Skip to content
Opens in a new window
Listen to this chapter • 7:56

[1] हप्‍ताको पहिलो दिनमा, एकाबिहानै, ती स्त्रीहरू आफूहरूले तयार पारेका सुगन्धित मसलाहरू लिएर चिहानमा गए।

[2] तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए,

[3] तर जब भित्र पसे, तिनीहरूले प्रभु येशूको शरीर पाएनन्।

[4] यस विषयमा तिनीहरू अलमल परिरहेकै बेला, बिजुली चम्केजस्तो चम्किलो लुगा पहिरेका दुईजना एक्‍कासि तिनीहरूका अघि उभिए।

[5] भयभीत भएर ती स्त्रीहरूले आफ्ना अनुहार भुइँतिर झुकाए, तर ती मानिसहरूले भने, “जीवित व्यक्‍तिलाई मृतकहरूको बीचमा तिमीहरू किन खोज्दछौ?

[6] उहाँ यहाँ हुनुहुन्‍न, उहाँ जीवित हुनुभएको छ! उहाँ तिमीहरूसँग गालील प्रदेशमा हुँदा उहाँले तिमीहरूलाई के भन्‍नुभएको थियो, सो सम्झ:

[7] ‘मानिसका पुत्र पापीहरूका हातमा सुम्पिइनु, क्रूसमा टँगाइनु र तेस्रो दिनमा फेरि जीवित हुनु आवश्यक छ।’ ”

[8] तब तिनीहरूले उहाँका वचन सम्झे।

[9] चिहानबाट फर्केर आएपछि, तिनीहरूले यी सबै कुरा एघार चेलाहरू र अरू सबैलाई भने।

[10] प्रेरितहरूलाई यी कुराहरू भन्‍नेहरूमा मरियम मग्दलिनी, योअन्‍ना, याकोबकी आमा मरियम र तिनीहरूसँग भएका अरू स्त्रीहरू थिए।

[11] तर प्रेरितहरूले ती स्त्रीहरूका कुरामा विश्‍वास गरेनन्, किनकि तिनीहरूका कुरा प्रेरितहरूलाई व्यर्थको जस्तै लाग्यो।

[12] तर पत्रुस उठे, र चिहानतिर दगुरे। निहुरेर हेर्दा तिनले मलमलका कपडाका पट्टिहरू मात्र त्यहाँ पडिरहेका देखे, र के भएको हो भन्‍ने कुरामा अचम्म मान्दै उनी फर्के।

[13] अब त्यही दिन तिनीहरूमध्ये दुईजना यरूशलेमबाट करीब एघार किलोमिटर टाढामा पर्ने इम्माउस भनिने एउटा गाउँतिर गइरहेका थिए।

[14] तिनीहरू आपसमा त्यहाँ घटेका सबै कुराहरूका विषयमा बातचित गर्दैथिए।

[15] तिनीहरूले आपसमा यिनै कुराहरूका विषयमा बातचित र बहस गरिरहेकै बेला, येशू स्वयम् त्यहाँ आएर तिनीहरूकै साथसाथ हिँड्नुभयो,

[16] तर तिनीहरू उहाँलाई चिन्‍न नसक्ने तुल्याइएका थिए।

[17] उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू हिँड्दै आपसमा के बहस गरिरहेका छौ?” तिनीहरू मलिन अनुहार पार्दै टक्‍क अडिए।

[18] तिनीहरूमध्येका क्लेओपास नाम भएका एक जनाले उहाँलाई सोधे, “के तपाईं यरूशलेममा एक मात्र आगन्तुक हुनुहुन्छ, र जसलाई यी दिनहरूमा त्यहाँ के घटनाहरू भए भन्‍ने थाहा छैन?”

[19] उहाँले सोध्नुभयो, “के कुरा?” तिनीहरूले जवाफ दिए, “नासरतको येशूको विषयमा, उहाँ एक अगमवक्‍ता हुनुहुन्थ्यो, र परमेश्‍वर र सबै मानिसहरूका सामु वचन र कर्ममा शक्‍तिमान् हुनुहुन्थ्यो।

[20] मुख्य पूजाहारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए, र तिनीहरूले उहाँलाई क्रूसमा टाँगे,

[21] तर हामीले ता इस्राएललाई छुटकारा दिनुहुने उहाँ नै हुनुहुन्छ भन्‍ने आशा गरेका थियौं। यी सबैबाहेक यो सबै घटेको आज तीन दिन भयो।

[22] त्यसपछि पनि हामीहरूमध्येका कोही स्त्रीहरूले हामीलाई छक्‍कै पारे। तिनीहरू आज एकाबिहानै चिहानमा गए,

[23] तर उहाँको शरीर भेट्टाएनन्। तिनीहरू हामीकहाँ आएर तिनीहरूले उहाँ जीवित हुनुहुन्छ भन्‍ने स्वर्गदूतहरूको एउटा दर्शन देखेको कुरा सुनाए।

[24] त्यसपछि हाम्रा साथीहरूमध्ये कोही चिहानमा गए, र ती स्त्रीहरूले भनेजस्तै नै भेट्टाए, तर तिनीहरूले उहाँलाई देखेनन्।”

[25] अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू कति अबुझ छौ र अगमवक्‍ताहरूले बोलेका सबै कुरा विश्‍वास गर्न तिमीहरूका हृदय कति सुस्त छन्!

[26] के ख्रीष्‍टले यी सबै कष्‍टहरू भोग्न र त्यसपछि आफ्नो महिमामा प्रवेश गर्नु आवश्यक थिएन र?”

