[1] येशू पवित्र आत्माको भरपूरीमा यर्दनबाट फर्कनुभयो र आत्माद्वारा उहाँ उजाडस्थानमा लगिनुभयो,
[2] अनि उहाँ त्यस ठाउँमा चालीस दिनसम्म शैतानबाट परीक्षित हुनुभयो। त्यति दिनसम्म उहाँले केही खानुभएन, र अन्त्यमा उहाँ भोकाउनुभयो।
[3] तब शैतानले उहाँलाई भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यस ढुङ्गालाई रोटी बनोस् भन्नुहोस्।”
[4] येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन।’ ”
[5] शैतानले उहाँलाई एउटा उच्च स्थानमा लग्यो र एकै क्षणमा संसारका सबै राज्यहरू देखायो।
[6] अनि त्यसले उहाँलाई भन्यो, “यी राज्यका सबै अधिकार र गौरव म तपाईंलाई दिनेछु, किनकि यी सबै थोक मलाई दिइएका छन्, र म जसलाई चाहन्छु त्यसलाई यो दिन सक्छु।
[7] यदि तपाईंले मलाई दण्डवत् गर्नुभयो भने यी सबै तपाईंका हुनेछन्।”
[8] येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा लेखिएको छ: ‘तैंले आफ्ना प्रभु परमेश्वरलाई दण्डवत् गर्नू र उहाँको मात्र सेवा गर्नू।’ ”
[9] तब शैतानले उहाँलाई यरूशलेममा लगेर मन्दिरको टुप्पामा राख्यो र भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट हाम फाल्नुहोस्।
[10] किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ: “ ‘उहाँले तपाईंको सम्बन्धमा होसियारीसाथ सुरक्षा गर्न आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,
[11] अनि तिनीहरूले तपाईंलाई तिनीहरूका हातमा उचाल्नेछन्, ताकि तपाईंको खुट्टा कुनै ढुङ्गामाथि नबजारियोस्।’ ”
[12] येशूले जवाफ दिनुभयो, “यसो लेखिएको छ: ‘तैंले प्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू।’ ”
[13] शैतानले उहाँको परीक्षा गर्ने यी सबै काम सकेपछि, अनुकूल समय नभएसम्म उहाँलाई छोडेर गयो।
[14] येशू आत्माको शक्तिमा गालील प्रदेशमा फर्कनुभयो र उहाँको बारेमा सारा मुलुकभरि खबर फैलियो।
[15] उहाँले तिनीहरूका सभाघरहरूमा शिक्षा दिनुभयो र सबैले उहाँको प्रशंसा गरे।
[16] उहाँ नासरतमा जानुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो, अनि विश्रामदिनमा उहाँ आफ्नो रीतिअनुसार सभाघरमा जानुभयो र उहाँ पढ्नलाई उभिनुभयो।
[17] यशैया अगमवक्ताको पुस्तक उहाँलाई पढ्न दिइयो। त्यो पुस्तक खोलेर उहाँले यसो लेखिएको खण्ड निकाल्नुभयो:
[18] “प्रभुको आत्मा ममाथि छ, किनकि गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। उहाँले मलाई कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र दृष्टिविहीनहरूलाई दृष्टि दिलाउन, उत्पीडनमा परेकाहरूलाई स्वतन्त्र गराउन,
[19] अनि प्रभुको निगाहको वर्ष घोषणा गर्न पठाउनुभएको छ।”
[20] त्यसपछि पुस्तक बन्द गरेर उहाँले त्यो सेवकलाई दिनुभयो र बस्नुभयो। सभाघरमा भएका सबैका नजर उहाँमाथि थियो।
[21] अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “आज तिमीहरूको सुनाइमा यो धर्मशास्त्र पूरा भएको छ।”
[22] सबैले उहाँको प्रशंसा गरे, र उहाँको मुखबाट आएको अनुग्रहपूर्ण वचनमा छक्क परे; अनि तिनीहरूले सोधे, “के यिनी योसेफका छोरा होइनन् र?”
