Skip to content
Opens in a new window
Listen to this chapter • 11:13

[1] हाम्रा बीचमा पूरा भएका घटनाहरूको विवरण तयार गर्ने काम धेरैले आफ्नो हातमा लिएका छन्,

[2] जसरी सुरुदेखि नै प्रत्यक्ष साक्षी र वचनका सेवकहरूले नै यी कुरा हामीलाई सुम्पिदिए।

[3] यसकारण हे माननीय थियोफिलस, मैले सुरुदेखि नै सबै कुराको सावधानीपूर्वक खोजी गरेको हुनाले तपाईंको निम्ति ती सबै कुराहरूको एक क्रमवद्ध विवरण लेख्न मलाई पनि असल लाग्यो,

[4] जसबाट तपाईंलाई सिकाइएका कुराहरूको निश्‍चयता तपाईंलाई थाहा होस्।

[5] यहूदिया प्रदेशका राजा हेरोदको पालामा अबियाका पूजाहारी समूहका जकरिया नाउँ भएका एकजना पूजाहारी थिए। उनकी पत्नी एलीशिबा पनि हारून वंशकी थिइन्।

[6] तिनीहरू दुवैजना परमेश्‍वरको दृष्‍टिमा धर्मी थिए, र प्रभुका आज्ञा र व्यवस्था निर्दोषसाथ पालन गर्थे।

[7] तर तिनीहरूका कोही सन्तान थिएनन्; किनकि एलीशिबा बाँझी थिइन्, अनि ती दुवै उमेर ढल्किसकेका थिए।

[8] एकपल्ट जब जकरिया परमेश्‍वरको सामु आफ्नो दलको पालोमा पूजाहारीको काम गरिरहेका थिए,

[9] तब पूजाहारीको सेवाको चलनअनुसार चिट्ठा हाल्दा, प्रभुको मन्दिरमा धूप बाल्ने जिम्मा जकरियालाई पर्‍यो।

[10] अनि सुगन्धित धूप बाल्ने बेलामा, भेला भएका सबै उपासकहरूले बाहिर प्रार्थना गरिरहेका थिए।

[11] त्यस बेला प्रभुका एउटा दूत तिनीकहाँ धूप वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे।

[12] अनि दूतलाई देखेर जकरिया आत्तिए, र भयभीत भए।

[13] तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ, जकरिया तिम्रो प्रार्थनाको सुनुवाइ भएको छ। तिम्री पत्नी एलीशिबाले तिम्रो निम्ति एउटा पुत्र जन्माउनेछिन्, र तिमीले तिनको नाउँ यूहन्‍ना राख्नू।

[14] तिनी तिम्रो निम्ति आनन्द र रमाहट हुनेछन्, र तिनको जन्मको कारण धेरैजना रमाउनेछन्

[15] किनकि प्रभुको अघि तिनी महान् हुनेछन्। तिनले कुनै पनि मद्य कहिल्यै पिउने छैनन्, र तिनी आमाको गर्भदेखि नै पवित्र आत्माले भरपूर हुनेछन्।

[16] अनि तिनले इस्राएलका धेरैलाई प्रभु तिनीहरूका परमेश्‍वरतर्फ फर्काउनेछन्।

[17] बुबाहरूका मन तिनीहरूका छोराछोरीतर्फ र अनाज्ञाकारीहरूलाई धर्मीहरूका बुद्धितर्फ फर्काउन, र प्रभुको निम्ति योग्य भएको एउटा निज जाति तयार पार्न, एलियाको आत्मा र शक्‍तिमा तिनी प्रभुको अघि-अघि जानेछन्।”

[18] जकरियाले स्वर्गदूतलाई सोधे, “मैले यो निश्‍चय कसरी जानूँ? म बुढो मानिस हुँ, अनि मेरी पत्नीको पनि उमेर ढल्किसकेको छ।”

