Skip to content
Opens in a new window
Listen to this chapter • 5:47

[1] येशू मन्दिरमा हुनुहुँदा, धनी मानिसहरूले आ-आफ्ना भेटी मन्दिरको दानपेटीमा हाल्दैगरेका उहाँले देख्नुभयो।

[2] उहाँले एउटी गरिब विधवाले तामाका दुईओटा साना सिक्‍का चढाएकी पनि देख्नुभयो।

[3] अनि उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यस गरिब विधवाले अरू सबैले भन्दा धेरै बढी चढाएकी छे।

[4] अरू सबै मानिसहरूले आफ्नो प्रशस्त धनबाट भेटी चढाए, तर यस स्त्रीले ता आफ्नो गरिबीबाट आफ्नो जीविका चलाउने खर्चसमेत सबै नै चढाएकी छे।”

[5] त्यसपछि उहाँका चेलाहरूमध्ये कसै-कसैले सुन्दर पत्थरहरू र परमेश्‍वरमा अर्पण गरिएका भेटीहरूबाट कसरी मन्दिर सिँगारिएको छ भन्‍ने विषयमा चर्चा गर्दैथिए। तर येशूले भन्‍नुभयो,

[6] “यहाँ तिमीहरूले अहिले जे देख्दैछौ, ती सबैका निम्ति एउटा समय आउनेछ, जब यहाँको एउटा ढुङ्गा पनि अर्कोमाथि छोडिनेछैन, तर यी प्रत्येक ढुङ्गा तल फ्याँकिनेछ।”

[7] तिनीहरूले सोधे, “गुरुज्यू, यी कुराहरू कहिले हुनेछन्? अनि अब ती कुराहरू आउनलागे भन्‍ने चिन्ह के हुनेछ?”

[8] उहाँले जवाफ दिनुभयो: “धोखामा नपर्नलाई तिमीहरू होसियार रहो; किनकि धेरैजना मेरो नाउँमा ‘म उही हुँ,’ र, ‘समय नजिकै छ’ भन्‍ने दाबी गर्दै आउनेछन्। तिनीहरूका पछि नलाग।

[9] जब तिमीहरूले लडाइँहरू र क्रान्तिका हल्‍लाहरू सुन्‍नेछौ, तब नडराओ। पहिले यी कुराहरू घट्नैपर्छ, तरै पनि त्यति नै बेला अन्त्य आउँदैन।”

[10] त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ।

[11] धेरै ठाउँहरूमा ठूला भुँइचाला, अनिकाल र माहामारीहरू आउनेछन् अनि डरलाग्दा घटनाहरू र आकाशबाट ठूला-ठूला चिन्हहरू देखा पर्नेछन्।

[12] “तर यी सबै हुनुभन्दा पहिले तिनीहरूले तिमीहरूमाथि हात हाल्नेछन्, र तिमीहरूलाई खेदो गर्नेछन्। तिनीहरूले तिमीहरूलाई सभाघरहरू र झ्यालखानाहरूमा पुर्‍याउनेछन्, र तिमीहरू राजाहरू र राज्यपालहरूका अगाडि लगिनेछौ र यी सबै कुरा मेरो नाउँको कारणले गर्दा आइपर्नेछ।

[13] यस कुराको परिणाम यही हुनेछ, तिमीहरू तिनीहरूका लागि मेरो साक्षी हुनेछौ।

[14] तर आफ्नो बचाउका लागि के भन्‍ने भनी पहिल्यैबाट चिन्ता नलिनलाई आफ्ना मनमा निश्‍चय गर।

[15] किनकि म तिमीहरूलाई यस्तो वचन र बुद्धि दिनेछु, तिमीहरूका विरोधीहरूमध्ये कोही पनि त्यसलाई रोक्न अथवा काट्न सामर्थ्य हुनेछैन।

[16] तिमीहरू ता तिमीहरूका आफ्नै आमाबुबा, दाजुभाइ, दिदीबहिनी, नातेदार र साथीहरूद्वारा समेत धोखामा पर्नेछौ, र तिनीहरूले तिमीहरूमध्ये कसै कसैलाई मार्ने पनि छन्।

