[1] एक दिन याकोबबाट लेआले जन्माएकी छोरी दीना, त्यस देशका स्त्रीहरूलाई भेट गर्न गइन्।
[2] जब त्यस इलाकाका शासक हिव्वी हामोरको छोरा शेकेमले तिनलाई देखे, तब तिनले उनलाई लगेर उनको इज्जत लुटे।
[3] तिनको हृदय याकोबकी छोरी दीनाप्रति आकर्षित भयो; तिनले त्यस केटीलाई प्रेम गरे, र उनीसित मिठा-मिठा कुरा गरेर फकाए।
[4] अनि शेकेमले आफ्ना पिता हामोरलाई भने, “त्यस केटीलाई मेरी पत्नी हुनलाई ल्याइदिनुहोस्।”
[5] जब याकोबले आफ्नी छोरी दीनालाई अशुद्ध बनाइएको थाहा पाए, त्यस बेला तिनका छोराहरू तिनका गाईबस्तुसित खेतमा थिए; यसकारण तिनीहरू घर नआउन्जेल तिनी चुपचाप रहे।
[6] तब शेकेमका पिता हामोर याकोबसित कुरा गर्न गए।
[7] अब जे भएको थियो, त्यो सुन्नेबित्तिकै याकोबका छोराहरू खेतबाट घरमा आएका थिए। तिनीहरू विचलित र क्रुद्ध भए; किनभने शेकेमले याकोबकी छोरीलाई अशुद्ध बनाएर इस्राएलको बेइज्जत गरेका थिए। यस्तो शर्मलाग्दो काम गर्नु कदापि उचित थिएन।
[8] तर हामोरले तिनीहरूलाई भने, “मेरो छोरा शेकेमको हृदय तपाईंकी छोरीमा आकर्षित भएको छ। दया गरी तिनलाई त्यसकी पत्नी हुनलाई दिनुहोस्।
[9] हामीसित अन्तर-विवाह गर्नुहोस्; हामीलाई तपाईंका छोरीहरू दिनुहोस्, र हाम्रा छोरीहरू तपाईंहरूले लानुहोस्।
[10] अनि तपाईंहरू हामीबीच बसोबास गर्न सक्नुहुनेछ। यो देश तपाईंहरूका लागि खुला छ। यहीँ बसोबास गर्नुहोस्, व्यापार गर्नुहोस् र सम्पत्ति जोड्नुहोस्।”
[11] त्यसपछि शेकेमले दीनाका पिता र तिनका दाजुभाइहरूलाई भने, “मैले तपाईंहरूको दृष्टिमा निगाह पाऊँ! अनि तपाईंहरूले जे माग्नुहुन्छ, सो म दिनेछु।
[12] मैले दुलही र तपाईंहरूकहाँ ल्याउनुपर्ने उपहार जतिसुकै ठूलो भए तापनि मूल्य तोक्नुहोस्। तपाईंहरूले जति माग्नुहुन्छ, सो म तिर्नेछु। केवल त्यो कन्यासँग मलाई विवाह गर्न दिनुहोस्।”
[13] आफ्नी बहिनी दीना अशुद्ध पारिएकोले शेकेम र तिनका पिता हामोरसित कुरा गर्दा याकोबका छोराहरूले छलपूर्ण जवाफ दिए।
[14] तिनीहरूले उनीहरूलाई भने, “हामी यस्तो गर्न सक्दैनौँ; खतना नभएका मानिसलाई हामी आफ्नी बहिनी दिन सक्दैनौँ। त्यो हाम्रा निम्ति अपमानजनक हुनेछ।
[15] हामी केवल एउटै शर्तमा तपाईंहरूसँग मन्जुर हुनेछौँ: अर्थात् तपाईंहरूका सबै पुरुषहरूले खतना गरेर हामीजस्तै हुनुपर्छ।
[16] तब हामी हाम्रा छोरीहरू दिनेछौँ; अनि आफ्ना लागि तपाईंहरूका छोरीहरू लिनेछौँ। हामी तपाईंहरूबीच बसोबास गर्नेछौँ, तपाईंहरूसित एउटै जाति हुनेछौँ।
