[1] एक विश्रामदिन येशू अन्नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो, अनि उहाँका चेलाहरूले अन्नका केही बालाहरू टिपेर हातमा माड्दै खानलागे।
[2] तर केही फरिसीहरूले भने, “किन तिमीहरू विश्रामदिनमा उचित नहुने काम गरिरहेका छौ?”
[3] येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले यति पनि पढेका छैनौ, दाविदले आफू र आफ्ना साथीहरू भोकाएको बेला के गरेका थिए?
[4] तिनी परमेश्वरको भवनभित्र पसेर परमेश्वरलाई अर्पण गरिएका रोटीहरू खाए, जो व्यवस्थाअनुसार केवल पूजाहारीहरूले मात्र खान उचित थियो। तिनले त्यसबाट केही भाग आफ्ना साथीहरूलाई पनि दिए, जुन व्यवस्थाविरुद्ध थियो।”
[5] त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसका पुत्र विश्रामदिनको पनि प्रभु हुन्।”
[6] अर्को विश्रामदिनमा उहाँ सभाघरमा जानुभयो र त्यहाँ शिक्षा दिँदै हुनुहुन्थ्यो, अनि त्यहाँ एकजना दाहिने हात सुकेर नचल्ने भएको मानिस पनि थियो।
[7] फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई दोष लगाउन केही निहुँ खोजिरहेका थिए। त्यसकारण कतै उहाँले विश्रामदिनमा पनि निको पार्ने काम गर्नुहुन्छ कि भनी चियो गरिरहेका थिए।
[8] तर तिनीहरूले के विचार गर्दैछन् भनी येशूले थाहा पाउनुभयो र हात सुकेको त्यो मानिसलाई भन्नुभयो, “उठ र सबैको सामुन्ने खडा होऊ।” अनि त्यो उठ्यो र खडा भयो।
[9] त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई सोध्छु, विश्रामदिनमा के गर्नु उचित हुन्छ: असल गर्नु वा खराब गर्नु, जीवन बचाउनु कि नष्ट पार्नु?”
[10] उहाँले चारैतिर ती सबैलाई हेर्नुभयो र त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात सीधा पार।” त्यसले त्यो सीधा पार्यो, अनि त्यसको हात पूर्ण रूपले निको भइहाल्यो।
[11] तर फरिसीहरू र व्यवस्थाका शिक्षकहरू रिसले चूर भए, र येशूलाई के गर्न सकिन्छ भनी आपसमा छलफल गर्न लागे।
[12] ती दिनहरूमध्ये एक दिन उहाँ प्रार्थना गर्न डाँडातिर जानुभयो र परमेश्वरमा प्रार्थना चढाउँदै पूरै रात त्यहीं बिताउनुभयो।
[13] बिहान भएपछि, उहाँले आफ्ना चेलाहरूलाई आफूसँग बोलाउनुभयो र तिनीहरूबाट उहाँले बाह्र जनालाई छान्नुभयो र तिनीहरूलाई प्रेरित नाउँ दिनुभयो, तिनीहरू यिनै हुन्:
[14] सिमोन (जसलाई उहाँले पत्रुस भन्ने नाउँ दिनुभयो), तिनका भाइ अन्द्रियास, याकोब, यूहन्ना, फिलिप, बारथोलोमाइ,
[15] मत्ती, थोमा, अल्फयसका छोरा याकोब, सिमोन कनानी, जो उग्रपन्थी भनिन्थे,
[16] याकोबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो विश्वासघाती बन्यो।
