[1] येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: “कुनै धनी मानिसको एकजना प्रबन्धक थियो र उसलाई आफ्ना मालिकको धनसम्पत्ति उडाइरहेको छ भन्ने दोष लागेको थियो।
[2] त्यसकारण मालिकले त्यसलाई बोलाएर सोधे, ‘मैले तिम्रो बारेमा जे सुन्दैछु, त्यो के हो? तिम्रो कामको हिसाब देऊ; किनकि अब उप्रान्त तिमी प्रबन्धक रहिरहन सक्दैनौ।’
[3] “त्यो प्रबन्धकले आफ्नो मनमनै भन्यो, ‘अब म के गरूँ? मेरा मालिकले मेरो काम खोस्न लागेका छन्। खनजोत गर्ने मेरो बल छैनँ, अनि भीख माग्न मलाई लाज लाग्छ।
[4] मैले के गर्नेछु, त्यो मलाई थाहा छ, त्यसो गर्दा म यहाँको कामबाट हटाइए पनि मानिसहरूले मलाई तिनीहरूका घरमा स्वागत गरून्।’
[5] “तब त्यसले आफ्ना मालिकका ऋणीहरूमध्ये हरेकलाई बोलायो। त्यसले पहिलोलाई सोध्यो, ‘तिमीलाई मेरा मालिकको कति ऋण छ?’
[6] “उसले भन्यो, ‘तीन हजार लिटर जैतुनको तेल।’ “प्रबन्धकले उसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ र चाँडो बसेर पन्ध्र सय लिटर लेख।’
[7] “त्यसपछि त्यसले दोस्रोलाई सोध्यो, ‘तिमीलाई कति ऋण छ?’ “उसले भन्यो, ‘तीस टन गहुँ।’ “त्यसले उसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ र चौबीस टन लेख।’
[8] “त्यसले चतुर्याइँपूर्वक काम गरेकोले त्यसका मालिकले त्यो बेइमान प्रबन्धकको तारिफ गरे, किनकि यस संसारका मानिसहरू आफूजस्तै अरू मानिसहरूसँग व्यवहार गर्ने काममा ज्योतिका मानिसहरूभन्दा अझ बढी चतुर हुन्छन्।
[9] म तिमीहरूलाई भन्दछु, संसारको धन प्रयोग गरेर आफ्ना निम्ति मित्रहरू बनाओ, र त्यो धन सकिएपछि तिमीहरूले अनन्त वासस्थानमा स्वागत पाउनेछौ।
[10] “जसलाई थोरै कुरामा भरोसा गर्न सकिन्छ, त्यसलाई धेरै कुरामा पनि भरोसा गर्न सकिन्छ, अनि जो सानो कुरामा बेइमान हुन्छ, त्यो धेरै कुरामा पनि बेइमान हुन्छ।
[11] त्यसैले यदि तिमीहरू सांसारिक धन चलाउने काममा इमानदार भएनौ भने तिमीहरूलाई साँचो धनको निम्ति कसले भरोसा गर्ला?
[12] अनि यदि तिमीहरू अरू कसैको धनमा इमानदार भएनौ भने तिमीहरूलाई तिम्रो आफ्नै धन कसले देला र?