[19] स्वर्गदूतले जवाफ दिए, “म गब्रिएल हुँ। म परमेश्‍वरको सामु उभिन्छु, र म तिमीसँग बोल्न र यो सुसमाचार तिमीलाई सुनाउन पठाइएको हुँ।

[20] अब यो घटना पूरा नभएसम्म तिमी बोलीविहीन हुनेछौ, र बोल्न सक्नेछैनौ; किनकि आफ्नो ठीक समयमा पूरा हुन आउने मेरा वचनमा तिमीले विश्‍वास गरेनौ।”

[21] यसै बीचमा मानिसहरू जकरियाको प्रतीक्षामा थिए, र तिनी मन्दिरमा किन अबेरसम्म बसे भनी छक्‍क पर्दैथिए।

[22] जब तिनी बाहिर आए, तब तिनी तिनीहरूसँग बोल्न सकेनन्। तिनले मन्दिरमा दर्शन पाएछन् भनी मानिसहरूले महसुस गरे, किनकि तिनले तिनीहरूलाई इशारा गरिरहे, तर बोल्न सकेनन्।

[23] अनि सेवा गर्ने आफ्नो समय पूरा भएपछि तिनी घर फर्के।

[24] यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्म गुप्‍तमा बसिन्।

[25] तिनले भनिन्, “प्रभुले मेरो निम्ति यो गर्नुभएको छ। यी दिनहरूमा उहाँले मलाई कृपा देखाउनुभएको छ, र मानिसहरूका बीचमा मेरो कलङ्क हटाइदिनुभएको छ।”

[26] एलीशिबा गर्भवती भएको छैटौं महिनामा, परमेश्‍वरले गालील प्रदेशको नासरत शहरमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो।

[27] तिनी एउटी कन्ये केटीकहाँ पठाइए, जसको मगनी दाविदको घरानाको योसेफ भन्‍ने एकजना मानिससँग भएको थियो। ती कन्याको नाउँ मरियम थियो।

[28] स्वर्गदूत तिनीकहाँ गए, र भने, “हे उच्‍च कृपाकी पात्र, अभिवादन! प्रभु तिमीसित हुनुहुन्छ।”

[29] तिनको वचन सुनेर मरियम विचलित भइन्, अनि यो कस्तो प्रकारको अभिवादन होला भनी मनमनै विचार गर्न थालिन्।

[30] तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ मरियम, तिमीले परमेश्‍वरबाट कृपा पाएकी छौ।

[31] तिमी गर्भवती हुनेछौ र एउटा पुत्र जन्माउनेछौ, र तिमीले उहाँको नाउँ येशू राख्नू।

[32] उहाँ महान् हुनुहुनेछ र परमप्रधानका पुत्र भनिनुहुनेछ। प्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाविदको सिंहासन दिनुहुनेछ,

[33] र उहाँले याकोबको घरानामाथि सदा-सर्वदा राज्य गर्नुहुनेछ, अनि उहाँको राज्यको अन्त्य कहिल्यै हुनेछैन।”

[34] मरियमले स्वर्गदूतलाई सोधिन्, “यो कसरी हुन सक्ला, किनकि म ता एक कन्या हुँ?”

[35] स्वर्गदूतले जवाफ दिए, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र परमप्रधानको शक्‍तिले तिमीलाई छाया पार्नेछ। यसकारण जन्मनुहुने उहाँ, जो पवित्र हुनुहुन्छ, उहाँ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ।

[36] यसैगरी तिम्री नातेदार एलीशिबाले पनि आफ्नो वृद्ध उमेरमा एउटा पुत्र जन्माउनेछिन्; र बाँझी भनिएकी तिनी अहिले गर्भधारणको छैटौं महिनामा छिन्।

[37] किनकि परमेश्‍वरको निम्ति कुनै पनि कुरा असम्भव छैन।”

[38] मरियमले भनिन्, “म प्रभुकी सेविका, मलाई तपाईंको वचनअनुसार होस्।” त्यसपछि स्वर्गदूत तिनीबाट बिदा भए।

