[1] एक दिन उहाँले मन्दिरको चोकहरूमा भएका मानिसहरूलाई शिक्षा दिँदै र सुसमाचार घोषणा गरिरहनुभएको बेला, मुख्य पूजाहारीहरू र व्यवस्थाका शिक्षकहरू, प्रधानहरूका साथमा उहाँकहाँ आए।
[2] तिनीहरूले भने, “हामीलाई भन, तिमीले कुन अधिकारले यी कुराहरू गर्दैछौ? तिमीलाई यो अधिकार कसले दियो?”
[3] उहाँले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न गर्छु, मलाई भन,
[4] यूहन्नाको बप्तिस्मा स्वर्गबाट थियो कि मानिसहरूबाटको?”
[5] तिनीहरूले यस विषयमा आ-आफूभित्र छलफल गरेर भने, “यदि हामीले ‘स्वर्गबाट’ भनौं भने, तिनले ‘त्यसो भए किन तिनलाई विश्वास गरेनौ त?’ भनी सोध्नेछन्।
[6] तर हामीले ‘मानिसहरूबाट’ भनौं भने, सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्नेछन्; किनकि तिनीहरूले यूहन्नालाई अगमवक्ता भनी विश्वास गर्दछन्।”
[7] त्यसकारण तिनीहरूले जवाफ दिए, “त्यो कहाँबाट थियो, हामी जान्दैनौं।”
[8] अनि येशूले भन्नुभयो, “म पनि कुन अधिकारले यी कामहरू गर्दैछु त्यो भन्दिनँ।”
[9] उहाँ बोल्दैजानुभयो र मानिसहरूलाई यो दृष्टान्त भन्नुभयो: “एकजना मानिसले दाखबारी लगाए, र केही किसानहरूलाई मोहीको रूपमा खटाएर लामो समयका लागि टाढा गए।
[10] कटनीको समयमा तिनले ती मोहीहरूले दाखबारीबाट तिनलाई फलको केही भाग दिऊन् भनी एउटा सेवकलाई तिनीहरूकहाँ पठाए। तर मोहीहरूले त्यसलाई पिटे, र त्यसलाई रित्तै हात फर्काइदिए।
[11] तिनले अर्को सेवकलाई पनि पठाए, तर त्यसलाई पनि तिनीहरूले पिटे, र बेइज्जत गरेर रित्तै हात नै पठाइदिए।
[12] तिनले तेस्रो सेवकलाई पनि पठाए, अनि तिनीहरूले त्यसलाई पनि घाइते बनाएर बाहिर फालिदिए।
[13] “त्यसपछि दाखबारीका मालिकले भने, ‘म के गरूँ? म आफ्नो प्यारो छोरोलाई पठाउनेछु; शायद तिनीहरूले उसलाई त आदर गर्लान्।’
[14] “तर जब मोहीहरूले त्यसलाई देखे, तब आपसमा यस विषयमा कुरा गरे। तिनीहरूले भने, ‘यो त हकवाला हो। हामी यसलाई मारौं, अनि हकको सम्पत्ति हाम्रो हुनेछ।’
[15] यसरी तिनीहरूले त्यसलाई दाखबारीको बाहिर निकालेर मारे। “अब त्यस दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्?
[16] तिनी आएर ती मोहीहरूलाई मार्नेछन्, र त्यो दाखबारी अरूहरूलाई दिनेछन्।” मानिसहरूले यो सुनेर भने, “यस्तो कहिल्यै नहोस्!”
[17] येशूले सोझै तिनीहरूलाई हेर्नुभयो र सोध्नुभयो, “तब यसरी लेखिएको कुराको अर्थ के हो त: “ ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही नै कुनाको मुख्य ढुङ्गो बन्यो’?
[18] हरेक जो त्यस ढुङ्गामाथि खस्छ, त्यो टुक्रा-टुक्रा हुनेछ, तर जसमाथि त्यो खस्छ, त्यो धूलोपीठो हुनेछ।”
[19] त्यसपछि व्यवस्थाका शिक्षकहरू र मुख्य पूजाहारीहरूले उहाँलाई तुरुन्तै पक्रने उपाय खोज्न थाले, किनकि उहाँले यो दृष्टान्त तिनीहरूका विरुद्धमा भन्नुभएको हो भनी तिनीहरूलाई थाहा थियो। तर तिनीहरू मानिसहरूदेखि डराउँथे।
[20] उहाँको चियो गरी मौका हेर्दै, तिनीहरूले धर्मी भएको बहाना गर्ने जासूसहरूलाई उहाँकहाँ पठाए। येशूले भन्नुभएका कुनै कुरामा उहाँलाई फसाई पक्रेर राज्यपालको अधिकार र शक्तिकहाँ उहाँलाई सुम्पिदिन तिनीहरूले दाउ हेरे।
[21] अनि ती जासूसहरूले उहाँलाई प्रश्न गरे: “गुरुज्यू, हामी जान्दछौं कि तपाईंले जे ठीक छ, त्यही बोल्नुहुन्छ र त्यसैको शिक्षा दिनुहुन्छ र तपाईंले भेदभाव राख्नुहुन्न, तर सत्यता बमोजिम परमेश्वरका मार्ग सिकाउनुहुन्छ।
[22] के हामीले सिजरलाई कर तिर्नु उचित छ कि छैन?”
