[1] यसकारण इसहाकले याकोबलाई बोलाएर आशिष् दिए। त्यसपछि उनले यस्तो आज्ञा दिए: “कनानी स्त्रीसँग विवाह नगर्नू।
[2] तुरुन्तै पद्दन-अराममा तेरी आमाका पिता बतूएलको घरमा गइहाल्, र आफ्ना लागि तेरी आमाका दाजु लाबानका छोरीहरूमध्ये एउटीलाई विवाह गर्नू।
[3] सर्वशक्तिमान् परमेश्वरले तँलाई आशिष् देऊन्, र तँ जाति-जातिको एक समुदाय नहोउन्जेल तँलाई फलवन्त बनाएर तेरो संख्याको वृद्धि गरून्।
[4] उहाँले तँ र तेरा सन्ततिलाई अब्राहामलाई दिनुभएको आशिष् देऊन्, ताकि अब्राहामलाई परमेश्वरले दिनुभएको ठाउँ, जसमा तँ अहिले परदेशी भई बसेको छस्, त्यो भूमि तेरो अधिकारमा होस्।”
[5] तब इसहाकले याकोबलाई बिदा गरे; अनि तिनी पद्दन-अराममा लाबानकहाँ गए। लाबान अरामी बतूएलको छोरा, अर्थात् याकोब र एसावकी आमा रिबेकाका दाजु थिए।
[6] अब इसहाकले याकोबलाई आशिष् दिएर पद्दन-अरामबाट पत्नी ल्याउनू भनी त्यहाँ पठाएछन्, र तिनलाई आशिष् दिँदा “कुनै कनानी स्त्रीलाई विवाह नगर्नू,” भन्ने आज्ञा दिएछन्,
[7] र याकोबले आफ्ना बुबा र आमाको आज्ञापालन गरेर पद्दन-अराममा गएको कुरा एसावले थाहा पाए।
[8] जब तिनका पिता इसहाकलाई कनानी स्त्रीहरू मन पर्दैन रहेछ भनी एसावले थाहा पाए;
[9] तब एसाव इश्माएलकहाँ गए, र आफूसित भएका पत्नीहरूबाहेक तिनले अब्राहामको छोरा इश्माएलकी छोरी, नबायोतकी बहिनी महलतलाई विवाह गरे।
[10] याकोब बेर्शेबा छोडेर हारानतर्फ लागे।
[11] तिनी कुनै एक विशेष ठाउँमा पुगेपछि सूर्य अस्ताइसकेकोले रात कटाउन त्यहीँ रोकिए। त्यस ठाउँमा एउटा ढुङ्गा लिएर त्यसको सिरानी लगाएर सुत्नका लागि तिनी ढल्किए।
[12] अनि तिनले सपना देखे। पृथ्वीमाथि अडिएको एउटा भर्याङ, जसको टुप्पोचाहिँ स्वर्गसम्म पुगेको थियो; अनि परमेश्वरका दूतहरू त्यसमा उक्लँदै र ओर्लंर्दै गरेका देखे।
[13] अनि सबैभन्दा माथिचाहिँ याहवेह उभिनुभएको थियो, र उहाँले भन्नुभयो: “म याहवेह नै तेरा पिता अब्राहाम र इसहाकका परमेश्वर हुँ। तँ ढल्किरहेको यो ठाउँ तँ र तेरा सन्तानहरूलाई म दिनेछु।
[14] तेरा सन्तानहरू पृथ्वीको धुलोझैँ हुनेछन्; अनि तँ पश्चिम, पूर्व, उत्तर र दक्षिणतिर फैलिनेछस्। पृथ्वीका सबै जातिले तँ र तेरा सन्तानहरूद्वारा आशिष् पाउनेछन्।
[15] म तँसँग छु, र तँ जहाँ जान्छस्, तँलाई रक्षा गर्नेछु; अनि तँलाई यस देशमा फर्काएर ल्याउनेछु। मैले तँसित गरेको प्रतिज्ञा पूरा नगरेसम्म म तँलाई छोड्नेछैनँ।”
[16] जब याकोब निद्राबाट झल्याँस बिउँझे, र तिनले सोचे, “निश्चय नै याहवेह यस ठाउँमा हुनुहुँदोरहेछ; अनि मलाई यो थाहै थिएन।”
[17] तब तिनी डराएर भने, “यो ठाउँ कति भययोग्य रहेछ! यो परमेश्वरको घरबाहेक अरू केही होइन रहेछ; यो त स्वर्गकै ढोका पो रहेछ।”
[18] भोलिपल्ट बिहानै याकोब उठे, र आफूले सिरानी लगाएको ढुङ्गा लिए; अनि त्यसलाई खाँबोझैँ ठड्याएर टुप्पोमाथि तेल खन्याए।
[19] तिनले त्यस ठाउँको नाम बेथेल राखे; पहिला त्यस सहरलाई लूज भनिन्थ्यो।
[20] तब याकोबले यसो भनेर भाकल गरे, “यस यात्रामा यदि परमेश्वर मेरो साथमा रहनुभयो, मलाई रक्षा गर्नुभयो; मलाई खानलाई भोजन र लाउनलाई लुगा दिनुभयो,
[21] र म मेरा पिताको घरमा सुरक्षित फर्केर आएँ भने याहवेह मेरा परमेश्वर हुनुहुनेछ;
[22] अनि मैले खाँबोझैँ ठड्याएको ढुङ्गाचाहिँ परमेश्वरको घर हुनेछ, र तपाईंले मलाई दिनुहुने सबै कुराको दशांश म तपाईंलाई दिनेछु।”