[17] अनि येशू तिनीहरूसँगै तल ओर्लनुभयो र समतल ठाउँमा उभिनुभयो। उहाँका चेलाहरूको एउटा ठूलो भीडका साथै समस्त यहूदिया प्रदेश, यरूशलेम, सीदोन र टायरका समुद्र तटवर्ती इलाकाबाट आएका धेरै मानिसहरू त्यहाँ थिए,
[18] जो उहाँका वचन सुन्न र आ-आफ्ना रोगहरूबाट निको हुन त्यहाँ आएका थिए। अशुद्ध आत्माले सताइएकाहरू निको भए।
[19] अनि सबै मानिसहरूले उहाँलाई छुने प्रयास गर्न लागे, किनकि उहाँबाट शक्ति निस्किरहेको र तिनीहरू सबैलाई निको पार्दैथियो।
[20] आफ्ना चेलाहरूलाई हेरेर उहाँले भन्नुभयो: “धन्य तिमी दीन हुनेहरू, किनकि परमेश्वरको राज्य तिमीहरूकै हो।
[21] धन्य तिमी अहिले भोकाउनेहरू, किनकि तिमीहरू तृप्त हुनेछौ। धन्य तिमी अहिले रुनेहरू, किनकि तिमीहरू हाँस्नेछौ।
[22] तिमीहरू धन्यका हौ, जब मानिसहरूले तिमीहरूलाई मानिसका पुत्रलाई पछ्याएको कारण घृणा गर्छन्, बहिष्कार र अपमान गर्छन्, र दुष्ट ठानी तिमीहरूका नाउँलाई इन्कार गर्छन्।
[23] “तब त्यस दिनमा रमाओ र आनन्दले उफ्र; किनकि स्वर्गमा तिमीहरूको लागि ठूलो प्रतिफल छ। किनकि तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई पनि यस्तै नै व्यवहार गरेका थिए।
[24] “तर धिक्कार! तिमी धनीहरू, किनकि तिमीहरूले आफ्नो सुविधा पाइसकेका छौ।
[25] धिक्कार! तिमी अहिले राम्रोसँग खुवाइएकाहरू, किनकि तिमीहरू भोकमा पर्नेछौ। धिक्कार! तिमी अहिले हाँस्नेहरू, किनकि तिमीहरू शोक गर्नेछौ र रुनेछौ।
[26] धिक्कार! तिमीहरूलाई, जब सबै मानिसहरूले तिमीहरूको सराहना गर्नेछन्, किनकि तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई यस्तै नै व्यवहार गरेका थिए।
[27] “तर मेरा कुरा सुन्नेहरूलाई म भन्दछु: आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिमीलाई घृणा गर्नेहरूलाई भलाइ गर।
[28] तिमीलाई सराप्नेहरूलाई आशीर्वाद देओ, र नराम्रो व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर।
[29] यदि कसैले तिमीलाई एउटा गालामा हिर्कायो भने, अर्को गाला पनि थापिदेओ। यदि कसैले तिम्रो खास्टो खोस्छ भने, तिम्रो दौरा पनि लैजान देओ।
[30] तिमीहरूसँग माग्ने सबैलाई देओ; र तिम्रो कुनै चीज कसैले लैजान्छ भने, ऊसँग त्यो फेरि फिर्ता नमाग।
[31] अरूहरूप्रति त्यही व्यवहार गर, जस्तो तिमीहरू तिनीहरूबाट चाहन्छौ।
[32] “यदि तिमीहरूलाई प्रेम गर्नेहरूलाई मात्र तिमीहरू प्रेम गर्छौ भने तिमीलाई के लाभ भयो र? पापीहरूले पनि त तिनीहरूलाई प्रेम गर्नेलाई प्रेम गर्दछन्।
[33] अनि यदि तिमीलाई भलो गर्नेहरूलाई मात्र भलाइ गर्दछौ भने तिमीलाई के लाभ भयो र? पापीहरूले पनि त त्यस्तै गर्दछन्।
[34] यदि फिर्ता गर्न सक्ने मानिसहरूलाई मात्र ऋण दिन्छौ भने तिमीलाई के लाभ भयो र? पूरा फिर्ता पाउने आशाले पापीहरूले पनि त पापीहरूलाई ऋण दिँदछन्।
