Skip to content
Opens in a new window
Listen to this chapter • 6:26

[1] अब त्यहाँ केही मानिसहरू उपस्थित थिए, जसले येशूलाई ती गालिलीहरूका विषयमा बताए, जसलाई पिलातसले हत्या गरेर तिनीहरूका रगत बलि पशुका रगतसँग नै मिसाइदिएका थिए।

[2] अनि येशूले जवाफ दिनुभयो, “यस प्रकारले यातना पाएका कारण के ती गालीलीहरू अरू सबै गालिलीहरूभन्दा बढी पापी थिए भनी तिमीहरू सम्झन्छौ?

[3] म तिमीहरूलाई भन्दछु, त्यसो होइन! तर तिमीहरूले पश्‍चात्ताप गरेनौ भने, तिमीहरू पनि सबै नाश हुनेछौ।

[4] अथवा ती अठारजना जसमाथि सिलोआमको धरहरा ढल्दा मरेका थिए; के तिनीहरू यरूशलेममा बस्‍ने अरू सबै मानिसहरूभन्दा बढी दोषी थिए भनी तिमीहरू सम्झन्छौ?

[5] म तिमीहरूलाई भन्दछु, त्यसो होइन! तर तिमीहरूले पश्‍चात्ताप गरेनौ भने, तिमीहरू पनि सबै नाश हुनेछौ।”

[6] त्यसपछि उहाँले यो दृष्‍टान्त भन्‍नुभयो: “कुनै एकजना मानिसको उसको आफ्नै दाखबारीमा रोपेको एउटा अञ्जीरको रूख थियो। त्यस बोटमा फल छ कि भनी त्यो हेर्न आयो, तर त्यहाँ एउटै पनि फल भेट्टाएन।

[7] यसकारण त्यसले दाखबारीको हेरचाह गर्ने मालीलाई भन्यो, ‘अब तीन वर्ष भइसक्यो, म यो अञ्जीरको रूखमा फल खोज्न आइरहेको छु, तर एउटै पनि पाएको छैन। यसलाई काटेर ढालिदेऊ! यसले किन यो जमिन ओगट्ने?’

[8] “तब मालीले जवाफ दियो, ‘मालिक, यसलाई अझै एक वर्ष रहन दिनुहोस्। म यसको वरपर खन्‍नेछु र मल हाल्नेछु।

[9] यसले अर्को वर्ष फल फलायो भने राम्रै भयो! नत्र, यसलाई काटेर ढालिदिनुहोस्।’ ”

[10] एक विश्रामदिनमा येशूले एउटा सभाघरमा शिक्षा दिइरहनुभएको थियो।

[11] अनि त्यहाँ अठार वर्षदेखि कूँजो पार्ने दुष्‍ट आत्मा लागेकी एउटी स्त्री थिइन्। ती स्त्री कुप्री परेकी थिइन्, र आफैलाई कति पनि सीधा पार्न सक्दिन थिई।

[12] येशूले त्यसलाई देख्नुभएपछि त्यसलाई अघि बोलाएर भन्‍नुभयो, “ए नारी, तिमी आफ्नो दुर्बलताबाट मुक्‍त भएकी छौ।”

[13] त्यसपछि उहाँले उनीमाथि आफ्नो हात राख्नुभयो, र उनी तुरुन्तै सीधा भई, र परमेश्‍वरको प्रशंसा गरी।

[14] येशूले विश्रामदिनमा निको पार्नुभएको हुनाले क्रोधित भएका सभाघरका शासकले मानिसहरूलाई भने, “काम गर्नका निम्ति छ दिनहरू छँदैछन्। त्यसकारण यी छ दिनभित्र आओ र निको होओ, विश्रामदिनमा होइन।”

[15] तब प्रभुले तिनलाई जवाफ दिनुभयो, “ए कपटीहरू! के तिमीहरूमध्ये हरेकले विश्रामदिनमा गोठ र तबेलाबाट आफ्नो गोरु कि गधा फुकाएर त्यसलाई पानी खुवाउन बाहिर लैजाउँदैनौ र?

[16] त्यसो भए शैतानले अठार वर्षसम्म बन्धनमा राखेको अब्राहामकी यो छोरी विश्रामदिनमा यस बन्धनबाट मुक्‍त हुनुपर्ने होइन र?”

[17] उहाँले यो कुरा भन्‍नुभएपछि उहाँका सबै विरोधीहरू शर्ममा परे; तर अरू मानिसहरू उहाँले गरिरहनुभएका सबै उदेकका कामहरूमा आनन्दित भए।

[18] त्यसपछि येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य केजस्तो छ? म यसलाई केसित तुलना गरूँ?