[23] येशूले तिनीहरूलाई भन्नुभयो, “पक्कै तिमीहरूले मलाई यो दृष्टान्त भन्नेछौ: ‘ए वैद्य, आफैलाई निको पार! कफर्नहुममा तिमीले जे-जति गर्यौ भनी हामीले सुनेका थियौं, ती सबै यहाँ आफ्नै शहरमा पनि गर।’ ”
[24] उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, कुनै पनि अगमवक्तालाई उसको आफ्नै शहरमा स्वीकार गरिँदैन।
[25] म तिमीहरूलाई साँचो भन्दछु, एलियाको समयमा जब आकाश साढे तीन वर्षसम्म थुनियो र सारा देशभरि भयङ्ककर अनिकाल पर्यो, त्यस बेला इस्राएलमा धेरै विधवाहरू थिए।
[26] तापनि एलिया अरू कसैकहाँ होइन, तर सीदोनको क्षेत्रमा पर्ने सारपतकी एउटी विधवाकहाँ मात्र पठाइए।
[27] अनि एलीशा अगमवक्ताका समयमा पनि इस्राएलमा धेरै कुष्ठरोगीहरू थिए, तर तिनीहरू कोही पनि निको पारिएनन् केवल सिरियाली नामान मात्र निको पारिए।”
[28] यो सुनेपछि सभाघरमा भएका सबै मानिसहरू रिसले चूर भए।
[29] तिनीहरू खडा भए, र उहाँलाई शहरदेखि बाहिर, जुन पहाडमा तिनीहरूका शहर बनाइएको थियो, त्यसैको भीरबाट खसालिदिन टाकुरामा लगे।
[30] तर उहाँ भीडबाट नै छिरेर आफ्नै बाटो जानुभयो।
[31] त्यसपछि येशू गालील प्रदेशको एउटा शहर कफर्नहुममा जानुभयो, र विश्रामदिनमा मानिसहरूलाई शिक्षा दिन थाल्नुभयो।
[32] उहाँका शिक्षामा तिनीहरू छक्क परे; किनकि उहाँको सन्देश अधिकारपूर्ण थियो।
[33] सभाघरमा अशुद्ध भूत आत्मा लागेको एउटा मानिस थियो। त्यसले आफ्नो चर्को सोरमा कराएर भन्यो,
[34] “तपाईं गइहाल्नुहोस्! हे नासरतका येशू, तपाईं हामीसित के चाहनुहुन्छ? के तपाईं हामीलाई नष्ट गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म जान्दछु, तपाईं परमेश्वरको पवित्र जन हुनुहुन्छ!”
[35] येशूले त्यसलाई हकारेर भन्नुभयो, “चूप लाग्, र त्यसबाट निस्की जा!” त्यसपछि भूत आत्माले त्यस मानिसलाई तिनीहरूका बीचमा पछार्यो, र त्यसलाई केही पनि हानि नगरीकन निस्केर गयो।
[36] सबै मानिसहरू छक्क परे, र एक-अर्कालाई भने, “यी कस्ता वचन हुन्? यिनले अधिकार र शक्तिसित अशुद्ध आत्माहरूलाई आज्ञा गर्छन्, अनि तिनीहरू निस्केर जान्छन्!”
[37] अनि उहाँको विषयमा यो खबर वरिपरिका इलाकाभरि फैलियो।
[38] त्यस दिन येशू सभाघरबाट निस्केर सिमोनको घरमा जानुभयो। सिमोनकी सासू कडा ज्वरोले थलिएकी थिइन्, अनि तिनीहरूले येशूलाई तिनलाई सहायता गर्न विन्ती गरे।
[39] अनि उहाँ तिनको नजिकै उभिएर ज्वरोलाई हप्काउनुभयो; र ज्वरोले तिनलाई छोड्यो। तिनी तुरुन्तै उठिन्, र उहाँहरूको सेवा गरिन्।
[40] घाम अस्ताउन लाग्दा, मानिसहरूले विभिन्न किसिमका रोग लागेका मानिसहरूलाई येशूकहाँ ल्याए, अनि तिनीहरू हरेकमाथि हात राख्नुभयो र उहाँले सबैलाई निको पार्नुभयो।
[41] अझ धेरै मानिसहरूबाट भूतहरू पनि यसो भनी चिच्याउँदै निस्के, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ!” तर उहाँले तिनीहरूलाई हप्काउनुभयो र बोल्न दिनुभएन, किनकि उहाँ ख्रीष्ट हुनुहुन्छ भनी तिनीहरूले जान्दथे।
[42] बिहान उज्यालो हुँदा येशू निस्केर एउटा एकान्त ठाउँमा जानुभयो। मानिसहरूले उहाँलाई खोजिरहेका थिए, अनि उहाँ हुनुभएको ठाउँमा आएपछि, तिनीहरूले उहाँलाई तिनीहरूलाई छोडेर जान नदिन प्रयास गरे।
[43] तर उहाँले भन्नुभयो, “मैले परमेश्वरको राज्यको सुसमाचार अरू शहरहरूमा पनि सुनाउनुपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।”
[44] अनि उहाँले यहूदिया प्रदेशका सभाघरहरूमा प्रचार गरिरहनुभयो।