[1] तिनीहरूले सधैं प्रार्थना गरिरहनुपर्छ र हिम्मत हार्नुहुँदैन भन्ने कुरा दर्शाउन येशूले चेलाहरूलाई एउटा दृष्टान्त भन्नुभयो।
[2] उहाँले भन्नुभयो: “कुनै एउटा शहरमा एकजना न्यायाधीश थिए, तिनले परमेश्वरको भय मान्दैनथिए, र मानिसको वास्ता पनि गर्दैनथिए।
[3] त्यसै शहरमा एउटी विधवा थिई; जो तिनीकहाँ यस्तो विन्ती लिएर आइरहन्थी, ‘मेरो विरोधी विरुद्ध मलाई न्याय दिनुहोस्।’
[4] “केही समयसम्म ता तिनले इन्कार गरे; तर पछि तिनले आफ्नो मनमा भन्न लागे, ‘म परमेश्वरको डर मान्दिनँ, र मानिसहरूको वास्ता पनि गर्दिनँ,
[5] तापनि यस विधवाले मलाई हैरान पारिरहेकी हुनाले म त्यसलाई न्याय दिलाउनेछु, ताकि त्यसले घरी-घरी आएर मलाई हैरान नबनाओस्!’ ”
[6] अनि प्रभुले भन्नुभयो, “ती अधर्मी न्यायाधीशले के भन्दैछन्, सुन!
[7] तब के परमेश्वरले दिनरात उहाँलाई पुकार्ने उहाँका चुनिएकाहरूको न्याय गर्नुहुनेछैन र? के उहाँ तिनीहरूलाई ढिलो गरी पन्छाइरहनुहुन्छ र?
[8] म तिमीहरूलाई भन्दछु, उहाँले तिनीहरूका झट्टै न्याय गर्नुहुन्छ। तापनि जब मानिसका पुत्र आउनेछन्, तब के उनले पृथ्वीमा विश्वास भेट्टाउनेछन् र?”
[9] आफ्नै धार्मिकतामा ढुक्क भई भरोसा राखेर अरूहरूलाई तुच्छ दृष्टिले हेर्नेहरू कसै कसैलाई येशूले यो दृष्टान्त भन्नुभयो:
[10] “दुईजना मानिस मन्दिरमा प्रार्थना गर्न गए; एकजना फरिसी र अर्को कर उठाउने मानिस।
[11] फरिसी उभियो र आफ्नै विषयमा यसरी प्रार्थना गर्यो: ‘हे परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु, किनकि म अरू मानिसहरू—अथवा डाँकू, दुष्ट काम गर्ने, व्यभिचारीहरूजस्तो छैनँ, अथवा यही कर उठाउने मान्छेजस्तो पनि म छैनँ।
[12] म हप्तामा दुईपल्ट उपवास बस्दछु; र आफूले कमाएका थोकहरूबाट दशांश दिन्छु।’
[13] “तर त्यो कर उठाउने मानिस टाढै उभियो। त्यसले स्वर्गतिर हेर्ने आँट पनि नगरी छाती पिट्दै यसो भन्यो, ‘हे परमेश्वर, ममाथि दया गर्नुहोस्, म पापी छु।’
[14] “म तिमीहरूलाई भन्दछु, यो मानिस परमेश्वरको अघि त्यो अर्कोभन्दा धर्मी ठहरिएर घर फर्कियो; किनकि आफूलाई उच्च तुल्याउने नम्र बनाइनेछन् र आफूलाई नम्र बनाउने उच्च पारिनेछन्।”
[15] मानिसहरूले आ-आफ्ना बालबालिकाहरूलाई पनि येशूले तिनीहरूलाई छोइदिऊन् भनी उहाँकहाँ ल्याइरहेका थिए। यो देखेर चेलाहरूले तिनीहरूलाई हप्काए।
[16] तर येशूले बालबालिकाहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक; किनकि परमेश्वरको राज्य यस्तैहरूको हो।
[17] म तिमीहरूलाई साँच्चै भन्दछु, जसले परमेश्वरको राज्यलाई एउटा सानो बालकलेझैं ग्रहण गर्दैन, ऊ कहिल्यै पनि त्यसमा प्रवेश गर्नेछैन।”
[18] कुनै एक शासकले उहाँलाई सोधे, “हे असल गुरु, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ?”