[13] “कुनै पनि सेवकले दुई मालिकको सेवा गर्न सक्दैन। कि ता त्यसले एउटालाई घृणा गरेर अर्कोलाई प्रेम गर्नेछ, कि ता त्यो एउटाप्रति भक्त बनेर अर्कालाई तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ।”
[14] फरिसीहरू, जसले धनको लोभ गर्थे, यी सबै कुरा सुनेर तिनीहरूले उहाँका विरुद्ध ओठ लेप्य्राउँदै थिए।
[15] उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसहरूका सामुन्ने आफैलाई धर्मी ठहराउने मानिसहरू तिमीहरू नै हौ, तर तिमीहरूका हृदय परमेश्वरले जान्नुहुन्छ। मानिसहरूका बीचमा जे उच्च ठानिएको हुन्छ, त्यो परमेश्वरको दृष्टिमा घृणित हुन्छ।
[16] “व्यवस्था र अगमवक्ताका वचन यूहन्नाको पालासम्म घोषणा गरिए। त्यस बेलादेखि परमेश्वरको राज्यको सुसमाचार घोषणा भइरहेको छ, अनि हरेक व्यक्तिले आफू त्यसभित्र पस्न जबरजस्ती गर्दैछ।
[17] तर व्यवस्थाबाट एक मात्रा पनि हट्नुभन्दा आकाश र पृथ्वी टलिजान सजिलो छ।
[18] “जसले आफ्नी पत्नीलाई विवाह-विच्छेद गरेर अर्की स्त्रीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्छ, अनि त्यो मानिस जसले विवाह-विच्छेद गरिएकी कुनै स्त्रीलाई विवाह गर्छ, उसले पनि व्यभिचार गर्छ।
[19] “येशूले भन्नुभयो, एउटा धनी मानिस थियो र ऊ बहुमूल्य बैजनी र मिहिन मलमलको लुगा लगाएर दिनहुँ सुख-विलासमा बस्दथ्यो।
[20] उसको ढोकामा लाजरस नाउँ भएको एउटा माग्ने राखिन्थ्यो, जसको शरीर घाउ नै घाउले भरिएको थियो,
[21] अनि त्यसले धनी मानिसको टेबुलबाट झरेका भोजनका टुक्रा-टाक्री खाने इच्छा गर्दथ्यो। कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्दथे।
[22] “केही समयपछि त्यो माग्ने मर्यो र स्वर्गदूतहरूले त्यसलाई लगेर अब्राहामको साथमा पुर्याइयो। त्यो धनी मानिस पनि मर्यो, र गाडियो।
[23] नरकमा, जहाँ ऊ कठोर यातनामा थियो। उसले त्यहाँबाट नजर उठाएर हेर्यो, र टाढामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्यो।
[24] तब उसले उनलाई कराएर भन्यो, ‘हे पिता अब्राहाम, ममाथि दया गर्नुहोस्, र लाजरसलाई त्यसको औंला पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदिन यहाँ पठाइदिनुहोस्, किनकि म यस आगोमा कठोर वेदनामा छु।’
[25] “तर अब्राहामले जवाफ दिए, ‘छोरा, याद गर! तिमीले तिम्रो जीवनकालमा असल कुराहरू प्राप्त गर्यौ, तर लाजरसले दुःख मात्र पायो; तर अहिले उसले यहाँ आराम पाउँदैछ, र तिमीचाहिँ वेदनामा तड्पिरहेका छौ।
[26] अनि यसबाहेक पनि, यहाँबाट तिमीकहाँ जान चाहनेहरू जान नसकून् र त्यहाँबाट पनि कोही पार गरेर यहाँ आउन नसकून् भनेर हामीहरूका बीचमा एउटा अति गहिरो धाँदो राखिएको छ।’
[27] “तब उसले भन्यो, ‘त्यसो भए, हे पिता, म तपाईंलाई विन्ती गर्दछु, लाजरसलाई मेरो परिवारकहाँ पठाइदिनुहोस्,
[28] किनकि मेरा पाँच भाइहरू त्यहाँ छन्; त्यसले तिनीहरूलाई चेतावनी देओस्, जसबाट तिनीहरू पनि यो यातनाको ठाउँमा नआऊन्।’
[29] “अब्राहामले जवाफ दिए, ‘तिनीहरूसित मोशा र अगमवक्ताका पुस्तकहरू छन्, तिनीहरूले तिनलाई सुनून्।’
[30] “उसले भन्यो, ‘होइन, पिता अब्राहाम, तर मरेकाहरूबाट कोही एकजना तिनीहरूकहाँ गयो भने ता, तिनीहरूले पश्चात्ताप गर्नेछन्।’
[31] “तिनले उसलाई भने, ‘यदि तिनीहरूले मोशा र अगमवक्ताका वचन सुन्दैनन् भने मरेकाहरूबाट कोही जीवित भए तापनि तिनीहरूले विश्वास गर्नेछैनन्।’ ”