Skip to content
Opens in a new window
Listen to this chapter • 5:46

[1] एक विश्रामदिनमा येशू एकजना प्रतिष्‍ठित फरिसीको घरमा भोजनमा जानुभएको थियो र उहाँको सावधानीपूर्वक चियो भइरहेको थियो।

[2] अनि त्यहाँ उहाँको अघिल्तिर पेटमा पानी भरिने रोगले पीडित एकजना मानिस थियो।

[3] येशूले फरिसीहरू र व्यवस्थाका विद्वान्‌हरूलाई सोध्नुभयो, “विश्रामदिनमा निको पार्नु उचित छ कि छैन?”

[4] तर तिनीहरू चूप लागिरहे। त्यसकारण उहाँले त्यस मानिसलाई छुनुभयो र निको पार्नुभयो; अनि त्यसलाई पठाउनुभयो।

[5] त्यसपछि उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूमध्ये कसैको छोरा वा गोरु छ भने त्यो विश्रामदिनमा इनारमा खस्यो भने, के तिमीहरूले झट्टै त्यसलाई निकाल्दैनौ र?”

[6] अनि तिनीहरूले केही पनि भन्‍न सकेनन्।

[7] त्यहाँ आएका पाहुनाहरूले टेबुलमा आदरको स्थान छानेको देखेर उहाँले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो:

[8] “जब कसैले तिमीलाई विवाह भोजमा निम्तो दिन्छ, तब आदरको स्थानमा नबस; किनकि तिमीभन्दा बढी विशिष्‍ट व्यक्‍ति पनि त्यहाँ निम्त्याइएको हुन सक्छ।

[9] यदि त्यसो रहेछ भने तिमीहरू दुवैलाई निम्तो दिने मेजमानले आएर तिमीलाई भन्‍नेछ, ‘तिमी बसेको आसन यिनलाई देऊ।’ तब तिमी लज्जित भएर सबैभन्दा तल्‍लो स्थानमा बस्‍नुपर्नेछ।

[10] तर तिमीले निम्तो पाएपछि सबैभन्दा तल्‍लो स्थानमा बस; तब तिम्रो मेजमान आएर तिमीलाई भन्‍नेछ, ‘ए मित्र, माथि सरेर राम्रो स्थानमा बस्‍नुहोस्।’ तब तिमीसँग भोजमा बस्‍नेहरू सबैका अघि तिमीलाई आदर हुनेछ।

[11] किनकि आफूलाई उच्‍च तुल्याउने हरेक नम्र बनाइनेछन् र आफूलाई नम्र बनाउने उच्‍च पारिनेछन्।”

[12] त्यसपछि येशूले उहाँलाई निम्तो दिने व्यक्‍तिलाई भन्‍नुभयो, “तिमीले दिवा अथवा रात्री भोज लगाउँदा आफ्ना मित्रहरू, आफ्ना दाजुभाइ अथवा आफन्तहरू, अथवा आफ्ना धनी छिमेकीहरूलाई निम्तो नदेऊ, यदि त्यसो गर्‍यौ भने तिनीहरूले पनि साटोमा तिमीलाई निम्तो दिन सक्नेछन्, र तिम्रो गुण फर्काइदिनेछन्।

[13] तर तिमीले भोज लगाउँदैछौ भने गरिबहरू, लुला, हिँड्न नसक्ने, दृष्‍टिविहीनहरूलाई निम्तो देऊ,

[14] अनि तिमीले आशिष पाउनेछौ। तिनीहरूले तिम्रो गुण फर्काइदिन नसके तापनि धर्मीहरू पुनर्जीवित हुँदा तिमीलाई प्रतिफल मिल्नेछ।”

[15] टेबुलमा उहाँसँग हुनेहरूमध्ये एक जनाले यी कुराहरू सुनेर येशूलाई भन्यो, “त्यो मानिस धन्य हो, जसले परमेश्‍वरको राज्यमा भोज खानेछ।”

[16] येशूले जवाफ दिनुभयो: “कुनै एक मानिसले एउटा ठूलो भोज लगाउने तयारी गर्दैथिए, र धेरै पाहुनाहरूलाई निम्तो दिए।

[17] भोजको समय हुँदा उनले आफ्नो सेवकलाई निम्तो दिइएकाहरूलाई यसो भन्‍न पठाए, ‘आउनुहोस्, अब सबै थोक तयार छ।’