[19] येशूले जवाफ दिनुभयो, “तिमी मलाई किन असल भन्दछौ? एक मात्र परमेश्वरबाहेक कोही पनि असल छैन।
[20] तिमीलाई आज्ञाहरू त थाहै छ: ‘तैंले व्यभिचार नगर्नू, तैंले हत्या नगर्नू, तैंले नचोर्नू, तैंले झूटो साक्षी नदिनू, आफ्ना आमा र बुबाको आदर गर्नू।’ ”
[21] तिनले भने, “यी आज्ञाहरू त मैले बालककालदेखि नै पालन गर्दैआएको छु।”
[22] यो सुनेर येशूले तिनलाई भन्नुभयो, “तिमीलाई अझै एउटा कुराको अभाव छ। तिमीसँग भएका सबै थोक बेचेर गरिबहरूलाई बाँडिदेऊ, र तिम्रो निम्ति स्वर्गमा धनसम्पत्ति हुनेछ। त्यसपछि आऊ, मेरो पछि लाग।”
[23] यो सुनेर तिनी साह्रै दुःखित भए; किनकि तिनी अत्यन्तै सम्पत्ति भएका मानिस थिए।
[24] येशूले तिनलाई हेरेर भन्नुभयो, “धनीहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्न कति गाह्रो छ!
[25] वास्तवमा कुनै धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।”
[26] यो सुन्नेहरूले सोधे, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?”
[27] येशूले जवाफ दिनुभयो, “जे कुरा मानिसहरूका लागि असम्भव छन्, ती परमेश्वरको लागि सम्भव हुन्छन्।”
[28] पत्रुसले उहाँलाई भने, “तपाईंलाई पछ्याउनका निम्ति हामीले आफूसँग भएका सबै कुरा त्यागेका छौं!”
[29] येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु, जसले परमेश्वरको राज्यको निम्ति घर अथवा पत्नी अथवा दाजुभाइ अथवा बुबाआमा अथवा छोराछोरीलाई त्यागेको छ,
[30] त्यसले यसै युगमा त्यसको धेरै गुणा र आउँदा युगमा अनन्त जीवन प्राप्त गर्नेछ।”
[31] येशूले बाह्र जनालाई एकातिर लैजानुभयो र तिनीहरूलाई भन्नुभयो, “हामी यरूशलेमतिर जाँदैछौं, अनि अगमवक्ताहरूले मानिसका पुत्रको विषयमा लेखेका सबै कुराहरू पूरा हुनेछन्।
[32] उसलाई गैरयहूदीहरूको हातमा सुम्पिइनेछन्। तिनीहरूले उसलाई गिल्ला गर्नेछन्, निन्दा गर्नेछन्, उसलाई थुक्नेछन्;
[33] उसलाई कोर्रा लगाउनेछन् अनि मार्नेछन्। तेस्रो दिनमा ऊ फेरि जीवित भई उठ्नेछ।”
[34] चेलाहरूले यी कुराहरू केही पनि बुझेनन्। यसको अर्थ तिनीहरूबाट गोप्य राखिएको थियो, र उहाँले के विषयमा भन्दैहुनुहुन्थ्यो, सो तिनीहरूले बुझेनन्।
[35] येशू यरिहो नजिकै पुग्नुहुँदा, एउटा दृष्टिविहीन मानिस बाटोको छेउमा भीख माग्दै बसिरहेको थियो।
[36] नजिकैबाट भीड गइरहेको आवाज सुनेर त्यसले त्यहाँ के हुँदैछ भनी सोधपुछ गर्यो।
[37] तिनीहरूले त्यसलाई भने, “नासरतका येशू जाँदैहुनुहुन्छ।”
[38] त्यसले उच्च सोरमा भन्यो, “हे येशू, दाविदका पुत्र, ममाथि दया गर्नुहोस्!”
[39] बाटो देखाउँदै अघि-अघि हिँड्नेहरूले त्यसलाई हप्काएर चूप लाग् भने, तर त्यो झन् चर्को सोरमा करायो, “हे दाविदका पुत्र, ममाथि दया गर्नुहोस्!”
[40] येशू टक्क अडिनुभयो, र त्यस मानिसलाई आफूकहाँ ल्याउन आज्ञा दिनुभयो। त्यो नजिक आएपछि येशूले त्यसलाई सोध्नुभयो,
[41] “म तिम्रो निम्ति के गरिदिऊँ भन्ने तिमी चाहन्छौ?” त्यसले भन्यो, “हे प्रभु, म देख्न चाहन्छु।”
[42] येशूले त्यसलाई भन्नुभयो, “तिम्रो दृष्टि लिऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”
[43] तुरुन्तै त्यसले आफ्नो दृष्टि पायो, र परमेश्वरको प्रशंसा गर्दै येशूको पछि लाग्यो। जब सबै मानिसहरूले यो देखे, तब तिनीहरूले पनि परमेश्वरको प्रशंसा गरे।