[1] अब्राहामले अर्की पत्नी पनि ल्याए, जसको नाम कतूरा थियो।
[2] तिनले अब्राहामका निम्ति जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्म दिइन्।
[3] योक्षान शेबा र ददानका पिता थिए; ददानका वशंहरू अश्शूरीम, लतूशी र लऊम्मीहरू थिए।
[4] मिद्यानका छोराहरू: एपा, एपेर, हनोक, अबीदा र एल्दा थिए। यी सबै कतूराका सन्तानहरू थिए।
[5] अब्राहामले कमाएका सबै थोक इसहाकलाई छोडिदिए।
[6] तर अब्राहामले आफू जीवित छँदै आफ्नी उपपत्नीका छोराहरूलाई उपहारहरू दिएर तिनीहरूलाई आफ्ना पुत्र इसहाकदेखि टाढा पूर्वको देशमा पठाइदिए।
[7] अब्राहाम एक सय पचहत्तर वर्षसम्म बाँचे।
[8] तब अब्राहाम आफ्नो पूरा बुढेसकालमा, एक वृद्ध मानिस भएर र पूरा आयुमा तिनको मरे; अनि आफ्ना मानिसहरूसित मिल्न गए।
[9] तिनका छोराहरू इसहाक र इश्माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा, मम्रेको छेउमा भएको मक्पेलाको ओडारमा गाडे;
[10] त्यो खेत अब्राहामले हित्तीहरूबाट किनेका थिए। त्यहाँ अब्राहाम आफ्नी पत्नी सारासँगै गाडिए।
[11] अब्राहामको मृत्युपछि परमेश्वरले तिनका छोरा इसहाकलाई आशिष् दिनुभयो; अनि तिनी बेअर-लहै-रोइको नजिक बसे।
[12] अब्राहामका छोरा इश्माएलको विवरण यही हो, जसलाई साराकी सेविका इजिप्टियन हागारले अब्राहामका निम्ति जन्माएकी थिइन्।
[13] जन्म क्रमअनुसार इश्माएलका छोराहरूका नाम यिनै हुन्: इश्माएलको जेठो छोरा नबायोत, केदार, अदबील, मिब्साम,
[14] मिश्मा, दुमा, मस्सा,
[15] हदद, तेमा, यतूर, नापीश र केदमा।
[16] इश्माएलका छोराहरू यिनै हुन्, र बस्ती र छाउनीहरूअनुसार बाह्र कुलका शासकहरूका नाम यिनै हुन्।
[17] इश्माएल जम्मा एक सय सैँतीस वर्षसम्म बाँचे; त्यसपछि तिनको मृत्यु भयो, र आफ्ना मानिसहरूसँगै माटोमा मिल्न गए।
[18] तिनका सन्ततिहरू अश्शूरतिरको इजिप्टको पूर्वी सिमाना छेउको हवीलादेखि शूरसम्मका ठाउँहरूमा बसोबास गरे। अनि तिनीहरू आफ्ना सबै दाजुभाइहरूसित दुश्मनी लिएर बसे।
[19] अब्राहामका छोरा इसहाकको विवरण यही हो। अब्राहाम इसहाकका पिता भए;
[20] अनि पद्दन-अरामका अरामी बतूएलकी छोरी र अरामी लाबानकी बहिनी रिबेकासित विवाह हुँदा इसहाक चालीस वर्षका थिए।
[21] आफ्नी पत्नी बाँझी भएकाले उनको पक्षमा इसहाकले याहवेहसित प्रार्थना गरे। याहवेहले तिनको प्रार्थनाको जवाफ दिनुभयो, र तिनकी पत्नी रिबेका गर्भवती भइन्।
[22] तिनको गर्भमा बालकहरूले एक-अर्कालाई ठेल्न थाले। “मलाई किन यस्तो भइरहेको छ?” भनी तिनले याहवेहलाई सोध्न गइन्।
[23] तब याहवेहले तिनलाई भन्नुभयो, “तेरो गर्भमा दुई राष्ट्रहरू छन्, अनि तेरो पेटबाट दुई जातिहरू छुट्टिनेछन्; एउटा जाति अर्कोभन्दा बलियो हुनेछ; अनि जेठोले कान्छोको सेवा गर्नेछ।”
[24] जब तिनको जन्माउने समय आयो; तिनको गर्भमा जुम्ल्याह बालकहरू थिए।
[25] पहिले निस्कने रातो वर्णको थियो; अनि त्यसको सम्पूर्ण शरीर रौँको वस्त्रझैँ थियो; र तिनीहरूले त्यसको नाम एसाव राखे।
[26] त्यसपछि उनको भाइ जन्मियो; जसले एसावको कुर्कुच्चा समातेको थियो; यसकारण त्यसको नाम याकोब राखियो। रिबेकाले तिनीहरूलाई जन्माउँदा इसहाक साठी वर्ष पुगेका थिए।
[27] ती बालकहरू बढ्दै गए; अनि एसाव एउटा सिपालु शिकारी, खुला मैदानको मानिस भए; याकोबचाहिँ शान्त स्वभावका थिए, र तिनी पालमै बसिरहन्थे।
[28] इसहाक शिकारको मासु खान रुचाउने हुनाले एसावलाई माया गर्थे; तर रिबेकाले चाहिँ याकोबलाई माया गर्थिन्।
[29] एकपल्ट याकोबले सुरुवा पकाइरहेका बेलामा एसाव खुला मैदानबाट साह्रै भोकाएर आए।
[30] एसावले याकोबलाई भने, “झट्टै मलाई त्यो रातो सुरुवा देऊ! म भोकले मर्नै लागेँ!” (त्यसैकारण तिनलाई एदोम पनि भनिन्थ्यो।)
[31] याकोबले जवाफ दिए, “पहिले आफ्नो ज्येष्ठ अधिकार मलाई बेच।”
[32] एसावले भने, “हेर, म त मर्नै लागेको छु। अब मेरो निम्ति ज्येष्ठ अधिकारको के काम?”
[33] तर याकोबले भने, “पहिले शपथ खाएर मलाई भन।” यसकारण तिनले शपथ खाए, र आफ्नो ज्येष्ठ अधिकार याकोबलाई बेचे।
[34] तब याकोबले एसावलाई केही रोटी र दालको सुरुवा दिए। तिनले त्यो खाए, पिए, र उठेर गइहाले। यसरी एसावले आफ्नो ज्येष्ठ अधिकारलाई लत्याए।