Skip to content
Opens in a new window
Listen to this chapter • 3:28

[1] अब्रामकी पत्नी साराईले तिनका निम्ति कुनै सन्तान जन्माइनन्। तर तिनकी हागार नाम भएकी एउटी इजिप्टियन दासी थिइन्;

[2] अनि साराईले अब्रामलाई भनिन्, “याहवेहले मेरो कोख बन्द गरिदिनुभएको छ। यसकारण जानुहोस्, मेरी दासीसित सुत्नुहोस्; सायद त्यसबाट मेरो लागि सन्तान पाउन सक्छु कि।” साराईले जे भनिन्, त्यस कुरामा अब्राम सहमत भए।

[3] यसरी अब्राम कनानमा दश वर्ष बसेपछि तिनकी पत्नी साराईले आफ्नी इजिप्टियन दासी हागारलाई आफ्ना पतिका निम्ति पत्नी हुनलाई दिइन्।

[4] अनि उनी हागारकहाँ गए, र त्यो गर्भवती भई। जब त्यसले आफू गर्भवती भएकी थाहा पाई, तब त्यसले आफ्नी मालिक्नीलाई हेप्न थाली।

[5] तब साराईले अब्रामलाई भनिन्, “मैले भोगिरहेको कष्‍टको लागि तपाईं जिम्मेवार हुनुहुन्छ। मैले मेरी दासीलाई तपाईंको अँगालोमा सुम्पेँ; अब त्यसले आफू गर्भवती भएकी थाहा पाएर मलाई हेप्न थालेकी छ। याहवेहले नै तपाईं र मेरो बीचमा न्याय गरिदेऊन्।”

[6] अब्रामले भने, “तिम्री दासी तिम्रै हातमा छे। तिमीलाई जे उचित लाग्छ, त्यससित त्यसै गर।” तब साराईले हागारसित दुर्व्यवहार गरिन्; त्यसकारण त्यो साराईबाट भागेर गई।

[7] पछि याहवेहका दूतले हागारलाई उजाडस्थानमा पानीको मूलको छेउमा भेटे; त्यो मूल शूरतिर जाने बाटोको छेउमा थियो।

[8] अनि उनले भने, “साराईकी दासी हागार, तँ कहाँबाट आइस्, र कहाँ जाँदैछस्?” तब त्यसले भनी, “म मेरी मालिक्नी साराईबाट भाग्दैछु।”

[9] तब याहवेहका दूतले त्यसलाई भने, “तँ आफ्नी मालिक्नीकहाँ जा, र तिनकै अधीनमा बस्।”

[10] याहवेहका दूतले फेरि भने, “म तेरा सन्तानहरूलाई यति धेरै बढाउनेछु कि तिनीहरूलाई गन्‍न सकिनेछैन।”

[11] याहवेहका दूतले त्यसलाई यो पनि भने: “तँ गर्भवती छस्, र तैँले एउटा छोरा जन्माउनेछस्। तैँले उसको नाम इश्माएल राख्नू; किनकि याहवेहले तेरो कष्‍टको पुकार सुन्‍नुभएको छ।

[12] तेरो छोरा मानिसहरूमा जङ्गली गधाझैँ हुनेछ; उसको हात सबैको विरुद्धमा उठ्नेछ, अनि सबैको हात उसको विरुद्धमा उठ्नेछ; र ऊ आफ्ना दाजुभाइहरूसँग शत्रुतामा बसोबास गर्नेछ।”

[13] हागारले आफूसित बोल्नुहुने याहवेहलाई यो नाम दिई, “तपाईं मलाई देख्नुहुने परमेश्‍वर हुनुहुन्छ,” किनकि त्यसले भनी, “मलाई देख्नुहुनेलाई अब मैले पनि देखेकी छु।”

[14] त्यसैकारण त्यस कुवालाई बेअर-लहै-रोइ भनियो; जुनचाहिँ कादेश र बेरेदको बीचमा अहिलेसम्म पनि छ।

[15] यसरी हागारले अब्रामका निम्ति एउटा छोरा जन्माई; अनि अब्रामले हागारले जन्माएको आफ्नो छोराको नाम इश्माएल राखे।

[16] हागारले तिनका लागि इश्माएललाई जन्माउँदा अब्राम छयासी वर्षका थिए।

उत्पत्ति — Chapters