Skip to content
Opens in a new window
Listen to this chapter • 6:52

[1] अब अब्राहामको समयमा परेको अनिकालबाहेक त्यस देशमा फेरि अर्को अनिकाल पनि पर्‍यो; अनि इसहाक गरारमा भएका पलिश्तीहरूका राजा अबीमेलेककहाँ गए।

[2] याहवेह इसहाककहाँ देखा पर्नुभयो र भन्‍नुभयो, “तल इजिप्टमा नजा; तर मैले तँलाई भनेकै देशमा गएर बस्।

[3] यस देशमा केही समय परदेशी भएर बस्, र म तँसित हुनेछु र तँलाई आशिष् दिनेछु। किनकि म तँलाई र तेरा सन्तानहरूलाई यी सबै देशहरू दिनेछु; र मैले तेरा पिता अब्राहामसित खाएको शपथ पूरा गर्नेछु।

[4] म तेरा सन्तानहरूलाई आकाशमा भएका ताराझैँ असंख्य तुल्याउनेछु; अनि तिनीहरूलाई यी सबै देशहरू दिनेछु; र तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिले आशिष् पाउनेछन्;

[5] किनकि अब्राहामले मेरो आज्ञापालन गर्‍यो, र मेरा आज्ञाहरू, मेरा उर्दीहरू र मेरा निर्देशनहरू पालन गर्दै मैले चाहेका सबै कुरा गर्‍यो।”

[6] यसकारण इसहाक गरारमै बसे।

[7] त्यस ठाउँका मानिसहरूले तिनलाई रिबेकाको विषयमा सोधपुछ गर्दा तिनले भने, “यिनी मेरी बहिनी हुन्; किनकि रिबेकाको कारण त्यस ठाउँका मानिसहरूले तिनलाई मार्लान् भन्‍ने सोचेर रिबेकालाई आफ्नी पत्नी भन्‍न तिनी डराए; किनकि रिबेका अत्यन्तै राम्री थिइन्।”

[8] जब इसहाक त्यहाँ बसेको धेरै भइसकेको थियो, तब पलिश्तीहरूका राजा अबीमेलेकले झ्यालबाट तल हेरे, र तिनले इसहाकलाई आफ्नी पत्नी रिबेकासित प्रेमलाप गरिरहेका देखे।

[9] यसकारण अबीमेलेकले इसहाकलाई बोलाएर भने, “यिनी त वास्तवमा तिम्री पत्नी रहिछिन्! मलाई तिमीले किन ‘यिनी मेरी बहिनी हुन्’ भन्यौ?” इसहाकले तिनलाई जवाफ दिए, “किनकि मेरी पत्नीको कारण मैले आफ्नो ज्यान गुमाउन पर्ला कि भनी मैले सोचेँ।”

[10] तब अबीमेलेकले भने, “तिमीले हामीसँग यो के गर्‍यौ? यी मानिसहरूमध्ये कोही तिम्री पत्नीसित सुतेको भए तिमीले हामीमाथि दोष ल्याउनेथियौ।”

[11] यसकारण अबीमेलेकले सबै मानिसहरूलाई यसो भनी आदेश दिए: “यी मानिस अथवा यिनकी पत्नीलाई हानि गर्ने व्यक्तिले निश्‍चय नै मृत्युदण्ड पाउनेछ।”

[12] इसहाकले त्यस देशमा अन्‍नबाली लगाए; अनि त्यही वर्ष तिनले सय गुणा कटनी गरे; किनकि याहवेहले तिनलाई आशिष् दिनुभएको थियो।

[13] तिनी धनी भए, र तिनी अति धनाढ्य नहुन्जेल तिनको सम्पत्ति बढिरह्‍यो।

[14] तिनीसित यति धेरै बगाल, गाईबस्तु र सेवक-सेविकाहरू थिए, कि पलिश्तीहरूले तिनीसित डाह गर्न लागे।

[15] यसकारण तिनका पिता अब्राहामको समयमा, तिनका पिताका सेवकहरूले खनेका सबै इनारहरू पलिश्तीहरूले माटोले पुरिदिए।

[16] तब अबीमेलेकले इसहाकलाई भने, “हामीदेखि टाढा गइहाल; किनकि तिमी हाम्रो निम्ति अति शक्तिशाली भएका छौ।”

[17] यसकारण इसहाक त्यहाँबाट टाढा सरे र गरारको बेँसीमा पाल टाँगेर त्यहीँ बसोबास गरे।

