[1] विश्रामदिन सकिएपछि, येशूको शरीरमा घस्न भनी मरियम मग्दलिनी, याकोबकी आमा मरियम, अनि सलोमीले सुगन्धित मसलाहरू किने।
[2] हप्ताको पहिलो दिन एकाबिहानै, सूर्योदय हुनासाथ तिनीहरू चिहानतिर लागे,
[3] अनि तिनीहरूले आपसमा भने, “कसले चिहानको मुखबाट ढुङ्गालाई गुड्याएर हटाइदेला?”
[4] तर जब तिनीहरूले चिहानतिर हेरे, त्यो ठूलो ढुङ्गा हटाइएको देखे।
[5] जब तिनीहरू चिहानभित्र पसे, सेतो लुगा लगाएको एक जवान मानिसलाई दाहिनेपट्टि बसिरहेका देखेर छक्क परे।
[6] तिनले भने, “छक्क नपर। तिमीहरू क्रूसमा टाँगिएका येशू नासरीलाई खोज्दैछौ। उहाँ जीवित हुनुभएको छ! उहाँ यहाँ हुनुहुन्न। तिनीहरूले उहाँलाई राखेको ठाउँ हेर।
[7] तर जाओ, उहाँका चेलाहरू अनि पत्रुसलाई यसो भनिदेओ, ‘उहाँ तिमीहरूभन्दा अगाडि नै गालीलमा जाँदैहुनुहुन्छ। उहाँले भन्नुभएझैं, त्यहाँ तिमीहरूले उहाँलाई देख्नेछौ।’ ”
[8] काँप्दै र अचम्म मान्दै स्त्रीहरू बाहिर निस्के, अनि चिहानबाट भागे। तिनीहरूले कसैलाई केही भनेनन्, किनकि तिनीहरू डराएका थिए।
[9] जब येशू हप्ताको पहिलो दिनमा बिहानै जीवित भई उठ्नुभयो, उहाँ मरियम मग्दलिनीकहाँ पहिले देखा पर्नुभयो, जसबाट उहाँले सातओटा भूतहरू निकाल्नुभएको थियो।
[10] ऊ दौडेर गई र उहाँसित हुनेहरूलाई भनिदिई, जो रुँदै र विलाप गर्दैथिए।
[11] जब तिनीहरूले येशू जिउँदो हुनुभएको अनि त्यस स्त्रीले उहाँलाई देखेको कुरा सुने, तिनीहरूले त्यो विश्वासै गरेनन्।
[12] यसपछि गाउँतिर जाँदै गरेका दुईजनाकहाँ येशू बेग्लै रूपमा देखा पर्नुभयो।
[13] यिनीहरू फर्केर त्यो कुरा अरूलाई भनिदिए; तर तिनीहरूले पनि यिनीहरूका कुरामा विश्वास गरेनन्।
[14] त्यसपछि येशू एघारजनाले खाइरहेको बेला त्यहाँ देखा पर्नुभयो, उहाँले तिनीहरूका अविश्वास र हृदयको कठोरताले उहाँ जीवित भई उठ्नुभएपछि उहाँलाई देख्नेहरूमाथि पनि विश्वास नगरेकोमा तिनीहरूलाई हप्काउनुभयो।
[15] उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा गएर सबै सृष्टिलाई यो सुसमाचार सुनाओ।
[16] जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ, त्यो बचाइनेछ, तर विश्वास नगर्ने दण्डित हुनेछ।
[17] अनि विश्वास गर्नेहरूसित यी चिन्हहरू हुनेछन्: मेरो नाउँमा उनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्,
[18] तिनीहरूले आफ्ना हातले सर्पहरू समात्नेछन्, अनि तिनीहरूले प्राणघातक विष पिए तापनि तिनीहरूलाई पटक्कै हानि हुनेछैन; तिनीहरूले रोगीहरूमाथि हात राख्नेछन्, अनि तिनीहरू निको हुनेछन्।”
[19] प्रभु येशूले तिनीहरूसित कुरा गरिसक्नुभएपछि, उहाँ माथि स्वर्गमा लगिनुभयो अनि परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो।
[20] तब चेलाहरू बाहिर गएर चारैतिर प्रचार गरे, अनि प्रभुले तिनीहरूसित काम गर्नुभयो र वचनलाई चिन्हहरूद्वारा सुदृढ पार्नुभयो।