Skip to content
Opens in a new window
Listen to this chapter • 5:05

[1] त्यस बेला सारा संसारभरि एउटै भाषा र एकै खालको बोली थियो।

[2] मानिसहरू जब पूर्वतिर सर्दै गए, तिनीहरूले शिनार देशमा एउटा समथल भूमि भेट्टाए; र त्यहीँ बसोबास गर्न थाले।

[3] तिनीहरूले आपसमा भने, “आओ, हामी इँटा बनाऔँ र त्यसलाई पोलेर कडा बनाऔँ।” तिनीहरूले ढुङ्गाको सट्टामा इँटा र मसलाको रूपमा अलकत्रा प्रयोग गरे।

[4] त्यसपछि तिनीहरूले भने, “आओ, हामी आफ्ना निम्ति एउटा सहर बनाऔँ, र स्वर्गसम्म पुग्ने एउटा धरहरा बनाऔँ; अनि आफ्नो नाम राखौँ, नत्रता हामी सारा पृथ्वीभरि छरपस्ट हुनेछौँ।”

[5] तब मानिसहरूले बनाउँदै गरेका सहर र त्यस धरहरा हेर्न भनी याहवेह तल ओर्लनुभयो।

[6] त्यसपछि याहवेहले भन्‍नुभयो, “यी मानिसहरूको बोल्ने एउटै भाषा भएको कारण तिनीहरूले यो काम गर्न थालेका छन्; अब तिनीहरूले जे गर्नका निम्ति योजना बनाएका छन्, तिनीहरूका निम्ति केही पनि असम्भव हुनेछैन।

[7] आओ, हामी तल जाऔँ, र तिनीहरूको भाषा खलबल पारिदिऔँ, ताकि तिनीहरूले एक-अर्काको बोली नबुझून्।”

[8] यसरी याहवेहले तिनीहरूलाई त्यहाँबाट सारा पृथ्वीभरि छरपस्ट पारिदिनुभयो; अनि तिनीहरूले त्यो सहर बनाउने काम अधुरै छोडे।

[9] त्यसकारण त्यस सहरलाई बाबेल भनिन्छ—किनकि यहीँ नै याहवेहले पृथ्वीका सारा मानिसहरूको भाषा खलबल पारिदिनुभएको थियो। तब त्यहाँबाटै याहवेहले तिनीहरूलाई सारा पृथ्वीभरि तितरबितर पारिदिनुभयो।

[10] शेमका वंशको विवरण यही हो: जलप्रलयको दुई वर्षपछि जब शेम 100 वर्ष पुगे, तब तिनी अर्पक्षदका पिता भए।

[11] अनि तिनी अर्पक्षदका पिता भएपछि, शेम 500 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू जन्मिए।

[12] जब अर्पक्षद 35 वर्ष पुगे, तिनी शेलहका पिता भए।

[13] अनि तिनी शेलहका पिता भएपछि, अर्पक्षद 403 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू जन्मिए।

[14] जब शेलह 30 वर्ष पुगे, तिनी एबेरका पिता भए।

[15] अनि तिनी एबेरका पिता भएपछि शेलह 403 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।

[16] जब एबेर 34 वर्ष पुगे, तिनी पेलेगका पिता भए।

[17] अनि तिनी पेलेगका पिता भएपछि एबेर 430 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।

[18] जब पेलेग 30 वर्ष पुगे, तिनी रऊका पिता भए।

[19] अनि तिनी रऊका पिता भएपछि, पेलेग 209 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।

[20] जब रऊ 32 वर्ष पुगे, तिनी सरूगका पिता भए।

[21] अनि तिनी सरूगका पिता भएपछि रऊ 207 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।

[22] जब सरूग 30 वर्ष पुगे, तिनी नाहोरका पिता भए।

[23] अनि तिनी नाहोरका पिता भएपछि सरूग 200 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।

[24] जब नाहोर 29 वर्ष पुगे, तिनी तेरहका पिता भए।

[25] अनि तिनी तेरहका पिता भएपछि नाहोर 119 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।

[26] जब तेरह 70 वर्ष पुगे, तिनी अब्राम, नाहोर र हारानका पिता भए।

[27] तेरहका वंशको विवरण यही हो: तेरहचाहिँ अब्राम, नाहोर र हारानका पिता भए; अनि हारान लोतका पिता भए।

[28] आफ्ना पिता तेरह जीवित छँदै हारान आफू जन्मेको ठाउँ कल्दीहरूको ऊरमा मरे।

[29] अब्राम र नाहोर दुवैले विवाह गरे। अब्रामकी पत्नीको नाम साराई थियो; अनि नाहोरकी पत्नीको नाम मिल्का थियो; यिनीचाहिँ हारानकी छोरी थिइन्, जो मिल्का र यिस्का दुवैका पिता थिए।

[30] अब साराईचाहिँ बाँझी थिइन्; अनि तिनको कुनै सन्तान थिएन।

[31] तेरहले अब्राम, आफ्नो नाति हारानको छोरा लोत र आफ्नी बुहारी साराई, अर्थात् आफ्नो छोरा अब्रामकी पत्नीलाई साथमा लिए; र कनान देशमा जानका निम्ति कल्दीहरूको ऊरबाट निस्के। तर हारानमा आइपुगेपछि तिनीहरू त्यहीँ बसोबास गर्न थाले।

[32] तेरह 205 वर्ष बाँचे; अनि तिनी हारानमै मरे।

उत्पत्ति — Chapters