[23] तर उहाँले तिनीहरूका बनावटी कुरा देख्नुभयो र भन्नुभयो,
[24] “मलाई दिनारको एउटा सिक्का देखाओ। यसमा कसका चित्र र छाप छन्?” “सिजरको,” तिनीहरूले जवाफ दिए।
[25] तब उहाँले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए जे सिजरको हो, त्यो सिजरलाई देओ र जे परमेश्वरको हो, त्यो परमेश्वरलाई देओ।”
[26] उहाँले त्यहाँ सारा मानिसहरूको अघि जे भन्नुभयो त्यस कुरामा उहाँलाई पक्रन तिनीहरू सामर्थ्य भएनन्। अनि उहाँले दिनुभएको जवाफमा आश्चर्य चकित भएर तिनीहरू चूप लागिरहे।
[27] मरेकाहरू पुनर्जीवित हुँदैन भनी विश्वास गर्ने समूह सदुकीहरूमध्ये केही एउटा प्रश्न लिएर येशूकहाँ आए।
[28] तिनीहरूले भने, “गुरुज्यू, मोशाले हाम्रा निम्ति लेखिदिएका थिए, कुनै मानिसको दाजु निःसन्तान भई पत्नीलाई मात्र छोडेर मर्यो भने, त्यस मानिसले त्यो विधवालाई विवाह गरेर उसका दाजुका निम्ति सन्तान उत्पन्न गरिदिनुपर्छ।
[29] अब कुनै परिवारमा सात भाइ थिए। पहिलोले विवाह गरेर पत्नी ल्यायो र निःसन्तान भई मर्यो।
[30] अनि दोस्रोले, र ऊपछि तेस्रोले उसलाई विवाह गर्यो, अनि यसैगरी सातै जना नै निःसन्तान भई मरे।
[32] अन्त्यमा त्यो स्त्री पनि मरी।
[33] अब मरेकाहरू पुनर्जीवित हुँदा त्यो स्त्री कसकी पत्नी हुनेछे? किनकि सातै जनाको त्यससँग विवाह भएको थियो।”
[34] येशूले जवाफ दिनुभयो, “यस युगका मानिसहरू विवाह गर्दछन् र विवाहमा दिइन्छन्।
[35] तर त्यस युगसम्म पुग्न, र मरेकाहरूबाट पुनर्जीवित हुनयोग्य ठहरिनेहरूले न ता विवाह गर्नेछन् न विवाहमा दिइन्छन्,
[36] अनि तिनीहरू कहिल्यै मर्दैनन्; किनकि तिनीहरू स्वर्गदूतसमान हुन्। पुनर्जीवितका सन्तान भएकाले, तिनीहरू परमेश्वरका सन्तान हुन्।
[37] पोथ्राको विवरणमा मोशाले पनि मरेकाहरू जीवित पारिन्छन् भन्ने कुरा देखाएका थिए, किनकि तिनले प्रभुलाई ‘अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकोबका परमेश्वर’ भनी पुकारा गरेका छन्।
[38] उहाँ मरेकाहरूको परमेश्वर हुनुहुन्न, तर जीवितहरूका हुनुहुन्छ; किनकि उहाँका निम्ति सबै जीवित छन्।”
[39] व्यवस्थाका केही शिक्षकहरूले भने, “गुरुज्यू, तपाईंले बडो असल कुरो भन्नुभयो!”
[40] अनि कसैले पनि उहाँलाई अरू प्रश्न सोध्ने आँट गरेनन्।
[41] त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “ख्रीष्ट दाविदका पुत्र हुन् भनी तिनीहरू कसरी भन्दछन्?
[42] किनकि दाविद आफैले भजनको पुस्तकमा यसो भनेका छन्: “ ‘प्रभुले मेरा प्रभुलाई भन्नुभयो: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ, तिमी मेरो दाहिने हातपट्टि बस।” ’
[44] दाविदले उहाँलाई ‘प्रभु’ भन्छन्। त्यसो भए उहाँ कसरी तिनका पुत्र हुन सक्छन्?”
[45] अनि सबै मानिसहरूले सुनिरहेकै बेलामा येशूले उहाँका चेलाहरूलाई भन्नुभयो:
[46] “व्यवस्थाका शिक्षकहरूदेखि होसियार बस। तिनीहरू लामो पोशाक पहिरेर यताउता हिँड्न चाहन्छन्, बजारहरूमा आदरको अभिवादन पाउन मन पराउँछन्, अनि सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र भोजहरूमा आदरको स्थान लिन मन पराउँछन्।
[47] तिनीहरूले विधवाहरूका घरहरू हडप्छन्, र देखाउनका निम्ति लामा-लामा प्रार्थना गर्दछन्। यस्ता मानिसहरूले सबैभन्दा कडा दण्ड पाउनेछन्।”