[1] एक दिन येशूले बाह्र जनालाई एकसाथ बोलाउनुभयो र, त्यसपछि तिनीहरूलाई उहाँले भूतहरू निकाल्ने र रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो,
[2] अनि उहाँले तिनीहरूलाई परमेश्वरको राज्यको घोषणा गर्न र बिरामीहरूलाई निको पार्न अधिकार दिएर पठाउनुभयो।
[3] उहाँले तिनीहरूलाई भन्नुभयो: “यात्राको लागि केही पनि नलेओ—न लौरो, न झोला, न रोटी, न पैसा, न दुईसरो लुगा।
[4] जुन घरमा तिमीहरू पस्दछौ, त्यो शहरलाई नछोडेसम्म त्यहीं अतिथीको रूपमा बस।
[5] यदि मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने, तिनीहरूका शहर छोडेर जाँदा तिनीहरूका विरुद्धमा गवाहीको निम्ति तिमीहरूका खुट्टाको धूलो टक्टक्याइदेओ।”
[6] तब तिनीहरू बिदा भए, र सबैतिर सुसमाचार घोषणा गर्दै र रोगीहरूलाई निको पार्दै गाउँ-गाउँमा गए।
[7] अब गालील प्रदेशका शासक हेरोदले यी सबै घटनाबारे सुनेर तिनी अन्योलमा परे, किनकि कसै-कसैले यूहन्ना मरेकाबाट जीवित भएका छन् भनी भन्दथे,
[8] अरूले एलिया देखा परेका छन् भन्दथे, र अझै अरूले उहिलेका अगमवक्ताहरूमध्ये एकजना बौरी उठेर आएका हुन् भन्ने गर्थे।
[9] तर हेरोदले भने, “मैले नै यूहन्नाको शिर काट्न लगाएँ। त्यसकारण यिनीचाहिँ को हुन्, जसका बारेमा म यस्ता सबै कुराहरू सुन्दैछु?” अनि तिनले उहाँलाई भेट्ने प्रयास गरे।
[10] जब प्रेरितहरू फर्केर आए, तब आफूले गरेका कामका विषयमा येशूलाई बताए। त्यसपछि उहाँले तिनीहरूलाई आफ्नो साथमा लैजानुभयो र उहाँहरू आफै मात्र सुटुक्कै बेथसेदा भन्ने एउटा शहरमा जानुभयो।
[11] तर भीडले यो कुरा थाहा पाएर तिनीहरूले उहाँलाई पछ्याए। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो र परमेश्वरको राज्यको विषयमा सिकाउनुभयो, अनि निको हुन आवश्यक भएका जतिलाई निको पार्नुभयो।
[12] दिन ढल्कन थालेपछि बाह्रैजना उहाँकहाँ आएर भने, “भीडलाई बिदा गर्नुहोस्, र तिनीहरू छेउछाउका गाउँ र बस्तीहरूतिर गएर खानपान र वास खोजून्, किनकि हामी यहाँ सुनसान ठाउँमा छौं।”
[13] उहाँले भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तिनीहरूले जवाफ दिए, “गएर भीडका निम्ति खानेकुरा नकिनेसम्म त अहिले हामीसँग केवल पाँचओटा रोटी र दुईओटा माछा मात्र छन्।”
[14] (त्यहाँ पुरुषहरू मात्र लगभग पाँच हजार जति थिए।) तर उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिनीहरूलाई पचास पचासको समूहमा बसाओ।”
[15] अनि चेलाहरूले त्यसै गरे, र सबैजना बसे।
[16] ती पाँचओटा रोटी र दुईटा माछा लिएर स्वर्गतिर हेरेर, उहाँले धन्यवाद दिनुभयो, अनि रोटी भाँच्नुभयो र मानिसहरूमा बाँडिदिनको लागि चेलाहरूलाई दिनुभयो।
[17] तिनीहरू सबैले ती खाए, र अघाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए।
[18] एकपल्ट येशू एकलै प्रार्थना गर्दैहुनुहुन्थ्यो, अनि उहाँका चेलाहरू उहाँसँगै थिए, तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “मानिसहरूले मलाई, म को हुँ भन्छन्?”
[19] तिनीहरूले जवाफ दिए, “कसैले बप्तिस्मा दिने यूहन्ना भन्छन्, कसैले एलिया भन्छन्, अनि अझै अरूले, पहिलेका अगमवक्ताहरू मध्येबाट एकजना फेरि उठेर आएका हुन् भनी भन्छन्।”
[20] उहाँले सोध्नुभयो, “तर तिमीहरूले नि? तिमीहरू मलाई म को हुँ भन्छौ?” पत्रुसले जवाफ दिए, “परमेश्वरका ख्रीष्ट!”
