[1] त्यस बेला शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योक, एलामका राजा कदोर्लाओमेर अनि गोयीमका राजा तिदाल मिलेर,
[2] सदोमका राजा बेरा, गमोराका राजा बिर्शा, अदमाका राजा शिनाब, सबोयीमका राजा शेमेबेर अनि बेलाका राजा (अर्थात् सोअरका) विरुद्धमा लडाइँ गर्न गए।
[3] यी पछिल्ला राजाहरू सबै एक भएर सिद्धीमको बेँसीमा (खारा समुद्रको बेँसीमा) भेला भए।
[4] तिनीहरू बाह्र वर्षसम्म कदोर्लाओमेरका अधीनमा थिए, तर तेह्रौँ वर्षमा तिनीहरूले विद्रोह गरे।
[5] चौधौँ वर्षमा कदोर्लाओमेर र तिनीसित मिलेका राजाहरूले अस्तेरोत-कर्णेममा रपाईहरूलाई, हाममा जूजीहरूलाई, शावे-किर्यातैममा एमीहरू
[6] र सेइरको पहाडी देशमा भएका होरीतहरूलाई, मरुभूमितिर भएको एल-पारानसम्म परास्त गरे।
[7] त्यसपछि तिनीहरू फर्केर एन-मिशापात (अर्थात् कादेशमा) गए, र तिनीहरूले अमालेकीहरूका सम्पूर्ण देशका साथै हासेसोन-तामारमा बसोबास गर्ने एमोरीहरूलाई पनि पराजित गरे।
[8] त्यसपछि सदोमका राजा, गमोराका राजा, अदमाका राजा, सबोयीमका राजा, र बेला (अर्थात् सोअरका) राजा निस्किगए र सिद्धीमको बेँसीमा
[9] एलामका राजा कदोर्लाओमेर, गोयीमका राजा तिदाल, शिनारका राजा अम्रापेल र एल्लासारका राजा अर्योकको विरुद्धमा—अर्थात् पाँचका विरुद्धमा चार राजाहरूले युद्धको मोर्चा बाँधे।
[10] अब सिद्धीमको बेँसीचाहिँ अलकत्राको खाल्डाले भरिएको थियो; अनि सदोम र गमोराका राजाहरू भाग्दा कति जना ती खाल्डाहरूमा खसे; अनि बाँकी रहेकाहरूचाहिँ पहाडहरूतिर भागे।
[11] ती चार जना राजाहरूले सदोम र गमोराका सबै सामान, र तिनीहरूका सबै खानेकुरा लिएर भागे।
[12] तिनीहरूले सदोममा रहेका अब्रामका भतिजा लोत र तिनका सम्पत्ति पनि लिएर गए।
[13] त्यहाँबाट उम्केको एउटा व्यक्तिले आएर यो कुरा हिब्रू अब्रामलाई बताइदियो। अब्रामचाहिँ आफूसित वाचामा रहेका एश्कोल र आनेरका भाइ एमोरीका मम्रेका ठूला रूखहरूको छेउमा बसोबास गर्दैथिए।
[14] जब अब्रामले आफ्नो नातेदारलाई कैद गरेर लगेका छन् भनी सुने, तब तिनले आफ्नो घरानामा जन्मेका तीन सय अठार जना तालिम प्राप्त मानिसहरूलाई लिए र तिनीहरूलाई दानसम्मै लखेट्दै गए।
[15] रातको समयमा अब्रामले तिनीहरूलाई आक्रमण गरेर परास्त गर्नका लागि आफ्ना मानिसहरूलाई विभाजन गरे, र दमस्कसको उत्तरमा भएको होबासम्म लखेटे।
[16] तिनले सबै मालसामान फिर्ता ल्याए; अनि स्त्रीहरू र अरू मानिसहरूसहित आफ्ना नातेदार लोत र तिनका सम्पत्तिलाई फर्काइल्याए।
[17] अब्रामले कदोर्लाओमेर र तिनलाई साथ दिने अरू राजाहरूलाई जितेर फर्केपछि सदोमका राजा शावेको बेँसीमा (अर्थात् राजाको बेँसीमा) तिनलाई भेट्न आए।
[18] तब शालेमका राजा मल्कीसेदेक रोटी र दाखमद्य लिएर आए। तिनी सर्वोच्च परमेश्वरका पुजारी थिए।
[19] अनि तिनले अब्रामलाई यसो भन्दै आशिष् दिए, “सर्वोच्च परमेश्वर, आकाश र पृथ्वीका सृष्टिकर्ताले अब्रामलाई आशिष् देऊन्।
[20] अनि सर्वोच्च परमेश्वर धन्यका होऊन्, जसले तपाईंका शत्रुहरूलाई तपाईंका हातमा सुम्पिदिनुभयो।” त्यसपछि अब्रामले तिनलाई हरेक कुराको दशांश दिए।
[21] सदोमका राजाले अब्रामलाई भने, “मलाई मानिसहरू दिनुहोस्, र सामानहरू तपाईं आफैँ राख्नुहोस्।”
[22] तर अब्रामले सदोमका राजालाई भने, “मैले याहवेह सर्वोच्च परमेश्वर, आकाश र पृथ्वीका सृष्टिकर्तातर्फ आफ्नो हात उचालेर शपथ खाएको छु,
[23] कि म तिम्रो केही कुरो पनि ग्रहण गर्नेछैनँ। एउटा डोरी अथवा जुत्ताको फित्तासम्म पनि लिनेछैनँ। तिमीले ‘मैले अब्रामलाई धनी बनाएँ’ भनेर कहिल्यै भन्न पनि सक्नेछैनौ।
[24] मेरा मानिसहरूले जे खाएका छन्, त्यो बाहेक म केही पनि ग्रहण गर्नेछैनँ; तर मसित जानेहरू—आनेर, एश्कोल र मम्रेले आ-आफ्ना भाग लिऊन्।”