Skip to content
Opens in a new window
Listen to this chapter • 7:30

[1] येशू यरिहोमा प्रवेश गरी त्यहाँबाट जाँदैहुनुहुन्थ्यो।

[2] त्यहाँ जक्‍कै नाउँ भएका एकजना मानिस थिए। तिनी कर उठाउनेहरूका प्रमुख थिए; र धनी थिए।

[3] अनि तिनले येशू को हुनुहुँदोरहेछ भनी हेर्न चाहन्थे, तर भीडले गर्दा तिनले उहाँलाई देख्न सकेनन्; किनकि तिनी पुड्का थिए।

[4] त्यसकारण तिनी दौडेर अघि-अघि गएर उहाँलाई हेर्नका लागि एउटा अञ्जीरको रूखमा चढे; किनकि येशू त्यतैबाट आउनलाग्नुभएको थियो।

[5] जब येशू त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले माथितिर हेरेर तिनलाई भन्‍नुभयो, “ए जक्‍कै, चाँडै तल आऊ। आज मलाई तिम्रो घरमा बस्‍नुपरेको छ।”

[6] अनि तिनी झट्टै तल ओर्लेर आए, र खुशी हुँदै उहाँलाई सत्कार गरे।

[7] तर यो देखेर सबैजनाले गनगनाउँदै भन्‍न लागे, “उनी ता एउटा ‘पापी’ को घरमा पाहुना बस्‍न गए।”

[8] तर जक्‍कै खडा भएर प्रभुलाई भने, “हे प्रभु, हेर्नुहोस्! म अहिले यहीं नै मेरो सम्पत्तिको आधा भाग गरिबहरूलाई दिन्छु; अनि यदि मैले कसैलाई कुनै कुरामा ठगेको भए, म त्यसको चार गुणा फिर्ता गरिदिनेछु।”

[9] येशूले तिनलाई भन्‍नुभयो, “आज यस घरमा मुक्‍ति आएको छ, किनकि यी मानिस पनि अब्राहामकै एक छोरा हुन्।

[10] किनकि मानिसको पुत्र हराएकाहरूलाई खोज्न र बचाउन आएका हो।”

[11] तिनीहरूले यी कुराहरू सुन्दैगर्दा उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्त भन्‍नुभयो; किनकि उहाँ यरूशलेमको नजिकै हुनुहुन्थ्यो, र मानिसहरूले परमेश्‍वरको राज्य अब तुरुन्तै प्रकट हुनेछ भन्‍ने विचार गरेका थिए।

[12] उहाँले भन्‍नुभयो: “असल खानदानका एकजना मानिस राजा नियुक्‍त भएर फेरि फर्कि आउनको लागि एउटा टाढा मुलुकमा गए।

[13] तिनले आफ्ना दश जना सेवकहरूलाई बोलाएर तिनीहरूलाई सुनका दश सिक्‍का दिएर भने, ‘म फर्केर नआएसम्म यो पैसा व्यापारमा लगाओ।’

[14] “तर उनका अधीनका प्रजाहरूले तिनलाई घृणा गर्दथे; र त्यसैले तिनका पछि-पछि तिनीहरूले यसो भन्‍ने दूतहरू पठाए, ‘यी मानिस हाम्रा राजा भएको हामी चाहँदैनौं।’

[15] “तर तिनी राजा भएर घर फर्के। त्यसपछि तिनले दिएका पैसाबाट सेवकहरूले कति फाइदा गरे भनी पत्ता लगाउनका लागि तिनले आफ्ना सेवकहरूलाई आफूकहाँ बोलाए।

[16] “पहिलो सेवक आएर भन्यो, ‘मालिक, तपाईंको पैसाले मैले अरू दश सिक्‍का कमाएको छु।’

[17] “अनि त्यसका मालिकले भने, ‘स्याबास, मेरो असल सेवक! तिमी सानो कुरामा पनि विश्‍वासयोग्य भयौ, त्यसकारण अब दश शहरहरूमाथि अधिकार गर।’

[18] “दोस्रो सेवक आएर भन्यो, ‘मालिक, तपाईंको पैसाले मैले अरू पाँच सिक्‍का कमाएको छु।’

[19] “अनि त्यसका मालिकले भने, ‘तिमीले पाँच शहरहरूमाथि अधिकार गर।’

[20] “त्यसपछि अर्को सेवक आयो, र भन्यो, ‘मालिक, हेर्नुहोस्, तपाईंको सिक्‍का यहीं छ, मैले यसलाई कपडाको टालोमा बाँधेर राखेको छु।

[21] म तपाईंसँग डराएँ, किनकि तपाईं एक कठोर मानिस हुनुहुन्छ। तपाईंले त जे राख्नु नै भएको छैन, त्यो लिनुहुन्छ र जे छर्नुभएन, त्यसैको कटनी गर्नुहुन्छ।’

[22] “त्यसका मालिकले जवाफ दिए, ‘ए दुष्‍ट सेवक, म तेरै मुखको वचनबाट तेरो न्याय गर्नेछु! मैले जे राखिनँ, त्यो लिने, र जे छरिनँ, त्यसैको कटनी गर्ने म एक कठोर मानिस हुँ भन्‍ने तँलाई थाहा थियो, होइन र?

