[1] अब योसेफलाई तल इजिप्टमा लगिएको थियो। फारोका अधिकारी, अङ्गरक्षकका सेनापति पोतिफर भन्ने इजिप्टियनले तिनलाई त्यहाँ लैजाने इश्माएलीहरूबाट किने।
[2] याहवेह योसेफसित हुनुभएकोले तिनको उन्नति भयो, र तिनी आफ्ना इजिप्टियन मालिकको घरमा बस्न लागे।
[3] जब तिनका मालिकले याहवेह योसेफको साथमा हुनुभएको र तिनले गरेका सबै कुरामा उहाँले आशिष् दिनुभएको देखे,
[4] योसेफले उनको दृष्टिमा निगाह पाए, र उनका मुख्य कारिन्दा भए। पोतिफरले तिनलाई आफ्नो घरको जिम्मा दिए र उनीसित भएका सबै कुराहरूमाथि रेखदेख गर्न जिम्मेवारी सुम्पिदिए।
[5] पोतिफरले आफ्नो घरको र आफूसित भएका सबै कुराको जिम्मा योसेफलाई दिएको समयदेखि तिनको कारण याहवेहले त्यहाँका इजिप्टियन घरलाई आशिष् दिनुभयो। याहवेहको आशिष् पोतिफरसित भएका सबै कुराहरूमा, अर्थात् घरभित्र र खेतमा भएका दुवै कुराहरूमाथि थियो।
[6] यसकारण उनले आफूसित भएका सबै कुराहरू योसेफको रेख-देखमा छोडिदिए; आफूले खाने भोजनबाहेक अरू कुनै कुरामा पनि उनले चिन्ता गरेनन्। योसेफ हट्टाकट्टा र सुन्दर थिए।
[7] अनि केही समयपछि तिनका मालिककी पत्नीले योसेफलाई मन पराउन थालिन् र भनिन्, “मसँग ओछ्यानमा आऊ!”
[8] तर तिनले अस्वीकार गरे। तिनले आफ्नी मालिक्नीलाई भने, “सबै कुरा मेरो जिम्मामा रहेकोले मेरा मालिकलाई घरको कुनै कुराको पनि चिन्ता छैन। उहाँसित भएका सबै कुरा उहाँले मेरै रेख-देखमा राखिदिनुभएको छ।
[9] यस घरमा मभन्दा ठूलो अरू कोही छैन। तपाईं उहाँकी पत्नी हुनुभएकोले, मेरा मालिकले तपाईंबाहेक अरू कुनै कुरा पनि मदेखि अलग राख्नुभएको छैन। त्यसकारण यस्तो दुष्ट काम गरेर कसरी परमेश्वरको विरुद्धमा म पाप गर्न सक्छु र?”
[10] अनि तिनले दिनदिनै योसेफलाई त्यसो भने तापनि योसेफले तिनीसित सुत्न त परै जाओस्, तिनको नजिक बस्न समेत अस्वीकार गरे।
[11] एक दिन योसेफ आफ्नो काम गर्न भनी घरभित्र गए; घरभित्र अरू कोही पनि सेवकहरू थिएनन्।
[12] तब तिनले योसेफको लुगा समात्दै, “आऊ, मसँग ओछ्यानमा सुत!” भनिन्, तर आफ्नो लुगा तिनको हातैमा छाडेर तिनी घरबाट बाहिर भागे।
[13] जब योसेफले आफ्नो लुगा तिनकै हातमा छाडेर घरदेखि बाहिर भागेको तिनले देखिन्,
[14] तब तिनले आफ्ना घरका सेवकहरूलाई बोलाएर तिनीहरूलाई भनिन्, “हेर, यस हिब्रूलाई त हाम्रो बेइज्जत गर्न भनेर पो हामीकहाँ ल्याइएको रहेछ! त्यो मसँग सुत्नलाई यहाँ भित्र आयो, र म चिच्याएँ।
[15] जब म चिच्याएको त्यसले सुन्यो, तब त्यसले आफ्नो लुगा मेरो छेउमा छोडेर घरबाट बाहिर भाग्यो।”
[16] तिनले त्यो लुगा आफ्ना पति नआउन्जेल आफ्नै साथमा राखिन्।
[17] तब तिनले उनलाई यो घटना भनिन्: “तपाईंले ल्याउनुभएको त्यो हिब्रू सेवक मेरो इज्जत लुट्न भनी मकहाँ आयो।
[18] तर म जब सहायताको लागि चिच्याएँ, तब त्यसले आफ्नो लुगा मेरो छेउमा छोडेर घरबाट बाहिर भाग्यो।”
[19] जब उनका मालिकले आफ्नी पत्नीले, “तपाईंको दासले मसँग यस्तो व्यवहार गर्यो,” भनेको घटना सुने, तब तिनी रिसले चुर भए।
[20] योसेफका मालिकले तिनलाई राजाका कैदीहरू थुन्ने झ्यालखानामा लगेर हालिदिए। तर योसेफ त्यस झ्यालखानामा हुँदा,
[21] याहवेह तिनको साथमा हुनुहुन्थ्यो, र उहाँले तिनीमाथि दया देखाउनुभयो, र झ्यालखानाका हाकिमको दृष्टिमा तिनलाई निगाह प्राप्त गराइदिनुभयो।
[22] यसकारण झ्यालखानाका हाकिमले योसेफलाई झ्यालखानामा राखिएका सबैमाथि रेखदेख गर्ने जिम्मा दिए; अनि तिनलाई त्यहाँ गरिने सबै कुराहरूका जिम्मेवारी सुम्पिदिए।
[23] ती हाकिमले योसेफको जिम्मामा रहेका कुनै कुरामाथि पनि चिन्ता गर्दैनथिए; किनकि याहवेह योसेफसित हुनुहुन्थ्यो, र तिनले गरेका सबै कुरामा उहाँले तिनलाई सफलता दिनुभयो।