[1] तब याकोबले आफ्ना छोराहरूलाई बोलाएर भने: “तिमीहरू भेला होओ, र आउँदा दिनहरूमा तिमीहरूलाई के-के हुनेछ, त्यो म भन्नेछु।
[2] “याकोबका छोराहरू हो! भेला होओ, र सुन; तिमीहरूका पिता इस्राएलका कुरा सुन।
[3] “रूबेन, तँ मेरो जेठा छोरा होस्, मेरो शक्ति, मेरो बलको पहिलो चिन्ह, सम्मानमा विशिष्ट, र शक्तिमा विशिष्ट।
[4] तँ पानीझैँ चञ्चल छस्; यसैले तेरो इज्जत रहनेछैन; किनकि तँ आफ्ना पिताको ओछ्यानमा चढिस्, मेरो पलङमा चढिस् र त्यसलाई अशुद्ध पारिस्।
[5] “शिमियोन र लेवी दाजुभाइहरू हुन्; तिनीहरूका तरवारहरू हिंसाका हतियारहरू हुन्।
[6] म तिनीहरूको सभामा नपसूँ, म तिनीहरूका परिषद्मा सामेल नबनूँ; किनकि तिनीहरूले रिसमा मानिसहरू मारेका छन्। अनि खेलवाड गरेर गोरुहरूका ढोडनसा काटेका छन्।
[7] तिनीहरूको यति डरलाग्दो रिस, तिनीहरूको निष्ठुर क्रोधमाथि श्राप परोस्! म तिनीहरूलाई याकोबमा छरपस्ट पार्नेछु, र इस्राएलमा तितरबितर पार्नेछु।
[8] “यहूदा, तेरा दाजुभाइहरूले तँलाई प्रशंसा गर्नेछन्; तेरो हात तेरा शत्रुहरूको गर्दनमा हुनेछ; तेरा पिताका छोराहरूले तँलाई दण्डवत् गर्नेछन्।
[9] ए यहूदा, तँ सिंहको डमरुजस्तै छस्; मेरो छोरा, तँ शिकारबाट फर्कन्छस्। त्यो सिंहझैँ झुक्दछ, सिंहनीझैँ आराम गर्न लमतन्न पर्दछ—कसले उसलाई जगाउने आँट गर्ला?
[10] यहूदाको हातबाट राजदण्ड हट्नेछैन, न त शासकको लहुरो त्यसका खुट्टाहरूका बीचबाट हट्नेछ, जबसम्म यी जसका हुन्, ती आउँदैनन्, अनि जातिहरू उहाँमा आज्ञाकारी बन्नेछन्।
[11] त्यसले आफ्नो गधालाई दाखको बोटमा, र त्यसको बछेडोलाई त्यसले उत्तम हाँगामा बाँध्नेछ; त्यसले आफ्नो वस्त्र दाखमद्यमा, र आफ्नो लबेदा दाखको रसमा धुनेछ।
[12] त्यसका आँखा दाखमद्यभन्दा गाढा रङ्गका, र त्यसका दाँतहरू दूधभन्दा सेता हुनेछन्।
[13] “जबूलून समुद्री किनारमा बस्नेछ, र ऊ जहाजहरूका लागि बन्दरगाह बन्नेछ; त्यसको सिमाना सीदोनतिर फैलिनेछ।
[14] “इस्साखार दुई काठीका बीचमा आराम गर्ने बलियो गधा हो।
[15] जब त्यसले आफू बिसाएको ठाउँ कति असल छ, र आफ्नो देश कति आनन्दपूर्ण छ भनी देख्छ, त्यसले आफ्नो काँध भारी बोक्नको लागि झुकाउनेछ, र कडा परिश्रमको लागि समर्पित हुनेछ।
[16] “दानले इस्राएलको एउटा कुलको हैसियतले आफ्ना मानिसहरूलाई न्याय दिनेछ।