[39] त्यस समयमा मरियम तयार भइन् र हतार-हतार यहूदिया प्रदेशको पहाडतर्फको एउटा गाउँमा गइन्; जहाँ एलीशिबा र जकरिया बस्दथे

[40] र त्यहाँ जकरियाको घरभित्र पसेर एलीशिबालाई अभिवादन गरिन्।

[41] एलीशिबाले मरियमको अभिवादन सुन्‍ने बित्तिकै तिनको गर्भमा रहेको बालक उफ्रियो; र एलीशिबा पवित्र आत्माले भरिइन्।

[42] तिनले चर्को सोरमा भनिन्: “स्त्रीहरूमा तिमी धन्य हौ, र तिमीले जन्माउने बालक पनि धन्यका हुन्

[43] तर मेरा प्रभुकी आमा मकहाँ आउनुजस्तो कृपा मलाई किन भयो?

[44] तिम्रो अभिवादनको स्वर मेरो कानमा पर्ने बित्तिकै मेरो गर्भको बालक आनन्दले उफ्रियो।

[45] जसले तिनलाई प्रभुले भन्‍नुभएका कुरा पूरा हुनेछन् भनी विश्‍वास गरिन्, तिनी धन्यकी हुन्।”

[46] अनि मरियमले भनिन्: “मेरो प्राणले प्रभुको प्रशंसा गर्दछ,

[47] र मेरो आत्मा मेरा मुक्‍तिदाता परमेश्‍वरमा रमाहट गर्दछ।

[48] किनकि उहाँले आफ्नो सेविकाको दीन अवस्थाको विचार गर्नुभएको छ; अबदेखि सबै पुस्ताले मलाई धन्यकी भन्‍नेछन्,

[49] किनकि सर्वशक्‍तिमानले मेरो निम्ति महान् काम गर्नुभएको छ: उहाँको नाउँ पवित्र होस्।

[50] उहाँको करुणा उहाँको भय मान्‍नेहरूको निम्ति पुस्तादेखि पुस्तासम्म रहिरहन्छ।

[51] उहाँले आफ्ना बाहुलीद्वारा शक्‍तिशाली कामहरू गर्नुभएको छ। आफ्नो मनको विचारमा घमण्ड गर्नेहरूलाई उहाँले तितरबितर पारिदिनुभएको छ।

[52] उहाँले शासकहरूलाई तिनीहरूका सिंहासनदेखि खसालिदिनुभएको छ, तर नम्रहरूलाई उच्‍च पार्नुभएको छ।

[53] उहाँले भोकाहरूलाई असल कुराले तृप्‍त पार्नुभएको छ, तर धनीहरूलाई रित्तै हात पठाइदिनुभएको छ।

[54] उहाँले कृपालु बन्‍न स्मरण गर्दै, आफ्नो सेवक इस्राएललाई सहायता गर्नुभएको छ;

[55] जसरी उहाँले हाम्रा पुर्खाहरूलाई बताउनुभएको थियो, जुन कृपा उहाँले अब्राहाम र उनका सन्तानलाई सदाका लागि देखाउँछु भन्‍नुभएको थियो।”

[56] मरियम एलीशिबासँग लगभग तीन महिना बसेर घर फर्किन्।

[57] जब एलीशिबाको सुत्केरी हुने बेला आयो, तब तिनले एउटा छोरा जन्माइन्।

[58] तिनका छिमेकी र नातेदारहरूले प्रभुले तिनीमाथि उहाँको ठूलो कृपा देखाउनुभएको छ भन्‍ने सुने, अनि तिनको आनन्दमा सँगै रमाए।

[59] आठौं दिनमा तिनीहरू बालकलाई खतना गर्न आए, र तिनीहरूले बालकको नाउँ उसको बुबाझैं जकरिया राख्न लागेका थिए,

[60] तर बालककी आमा बोलिन् र भनिन्, “होइन! त्यसको नाउँ यूहन्‍ना राखिनुपर्छ।”