[19] यो त रायोको एउटा बीउजस्तो हो, जो कुनै मानिसले लिएर आफ्नो बारीमा रोप्यो; त्यो बढ्यो र एउटा रूख भयो, अनि आकाशका चराचुरुङ्गीहरूले यसका हाँगाहरूमा गुँड लगाए।”

[20] अनि उहाँले फेरि सोध्नुभयो, “परमेश्‍वरको राज्यलाई म केसित तुलना गरूँ?

[21] यो त त्यो खमीरजस्तै हो, जसलाई एउटी स्त्रीले लिएर करीब सत्ताईस किलो जति पीठोमा मिसाई अनि सम्पूर्ण पीठो छिचलुन्जेल राखी।”

[22] त्यसपछि येशू यरूशलेमतिर जाँदै गर्नुहुँदा उहाँ शहर-शहर र गाउँ-गाउँमा शिक्षा दिँदै जानुभयो।

[23] कुनै एक जनाले उहाँलाई सोध्यो, “प्रभु, के थोरै मानिसहरूले मात्र उद्धार पाउने हुन् र?” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो,

[24] “साँघुरो ढोकाबाट भित्र पस्‍न हर प्रयास गर, किनकि म तिमीहरूलाई भन्दछु, धेरैजना भित्र पस्‍न खोज्नेछन्, तर सक्नेछैनन्।

[25] जब घरका मालिक उठेर एकपल्ट ढोका बन्द गर्नेछन्, तब तिमीहरू बाहिर उभिएर यसो भनी विन्ती गर्दै ढोका ढक्ढक्याउनेछौ, ‘हजुर, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्।’ “तर तिनले जवाफ दिनेछन्, ‘तिमीहरू को हौ, वा कहाँबाट आएका हौ, म चिन्दिनँ।’

[26] “तब तिमीहरूले भन्‍न लाग्नेछौ, ‘हामीले त तपाईंसँगै खायौं र पियौं, अनि तपाईंले हाम्रै गल्‍लीहरूमा शिक्षा दिनुभयो।’

[27] “तर तिनले यस्तो जवाफ दिनेछन्, ‘तिमीहरू को हौ, वा कहाँबाट आएका हौ, म चिन्दिनँ। ए सबै दुष्‍ट काम गर्नेहरूहो, मबाट दूर होओ!’

[28] “अनि जब तिमीहरूले अब्राहाम, इसहाक, याकोब र सबै अगमवक्‍ताहरूलाई परमेश्‍वरको राज्यभित्र भएका, तर तिमीहरू आफैलाई भने बाहिर फालिएका देख्नेछौ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।

[29] मानिसहरू पूर्व, पश्‍चिम, उत्तर र दक्षिणबाट आउनेछन् अनि परमेश्‍वरको राज्यको भोजमा बस्‍नेछन्।

[30] अनि हेर, पछिल्‍ला हुनेहरू पहिला र पहिला हुनेहरू पछिल्‍ला हुनेछन्।”

[31] त्यस बेला कोही फरिसीहरू येशूकहाँ आएर उहाँलाई भने, “यहाँबाट अरू कुनै ठाउँमा गइहाल्नुहोस्; किनकि हेरोदले तपाईंलाई मार्न चाहन्छन्।”

[32] उहाँले भन्‍नुभयो, “गएर त्यस फ्याउरोलाई भनिदेओ, ‘आज र भोलि म भूतहरू धपाउँछु र मानिसहरूलाई निको पार्छु, अनि तेस्रो दिनमा म आफ्नो लक्ष्यमा पुग्नेछु।’

[33] जेसुकै आइपरे तापनि आज, भोलि र पर्सि म अघि बढिरहनु नै पर्छ, किनकि यो निश्‍चित छ, यरूशलेमभन्दा बाहिर त कुनै अगमवक्‍ताको मृत्यु हुँदैन!

[34] “ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्‍ताहरूलाई मार्छस् अनि तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्। मैले कतिपल्ट तेरा बालबच्‍चाहरूलाई एउटी कुखुरीले आफ्ना चल्‍लाहरूलाई पखेटामुनि बटुलेझैं बटुल्न खोजें, तर तिमीहरू राजी भएनौ।

[35] हेर्, तेरो घर तेरो निम्ति उजाड पारेर छोडिएको छ। म तँलाई भन्दछु, तैंले ‘प्रभुको नाउँमा आउनुहुने धन्यका हुनुहुन्छ’ भनी नभनेसम्म, तैंले मलाई फेरि देख्नेछैनस्।”

लूका — Chapters