[21] येशूले तिनीहरूलाई यो कुरा कसैलाई पनि नभन्नू भनी कडा चेतावनी दिनुभयो।
[22] अनि उहाँले भन्नुभयो, “मानिसका पुत्रले धेरै कष्टहरू सहनुपर्छ, अनि प्रधानहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाका शिक्षकहरूबाट तिरष्कृत हुनुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ।”
[23] त्यसपछि उहाँले तिनीहरू सबैलाई भन्नुभयो: “यदि कोही मेरो चेला हुन चाहन्छ भने, उसले आफैलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।
[24] किनकि जसले आफ्नो जीवन बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ, तर जसले मेरो निम्ति आफ्नो जीवन गुमाउँछ, त्यसले यो बचाउनेछ।
[25] यदि कुनै मानिसले सारा संसार नै हात पारेर आफैलाई नाश पार्छ वा गुमाउँछ भने उसलाई के फाइदा हुन्छ र?
[26] यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने, मानिसका पुत्र पनि आफ्नो महिमामा अनि पिताको र पवित्र स्वर्गदूतहरूको महिमामा आउँदा त्यससँग शर्माउनेछन्।
[27] “म तिमीहरूलाई साँच्चै भन्दछु, यहाँ उपस्थित भएकाहरूमध्ये कतिले परमेश्वरको राज्य आएको नदेखुन्जेल मृत्यु चाख्नेछैनन्।”
[28] येशूले यो कुरा भन्नुभएको करीब आठ दिनपछि पत्रुस, याकोब र यूहन्नालाई आफ्नो साथमा लिएर प्रार्थना गर्नलाई उहाँ एउटा अग्लो पर्वतमा चढ्नुभयो।
[29] उहाँले प्रार्थना गरिरहनुहुँदा उहाँको अनुहारको रूप बदलियो, र उहाँको लुगा बिजुली चम्केको जस्तो उज्ज्वल भयो।
[30] दुई व्यक्ति, मोशा र एलिया, येशूसँग बातचित गर्दै महिमित अवस्थामा देखा परे।
[31] तिनीहरूले उहाँको बिदाइको बारेमा बोलिरहेका थिए, जुन कुरा उहाँले अब यरूशलेममा पूरा गर्न लाग्नुभएको थियो।
[32] पत्रुस र तिनका साथीहरू निन्द्राले लट्ठ भएका थिए, तर जब तिनीहरू पूर्ण रूपले बिउँझे, तब तिनीहरूले उहाँको महिमा र उहाँसँग उभिरहेका दुईजनालाई देखे।
[33] मानिसहरू येशूबाट बिदा भएर जान लाग्दा पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामीलाई यहीं रहनु असल छ। हामी तीनओटा वासस्थान बनाऔं; एउटा तपाईंको लागि, एउटा मोशाको लागि अनि एउटा एलियाको लागि।” आफूले के बोलेका थिए, सो कुराको तिनलाई ख्यालै थिएन।
[34] तिनी बोलिरहेकै बेलामा, एउटा बादल देखा पर्यो, र तिनीहरूलाई ढाक्यो, र बादलभित्र प्रवेश गर्दा तिनीहरू डराए।
[35] बादलबाट यसो भन्ने आवाज आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई मैले छानेको हुँ, यिनको कुरा सुन!”
[36] यो आवाज बोलिएपछि, त्यहाँ येशू एकलै हुनुभएको तिनीहरूले देखे। चेलाहरूले यो घटनाका कुरा आफैमा मात्र राखे, र आफूले देखेका कुरा त्यस समयमा तिनीहरूले अरू कसैलाई भनेनन्।
[37] भोलिपल्ट, जब उहाँहरू पहाडबाट तल आउनुभयो, एउटा ठूलो भीड उहाँलाई भेट्न आयो।
[38] अनि भीडबाट एउटा मानिसले कराएर भन्यो, “गुरुज्यू, मेरो छोरामाथि कृपादृष्टि गरिदिनुहोस् भनी म विन्ती गर्दछु, किनकि ऊ मेरो एउटै मात्र सन्तानहो।
[39] एउटा आत्माले उसलाई पक्रन्छ, र ऊ अचानक चिच्याउँछ; त्यस आत्माले उसलाई ऐंठन पार्छ, र उसले मुखबाट फिँज काढ्छ। त्यसले उसलाई मुस्किलले कहिलेकाँही मात्र छोड्छ र त्यसले उसलाई नाश गर्दैछ।
[40] त्यसलाई निकालिदिनका लागि मैले तपाईंका चेलाहरूलाई विन्ती गरें, तर तिनीहरूले सकेनन्।”