[61] तिनीहरूले तिनलाई भने, “त्यो नाउँ भएको व्यक्‍ति त तिम्रा नातेदारमा कोही पनि छैन।”

[62] त्यसपछि तिनीहरूले त्यसका बुबाले बालकलाई के नाउँ दिन चाहन्छन् भनी जान्‍न उनलाई इशारा गरी सोधे।

[63] उनले एउटा लेख्ने पाटी मगाएर “उसको नाउँ यूहन्‍ना हो” भनी लेखिदिए। यो देखेर सबै छक्‍क परे

[64] तुरुन्तै तिनको मुख र जिब्रो खुल्यो अनि बोली फुट्यो; अनि उनी परमेश्‍वरको प्रशंसा गर्दै बोल्न थाले।

[65] यो देखेर छिमेकीहरू सबैमा डर छायो; र यहूदिया प्रदेशका सम्पूर्ण पहाडी मुलुकभरि मानिसहरूले यी सबै कुराका बारेमा चर्चा गरे।

[66] यी कुरा सुन्‍नेहरू सबैले “यो बालक अब कस्तो होला?” भन्दै विचार गर्न लागे। किनकि प्रभुको बाहुली तिनीमाथि थियो।

[67] बालकका बुबा जकरिया पवित्र आत्माले भरिए, र यसरी अगमवाणी बोल्न लागे:

[68] “इस्राएलका परमेश्‍वर, प्रभुलाई प्रशंसा होस्; किनकि उहाँ आएर आफ्ना मानिसहरूलाई उद्धार गर्नुभएको छ।

[69] उहाँले आफ्नो सेवक दाविदको वंशमा हाम्रा निम्ति एउटा शक्‍तिशाली राजा, हाम्रो उद्धारको निम्ति पठाउनुभएको छ।

[70] जसरी आफ्ना पवित्र अगमवक्‍ताहरूद्वारा उहाँले परापूर्व कालदेखि नै बोल्नुभएको थियो।

[71] हाम्रा शत्रुहरूबाट र हामीलाई घृणा गर्नेहरू सबैका हातबाट हामीलाई उद्धार गर्न,

[72] हाम्रा पुर्खाहरूलाई कृपा देखाउनलाई र उहाँको पवित्र करार स्मरण गर्नलाई,

[73] जुन शपथ उहाँले हाम्रा पुर्खा अब्राहामसँग गर्नुभएको थियो,

[74] हामीलाई हाम्रा शत्रुहरूका हातबाट छुटाउनलाई र निर्भयतासाथ पवित्रता र धार्मिकतामा,

[75] हाम्रो जीवनभरि नै उहाँको सामुन्‍ने उहाँको सेवा गर्ने तुल्याउनलाई।

[76] “अनि तिमी मेरा बालक, सर्वोच्‍चका अगमवक्‍ता भनिनेछौ, किनकि उहाँका निम्ति बाटो तयार पार्न तिमी प्रभुको अघि-अघि जानेछौ।

[77] उहाँका मानिसहरूलाई तिनीहरूका पाप क्षमाद्वारा मुक्‍तिको ज्ञान दिनलाई,

[78] हाम्रा परमेश्‍वरको कोमल कृपाको कारणले, जसद्वारा हाम्रा निम्ति स्वर्गबाट उदाउँदो सूर्य आउनेछ।

[79] अन्धकार र मृत्युको छायामा बस्‍नेहरूमाथि ज्योति चम्कनलाई, हाम्रा पाउहरूलाई शान्तिको बाटोमा डोर्‍याउनलाई।”

[80] अनि बालक बढ्दै र आत्मामा बलियो हुँदैजानुभयो; र इस्राएलमा सार्वजनिक रूपमा देखा परेर सेवा सुरु नगरून्जेल, उहाँ उजाडस्थानमा नै बस्‍नुभयो।

लूका — Chapters