[1] एक दिन येशू कुनै ठाउँमा प्रार्थना गर्दैहुनुहुन्थ्यो। उहाँले प्रार्थना सिद्ध्याउनुभएपछि उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “प्रभु, यूहन्नाले आफ्ना चेलाहरूलाई सिकाएझैं हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्।”
[2] उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले प्रार्थना गर्दा यसो भन: “ ‘हे पिता, तपाईंको नाउँ पवित्र गरियोस्, तपाईंको राज्य आओस्।
[3] प्रत्येक दिन हामीलाई हाम्रो दैनिक भोजन दिनुहोस्।
[4] हाम्रा पापहरू क्षमा गरिदिनुहोस्, किनकि हामीले पनि हाम्रो विरुद्धमा पाप गर्ने हरेकलाई क्षमा गर्दछौं। अनि हामीलाई परीक्षामा नल्याउनुहोस्।’ ”
[5] त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “मानौं तिमीहरूमध्ये कसैको एकजना मित्र छन्, र उनी मध्यरातमा तिनीकहाँ गएर भन्छन्, ‘मित्र, मलाई तीनओटा रोटी पैँचो दिनुहोस्,
[6] किनकि मेरा एकजना मित्र यात्राबाट मकहाँ आएका छन्, तर तिनलाई टक्र्याउन मसँग केही पनि छैन।’
[7] तब भित्रबाट तिनले जवाफ दिन्छन्, ‘मलाई दुःख नदिनुहोस्। ढोका बन्द भइसकेको छ, र मेरा केटाकेटीहरू मसँगै ओछ्यानमा छन्। म उठेर तपाईंलाई केही दिन सक्दिनँ।’
[8] म तिमीहरूलाई भन्दछु: यद्यपि उनी एक मित्र भएको कारणले तिनले उठेर उनलाई रोटी नदेला, तापनि उनले खुरन्धार मागिरहेका कारणले गर्दा तिनी उठेर उनलाई खाँचोपरे जति दिनेछन्।
[9] “त्यसकारण म तिमीहरूलाई भन्दछु: माग अनि तिमीहरूलाई त्यो दिइनेछ; खोज, अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याओ, अनि तिमीहरूको निम्ति ढोका उघारिनेछ।
[10] किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ, जसले खोज्छ, त्यसले भेट्टाउँछ, अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ।
[11] “तिमीहरूमध्ये कुनचाहिँ त्यस्तो बुबा होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला, अथवा माछा माग्दा त्यसलाई माछाको सट्टा सर्प देला?
[12] अथवा अण्डा माग्दा त्यसलाई बिच्छी देला?
[13] यदि तिमीहरू जो दुष्ट भइकन पनि आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने झन् उहाँसँग माग्नेहरूलाई तिमीहरूका स्वर्गीय पिताले कति प्रशस्त गरी पवित्र आत्मा दिनुहुनेछ!”
[14] एक दिन येशूले एउटा व्यक्तिबाट भूत निकाल्दै हुनुहुन्थ्यो, जो बोल्न नसक्ने थियो। भूत निस्केपछि त्यो बोल्न नसक्ने मानिस बोल्यो र भीड छक्क पर्यो।
[15] तर तिनीहरूमध्ये कतिले भने, “यिनले ता भूतहरूको शासक बालजिबुलद्वारा भूतहरू धपाउँछन्।”
[16] अनि अरूहरूले स्वर्गबाट एउटा चिन्ह माग्दै उहाँको परीक्षा गरे।
[17] येशूले तिनीहरूका विचार थाहा पाएर तिनीहरूलाई भन्नुभयो: “आपसमा फाटो भएको कुनै पनि राज्य नष्ट भएर जान्छ, अनि आपसमा फाटो भएको जुनसुकै घर पनि पतन हुन्छ।
[18] यदि शैतान पनि आफ्नै विरुद्धमा विभाजित हुन्छ भने, त्यसको राज्य कसरी टिक्न सक्छ? मैले बालजिबुलद्वारा भूत निकाल्छु भनी तिमीहरूले दाबी गरेका कारण म यो भन्दैछु।
[19] तर यदि म बालजिबुलद्वारा भूतहरू निकाल्छु भने तिमीहरूका चेलाहरूले चाहिँ कसद्वारा तिनीहरूलाई निकाल्छन् त? यसकारण तिनीहरू नै तिमीहरूका न्यायकर्ता हुनेछन्।
[20] तर यदि म परमेश्वरको शक्तिद्वारा भूतहरू निकाल्छु भने परमेश्वरको राज्य तिमीहरूमा आइसकेको छ।