[41] येशूले जवाफ दिनुभयो, “ए अविश्वासी र भ्रष्ट पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहूँला र तिमीहरूलाई सहूँ? अनि येशूले त्यो केटोको बुबालाई भन्नुभयो, तिम्रो छोरालाई यहाँ ल्याऊ।”
[42] त्यो केटो आउँदा-आउँदै भूत आत्माले उसलाई ऐंठन पार्दै भुइँमा पछार्यो। तर येशूले त्यस अशुद्ध आत्मालाई हप्काउनुभयो, केटोलाई निको पार्नुभयो, अनि त्यसलाई बुबाको हातमा दिनुभयो।
[43] अनि तिनीहरू सबै परमेश्वरको महान्तामा आश्चर्य चकित भए। सबैजना येशूले गर्नुभएका सबै कुरामा छक्क परिरहेका बेला येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो,
[44] “मैले तिमीहरूलाई जे भन्दैछु, त्यो ध्यानपूर्वक सुन: मानिसका पुत्रलाई मानिसहरूका हातमा सुम्पिइनेछन्।”
[45] तर यसको अर्थ के हो, त्यो तिनीहरूले बुझ्न सकेनन्। तिनीहरूले नबुझून् भनी यो कुरा तिनीहरूबाट गुप्त राखिएको थियो; अनि यसको बारेमा उहाँलाई सोध्न तिनीहरू डराए।
[46] चेलाहरूका बीचमा तिनीहरूमध्ये सबैभन्दा ठूलो को हुने भन्ने विषयमा विवाद सुरु भयो।
[47] येशूले तिनीहरूका विचार थाहा पाएर एउटा सानो बालकलाई लिनुभयो र आफ्नो छेउमा उभ्याउनुभयो।
[48] त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “जसले यस बालकलाई मेरो नाउँमा ग्रहण गर्छ; त्यसले मलाई नै ग्रहण गरेको हुन्छ, अनि जसले मलाई ग्रहण गर्छ; त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ; किनकि जो तिमीहरूमध्ये सबैभन्दा सानो छ, त्यही नै सबैभन्दा महान् हुन्छ।”
[49] यूहन्नाले भने, “गुरुज्यू, हामीले एकजना मानिसलाई तपाईंको नाउँमा भूतहरू निकालिरहेको देख्यौं, र हामीले त्यसलाई रोक्यौं, किनकि ऊ हाम्रो समूहको होइन।”
[50] येशूले भन्नुभयो, “त्यसलाई नरोक; किनकि जो तिम्रो विरुद्धमा छैन, त्यो तिम्रो पक्षमा हुन्छ।”
[51] जब उहाँको स्वर्ग उठाइलगिने दिन नजिक आउँदैथियो, तब येशूले यरूशलेमतिर जाने निश्चय गर्नुभयो।
[52] अनि उहाँले समाचार लाने मानिसहरूलाई अघि-अघि पठाउनुभयो; जो उहाँको निम्ति सबै कुरा तयार पार्न सामरीहरूको एउटा गाउँमा गए,
[53] तर त्यहाँका मानिसहरूले उहाँ यरूशलेम जान लाग्नुभएको हुनाले उहाँलाई स्वागत गरेनन्।
[54] उहाँका चेलाहरू याकोब र यूहन्नाले यो देखेपछि उहाँलाई सोधे, “प्रभु, के यिनीहरूलाई भस्म गर्न एलियाझैं हामीले स्वर्गबाट आगो बर्सने आज्ञा गरौं भन्ने तपाईं चाहनुहुन्छ?”
[55] तर येशूले फर्केर तिनीहरूलाई हप्काउनुभयो,
[56] र उहाँहरू अर्कै गाउँतिर जानुभयो।
[57] उहाँहरू बाटोमा हिँडिरहनुभएको बेला, एकजना मानिसले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुभए तापनि म तपाईंलाई पछ्याउनेछु।”
[58] अनि येशूले भन्नुभयो, “फ्याउराहरूका ओडार छन्, र आकाशका चराहरूका गुँड छन्, तर मानिसका पुत्रको त शिर राख्ने ठाउँ पनि छैन।”
[59] उहाँले अर्को मानिसलाई भन्नुभयो, “मेरो पछि लाग।” तर त्यसले भन्यो, “प्रभु, पहिले मलाई मेरा बुबाको अन्त्येष्टि गर्न जान दिनुहोस्।”
[60] येशूले त्यसलाई भन्नुभयो, “अनि मुर्दाले तिनीहरूका आफ्नै मुर्दा गाडून्, तर तिमी जाऊ, र परमेश्वरको राज्यको घोषणा गर।”
[61] अझै अर्कोले भन्यो, “प्रभु, म तपाईंलाई पछ्याउनेछु, तर पहिले मलाई गएर मेरो परिवारबाट बिदा लिन दिनुहोस्।”
[62] येशूले जवाफ दिनुभयो, “आफ्नो हात हलोमा राखेर पछिल्तिर फर्केर हेर्ने कुनै पनि मानिस परमेश्वरको राज्यको सेवामा योग्य हुँदैन।”