[27] अनि मोशा र अगमवक्‍ताहरूबाट सुरु गरेर उहाँले सम्पूर्ण धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका सबै कुराहरूको अर्थ तिनीहरूलाई व्याख्या गरिदिनुभयो।

[28] तिनीहरू आफू जुन गाउँमा गइरहेका थिए त्यसको नजिकै आइपुगेपछि, येशूले उहाँ अझै पर जान चाहेजस्तो गर्नुभयो।

[29] तर तिनीहरूले उहाँलाई कर गर्दै विन्ती गरे, “हामीसँग नै बस्‍नुहोस्; किनकि अब साँझ पर्दैछ, र दिन पनि ढल्किसकेको छ।” अनि उहाँ तिनीहरूसँगै बस्‍न भित्र पस्‍नुभयो।

[30] जब उहाँ तिनीहरूसँगै टेबुलमा हुनुहुन्थ्यो, तब उहाँले रोटी लिएर परमेश्‍वरलाई धन्यवाद दिनुभयो, र भाँचेर तिनीहरूलाई दिन थाल्नुभयो।

[31] त्यस बेला तिनीहरूका आँखा खोलिए, र तिनीहरूले उहाँलाई चिने, अनि उहाँ तिनीहरूका दृष्‍टिबाट अदृश्य हुनुभयो।

[32] तिनीहरूले आपसमा भने, “के उहाँ बाटोमा हामीसँग कुराकानी गर्नुहुँदा र हाम्रा निम्ति धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा हाम्रो हृदय प्रज्वलित भएको थिएन र?”

[33] तिनीहरू उठे, र तुरुन्तै यरूशलेम फर्के। त्यहाँ तिनीहरूले एघारजनालाई र तिनीहरूसँग हुनेहरूलाई एकैसाथ भेला भएका भेटे,

[34] अनि तिनीहरूलाई भने, “यो सत्य रहेछ! प्रभु जीवित पारिनुभएको र सिमोनकहाँ देखा पर्नुभएको हो रहेछ।”

[35] त्यसपछि ती दुईजनाले बाटोमा के भएको थियो र उहाँले रोटी भाँच्नुहुँदा कसरी येशूलाई तिनीहरूले चिने भन्‍ने विषयमा बताए।

[36] तिनीहरूले यसैको बारेमा कुरा गर्दा-गर्दै येशू स्वयम् तिनीहरूका बीचमा उभिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्।”

[37] तिनीहरूले एउटा भूत देखेको झैं भनी ठानेर तिनीहरू विचलित भए, र डराए।

[38] उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन विचलित हुन्छौ? अनि तिमीहरूका मनमा किन शङ्का उब्जन्छ?

[39] मेरा हातहरू र खुट्टाहरू हेर; म नै हुँ! मलाई छोएर हेर, तिमीहरूले अहिले ममा देखेजस्तै मासु र हाड त कुनै भूतको हुँदैन।”

[40] यति भनिसकेपछि उहाँले तिनीहरूलाई आफ्ना हात र खुट्टाहरू देखाउनुभयो।

[41] अनि जब आनन्द र आश्‍चर्यले गर्दा तिनीहरूले अझै पनि विश्‍वास गरेनन्, तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “के तिमीहरूसँग यहाँ केही खानेकुरो छ?”

[42] तिनीहरूले उहाँलाई पकाएको माछाको एक टुक्रा दिए,

[43] अनि उहाँले त्यो लिनुभयो र तिनीहरूकै सामु खानुभयो।

[44] उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूसँगै हुँदा मैले तिमीहरूलाई भनेको कुरा यही हो: मोशाको व्यवस्था, अगमवक्‍ताहरू र भजनहरूका पुस्तकमा मेरा विषयमा लेखिएका हरेक कुरा पूरा हुनैपर्छ।”

[45] त्यसपछि तिनीहरूले धर्मशास्त्रका कुराहरू बुझ्न सकून् भनेर उहाँले तिनीहरूका समझ खोलिदिनुभयो।

[46] उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसो लेखिएको छ: ख्रीष्‍टले दुःख भोग्नेछ र तेस्रो दिनमा मरेकाहरूबाट जीवित भई उठ्नेछ,

[47] अनि यरूशलेमदेखि सुरु गरेर सबै राष्ट्रहरूमा उहाँको नाउँमा पाप क्षमाको पश्‍चात्तापको प्रचार हुनेछ।

[48] तिमीहरू यिनै कुराहरूका साक्षी छौ।

[49] मेरा पिताले प्रतिज्ञा गर्नुभएको कुरा म तिमीहरूकहाँ पठाउँनेछु, तर माथिबाट आउने शक्‍तिले सुसज्जित नभएसम्म यसै शहरमा बसिरहो।”

[50] अनि येशूले तिनीहरूलाई यरूशलेम बाहिर बेथानीको नजिकै लानुभएपछि, उहाँले आफ्नो हात उचाल्नुभयो र तिनीहरूलाई आशीर्वाद दिनुभयो।

[51] तिनीहरूलाई आशीर्वाद दिँदैगर्नुहुँदा उहाँ तिनीहरूबाट अलग हुनुभयो र माथि स्वर्गमा उठाइलगिनुभयो।

[52] अनि तिनीहरूले उहाँलाई दण्डवत् गरे, र बडो आनन्दसाथ यरूशलेम फर्के।

[53] अनि परमेश्‍वरको प्रशंसा गर्दै निरन्तर मन्दिरमा रहन लागे।

लूका — Chapters