[17] तर यदि तपाईंहरू खतना हुन सहमत हुनुभएन भने हामी हाम्री बहिनीलाई लिएर जानेछौँ।”
[18] हामोर र तिनका छोरा शेकेमलाई तिनीहरूको प्रस्ताव उचित लाग्यो।
[19] आफ्ना पिताका घरानामा सबैभन्दा बढी सम्मान पाएका यस जवान मानिसले तिनीहरूले भनेबमोजिम गर्नलाई समय खेर फालेनन्; किनकि उनले याकोबकी छोरीलाई खूबै मन पराएका थिए।
[20] यसकारण हामोर र तिनका छोरा शेकेम आफ्ना नगरबासीहरूलाई यो कुरा भन्नलाई आफ्ना सहरको मूलढोकामा गए।
[21] तिनीहरूले भने, “यी मानिसहरू हामीप्रति मित्रतामा छन्। तिनीहरू हाम्रो देशमा बसून्, र व्यापार गरून्; यस देशमा तिनीहरूका निम्ति प्रशस्त ठाउँहरू छन्। हामीले तिनीहरूका छोरीहरू विवाह गर्न सक्छौँ, र तिनीहरूले हाम्रा छोरीहरू।
[22] तर शर्त यो छ, कि हामीले पनि ती मानिसहरूले जस्तै हाम्रा पुरुषहरूका खतना गर्यौँ भने मात्र हामीसित एकै जाति भएर बस्न मन्जुर हुनेछन्।
[23] के तिनीहरूका गाईबस्तु, तिनीहरूका सम्पत्ति र तिनीहरूका सबै पशुहरू हाम्रा हुँदैनन् र? यसकारण हामी तिनीहरूको शर्त मानौँ, र तिनीहरू हामीसँग बसोबास गर्नेछन्।”
[24] सहरका मूलढोकाबाहिर निस्कने सबै मानिसहरू हामोर र तिनका छोरा शेकेमसित सहमत भए; अनि सहरमा भएका प्रत्येक पुरुषको खतना गरियो।
[25] तीन दिन बितेपछि तिनीहरूलाई कष्ट भइरहेकै बेला, याकोबका दुई छोराहरू, शिमियोन र लेवी—दीनाका दाजुहरूले आ-आफ्नो तरवार लिएर कसैले थाहै नपाई सहरमा पसेर आक्रमण गरे, र सबै पुरुषहरूलाई मारे।
[26] तिनीहरूले हामोर र तिनका छोरा शेकेमलाई तरवारले काटेर मारे, र दीनालाई शेकेमको घरबाट लिएर गए।
[27] याकोबका छोराहरू लासहरू भएका ठाउँमा आए; अनि तिनीहरूकी बहिनीलाई अशुद्ध पारिएको सहरलाई लुटे।
[28] तिनीहरूले उनीहरूका बगाल, बथान, गधाहरू र सहरभित्र अनि खेतहरूमा भएका प्रत्येक कुरा लिएर गए।
[29] तिनीहरूले उनीहरूका सबै धनसम्पत्ति, स्त्रीहरू, छोराछोरी र घरमा भएका प्रत्येक कुराहरू लुटको मालझैँ कब्जा गरे।
[30] तब याकोबले शिमियोन र लेवीलाई भने, “तिमीहरूले यस देशमा बस्ने मानिसहरू—कनानी र परिज्जीहरूसित मलाई अप्रिय बनाएर ममाथि सङ्कष्ट ल्यायौ। हामी अल्प संख्यामा छौँ। यदि तिनीहरू मेरो विरुद्धमा एकमत भएर मलाई आक्रमण गरे भने म र मेरा घराना नष्ट हुनेछौँ।”
[31] तर तिनीहरूले जवाफ दिए, “के त्यसले चाहिँ हाम्री बहिनीलाई एउटी वेश्याझैँ व्यवहार गर्न हुनेथियो त?”