[17] दान बाटो छेउको एउटा सर्प, र गोरेटोमा बसेको विषालु सर्प हो, जसले घोडाको कुर्कुच्चा डस्छ, र यसमा सवार हुने मानिस पछिल्तिर पछारिन्छ।
[18] “हे याहवेह, म तपाईंको छुटकारालाई अपेक्षा गर्दछु।
[19] “गादलाई आक्रमणकारीहरूको दलले आक्रमण गर्नेछ; तर त्यसले चाहिँ तिनीहरूलाई उल्टो खेदेर तिनीहरूका कुर्कुच्चामा आक्रमण गर्नेछ।
[20] “आशेरको भोजन उत्तम हुनेछ; त्यसले राजालाई सुहाउने स्वादिलो भोजन जुटाउनेछ।
[21] “नप्ताली स्वतन्त्र भएकी मुडुली मृग हो, जसले सुन्दर पाठाहरू बियाउँछे।
[22] “योसेफ एउटा फलदायक दाखको बोट हो, पानीको मूलको नजिक भएको फलदायक दाखको बोट, जसका हाँगाहरू पर्खाल नाघेर फैलिन्छन्।
[23] धनुर्धारीहरूले निर्दयतासाथ त्यसलाई आक्रमण गरे; तिनीहरूले दुश्मनी राखेर त्यसलाई काँडले हाने।
[24] तर त्यसको धनु स्थिर रह्यो; त्यसका बलिया पाखुराहरू फूर्तिला रहे; त्यो याकोबका सर्वशक्तिमान्को हातले गर्दा त्यो गोठाला, इस्राएलका चट्टानले गर्दा भएको थियो;
[25] तेरा पिताका परमेश्वर, जसले तँलाई सहायता गर्नुहुन्छ, सर्वशक्तिमान्, जसले तँलाई माथि स्वर्गका आशिष्हरू, तल भएको समुद्रका आशिष्हरू, स्तन र गर्भका आशिष्हरू दिनुहुन्छ।
[26] तेरा पिताका आशिष्हरू प्राचीन पर्वतहरूका आशिष्हरूभन्दा र पुराना पहाडहरूका प्रचुरताहरूभन्दा महान् छन्; यी सबै आशिष्हरू योसेफका शिरमा होऊन्; आफ्ना दाजुभाइहरूका बीचमा भएका राजकुमारका आँखीभौँमाथि बसून्।
[27] “बेन्यामीन साह्रै भोकाएको ब्वाँसो हो; बिहान त्यसले शिकार खान्छ; साँझमा त्यसले लुटको माल बाँड्छ।”
[28] यी सबै इस्राएलका बाह्र कुल हुन्; र यसरी उनीहरूका पिताले उनीहरू प्रत्येकलाई सुहाउँदो आशिष् दिए।
[29] तब याकोबले उनीहरूलाई यी निर्देशन दिए: “म आफ्ना मानिसहरूसित मिल्न जान लागिरहेको छु। मलाई हित्ती एप्रोनको खेतमा भएको ओडारमा मेरा पितापुर्खाहरूसित गाड्नू,
[30] जुन ओडारचाहिँ कनानमा मम्रेको छेउमा मक्पेलाको खेतमा छ। अनि त्यो ठाउँ अब्राहामले हित्ती एप्रोनबाट चिहान घारीको रूपमा खेतसमेत किनेका थिए।
[31] त्यहीँ नै अब्राहाम र तिनकी पत्नी सारा गाडिए; त्यहीँ इसहाक र तिनकी पत्नी रिबेका गाडिए; र त्यहीँ नै मैले लेआलाई गाडेँ।
[32] त्यो जमिन र त्यो ओडार हित्तीहरूबाट किनिएको हो।”
[33] अनि याकोबले आफ्ना छोराहरूलाई निर्देशन दिइसकेपछि उनले आफ्ना खुट्टा पलङमा पसारेर आफ्नो अन्तिम सास फेरे। यसरी उनी आफ्ना मानिससित मिल्न गए।