[1] पूरा दुई वर्ष बितिसकेपछि फारोले एउटा सपना देखे; सपनामा तिनी नील नदीको किनारमा उभिरहेका थिए।
[2] अनि नील नदीबाट सात वटा चिल्ला र मोटा गाईहरू निस्केर आए, र काँसको घारीमा चर्न थाले।
[3] त्यसपछि तिनीहरूका पछि-पछि अरू सात वटा कुरूप र दुब्ला गाईहरू नील नदीबाट बाहिर निस्के, र ती पहिलेका गाईहरूसँगै किनारको छेउमा उभिए।
[4] अनि ती कुरूप र दुब्ला गाईहरूले ती चिल्ला र मोटा गाईहरूलाई खाइदिए। त्यसपछि फारो बिउँझे।
[5] उनी फेरि निदाए, र दोस्रो सपना देखे: अन्नका सात वटा भरिला र असल बालाहरू एउटै डाँठमा फलिरहेका थिए।
[6] त्यसपछि अन्नका अरू सात वटा पातला र पूर्वीय बतासले ओइलाएका बालाहरू निस्के।
[7] अनि ती पातला अन्नका बालाहरूले भरिला सात वटा बालाहरूलाई निलिदिए। त्यसपछि फारो बिउँझे; अनि यो त पो सपना रहेछ भनी थाहा पाए।
[8] बिहान उनको मन विचलित भयो; त्यसकारण उनले इजिप्टका सबै जादुगर र ज्ञानी मानिसहरूलाई बोलाए। फारोले तिनीहरूलाई आफ्ना सपनाहरू बताए; तर उनका निम्ति ती सपनाका अर्थ खोलिदिन कसैले पनि सकेनन्।
[9] तब त्यस मुख्य मद्य टक्र्याउनेले फारोलाई भने, “आज मलाई मेरो गल्ती याद आएको छ।
[10] एकपल्ट फारो आफ्ना सेवकहरूसँग रिसाउनुभएको थियो। अनि उहाँले मलाई र मुख्य भान्सेलाई अङ्गरक्षकका सेनापतिको घरको झ्यालखानामा थुन्नुभयो।
[11] हामी दुवैले एकै रात सपना देख्यौँ, र ती प्रत्येक सपनाको आ-आफ्नै अर्थ थियो।
[12] त्यहाँ हामीसँग एउटा हिब्रू जवान अङ्गरक्षकका सेनापतिका सेवक थिए। हामीले तिनलाई आफ्ना सपनाहरू बतायौँ; अनि तिनले हामीलाई हाम्रा आ-आफ्नो सपनाअनुसारको अर्थ खोलिदिए।
[13] अनि तिनले हामीलाई अर्थ खोलिदिएजस्तै भयो: म आफ्नो काममा फेरि नियुक्त भएँ, तर अर्को मानिसचाहिँ झुन्ड्याइयो।”
[14] यसकारण फारोले योसेफलाई बोलाउन पठाए; अनि तिनलाई झट्टै झ्यालखानाबाट बाहिर ल्याइयो। अनि तिनले आफ्नो दाह्री खौरे, र आफ्नो वस्त्र फेरेपछि तिनी फारोको सामु आए।
[15] फारोले योसेफलाई भने, “मैले एउटा सपना देखेको छु, तर कसैले पनि त्यसको अर्थ खोल्न सकेनन्। तिमीले सपना सुनेपछि त्यसको अर्थ खोल्न सक्छौ भन्ने मैले सुनेको छु।”
[16] योसेफले फारोलाई जवाफ दिए, “यसो गर्न मेरो शक्तिभन्दा बाहिरको कुरा हो,” “तर परमेश्वरले नै फारोलाई उहाँले चाहे अनुसारको जवाफ दिनुहुनेछ।”
[17] तब फारोले योसेफलाई भने, “मेरो सपनामा म नील नदीको किनारमा उभिरहेको थिएँ;
[18] अनि नील नदीबाट सात वटा चिल्ला र मोटा गाईहरू निस्केर आए, र काँसको घारीमा चर्न थाले।