[21] “जब कुनै बलियो मानिस हातहतियारले सुसज्जित भई आफ्नो घरको रक्षा गर्दछ, तब त्यसको सम्पत्ति सुरक्षित रहन्छ।
[22] तर त्यसभन्दा बलियो अर्को मानिसले त्यसलाई आक्रमण गरेर जित्यो भने त्यो मानिसले भरोसा गरेका हातहतियार त्यसले खोसेर लैजान्छ, र लुटका मालसामान बाँड्छ।
[23] “जो मसँग छैन, त्यो मेरो विरुद्धमा हुन्छ, अनि जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्दछ।
[24] “जब कुनै अशुद्ध आत्मा कुनै मानिसबाट निस्किन्छ, तब त्यो ओबानो ठाउँहरूमा विश्राम खोज्न जान्छ, अनि त्यसले भेट्टाउँदैन, तब त्यसले भन्छ, ‘म निस्केर आएको घरमा नै फर्केर जानेछु।’
[25] जब त्यो आइपुग्छ, त्यसले त्यो घर सफा गरिएको र सुव्यवस्थित पाउँछ।
[26] त्यसपछि त्यो जान्छ, र आफूभन्दा अझै दुष्ट अरू सात आत्माहरूलाई लिएर आउँछ, अनि ती सबै भित्र गएर त्यहीं बस्छन्; अनि त्यो मानिसको पछिल्लो दशा पहिलोभन्दा झन् खराब हुन्छ।”
[27] येशूले यी कुराहरू भन्दैगर्नुहुँदा भीडबाट एउटी स्त्रीले कराएर भनी, “ती आमा धन्य हुन्, जसले तपाईंलाई जन्म दिइन् र पालनपोषण गरिन्।”
[28] तर उहाँले जवाफ दिनुभयो, “बरु तिनीहरू धन्य हुन्, जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्।”
[29] भीडहरू बढ्दैगएपछि येशूले भन्नुभयो, “यो एक दुष्ट पुस्ता हो; यिनीहरूले अचम्मको चिन्ह खोज्दछन्, तर योनाको चिन्ह बाहेक अरू कुनै चिन्ह दिइनेछैन।
[30] किनकि जसरी योना निनवेका मानिसहरूका लागि चिन्ह थिए, त्यसरी नै मानिसका पुत्र पनि यस पुस्ताका निम्ति चिन्ह हुनेछन्।
[31] न्यायको समयमा दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसित खडा भएर तिनीहरूलाई दोषी ठहराउनेछिन्; किनकि तिनी सोलोमनको बुद्धि सुन्नलाई पृथ्वीको पल्लो छेउदेखि आएकी थिइन्; तर हेर सोलोमनभन्दा महान् एकजना यहाँ छन्।
[32] न्यायको समयमा निनवेका मानिसहरू यस पुस्तासँग खडा भएर यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको प्रचार सुनेर पश्चात्ताप गरेका थिए, तर हेर योनाभन्दा महान् एकजना यहाँ छन्।
[33] “कसैले पनि बत्ती बालेर त्यसलाई लुकिने ठाउँमा अथवा कुनै भाँडोमुनि राख्दैन; तर भित्र आउनेहरूले उज्यालो पाऊन् भनी उसले त्यो सामदानमाथि राख्दछ।
[34] तिमीहरूको आँखा तिमीहरूको शरीरको बत्ती हो। तिमीहरूका आँखा स्वस्थ्य छन् भने, तिमीहरूको सम्पूर्ण शरीर पनि ज्योतिले पूर्ण हुन्छ; तर यदि आँखा अस्वस्थ्य छन् भने, तिमीहरूको शरीर पनि अन्धकारले पूर्ण हुन्छ।
[35] त्यसकारण सावधान होऊ, तिमीमा भएको उज्यालो अँध्यारो नहोस्।
[36] त्यसकारण तिम्रो सम्पूर्ण शरीर उज्यालोले पूर्ण छ, तथा त्यसको कुनै भाग अँध्यारो छैन भने त्यो सम्पूर्ण रूपले उज्यालो हुनेछ, जसरी बत्तीको उज्यालो तिमीहरूमा चम्कन्छ।”
[37] येशूले बोलिसक्नुभएपछि एकजना फरिसीले उहाँलाई आफूसँग भोजनमा निम्तो दिए। उहाँ घरभित्र गएर टेबुलमा खान ढल्कनुभयो।
[38] तर येशूले खान अघि हात नधुनुभएको देखेर ती फरिसी छक्कै परे।
[39] त्यसपछि प्रभुले तिनलाई भन्नुभयो, “तिमी फरिसीहरू कचौरा र थालको बाहिरपट्टि त सफा गर्दछौ; तर तिमीहरूको भित्री भागचाहिँ लोभ र दुष्टताले भरिएका हुन्छ।
[40] मूर्ख मानिसहरूहो! जसले बाहिरको भाग बनाउनुभयो, उहाँले नै भित्रको भाग पनि बनाउनुभएको होइन र?
