[1] अब याहवेह परमेश्वरले बनाउनुभएका सबै जङ्गली पशुहरूमध्ये सर्प सबैभन्दा बढी धूर्त थियो। त्यसले स्त्रीलाई भन्यो, “के याहवेह परमेश्वरले ‘यस बगैँचाको कुनै पनि रूखका फल तिमीहरूले नखानू’ भनी साँच्चै भन्नुभएको हो?”
[2] तब स्त्रीले सर्पलाई भनिन्, “बगैँचामा भएका रूखहरूका फल हामी खान सक्छौँ,
[3] तर परमेश्वरले यो पनि भन्नुभएको छ, ‘तिमीहरूले बगैँचाको बीचमा भएको रूखको फल खाँदै नखानू, र तिमीहरूले त्यो नछुनू; नत्रता तिमीहरू मर्नेछौ।’ ”
[4] तब सर्पले स्त्रीलाई भन्यो, “तिमीहरू कदापि मर्नेछैनौ!”
[5] “किनकि परमेश्वर जान्नुहुन्छ कि जब तिमीहरूले यो खान्छौ, तिमीहरूका आँखा खुल्नेछन्; अनि असल र खराब थाहा पाएर तिमीहरू पनि परमेश्वरजस्तै हुनेछौ।”
[6] जब स्त्रीले त्यस रूखको फल खानका निम्ति असल, हेर्नमा रहरलाग्दो र बुद्धि प्राप्त गर्न चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले केही फल टिपेर खाइन्। तब तिनले आफ्ना पतिलाई पनि दिइन्; जो तिनीसँगै थिए, र तिनले पनि खाए।
[7] तब ती दुवैका आँखा खुले, र आफू नाङ्गा भएका तिनीहरूले थाहा पाए। यसकारण तिनीहरूले ढाक्नका लागि नेभाराका पातहरू गाँसेर आफ्ना निम्ति वस्त्र बनाए।
[8] जब याहवेह परमेश्वर दिनको शीतल समयमा बगैँचामा हिँड्दैहुनुहुन्थ्यो, तब मानिस र तिनकी पत्नीले उहाँको सोर सुने, र तिनीहरू याहवेह परमेश्वरदेखि बगैँचाका रूखहरूका बीचमा लुके।
[9] तर याहवेह परमेश्वरले मानिसलाई, “तँ कहाँ छस्?” भनी बोलाउनुभयो।
[10] तिनले जवाफ दिए, “मैले बगैँचामा तपाईंको सोर सुनेँ, र मलाई डर लाग्यो, किनकि म नाङ्गो थिएँ; त्यसैले म लुकेँ।”
[11] अनि उहाँले भन्नुभयो, “तँ नाङ्गै छस् भनी कसले भन्यो? मैले नखानू भनी आदेश दिएको त्यस रूखबाट तैँले खाइस्?”
[12] आदमले भने, “तपाईंले मसँगै रहन भनी दिनुभएको स्त्रीले त्यस रूखबाट मलाई केही फल दिई, र मैले खाएँ।”
[13] तब याहवेह परमेश्वरले स्त्रीलाई भन्नुभयो, “तैँले यो के गरिस्?” त्यस स्त्रीले जवाफ दिई, “सर्पले मलाई छल गर्यो, र मैले खाएँ।”
[14] यसकारण याहवेह परमेश्वरले सर्पलाई भन्नुभयो, “तैँले यसो गरेको कारण, “तँ सबै घरपालुवा जनावरहरू र सबै जङ्गली जनावरहरूमध्ये तैँले ज्यादा श्राप पाउनेछस्! तँ पेटको बलले घस्रनेछस्, तेरो सारा जीवनभरि, तैँले धुलो खानेछस्।
[15] अनि तेरो र स्त्रीको बीचमा, अनि तेरा र स्त्रीका सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्च्याउनेछ, अनि तैँले त्यसको कुर्कुच्चा डस्नेछस्।”
[16] स्त्रीलाई उहाँले भन्नुभयो, “म तेरो गर्भावस्थाको पीडा ज्यादै बढाइदिनेछु; बडो कष्टसाथ तैँले सन्तान जन्माउनेछस्। तेरो चाहना तेरो पतितर्फ नै हुनेछ, र उसले तँमाथि अधिकार जमाउनेछ।”
[17] आदमलाई उहाँले भन्नुभयो, “किनकि तैँले तेरी पत्नीको कुरा सुनेको र मैले तँलाई ‘खाँदै नखानू भनी आदेश दिएको रूखको फल खाएको हुनाले,’ “तेरो कारणले भूमिमा श्राप परेको छ; तेरो जीवनकालभरि तैँले कष्टसाथ परिश्रम गरेर त्यसको फल खानेछस्।
[18] भूमिले तेरा निम्ति काँडा र सिउँडी उमार्नेछ; अनि तैँले खेतबारीका सागपात खानेछस्।
[19] जबसम्म तँ माटोमा फर्किजाँदैनस्, तबसम्म तेरो निधारको पसिनाद्वारा तैँले आफ्नो भोजन खानेछस्; किनकि तँ धुलो होस्, र तँ धुलोमा नै फर्किजानेछस्; किनकि यसैबाट तँ बनाइएको थिइस्।”
[20] आदमले आफ्नी पत्नीको नाम हव्वा राखे; किनकि तिनी नै सबै जीवितहरूकी आमा थिइन्।
[21] याहवेह परमेश्वरले आदम र तिनकी पत्नीका निम्ति छालाको वस्त्र बनाएर पहिर्याइदिनुभयो।
[22] अनि याहवेह परमेश्वरले भन्नुभयो, “मानिस अब हामीजस्तै असल र खराबको ज्ञान जान्ने भएको छ। अब उसो त्यसले आफ्नो हात बढाउन नपाओस् र जीवनको रूखबाट टिपेर पनि नखाओस्, र अनन्तसम्म बाँच्न नपाओस्।”
[23] यसकारण जुन भूमिबाट तिनी बनाइएका थिए, त्यसैको खनजोत गरोस् भनेर याहवेह परमेश्वरले तिनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो।
[24] उहाँले मानिसलाई धपाइदिनुभएपछि, अदनको बगैँचाको पूर्वपट्टि जीवनको रूखमा जाने बाटोको रक्षा गर्नलाई करूबहरू अनि चारैतिर चम्किरहने ज्वालामय तरवार राखिदिनुभयो।