[1] यसरी आकाशमण्डल, पृथ्वी र तिनमा भएका सबै कुरा बनाइसकिए।
[2] परमेश्वरले सातौँ दिन हुँदासम्म आफूले गरिरहनुभएका काम सक्नुभयो; अनि सातौँ दिनमा उहाँले आफ्ना सबै कामबाट विश्राम लिनुभयो।
[3] अनि परमेश्वरले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो; किनकि यही दिन नै उहाँले सृष्टि गर्नुभएका सम्पूर्ण कामबाट विश्राम लिनुभयो।
[4] याहवेह परमेश्वरले सृष्टि गर्नुभएको आकाशमण्डल र पृथ्वीको विवरण यही नै हो।
[5] जब याहवेह परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो, त्यस बेला पृथ्वीमा कुनै वनस्पति र कुनै बोटबिरुवा देखा परेका थिएनन्; किनकि याहवेह परमेश्वरले पृथ्वीमा पानी पठाउनुभएको थिएन र जमिनमा काम गर्ने कुनै मानिस थिएन।
[6] तर पृथ्वीबाट खोलाहरू निस्केर जमिनको सम्पूर्ण बाहिरी भागलाई भिजाउँथ्यो।
[7] याहवेह परमेश्वरले मानिसलाई जमिनको माटोबाट बनाउनुभयो; अनि तिनको नाकमा जीवनको सास फुकिदिनुभयो। यसरी मानिस जीवित प्राणी बन्यो।
[8] याहवेह परमेश्वरले पूर्वपट्टि भएको अदनमा एउटा बगैँचा लगाउनुभएको थियो; अनि आफूले बनाउनुभएको मानिसलाई उहाँले त्यहाँ राख्नुभयो।
[9] अनि याहवेह परमेश्वरले भूमिबाट सबै किसिमका रूखहरू, अर्थात् हेर्नमा राम्रो र खानलाई असल रूखहरू उमार्नुभयो। अनि बगैँचाको बीचमा जीवनको रूख, साथै असल र खराबको ज्ञान दिने रूख पनि लगाउनुभयो।
[10] बगैँचालाई भिजाउनका निम्ति एउटा नदी अदनबाट बहन्थ्यो; त्यो त्यहाँबाट छुट्टिएर चार वटा शाखामा बाँडिएको थियो।
[11] पहिलो नदीको नाम पीशोन हो, जो हवीलाको समस्त मुलुक हुँदै बग्दछ, जहाँ सुन पाइन्छ।
[12] (त्यस देशको सुन असल हुन्छ। त्यहाँ बास्ना आउने खोटो र गोमेद पनि पाइन्छन्।)
[13] दोस्रो नदीको नाम गीहोन हो, जो कूशको समस्त मुलुक भएर बग्दछ।
[14] तेस्रो नदीको नाम टाइग्रिस हो, जो अश्शूरको पूर्वतिर हुँदै बग्दछ; अनि चौथो नदीचाहिँ यूफ्रेटिस हो।
[15] याहवेह परमेश्वरले मानिसलाई लगेर अदनको बगैँचामा काम गर्न र त्यसको हेरचाह गर्नका निम्ति त्यहाँ राख्नुभयो।
[16] अनि याहवेह परमेश्वरले मानिसलाई यसो भनेर आज्ञा दिनुभयो, “यस बगैँचामा भएका कुनै पनि रूखहरूबाट खान तँ स्वतन्त्र छस्;
[17] तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ तैँले खाँदै नखानू! किनकि जुन दिन तैँले त्यो फल खान्छस्, तँ निश्चय नै मर्नेछस्।”
[18] याहवेह परमेश्वरले भन्नुभयो, “मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति एउटा सुहाउँदो सहयोगी बनाउनेछु।”
[19] याहवेह परमेश्वरले भूमिबाट सबै जङ्गली जनावर र आकाशका पक्षीहरूलाई बनाउनुभएको थियो। मानिसले तिनीहरूका के-के नाम राख्दो रहेछ भनी हेर्न तिनीहरूलाई तिनीकहाँ ल्याउनुभयो; अनि मानिसले हरेक प्राणीलाई जे-जे भनेर बोलाए, त्यही नै तिनीहरूका नाम रह्यो।
[20] यसरी मानिसले सबै घरपालुवा जनावरहरू, आकाशका पक्षीहरू र सबै जङ्गली जनावरहरूका नाम राखे। तर आदमको लागि कुनै सुहाउँदो सहयोगी पाइएन।
[21] यसकारण याहवेह परमेश्वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो। जब तिनी निदाइरहेका थिए, तब उहाँले तिनका करङहरूमध्ये एउटा निकालेर त्यस ठाउँलाई मासुले भरिदिनुभयो।
[22] अनि याहवेह परमेश्वरले मानिसबाट जुन करङ निकाल्नुभएको थियो, त्यही करङबाट एउटी स्त्री बनाउनुभयो र तिनलाई मानिसकहाँ ल्याउनुभयो।
[23] अनि मानिसले भने, “अब यो त मेरै हाडहरूका हाड र मासुको मासु हो; तिनलाई ‘स्त्री’ भनिनेछ, किनकि तिनी मानिसबाट निकालिएकी हो।”
[24] यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि तिनीहरू एउटै शरीर हुन्छन्।
[25] मानिस र तिनकी पत्नी दुवै नाङ्गा थिए, तर तिनीहरू लाज मान्दैनथे।