[19] त्यसपछि तिनीहरूका पछि-पछि अरू सात वटा घिनलाग्दा, कुरूप र अति दुब्ला गाईहरू निस्किआए। मैले इजिप्टमा कुरूप र दुब्ला गाईहरू कहिल्यै देखेको थिइनँ।
[20] अनि दुब्ला र कुरूप गाईहरूले ती पहिले आएका सात वटा मोटा गाईहरूलाई खाइदिए।
[21] तर तिनीहरूले ती सात वटालाई खाइसकेपछि पनि तिनीहरूले खाए भनेर कसैले भन्न सकेनन्; किनकि तिनीहरू पहिलेजस्तै कुरूप देखिन्थे। त्यसपछि म बिउँझेँ।
[22] “मेरो दोस्रो सपनामा मैले अन्नका सात वटा भरिला र असल बालाहरू एउटै डाँठमा फलिरहेका देखेँ।
[23] तिनीहरूको पछि ती ओइलाएका, पातला र पूर्वीय बतासले झूल्सेका अन्नका सात वटा बालाहरू निस्के।
[24] ती पातला अन्नका बालाहरूले असल बालाहरूलाई निलिदिए। मैले यो कुरा जादुगरहरूलाई भनेँ, तर मलाई यसको अर्थ खोलिदिन कसैले पनि सकेनन्।”
[25] तब योसेफले फारोलाई भने, “हजुरका सपनाहरू एउटै र उस्तै हुन्। परमेश्वरले के गर्न लाग्नुभएको छ, सो फारोलाई प्रकाश पारिदिनुभएको छ।
[26] ती सात वटा मोटा गाईहरू सात वर्ष हुन्, र ती सात वटा भरिला बालाहरूचाहिँ सात वर्ष हुन्; दुवै सपनाको अर्थ एउटै हो।
[27] ती पछिबाट आउने सात वटा कुरूप र दुब्ला गाईहरू सात वर्ष हुन्; त्यसै गरी ती पातला र पूर्वीय बतासले ओइलाएका सात वटा बालाहरू: ती अनिकालका सात वर्ष हुन्।
[28] “मैले फारोलाई भनेझैँ यो हुनेछ: परमेश्वरले जे गर्न लाग्नुभएको छ, सो फारोलाई प्रकाश गरिदिनुभएको छ।
[29] इजिप्टभरि सात वर्षसम्म ठूलो सहकाल हुनेछ;
[30] तर त्यसपछि सात वर्षसम्म अनिकालले पछ्याउनेछ। तब इजिप्टमा भएका सबै सहकालहरू बिर्सिइनेछ; अनि अनिकालले देशलाई नाश पार्नेछ।
[31] यस्तो घोर अनिकाल हुनेछ, कि देशमा पहिलेको सहकालको स्मरणसमेत रहनेछैन।
[32] फारोलाई दिइएको दुई प्रकारका सपनाको कारणचाहिँ यो हो: यो कुरा गर्न परमेश्वरले दृढतापूर्वक निर्णय गर्नुभएको छ, र परमेश्वरले यो कुरा चाँडै गर्नुहुनेछ।
[33] “अब फारोले विवेकी र बुद्धिमान् मानिस खोजेर तिनलाई इजिप्टको जिम्मा दिएर राखून्।
[34] ती इजिप्टका सात वर्षका सहकालका समयमा उब्जनीको पाँचौँ भाग बटुल्नका लागि फारोले हाकिमहरू नियुक्त गरून्।
[35] तिनीहरूले यी आउने असल वर्षहरूका सबै अन्नहरू जम्मा गरेर सहरहरूमा भोजनका निम्ति प्रयोग गरिनलाई फारोको अख्तियारमा भण्डारण गरून्।
[36] यो अन्नचाहिँ इजिप्टमा आउँदैगरेको सात वर्षको अनिकालको समयमा प्रयोग गरिनलाई भण्डारमा जोगाइराख्नुपर्छ, ताकि देश अनिकालले नष्ट नहोस्।”
[37] त्यो योजना फारो र उनका सबै पदाधिकारीहरूलाई असल लाग्यो।
[38] यसकारण फारोले तिनीहरूलाई सोधे, “के परमेश्वरको आत्मा भएका यिनीजस्ता अरू मानिस पाऔँला?”