[23] त्यसो भए मेरो सिक्‍का तैंले किन साहुकहाँ राखिनस् त? त्यसो गरेको भए म फर्केर आउँदा मैले त्यो ब्याजसमेत पाउने थिएँ।’

[24] “त्यसपछि तिनले त्यहाँ नजिकै उभिनेहरूलाई भने, ‘त्यसबाट त्यो सिक्‍का लेओ, र जससित दश सिक्‍का छ त्यसलाई देओ।’

[25] “तिनीहरूले भने, ‘मालिक, त्यससँग दश सिक्‍का छँदैछन् त!’

[26] “तिनले जवाफ दिए, ‘म तिमीहरूलाई भन्दछु, जससित छ त्यसलाई अरू दिइनेछ, तर जससित छैन, त्यससित भएको पनि खोसिनेछ।

[27] तर म तिनीहरूमाथि राजा बनेको नचाहने मेरा ती शत्रुहरू, तिनीहरूलाई यहाँ ल्याओ र तिनीहरूलाई मेरै सामुन्‍ने मार।’ ”

[28] येशूले यी कुराहरू भनिसकेपछि उहाँ यरूशलेमतर्फ जानअघि बढ्नुभयो।

[29] जब उहाँ जैतुन डाँडा भनिने पहाडमा बेथफागे र बेथानीको नजिक आइपुग्नुभयो, तब उहाँले आफ्ना दुईजना चेलाहरूलाई यसो भनेर पठाउनुभयो,

[30] “तिमीहरूका सामुन्‍नेको गाउँमा जाओ, र जब तिमीहरू त्यहाँ प्रवेश गर्छौ, तिमीहरूले त्यहाँ एउटा गधाको बछेडोलाई बाँधिराखेको भेट्टाउनेछौ, जसमाथि अझसम्म कोही सवार भएको छैन। त्यसलाई खोलेर यहाँ ल्याओ।

[31] यदि कसैले तिमीहरूलाई ‘त्यसलाई किन फुकाउँदैछौ?’ भनी सोध्यो भने, त्यसलाई ‘प्रभुलाई यो चाहिएको छ’ भन्‍नू।”

[32] ती अघि-अघि पठाइएकाहरू गए, र उहाँले तिनीहरूलाई जस्तो भन्‍नुभएको थियो, त्यस्तै भेट्टाए।

[33] तिनीहरूले त्यो बछेडालाई फुकाउँदै गर्दा त्यसको मालिकहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले त्यो बछेडालाई किन फुकाउँदैछौ?”

[34] तिनीहरूले जवाफ दिए, “प्रभुलाई यो चाहिएको छ।”

[35] तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए; आफ्ना लुगाहरू त्यस गधामाथि राखे, र येशूलाई त्यसमाथि बसाले।

[36] उहाँ अघि बढ्दैगर्दा मानिसहरूले आ-आफ्ना लुगाहरू बाटोमा ओछ्याइदिए।

[37] उहाँ जैतुन डाँडाको ओह्रालो सुरु हुने ठाउँको नजिक आइपुग्नुहुँदा, चेलाहरूको सम्पूर्ण भीडले आफूहरूले देखेका सबै शक्‍तिशाली कामहरूका लागि आनन्दसाथ चर्को सोरमा परमेश्‍वरको प्रशंसा गर्न लागे:

[38] “प्रभुको नाउँमा जो राजा आउनुहुन्छ धन्य हुनुहुन्छ!” “स्वर्गमा शान्ति र सर्वोच्‍चमा महिमा।”

[39] भीडमध्येका कोही फरिसीहरूले येशूलाई भने, “गुरुज्यू, तपाईंका चेलाहरूलाई हप्काउनुहोस्!”

[40] उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई भन्दछु, यिनीहरू चूप लागे भने डुङ्गाहरू कराएर उठ्नेछन्।”

[41] जब येशू यरूशलेमको नजिक पुग्नुभयो, र शहरलाई देख्नुभयो, तब उहाँ त्यसको निम्ति रुनुभयो,

[42] र भन्‍नुभयो, “तैंले, हो तैंले नै शान्ति कुन कुराले ल्याउँछ भनी आज जानेको भए हुनेथियो, तर अब त्यो तेरो नजरबाट लुकेको छ।

[43] तँमाथि यस्ता दिनहरू आउनेछन्, जब तेरा शत्रुहरूले तेरो वरिपरि तेरो विरुद्धमा मोर्चा बाँध्नेछन्, घेरा हाल्नेछन् र तँलाई चारैतिरबाट थुनिराख्नेछन्।

[44] तिनीहरूले तँलाई र तेरो पर्खालभित्र भएका तेरा सन्तानहरूलाई जमिनमा पछार्नेछन्; र तिनीहरूले एउटा ढुङ्गा पनि अर्कोमाथि छोड्नेछैनन्; किनकि तैंले तँकहाँ भएको परमेश्‍वरको आगमनको समयलाई चिनिनस्।”

[45] त्यसपछि उहाँ मन्दिरको क्षेत्रभित्र प्रवेश गर्नुभयो र त्यहाँ बिक्री गर्नेहरूलाई निकाल्न लाग्नुभयो।

[46] उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकूहरूको एउटा ओडार’ बनाएका छौ।”

[47] त्यसपछि उहाँले दिनहुँ मन्दिरमा शिक्षा दिन थाल्नुभयो। तर मुख्य पूजाहारीहरू, व्यवस्थाका शिक्षकहरू र मानिसहरूका अगुवाहरूले उहाँलाई मार्न खोज्दैथिए।

[48] तर तिनीहरूले उहाँलाई मार्न कुनै उपाय भेट्टाउन सकेनन्; किनकि सबै मानिसहरू उहाँका वचनमा प्रभावित भएका थिए।

लूका — Chapters