेश्वरले आज्ञा गर्नुभयो, “पृथ्वीले विभिन्न जातका जीवित प्राणीहरू, अर्थात् प्रत्येकका आ-आफ्नै किसिमअनुसार: घरपालुवा जनावरहरू, जमिनमा हलचल गर्ने प्राणीहरू र जङ्गली जनावरहरू उत्पन्न गरोस्।” तब त्यस्तै भयो।
[25] परमेश्वरले जङ्गली जनावरहरू, घरपालुवा जनावरहरू र जमिनमा घस्रने सबै प्राणीहरूलाई तिनीहरूका आ-आफ्नै किसिमले बनाउनुभयो। अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो।
[26] तब परमेश्वरले आज्ञा गर्नुभयो, “हामी मानिस जातिलाई हाम्रै स्वरूपमा, हामीजस्तै बनाऔँ। तिनीहरूले समुद्रका माछा, आकाशका चराहरू, घरपालुवा जनावर, सबै जङ्गली पशु, र पृथ्वीमा चलहल गर्ने सबै प्राणीहरूमाथि शासन गरून्।”
[27] यसकारण परमेश्वरले मानिस जातिलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, परमेश्वरको स्वरूपमा उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो; पुरुष र स्त्री गरेर उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।
[28] परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो, र आज्ञा गर्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ। समुद्रका माछा, आकाशका चराहरू र जमिनमा हलचल गर्ने प्रत्येक प्राणीहरूमाथि शासन गर।”
[29] तब परमेश्वरले तिनीहरूलाई भन्नुभयो, “हेर, म तिमीहरूलाई सम्पूर्ण पृथ्वीमा प्रत्येक बिउ भएका बिरुवा र फलमा बिउ भएका प्रत्येक रूख दिन्छु। ती तिमीहरूका भोजनका निम्ति हुनेछन्।
[30] तर पृथ्वीमा भएका सबै पशुहरू र आकाशमा भएका सबै चराहरू र जमिनमा चलहल गर्ने सबै प्राणीहरू—जीवनको सास भएका प्रत्येकका निम्ति—म आहाराको लागि हरियो वनस्पति दिन्छु;” तब त्यस्तै भइहाल्यो।
[31] आफूले बनाउनुभएका सबै कुरा परमेश्वरले हेर्नुभयो र ती अति असल थिए। तब साँझ पर्यो र बिहान भयो—छैटौँ दिन।