[17] अनि तिमीहरूलाई सबै मानिसहरूले मेरो निम्ति घृणा गर्नेछन्।

[18] तर तिमीहरूको शिरको एउटा केश पनि नाश हुनेछैन।

[19] स्थिर भई खडा रह्‍यौ भने तिमीहरूले जीवन प्राप्‍त गर्नेछौ।

[20] “जब तिमीहरूले यरूशलेम चारैतिरबाट सेनाहरूले घेरिएको देख्नेछौ, तब त्यसको विनाश नजिकै छ भनी तिमीहरूले जान्‍नेछौ।

[21] तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्, शहरमा हुनेहरू बाहिर निस्कून् र गाउँमा हुनेहरू शहरभित्र नपसून्।

[22] किनकि जे लेखिएका छन्, ती सबै हुनका लागि यो दण्डको समय हुनेछ।

[23] हाय! गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि ती दिनहरू कति डरलाग्दा हुनेछन्! संसारमा ठूलो सङ्कष्‍ट र यस जातिमाथि क्रोध आइपर्नेछ।

[24] तिनीहरू तरवारले ढल्नेछन् वा सबै राष्ट्रहरूकहाँ कैदी बनाएर लगिइनेछन्। अनि गैरयहूदीहरूको समय पूरा नहोउन्जेल यरूशलेम गैरयहूदीहरूद्वारा कुल्चीमिल्ची पारिनेछ।

[25] “सूर्य, चन्द्रमा र ताराहरूमा चिन्हहरू देखिनेछन्; अनि पृथ्वीमा गर्जिरहेको र उर्लिरहेको समुद्रले राष्ट्रहरू सङ्कष्‍ट र घबराहटमा पर्नेछन्।

[26] संसारमा के आइपर्ने भन्‍ने आशङ्काले मानिसहरू डरले मूर्छा पर्नेछन्, किनकि आकाशका शक्‍तिहरू डगमगाउनेछन्।

[27] त्यस बेला तिनीहरूले मानिसका पुत्रलाई शक्‍ति र महा महिमासहित बादलमा आइरहेका देख्नेछन्।

[28] जब यी कुराहरू हुन थाल्छन्, तब खडा होओ, र माथि हेर्दै शिर उठाओ; किनकि तिमीहरूको मुक्‍ति नजिक आउँदैछ।”

[29] उहाँले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो: “अञ्जीरको रूख र अरू सबै रूखहरूलाई हेर।

[30] जब तिनमा पालुवा लाग्छ, तब तिमीहरू आफैले त्यो देख्न सक्छौ र ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी थाहा पाउँछौ।

[31] त्यसरी नै तिमीहरूले यी कुराहरू भइरहेका देख्नेछौ, परमेश्‍वरको राज्य नजिकै छ भनी जान।

[32] “म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्‍चय नै नष्‍ट भएर जानेछैन।

[33] आकाश र पृथ्वी नष्‍ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्‍ट हुनेछैनन्।

[34] “होसियार बस, नत्र ता तिमीहरूको हृदय प्रशस्त भोग-विलास, मतवालीपन र जीवनको फिक्रीले मन्द होला, अनि त्यो दिन तिमीहरूमाथि नचिताएको पासोझैं एक्‍कासि आइपर्ला।

[35] किनकि त्यो पृथ्वीमाथि वास गर्नेहरू सबैमाथि आइपर्नेछ।

[36] तर आइपर्ने यी कुराहरूदेखि तिमीहरू उम्कन र मानिसका पुत्रको उपस्थितिमा खडा हुन सक्नका लागि सधैं जागा रहो, र प्रार्थना गर।”

[37] येशूले हरेक दिन मन्दिरमा शिक्षा दिनुहुन्थ्यो, र हरेक बेलुकी निस्केर जैतुन भनिने डाँडामा रात बिताउन जानुहुन्थ्यो,

[38] अनि सबै मानिसहरू उहाँको वचन सुन्‍नलाई बिहानै मन्दिरमा आउँथे।

लूका — Chapters