Skip to content
Opens in a new window
Listen to this chapter • 5:31

[1] योसेफ आफ्ना पितालाई अँगालो हालेर धेरै बेर रोए, र उनलाई म्वाइँ खाए।

[2] तब योसेफले आफ्ना सेवामा खटाइएका वैद्यहरूलाई आफ्ना पिता इस्राएलको शरीरमा सुगन्धित लेप लगाउन आदेश दिए। यसकारण ती वैद्यहरूले

[3] चालीस दिन लगाएर सुगन्धित लेप लगाए; किनकि लेप लगाउन त्यति नै समय लाग्थ्यो। अनि इजिप्टियनहरूले उनका निम्ति सत्तरी दिनसम्म शोक मनाए।

[4] शोकका दिनहरू बितेपछि योसेफले फारोका भारदारहरूलाई भने, “यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने फारोसित मेरा लागि बोलिदिनुहोस्। उहाँलाई भन्‍नुहोस्,

[5] ‘मेरा पिताले मलाई शपथ खान लाउनुभयो, र भन्‍नुभयो, “मेरो मृत्यु हुन लागेको छ; मलाई कनान देशमा मैले आफूले बनाएको चिहानमा गाड्नू।” अब मलाई आफ्ना पितालाई गाड्न जान दिनुहोस्; त्यसपछि म फर्कनेछु।’ ”

[6] फारोले भने, “जाऊ, र तिम्रा पिताले तिमीलाई शपथ खान लगाएझैँ तिनलाई गाड।”

[7] यसकारण योसेफ आफ्ना पितालाई गाड्न गए। फारोका सबै राजकर्मचारीहरू—अर्थात् सभाका प्रधानहरू र इजिप्टका सबै सम्मानित व्यक्तिहरू तिनीसित गए।

[8] यसबाहेक योसेफका घरानाका सबै सदस्यहरू, तिनका दाजुभाइहरू र तिनका पिताका सबै घराना पनि गए। गोशेनमा बालबच्‍चाहरू, बगालहरू र बथानहरू मात्र छोडिए।

[9] रथहरू र घोडसवारहरू पनि तिनीसित गए। त्यो एउटा ठूलो समूह थियो।

[10] जब तिनीहरू यर्दनको छेउमा भएको आतादको खलोमा पुगे, तब तिनीहरूले धेरै बेरसम्म भारी विलाप गरे; अनि त्यहाँ योसेफले आफ्ना पिताको निम्ति सात दिनसम्म शोक गरे।

[11] जब त्यहाँ बस्‍ने कनानीहरूले आतादको खलोमा गरिएको शोक देखे, तिनीहरूले भने, “इजिप्टियनहरूले ठूलो शोक मनाइरहेका छन्।” त्यसैकारण यर्दनको नजिकको त्यस ठाउँलाई हाबिल-मिश्रइम भनिन्छ।

[12] यसरी याकोबका छोराहरूले उनले आज्ञा दिएबमोजिम गरे:

[13] तिनीहरूले उनलाई कनानमा पुर्‍याए र मम्रेको छेउमा मक्पेलाको खेतमा भएको ओडारमा गाडे, जुन अब्राहामले हित्ती एप्रोनबाट चिहान घारीको रूपमा खेतसितै किनेका थिए।

[14] आफ्ना पितालाई गाडेपछि योसेफ तिनका दाजुभाइहरू र तिनका पितालाई गाड्न गएका अरू सबैसित इजिप्टमा फर्किए।

[15] उनीहरूका पिताको मृत्यु भएको देखेर योसेफका दाजुभाइहरूले भने, “यदि योसेफले हामीले त्यसप्रति गरेका सबै खराबीको साटो मनमा इबी राखेर हामीसँग बदला लियो भने?”

[16] यसकारण उनीहरूले योसेफकहाँ यसो भनेर खबर पठाए, “तपाईंका पिताले आफ्नो मृत्यु हुनुभन्दा अगि यस्तो आदेश दिनुभएको छ:

[17] ‘तिमीहरूले योसेफलाई यसो भन्‍नू: तेरा दाजुभाइहरूले विगतमा तँलाई खराब व्यवहार गरेर तँप्रति गरेका पापहरू र खराबीहरूलाई क्षमा गरिदे भनी म भन्दछु।’ अब दया गरी तपाईंका पिताका परमेश्‍वरका सेवकहरूका पापहरू क्षमा गरिदिनुहोस्।” त्यो खबर तिनीकहाँ पुगेपछि योसेफ रोए।

[18] तब तिनका दाजुभाइहरू तिनीकहाँ आएर तिनको अगि घोप्टो परेर भने, “हामी तपाईंका दासहरू हौँ।”

[19] तर योसेफले उनीहरूलाई भने, “नडराओ; के म परमेश्‍वरको स्थानमा छु र?

[20] तिमीहरूले मलाई हानि गर्ने विचार गर्‍यौ; तर अहिले धेरैको प्राण बाँच्ने जुन काम भइरहेको छ, त्यो काम परमेश्‍वरले भलाइका निम्ति गर्नुभयो।

[21] यसकारण अब नडराओ; म तिमीहरू र तिमीहरूका बालबच्‍चाहरूको पालनपोषण गर्नेछु।” अनि तिनले उनीहरूलाई फेरि आश्‍वासन दिए, र उनीहरूसित दयालु भएर कुराकानी गरे।

[22] योसेफ आफ्ना पिताका सम्पूर्ण परिवारसित इजिप्टमा बसे। तिनी एक सय दश वर्षसम्म बाँचे।

[23] तिनले एफ्राइमका छोराछोरीहरूका तेस्रो पुस्तासम्मलाई देखे। मनश्शेका छोरा माकीरका छोराछोरीहरूलाई पनि तिनले काखमा लिए, जसलाई तिनले आफ्नै ठान्दथे।

[24] तब योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो मृत्यु हुन लागेको छ; तर परमेश्‍वर निश्‍चय तिमीहरूलाई सहायता दिन आउनुहुनेछ; र तिमीहरूलाई यस देशबाट उहाँले अब्राहाम, इसहाक र याकोबलाई शपथद्वारा प्रतिज्ञा गर्नुभएको देशमा लैजानुहुनेछ।”

[25] अनि योसेफले इस्राएलका छोराहरूलाई शपथ खान लगाएर भने, “परमेश्‍वर निश्‍चय तिमीहरूको सहायताका लागि आउनुहुनेछ, र तिमीहरूले मेरा हड्डीहरू यस ठाउँबाट माथि लैजानू।”

[26] यसरी योसेफको एक सय दश वर्ष उमेर पुगेर मृत्यु भयो। अनि उनीहरूले तिनलाई सुगन्धित लेप लगाएपछि बाकसमा हालेर इजिप्टमा नै राखे।

उत्पत्ति — Chapters