[41] तर तिमीहरूभित्र लोभले थुपारेका जे कुराहरू छन्, ती गरिबहरूलाई देओ, र तिमीहरूका निम्ति सबै थोक शुद्ध हुन्छन्।
[42] “धिक्कार! तिमी फरिसीहरूलाई, किनकि तिमीहरूले परमेश्वरलाई पुदिना, आरूद र हरेक जडीबुटीको दशांश दिन्छौ, तर न्याय र परमेश्वरको प्रेमलाई तिमीहरू बेवास्ता गर्दछौ। तिमीहरूले पहिलो नछोडीकन, यो दोस्रो पनि गर्नुपर्नेथियो।
[43] “धिक्कार! तिमी फरिसीहरूलाई, किनकि तिमीहरू सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र बजारहरूमा आदरपूर्ण अभिवादन पाउन रुचाउँछौ।
[44] “धिक्कार! तिमीहरूलाई, किनकि तिमीहरू सङ्केत नभएका चिहानहरू जस्ता छौ, जसमाथिबाट मानिसहरू थाहै नपाई हिँड्छन्।”
[45] व्यवस्थाका विद्वान्हरूमध्ये एक जनाले उहाँलाई भने, “गुरुज्यू, यी कुराहरू भनेर तपाईंले हाम्रो पनि बेइज्जत गर्दै हुनुहुन्छ।”
[46] येशूले जवाफ दिनुभयो, “तिमी व्यवस्थाका विद्वान्हरूलाई पनि धिक्कार! किनकि तिमीहरूले मानिसहरूलाई तिनीहरूले बोक्नै नसक्ने भारी लदाउँछौ, तर तिमीहरू आफैले भने तिनीहरूलाई सहायता गर्न एउटा औंला पनि उठाउँदैनौ।
[47] “धिक्कार! तिमीहरूलाई, किनकि तिमीहरू अगमवक्ताहरूको निम्ति चिहान बनाउँछौ; तर तिनीहरूलाई तिमीहरूकै पुर्खाहरूले मारेका थिए।
[48] यसरी तिमीहरूले आफ्ना पुर्खाहरूले जे गरेका थिए, त्यसमा तिमीहरूको पनि सहमति छ भन्ने साक्षी दिन्छौ, तिनीहरूले अगमवक्ताहरूलाई मारे, अनि तिमीहरू उनीहरूका चिहान बनाउँछौ।
[49] यसैकारण परमेश्वरले आफ्नो बुद्धिमा यसो भन्नुभयो, ‘म तिनीहरूकहाँ अगमवक्ताहरू र प्रेरितहरू पठाउनेछु, उनीहरूमध्ये कसैलाई मार्नेछन् र अरूहरूलाई तिनीहरूले सताउनेछन्।’
[50] त्यसकारण संसारको सुरुदेखि यता भएका सबै अगमवक्ताका रक्तपातको लेखा दिन यो पुस्ता जिम्मेवार रहनेछ,
[51] हाबिलको रगतदेखि जकरियाको रगतसम्म, जसको हत्या वेदी र पवित्रस्थानको बीचमा गरिएको थियो। हो, म तिमीहरूलाई भन्दछु, यी सबै कुराको लेखा यो पुस्ताबाट नै लिइनेछ।
[52] “धिक्कार! तिमी व्यवस्थाका विद्वान्हरूलाई, किनकि तिमीहरूले ज्ञानमा प्रवेश गर्ने साँचो लगेका छौ। तिमीहरू आफू पनि भित्र पसेनौ, तर भित्र पस्दै गरेकाहरूलाई समेत तिमीहरूले रोक्यौ।”
[53] येशू त्यहाँबाट जानुभएपछि फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँको घोर विरोध गर्न र उहाँलाई प्रश्नहरू सोध्दै घेराउ गर्न थाले;
[54] अनि उहाँले भन्नुहुने जुनसुकै कुरामा पनि तिनीहरूले उहाँलाई पक्रन दाउ खोज्न थाले।