[18] इसहाकका पिता अब्राहामको समयमा खनिएका इनारहरू तिनले फेरि खने, जुन अब्राहामको मृत्युपछि पलिश्तीहरूले पुरिदिएका थिए; अनि ती इनारहरूलाई तिनका पिताले दिएकै नामहरू दिए।

[19] इसहाकका सेवकहरूले बेँसीमा खने, र त्यहाँ स्वच्छ पानीको एउटा इनार पत्ता लगाए।

[20] तर गरारका गोठालाहरूले इसहाकका गोठालाहरूसित झगडा गरेर भने, “यो पानी हाम्रो हो!” यसकारण तिनले त्यस इनारको नाम एसेक राखे; किनकि तिनीहरूले उनीहरूसित झगडा गरेका थिए।

[21] तब तिनीहरूले अर्को इनार खने, तर तिनीहरूले त्यसका निम्ति पनि झगडा गरे; यसकारण तिनले त्यसको नाम सित्ना राखे।

[22] तिनी त्यहाँबाट अझ अगि बढे, र अर्को इनार खने; अनि कसैले पनि त्यसका निम्ति झगडा गरेन। तिनले त्यसको नाम यसो भनेर रहोबोत राखे, “अब याहवेहले हामीलाई ठाउँ दिनुभएको छ र हामी यस देशमा उन्‍नति गर्नेछौँ।”

[23] त्यहाँबाट तिनी बेर्शेबासम्म गए।

[24] त्यस रात याहवेह तिनीकहाँ देखा परेर भन्‍नुभयो, “म तेरा पिता अब्राहामको परमेश्‍वर हुँ। नडरा, किनकि म तँसित छु; म तँलाई आशिष् दिनेछु र मेरा सेवक अब्राहामको खातिर म तेरो सन्तानको संख्या बढाउनेछु।”

[25] इसहाकले त्यहाँ एउटा वेदी बनाए अनि याहवेहको आराधना गरे। त्यहाँ तिनले आफ्नो पाल टाँगे; अनि त्यहाँ तिनका सेवकहरूले एउटा इनार खने।

[26] त्यसै बेला गरारबाट अबीमेलेक आफ्ना व्यक्तिगत सल्‍लाहकार अहुज्जत र आफ्ना सेनाका सेनापति पीकोलसित तिनीकहाँ आए।

[27] इसहाकले तिनीहरूलाई सोधे, “तपाईंहरूले मसित दुश्मनी गरेर मलाई धपाउनुभयो। अहिले तपाईंहरू किन मकहाँ आउनुभयो?”

[28] तिनीहरूले जवाफ दिए, “तपाईंसित याहवेह हुनुभएको हामीले प्रष्‍टसँग देख्यौँ, र हामीले भन्यौँ, ‘तपाईंसित हाम्रो शपथसहितको वाचा गरिएको सम्झौता हुनुपर्नेथियो—हामी र तपाईंबीच।’ हामी तपाईंसँग एउटा सन्धि गर्न चाहन्छौँ,

[29] ताकि हामीले तपाईंलाई हानि नगरी सधैँ तपाईंसित राम्रो व्यवहार गरेर शान्तिसित तपाईंलाई पठाइदिएझैँ, तपाईंले पनि हामीलाई कुनै हानि गर्नुहुनेछैन। अनि अहिले तपाईंले याहवेहद्वारा आशिष् पाउनुभएको छ।”

[30] तब इसहाकले तिनीहरूका निम्ति भोज तयार पारे, र तिनीहरूले खाए र पिए।

[31] अर्को दिन बिहानै ती मानिसहरूले एक-अर्कासित शपथ खाए। तब इसहाकले तिनीहरूलाई आफ्नो बाटो लगाइदिए; अनि तिनीहरू शान्तिसित गए।

[32] त्यस दिन इसहाकका सेवकहरूले तिनलाई उनीहरूले खनेको इनारको विषयमा बताए। तिनीहरूले भने, “हामीले पानी भेट्टाएका छौँ!”

[33] तब तिनले त्यसको नाम शिबा राखे। आजसम्म नै त्यस नगरको नाम बेर्शेबा भनिन्छ।

[34] एसाव चालीस वर्षको हुँदा हित्ती बेरीकी छोरी यूदीतलाई र हित्ती एलोनकी छोरी बासमतलाई पनि विवाह गरे।

[35] तर यी स्त्रीहरू इसहाक र रिबेकाका निम्ति सन्तापको स्रोत भए।

उत्पत्ति — Chapters