[35] तर आफ्ना शत्रुहरूलाई प्रेम गर, तिनीहरूलाई भलाइ गर, र केही पनि फिर्ता नलिने आशा गरी तिनीहरूलाई ऋण देओ; तब तिमीहरूको इनाम ठूलो हुनेछ, र तिमीहरू सर्वोच्चका सन्तान ठहरिनेछौ; किनकि परमेश्वर बैगुनी र दुष्टहरूप्रति पनि दयालु हुनुहुन्छ।
[36] तिमीहरू पनि कृपालु होओ, जसरी तिमीहरूका स्वर्गीय पिता कृपालु हुनुहुन्छ।
[37] “न्याय नगर, र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमी पनि दोषी ठहराइने छैनौ। क्षमा गर, तब तिमीलाई पनि क्षमा गरिनेछ।
[38] देऊ, अनि तिमीलाई पनि दिइनेछ। प्रशस्त मात्रामा, खाँदी-खाँदी, हल्लाई-हल्लाई, र भरिएर पोखिने गरी तिम्रा पोल्टामा खन्याइनेछ। किनकि जुन नापले तिमीहरू दिँदछौ, त्यही नापमा तिमीहरूलाई पनि दिइनेछ।”
[39] उहाँले तिनीहरूलाई यो दृष्टान्त पनि भन्नुभयो: “के कुनै दृष्टिविहीनले अर्को दृष्टिविहीनलाई डोर्याउन सक्छ र? के तिनीहरू दुवै नै खाडलमा पर्दैनन् र?
[40] चेला गुरुभन्दा श्रेष्ठ हुँदैन, तर पूरा शिक्षा पाएपछि ऊ गुरुजस्तै हुनेछ।
[41] “तिमीले किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ, तर तिम्रो आफ्नै आँखामा भएको मुढाका विषयमा भने विचार नै गर्दैनौ?
[42] तिमीले आफ्नो भाइलाई कसरी ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को म निकालिदिन्छु’ भन्न सक्छौ, जब तिम्रो आफ्नै आँखामा भएको मुढाचाहिँ देख्दैनौ? ए कपटी, पहिले आफ्नै आँखाबाट मुढा निकाल, अनि पो आफ्नो भाइको आँखाबाट छेस्को निकाल्नलाई तिमीले छर्लङ्ग देख्न सक्नेछौ।
[43] “कुनै असल रूखले खराब फल फलाउँदैन, न ता खराब रूखले असल फल फलाउँछ।
[44] हरेक त्यसको आफ्नो फलबाटै रूख चिनिन्छ। मानिसहरूले काँडाका झाँगबाट अञ्जीर टिप्दैनन्, न ता ऐँसेलुको झाँगबाट अङ्गुर बटुल्छन्।
[45] असल मानिसले आफ्नो हृदयमा थुपारेको असल भण्डारबाट असल कुराहरू बाहिर निकाल्छ र दुष्ट मानिसले आफ्नो हृदयमा थुपारेको दुष्ट भण्डारबाट दुष्ट कुराहरू नै निकाल्दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ।
[46] “मैले भनेका कुरा गर्दैनौ भने मलाई किन ‘प्रभु, प्रभु’ भन्दछौ?
[47] जो मकहाँ आउँछ, मेरा वचन सुन्छ र तीअनुसार गर्छ, त्यो कस्तो मानिस हो, म तिमीहरूलाई भन्छु।
[48] त्यो एउटा घर बनाउने मानिसजस्तै हो, जसले गहिरो खनेर चट्टानमाथि जग बसाल्यो। जब बाढी आयो, र पानीको भल त्यस घरमा ठोक्कियो, त्यसले त्यो घरलाई हल्लाउन सकेन; किनकि त्यो राम्रोसँग बनाइएको थियो।
[49] तर मेरो वचन सुन्ने, र तीअनुसार काम नगर्नेचाहिँ जग नै नहालिकन जमिनमाथि मात्र घर बनाउने मानिसजस्तै हो। त्यस घरमा भल ठोक्किने बित्तिकै, त्यो भत्क्यो र पूर्ण रूपले नाश भयो।”