[1] तब परमेश्वरले याकोबलाई भन्नुभयो, “बेथेल गएर त्यहीँ बसोबास गर्, र तँ तेरा दाजु एसावदेखि भागेको बेला तँकहाँ देखा पर्नुहुने परमेश्वरका लागि त्यहाँ एउटा वेदी बना।”
[2] यसकारण याकोबले आफ्नो घराना र आफूसँग भएका सबैलाई भने, “तिमीहरूसँग भएका परदेशी देवताहरू त्याग, र आफूलाई शुद्ध पार, र आफ्ना लुगाहरू फेर।
[3] त्यसपछि आओ र हामी बेथेल जाऔँ, जहाँ म परमेश्वरका निम्ति एउटा वेदी बनाउनेछु, जसले मेरो सङ्कटमा मलाई जवाफ दिनुभयो र, म जहाँ-जहाँ गएँ, मेरो साथमा रहनुभयो।”
[4] यसकारण तिनीहरूले आफूसित भएका सबै विदेशी देवताहरू र आफ्ना कानका कुण्डलहरू याकोबलाई दिए; अनि याकोबले ती शेकेममा भएको फलाँटको रूखमुनि गाडिदिए।
[5] त्यसपछि तिनीहरू त्यहाँबाट हिँडे, र तिनीहरू गएको चारैतिरका नगरहरूमा परमेश्वरको त्रास फैलियो। त्यसकारण कसैले पनि याकोबका छोराहरूलाई खेदेन।
[6] याकोब र तिनीसित भएका सबै मानिसहरू कनानको लूजमा (अर्थात्, बेथेलमा) आए।
[7] त्यहाँ तिनले एउटा वेदी बनाए, र तिनले त्यस ठाउँलाई एल-बेथेल भने; किनकि तिनी आफ्ना दाजुदेखि भागेर जाँदा त्यहीँ नै परमेश्वरले आफूलाई तिनीकहाँ प्रकट गर्नुभएको थियो।
[8] अब रिबेकाकी धाईआमा दबोराको मृत्यु भयो, र तिनलाई बेथेलबाहिर फलाँटको रूखमुनि गाडियो। यसकारण त्यसको नाम अल्लोन-बकुत राखियो।
[9] याकोब पद्दन-अरामबाट फर्केपछि परमेश्वर तिनीकहाँ फेरि देखा पर्नुभयो, र तिनलाई आशिष् दिनुभयो।
[10] परमेश्वरले तिनलाई भन्नुभयो, “तेरो नाम याकोब हो; तर अब उसो तँलाई याकोब भनिनेछैन, तर तेरो नाम इस्राएल हुनेछ।” यसरी उहाँले तिनको नाम इस्राएल राख्नुभयो।
[11] अनि परमेश्वरले तिनलाई भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ; फल्दै-फुल्दै र संख्यामा वृद्धि हुँदै जानू। तँबाट एउटा राष्ट्र र जाति-जातिहरूको एउटा समुदाय निस्कनेछ; र तेरा सन्तानहरूका बीचबाट राजाहरू निस्कनेछन्।
[12] मैले अब्राहाम र इसहाकलाई दिएको देश म तँलाई पनि दिनेछु, र यही देश म तँपछि तेरा सन्तानहरूलाई पनि दिनेछु।”
[13] त्यसपछि परमेश्वर आफूले तिनीसित कुरा गर्नुभएको त्यस ठाउँबाट माथि जानुभयो।
[14] याकोबले तिनीसित परमेश्वरले कुरा गर्नुभएको ठाउँमा एउटा खाँबो ठड्याए; अनि त्यसमाथि तिनले अर्घबलि चढाए; अनि त्यसमाथि तेल पनि खन्याए।
[15] परमेश्वरले तिनीसित कुरा गर्नुभएको त्यस ठाउँको नाम याकोबले बेथेल राखे।
[16] त्यसपछि तिनीहरू बेथेलबाट हिँडे। तिनीहरू एप्रातदेखि टाढा छँदै राहेललाई सुत्केरी व्यथा लागेर ज्यादै पीडा भयो।
[17] अनि तिनलाई सुत्केरी व्यथाले कष्ट हुँदा सुँडेनीले तिनलाई भनिन्, “नडराउनुहोस्, किनकि तपाईंले अर्को छोरालाई जन्म दिनुभएको छ।”
[18] जब तिनी मर्नै लागेकी थिइन्, तिनले अन्तिम सास लिँदैगर्दा, तिनले आफ्नो छोराको नाम बेन-ओनी राखिन्। तर त्यसका बुबाले त्यसको नाम बेन्यामीन राखे।
[19] यसरी राहेलको मृत्यु भयो, र तिनी एप्रात (अर्थात् बेथलेहेम) जाने बाटोमा गाडिइन्।
[20] तिनको चिहानमाथि याकोबले एउटा खाँबो खडा गरे; अनि त्यो खाँबो राहेलको चिहानको सङ्केतको रूपमा आजसम्म पनि छँदैछ।
[21] इस्राएल अझै अगि बढे, र आफ्नो पाल मिग्दल-एदेरको पारिपट्टि टाँगे।
[22] इस्राएल त्यस प्रान्तमा रहेकै बेला रूबेन आफ्ना बुबाकी उपपत्नी बिल्हासित सुते; अनि इस्राएलले यसको बारेमा सुने। याकोबका बाह्र छोराहरू थिए:
[23] लेआका छोराहरू: रूबेन, जो याकोबका जेठा छोरा थिए, शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून।
[24] राहेलका छोराहरू: योसेफ र बेन्यामीन।
[25] राहेलकी सेविका बिल्हाका छोराहरू: दान र नप्ताली।
[26] लेआकी सेविका जिल्पाका छोराहरू: गाद र आशेर। पद्दन-अराममा जन्मेका याकोबका छोराहरू यिनै थिए।
[27] याकोब किर्यत-अर्बाको (अर्थात्, हेब्रोन) नजिक मम्रेमा आफ्ना पिता इसहाककहाँ आए, जहाँ अब्राहाम र इसहाक बस्थे।
[28] इसहाक एक सय असी वर्षसम्म बाँचे।
[29] तब इसहाकले आफ्नो पूरा बुढेसकालमा, पूरा आयुमा तिनले अन्तिम सास फेरे, र तिनको मृत्यु भयो; अनि आफ्ना पुर्खाहरूसित मिल्न गए। अनि तिनका छोराहरू एसाव र याकोबले तिनलाई गाडे।