[1] येशूले उहाँका चेलाहरूलाई भन्नुभयो: “मानिसहरूलाई पाप गर्न लाउने ठक्करहरू त आउनु वाध्य नै छ, तर धिक्कार तिनीहरूलाई, जसद्वारा ती आउँछन्।
[2] यी सानाहरूमध्ये एकजनालाई पाप गर्न लाउनुभन्दा त त्यसलाई एउटा जाँतो त्यसको घाँटीमा बाँधेर समुद्रमा फालिदिनु असल हुनेथियो।
[3] त्यसकारण आफैलाई जाँच गर। “यदि तिम्रा भाइले पाप गर्यो भने त्यसलाई हप्काऊ; र त्यसले पश्चात्ताप गर्यो भने त्यसलाई क्षमा गर।
[4] अनि त्यसले तिम्रो विरुद्धमा दिनमा सातपल्ट पाप गर्यो र सातैपल्ट फर्केर आएर तिमीलाई ‘म पश्चात्ताप गर्छु’ भन्यो भने त्यसलाई क्षमा गर।”
[5] प्रेरितहरूले प्रभुलाई भने, “हाम्रो विश्वास बढाइदिनुहोस्!”
[6] उहाँले जवाफ दिनुभयो, “यदि तिमीहरूमा सानो रायोको दानाजत्रो मात्रै पनि विश्वास छ भने तिमीहरूले यो किम्बुको रूखलाई ‘तँ उखेलिएर समुद्रमा रोपिन जा’ भनी भन्न सक्छौ, र यसले तिम्रो आज्ञा मान्नेछ।
[7] “मानौं तिमीहरूमध्ये कसैको एउटा सेवक खेत जोत्न अथवा भेडा चराउन गएको छ, के उसले त्यो सेवकलाई खेतबाट त्यो फर्केर आएपछि ‘अब आइज र खान बस्’ भन्छ र?
[8] बरु उसले, ‘मेरो खाना तयार गर्, आफूलाई तयार राख र मैले खानपान नगरून्जेल मेरो सेवाटहल गर्; त्यसपछि तैंले खानपान गर्न सक्नेछस्’ भनी भन्दैन र?
[9] सेवकले त्यसलाई अह्राइएको काम गरेकोले उसले त्यस सेवकलाई धन्यवाद दिन्छ र?
[10] त्यसै गरी तिमीहरूले पनि जब तिमीहरूलाई अह्राइएका सबै कामहरू गरिसक्छौ, तब यसो भन्नुपर्छ, ‘हामी अयोग्य सेवक हौं, हामीले त केवल आफ्ना कर्तव्य मात्र पालन गरेका छौं।’ ”
[11] यरूशलेम जाने आफ्नो यात्राको क्रममा येशू सामरिया र गालील प्रदेशबीचको सिमाना भएर जाँदैहुनुहुन्थ्यो।
[12] उहाँ कुनै गाउँमा पस्न लाग्नुहुँदा कुष्ठरोग लागेका दशजनाले उहाँलाई भेटे। तिनीहरू केही टाढै उभिए,
[13] अनि चर्को सोरमा उहाँलाई विन्ती गरे, “हे येशू, गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्!”
[14] तिनीहरूलाई देखेर उहाँले भन्नुभयो, “जाओ र आफैलाई पूजाहारीकहाँ देखाओ।” अनि तिनीहरू जाँदाजाँदै निको भए।
[15] तिनीहरूमध्ये एक जनाले आफू निको भएको देखेपछि चर्को सोरमा परमेश्वरको प्रशंसा गर्दै फर्केर आयो।
[16] अनि ऊ येशूको पाउमा घोप्टो परेर उहाँलाई धन्यवाद दियो; त्यो एक सामरी थियो।
[17] येशूले सोध्नुभयो, “के दशै जना नै निको भएका होइनन् र? अरू नौजना कहाँ छन्?
[18] के फर्कि आएर परमेश्वरलाई प्रशंसा दिन यो परदेशीबाहेक अरू कोही भएनन्?”