[39] तब फारोले योसेफलाई भने, “परमेश्वरले तिमीलाई यी सबै कुरा प्रकट गरिदिनुभएको कारण तिमीजस्तो विवेकशील र बुद्धिमानी मानिस अरू कोही छैन।
[40] तिमी मेरो राजमहलका हर्ताकर्ता हुनेछौ, र मेरा सबै प्रजा तिम्रो हुकुमको अधीनमा हुनेछन्। सिंहासनको विषयमा मात्र म तिमीभन्दा ठूलो हुनेछु।”
[41] यसकारण फारोले योसेफलाई भने, “अबदेखि मैले तिमीलाई सम्पूर्ण इजिप्टको जिम्मेवारी सुम्पेको छु।”
[42] तब फारोले आफ्नो औँलाबाट छाप-औँठी झिकेर योसेफका औँलामा लगाइदिए। उनले तिनलाई मलमलको लबेदा पहिर्याइदिए; र तिनको गलामा सुनको सिक्री लगाइदिए।
[43] उनले तिनलाई आफ्नो दोस्रो दर्जाको अधिकारीको रूपमा रथमा सवार गराए; अनि मानिसहरू उनका अगि-अगि “बाटो छोड्!” भन्दै कराए। यसरी उनले तिनलाई सम्पूर्ण इजिप्ट देशमाथि अख्तियारवाला बनाए।
[44] तब फारोले योसेफलाई भने, “म फारो हुँ; तर तिम्रो हुकुमविना इजिप्टभरि कसैले पनि हात वा खुट्टा उठाउन पाउनेछैन।”
[45] फारोले योसेफलाई सापनान-पानेह नाम दिए; अनि ओनका पुजारी पोतीफेराकी छोरी आसनतलाई तिनकी पत्नी हुनलाई दिए। अनि योसेफले इजिप्टभरि भ्रमण गरे।
[46] इजिप्टका राजा फारोको सेवामा प्रवेश गर्दा योसेफ तीस वर्ष पुगेका थिए। अनि योसेफ फारोको उपस्थितिबाट निस्किएर गए, र इजिप्टभरि भ्रमण गरे।
[47] सात वर्षको सहकालमा देशमा प्रशस्त उब्जनी भयो।
[48] योसेफले ती सात वर्षहरूमा इजिप्टमा प्रशस्त गरी उब्जिएका सबै अन्न संकलन गरे, र सहरहरूमा जम्मा गरे। प्रत्येक सहरका छेउछाउका खेतहरूमा भएका उब्जनी तिनले सहरहरूमा थन्क्याए।
[49] योसेफले समुद्रको बालुवासरह धेरै परिमाणमा अन्न जम्मा गरे; त्यो अन्न यति धेरै थियो कि नाप्न पनि नसकेकोले तिनले त्यसको हिसाब राख्नै छोडिदिए।
[50] अनिकालका वर्षहरू आउनुभन्दा अगि ओनका पुजारी पोतीफेराकी छोरी आसनतबाट योसेफका दुई छोराहरू जन्मे।
[51] योसेफले जेठोको नाम मनश्शे राखेर यसो भने, “योचाहिँ परमेश्वरले मेरा सबै कष्ट र मेरा पिताका सबै घरानालाई बिर्सन दिनुभएको कारणले गर्दा हो।”
[52] दोस्रो छोराको नाम तिनले एफ्राइम राखेर भने, “योचाहिँ मेरो कष्टको देशमा परमेश्वरले मलाई फलिफाप गराउनुभएको कारणले गर्दा हो।”
[53] इजिप्टमा सात वर्षको सहकाल समाप्त भयो;
[54] अनि योसेफले भनेझैँ सात वर्षको अनिकाल सुरु भयो। अरू सबै देशहरूमा अनिकाल पर्यो, तर इजिप्टभरि चाहिँ भोजन थियो।
[55] जब सारा इजिप्टका मानिसहरूले अनिकालको अनुभव गर्न थाले, तब मानिसहरू भोजनका लागि फारोसित बिलौना गर्न लागे। तब फारोले सबै इजिप्टियनहरूलाई भने, “योसेफकहाँ जाओ, र तिनले तिमीहरूलाई जे भन्छन्, त्यही गर।”
[56] यसरी अनिकाल सारा देशभरि फैलियो। योसेफले सम्पूर्ण भण्डारहरू खोलिदिए, र इजिप्टियनहरूलाई अन्न बेचे; किनकि इजिप्टभरि नै घोर अनिकाल फैलिएको थियो।
[57] अनि सबै देशका मानिसहरू योसेफबाट अन्न किन्नलाई इजिप्टमा आए; किनकि संसारभरि नै जताततै घोर अनिकाल परेको थियो।