[1] यसरी अब्राम आफ्नी पत्नी र आफूसित भएका सबै थोकहरू लिएर इजिप्टबाट दक्षिणतिर गए, र लोत पनि तिनको पछि लागे।
[2] अब्राम घरपालुवा पशुहरू, सुन र चाँदीमा प्रशस्त धनवान् भएका थिए।
[3] दक्षिणबाट धेरै ठाउँहरूहुँदै तिनी बेथेलमा आइपुगे, अर्थात् बेथेल र ऐको बीच ठाउँमा जहाँ पहिले तिनको पाल टाँगिएको थियो
[4] र त्यहाँ तिनले पहिलो वेदी बनाएका थिए। त्यहाँ अब्रामले याहवेहको नामलाई पुकार गरे।
[5] अब्रामसित यात्रा गर्ने लोतका पनि भेडाबाख्रा, गाईबस्तुहरूका बथान र पालहरू थिए।
[6] तर तिनीहरू एकैसाथ रहनका लागि जमिनले धान्न सकेन; किनकि तिनीहरूका सम्पत्तिहरू यति धेरै थिए कि तिनीहरू एकैसाथ रहन सकेनन्।
[7] अनि अब्रामका गोठालाहरू र लोतका गोठालाहरू बीचमा झगडा सुरु भयो। त्यस बेला त्यस देशमा कनानी र परिज्जीहरू पनि बसोबास गर्थे।
[8] यसकारण अब्रामले लोतलाई भने, “तिम्रो र मेरो बीचमा, र तिम्रा गोठालाहरू र मेरा गोठालाहरू बीचमा झगडा नहोस्; किनकि हामी नजिकका नातेदार हौँ।
[9] के सम्पूर्ण देश तिम्रो सामु छैन र? हामी अलग होऔँ। तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु; तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु।”
[10] त्यसपछि लोतले चारैतिर हेरे; सोअरतिरको यर्दनको सबै समथल भूमिलाई याहवेहको बगैँचाझैँ प्रशस्त पानी भएको इजिप्ट देशजस्तै देखे। (योचाहिँ याहवेहले सदोम र गमोरालाई नष्ट गर्नु अगिको कुरा थियो।)
[11] यसकारण लोतले आफ्ना निम्ति यर्दनका सबै समथल भूमिलाई चुने; अनि पूर्वतिर लागे। यसरी यी दुई मानिसहरू एक-अर्काबाट अलग भए।
[12] अब्राम कनान देशमै बसे, र लोतचाहिँ समथल भूमिका सहरहरूमध्ये एउटामा बसे; अनि तिनले सदोमको छेउमा आफ्ना पालहरू टाँगे।
[13] सदोमका मानिसहरू दुष्ट थिए, र याहवेहको विरुद्धमा घोर पाप गरिरहन्थे।
[14] अब्रामबाट लोत छुट्टिएपछि याहवेहले अब्रामलाई भन्नुभयो, “तँ जहाँ छस्, त्यहाँबाट उत्तर र दक्षिण, पूर्व र पश्चिम चारैतिर हेर्।
[15] तैँले देखेको सबै जमिन तँ र तेरा सन्तानहरूलाई म सदाका निम्ति दिनेछु।
[16] म तेरा सन्तानहरूलाई पृथ्वीको धुलोझैँ बनाउनेछु, र कसैले धुलो गन्न सक्छ भने तेरा सन्तानहरूलाई पनि गन्न सक्नेछ।
[17] जा, त्यस देशको लम्बाइ र चौडाइ वारपार हिँड्; किनकि यो म तँलाई दिँदैछु।”
[18] यसकारण अब्रामले आफ्नो पाल सारे, र हेब्रोनमा मम्रेका फलाँटका ठूला रूखहरूको छेउमा गएर बसे; त्यहाँ तिनले याहवेहको निम्ति एउटा वेदी बनाए।