[18] “तर तिनीहरू सबैले समान रूपले बहाना बनाउन लागे। पहिलोले भन्यो, ‘मैले भर्खरै एउटा जमिन किनेको छु, र म त्यो हेर्न जानुपर्छ; कृपया मलाई माफ गर्नुहोस्।’

[19] “अर्कोले भन्यो, ‘मैले भर्खरै पाँच हल गोरुहरू किनेको छु, र म तिनीहरूलाई जाँच गर्न जाँदैछु; कृपया मलाई माफ गर्नुहोस्।’

[20] “अझै अर्कोले भन्यो, ‘मेरो भर्खरै विवाह भएको छ, त्यसकारण म आउन सक्दिनँ।’

[21] “सेवक फर्केर आयो, र मालिकलाई यसको खबर दियो। तब घरका मालिक रिसाए, र आफ्नो सेवकलाई आज्ञा दिए, ‘झट्टै बाहिर शहरका सडक र गल्‍लीहरूमा जाऊ, अनि गरिबहरू, लुलाहरू, दृष्‍टिविहीनहरू र हिँड्न नसक्‍नेहरूलाई यहाँ भित्र ल्याऊ।’

[22] “त्यो सेवकले भन्यो, ‘मालिक, तपाईंले आज्ञा गर्नुभएबमोजिम काम भयो, तर ठाउँ अझै धेरैको लागि खाली छ।’

[23] “त्यसपछि मालिकले सेवकलाई भने, ‘मूल सडक र गाउँतिर जाने गल्‍लीहरूमा जाऊ, अनि मानिसहरूलाई भित्र आउन कर गर, र मेरो घर भरियोस्।

[24] म तिमीहरूलाई भन्दछु, मैले पहिले निम्ताइएकाहरूमध्ये कसैले पनि मेरो भोजको स्वाद चाख्न पाउनेछैनन्।’ ”

[25] येशूसँग मानिसहरूको ठूलो भीड साथमा जाँदैथिए, र तिनीहरूतिर फर्केर उहाँले भन्‍नुभयो:

[26] “यदि कोही मकहाँ आउँछ र आफ्ना बुबा र आमा, आफ्ना पत्नी र छोराछोरीहरू, आफ्ना दाजुभाइ र दिदीबहिनीहरू, उसको आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने, त्यो मेरो चेला हुन सक्दैन।

[27] अनि जुन व्यक्‍ति आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन।

[28] “मानौं तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्‍यो भने, के उसले पहिले नै बसेर त्यो बनाइ सिद्ध्याउने पर्याप्‍त खर्च आफूसित छ कि छैन भनी हिसाब गर्दैन र?

[29] किनकि यदि उसले जग बसाल्यो, तर त्यो पूरा गर्न सकेन भने, त्यो देख्ने हरेकले त्यसको गिल्‍ला गर्नेछन्;

[30] अनि भन्‍नेछन्, ‘यस मानिसले बनाउन सुरु ता गर्‍यो, तर पूरा गर्न सकेन।’

[31] “अथवा मानौं कुनै एउटा राजा अर्को राजाको विरुद्ध लडाइँ गर्न जाँदैछ भने के उसले पहिले नै बसेर आफूसँग भएका दश हजारले उसको विरुद्धमा बीस हजार लिएर आउँदै गरेको राजाको लडाइँ गर्न सक्छु कि सक्दिनँ भनी विचार गर्दैन र?

[32] ऊ असमर्थ छ भने उसले त्यो अर्को राजा टाढा छँदा नै मिलापको शर्त सोध्न प्रतिनिधिहरू पठाउनेछ।

[33] त्यसै गरी तिमीहरूमध्ये जसले आफूसित भएका सबै थोक त्याग्दैन, त्यो मेरो चेला हुन सक्दैन।

[34] “नुन असल हो, तर यदि यसले आफ्नो नुनिलोपन हरायो भने यसलाई फेरि कसरी नुनिलो बनाउने?

[35] त्यो न त माटोको निम्ति, न मलको निम्ति कामलाग्दो हुन्छ, त्यो त बाहिर फालिन्छ। “जसका सुन्‍ने कानहरू छन्, त्यसले सुनोस्।”

लूका — Chapters