Skip to content
Opens in a new window
Listen to this chapter • 5:42

[1] यसकारण आफूसित भएका सम्पूर्ण थोकहरू लिएर इस्राएलले यात्रा सुरु गरे; अनि तिनी बेर्शेबा पुगेपछि तिनले आफ्ना पिता इसहाकका परमेश्‍वरका निम्ति बलिदान चढाए।

[2] अनि राति दर्शनमा परमेश्‍वर इस्राएलसँग बोल्नुभयो र भन्‍नुभयो, “याकोब! ए याकोब!” उनले जवाफ दिए, “हजुर, म यहाँ छु!”

[3] उहाँले भन्‍नुभयो, “म याहवेह, तेरा पिताका परमेश्‍वर हुँ। इजिप्टमा जानलाई नडरा; किनकि म त्यहाँ तँलाई एउटा ठूलो राष्ट्र बनाउनेछु।

[4] म तँसित इजिप्टमा जानेछु, र म निश्‍चय तँलाई फेरि फर्काएर ल्याउनेछु। अनि योसेफले आफ्नै हातले तेरा आँखा बन्द गरिदिनेछ।”

[5] तब याकोबले बेर्शेबा छोडे; अनि इस्राएलका छोराहरूले आफ्ना पिता याकोब र उनीहरूका छोराछोरीहरू, उनीहरूका पत्नीहरूलाई फारोले पठाइदिएका गाडाहरूमा बसाए।

[6] यसरी याकोब र उनका सबै सन्तानहरूले आफूसित आफ्ना गाईबस्तु र उनीहरूले कनानमा कमाएका सम्पत्तिहरू लिएर इजिप्टमा गए।

[7] याकोबले आफ्ना सबै सन्तान—अर्थात् आफ्ना छोराहरू, नातिहरू, आफ्ना छोरीहरू र नातिनीहरू इजिप्टमा लिएर गए।

[8] इजिप्टमा जाने इस्राएलका छोराहरू (याकोब र उनका सन्तानहरू) का नामहरू यिनै हुन्: याकोबका जेठा छोरा रूबेन।

[9] रूबेनका छोराहरू: हानोक, पल्‍लू, हेस्रोन र कर्मी।

[10] शिमियोनका छोराहरू: यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी स्त्रीतर्फको छोरा शौल।

[11] लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी।

[12] यहूदाका छोराहरू: एर, ओनान, शेलह, फारेस र जेरह (तर एर र ओनान कनान देशमा नै मरेका थिए)। पेरेसका छोराहरू: हेस्रोन र हामूल।

[13] इस्साखारको छोराहरू: तोला, पुवा, याशूब र शिम्रोन।

[14] जबूलूनका छोराहरू: सेरेद, एलोन र यहलेल।

[15] यिनीहरूचाहिँ याकोबका निम्ति लेआले पद्दन-अराममा जन्माएका छोराहरू थिए; यसबाहेक उनकी छोरी दीना पनि थिइन्। उनका छोराछोरीहरू जम्मा तेत्तीस जना थिए।

[16] गादका छोराहरू: सेफोन, हाग्गी, शूनी, एसबोन, एरी, अरोदी अनि अरेली।

[17] आशेरका छोराहरू: यिम्ना, यिश्‍वा, यिश्‍वी र बेरियाह। उनीहरूकी बहिनी सेरह थिइन्। बरीआका छोराहरू: हेबेर र मल्कीएल।

[18] लाबानले आफ्नी छोरी लेआलाई दिएकी दासी जिल्पापट्टिका याकोबका छोराछोरीहरू यिनै हुन्; यिनीहरू जम्मा सोह्र जना थिए।

[19] याकोबकी पत्नी राहेलका छोराहरू: योसेफ र बेन्यामीन।

[20] इजिप्टमा ओनका पुजारी पोतीफेराकी छोरी आसनतद्वारा जन्मेका योसेफका छोराहरू मनश्शे र एफ्राइम थिए।

[21] बेन्यामीनका छोराहरू: बेला, बेकेर, अश्बेल, गेरा, नामान, एही, रोश, मुप्पीम, हुप्पीम र आर्द।

[22] राहेलबाट जन्मेका याकोबका छोराहरू यी हुन्; यिनीहरू जम्मा चौध जना थिए।

[23] दानका छोरा: हुशीम।

[24] नप्‍तालीका छोराहरू: यहसेल, गुनी, येसेर र शिल्‍लेम।

[25] यिनीहरूचाहिँ लाबानले आफ्नी छोरी राहेललाई दिएकी दासी बिल्हापट्टिका याकोबका छोराहरू हुन; यिनीहरू जम्मा सात जना थिए।

[26] इजिप्टमा याकोबसित जाने उनका सबै आफ्ना सन्तानमा उनका बुहारीहरूबाहेक, उनीहरू छयसट्ठी जना थिए।

[27] इजिप्टमा जन्मेका योसेफका दुई छोराहरू लगायत, इजिप्टमा गएका याकोबका परिवारमा जम्मा सत्तरी जना थिए।

[28] अब याकोबले आफू गोशेनमा पुग्न लागेको खबर दिन भनी यहूदालाई आफ्नो अगि योसेफकहाँ पठाए। जब उनीहरू गोशेनको प्रान्तमा आइपुगे;

[29] तब योसेफले आफ्नो रथ तयार पारे, र आफ्ना पिता इस्राएललाई भेट्न गोशेन गए। योसेफ उनको सामु पुग्नसाथ आफ्ना पितालाई अँगालो हालेर धेरै समयसम्म रोइरहे।

[30] इस्राएलले योसेफलाई भने, “म आफैँले तँ अझै जीवितै रहेको देखेको हुनाले अब म शान्तिसित मर्न तयार छु।”

[31] तब योसेफले आफ्ना दाजुभाइहरू र आफ्ना पिताको घरानालाई भने, “म गएर फारोसित कुरा गर्नेछु, ‘कनान देशमा बसिरहेका मेरा दाजुभाइहरू र मेरा पिताका घराना मकहाँ आएका छन्।

[32] यी मानिसहरू गोठालाहरू हुन्, र पशुपालन गर्छन्; अनि उनीहरूले आफ्ना बगाल, बथान र भएभरका सबै कुराहरू लिएर आएका छन्।’

[33] जब फारोले तपाईंहरूलाई भित्र बोलाएर ‘तिमीहरूका कामकाज के हो?’ भनी सोध्छन्,

[34] तपाईंहरूले भन्‍नुहोस्, ‘हाम्रा पुर्खाहरूले गरेझैँ हामी बाल्यकालदेखि नै पशुपालन गर्दैआएका छौँ।’ तब तपाईंहरूलाई गोशेनको प्रान्तमा बसोबास गर्न दिइनेछ; किनकि इजिप्टियनहरूका नजरमा गोठालाहरू घृणित हुन्।”

उत्पत्ति — Chapters