[19] त्यसपछि उहाँले त्यसलाई भन्नुभयो, “उठ र जाऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”
[20] फरिसीहरूद्वारा परमेश्वरको राज्य कहिले आउँछ भनी सोधिएपछि येशूले जवाफ दिनुभयो, “परमेश्वरको राज्य तिमीहरूको अनुमान गराइमा आउँदैन,
[21] न ता मानिसहरूले ‘यो यहाँ छ,’ अथवा ‘त्यहाँ छ,’ भनी भन्नेछन्, किनकि परमेश्वरको राज्य त तिमीहरूभित्र नै छ।”
[22] त्यसपछि आफ्ना चेलाहरूलाई उहाँले भन्नुभयो, “समय आउँदैछ, जब तिमीहरूले मानिसका पुत्रलाई कुनै एक दिन हेर्ने इच्छा गर्नेछौ, तर तिमीहरूले देख्नेछैनौ।
[23] मानिसहरूले तिमीहरूलाई, ‘ऊ त्यहाँ छ!’ अथवा ‘हेर, ऊ यहाँ छ!’ भन्नेछन्, तर तिनीहरूका पछि दगुर्दै नजाओ।
[24] किनकि जसरी बिजुली चम्कँदा आकाशको एक छेउदेखि अर्को छेउ उज्यालो हुन्छ, मानिसका पुत्रले पनि आफ्नो दिनमा त्यस्तै गर्नेछन्।
[25] तर पहिले उनले धेरै कष्टहरू भोग्नुपर्छ, अनि यस पुस्ताबाट तिरष्कृत गरिनुपर्छ।
[26] “नूहको दिनमा जस्तो भएको थियो, मानिसका पुत्रका दिनहरूमा पनि त्यस्तै हुनेछ।
[27] नूह जहाजभित्र पस्ने दिनसम्म नै मानिसहरू खाँदैथिए, पिउँदैथिए, र विवाह गरिरहेका र गराइँदैथिए। तब जलप्रलय आयो र तिनीहरू सबैलाई नष्ट पार्यो।
[28] “लोतका दिनमा पनि त्यस्तै थियो। मानिसहरू खाइरहेका, पिइरहेका, किनबेच गरिरहेका, रोपिरहेका र बनाइरहेका थिए।
[29] तर लोतले सदोम छोडेकै दिनमा आकाशबाट आगो र गन्धक बर्स्यो, र तिनीहरू सबैलाई नष्ट पार्यो।
[30] “मानिसका पुत्र प्रकट हुने दिनमा ठीक यस्तै हुनेछ।
[31] त्यस दिन कोही घरको छानामाथि हुनेछ, र त्यसका मालसामान घरभित्र छन् भने, ती थोकहरू लैजानलाई त्यो तल नओर्लोस्। त्यसै गरी खेतमा हुने कोही पनि केही लिन फर्केर नजाओस्।
[32] लोतकी पत्नीलाई सम्झ!
[33] जसले आफ्नो जीवन बचाउन खोज्छ, त्यसले त्यो गुमाउनेछ; र जसले आफ्नो जीवन गुमाउँदछ, त्यसले त्यो बचाउनेछ।
[34] म तिमीहरूलाई भन्दछु, त्यस रात दुईजना मानिस एउटै ओछ्यानमा हुनेछन्; एकजना लगिनेछ र अर्को छोडिनेछ।
[35] दुई स्त्रीहरू सँगसँगै अन्न पिँधिरहेका हुनेछन्, एउटी लगिनेछे र अर्की छोडिनेछे।
[36] दुईजना मानिसहरू खेतमा हुनेछन्, एउटा लगिनेछ र अर्को छोडिनेछ।”
[37] तिनीहरूले सोधे, “कहाँ, प्रभु?” उहाँले जवाफ दिनुभयो, “जहाँ सिनु हुन्छ, त्यहाँ गिद्धहरू भेला गरिनेछन्।”