Skip to content
Opens in a new window
Listen to this chapter • 5:07

[1] कर उठाउनेहरू र पापीहरू सबै उहाँका वचन सुन्‍नलाई वरिपरि जम्मा भइरहेका थिए।

[2] तर फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले गनगनाउँदै भन्‍न लागे, “यस मानिसले पापीहरूलाई ग्रहण गर्छ र तिनीहरूसित नै खानपान गर्छ।”

[3] तब येशूले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो:

[4] “मानौं तिमीहरूमध्ये कसैको एक सय भेडाहरू छन् अनि तीमध्ये एउटा हरायो भने के उसले उनान्सयलाई खुला मैदानमै छोडेर हराएको भेडालाई नभेट्टाउन्जेल त्यसको खोजी गर्दैन र?

[5] अनि हराएको भेडा भेट्टाएपछि उसले रमाउँदै त्यसलाई आफ्नो काँधमा बोक्छ

[6] र घर जान्छ। त्यसपछि उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छ, ‘मसँग रमाओ, मैले मेरो हराएको भेडा भेट्टाएको छु।’

[7] म तिमीहरूलाई भन्दछु, त्यसरी नै स्वर्गमा पनि पश्‍चात्ताप गर्न नपर्ने उनान्सय धर्मी जनहरूका लागि भन्दा पश्‍चात्ताप गर्ने एकजना पापीको लागि अझ बढी आनन्द मनाइनेछ।

[8] “अथवा मानौं एउटी स्त्रीसँग दशओटा चाँदीका सिक्‍का छन्, र एउटा सिक्‍का हराई भने के त्यसले त्यो सिक्‍का नपाउन्जेल बत्ती बालेर घर बढारी-बढारीकन होसियारीपूर्वक खोज्दिनन् र?

[9] अनि त्यो स्त्रीले त्यो सिक्‍का भेट्टाएपछि आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, ‘मसँग रमाओ, मैले हराएको सिक्‍का भेट्टाएकी छु।’

[10] म तिमीहरूलाई भन्दछु, त्यसरी नै पश्‍चात्ताप गर्ने एकजना पापीको लागि परमेश्‍वरका स्वर्गदूतहरूका सामुन्‍ने आनन्द मनाइनेछ।”

[11] येशूले भन्‍ने क्रम जारी राख्नुभयो: “कुनै मानिसका दुई छोराहरू थिए।

[12] कान्छोले आफ्ना बुबालाई भन्यो, ‘पिता, मेरो भागमा पर्ने अंश मलाई दिनुहोस्।’ तब तिनले आफ्नो सम्पत्ति तिनीहरूलाई बाँडिदिए।

[13] “अनि धेरै दिन नबित्दै कान्छो छोरो आफूसँग भएको सबै धनसम्पत्ति बटुलेर टाढा देशमा गयो, र त्यहाँ त्यसले आफ्नो सम्पत्ति भोग-विलासमा उडायो।

[14] त्यसले सबै खर्च गरिसकेपछि त्यो सारा देशभरि ठूलो अनिकाल पर्‍यो, र त्यसलाई अभाव हुनथाल्यो।

[15] यसकारण त्यो गएर त्यस देशका एकजना नागरिककहाँ काम माग्यो, जसले त्यसलाई सुँगुरहरू चराउन आफ्नो खेतमा पठायो।

[16] अनि त्यसले सुँगुरहरूले खाने ती चारोहरूले आफ्नो पेट भर्न चाहन्थ्यो, तर कसैले पनि त्यसलाई केही दिँदैनथ्यो।

[17] “त्यसको आफ्नो चेत खुलेपछि त्यसले भन्यो, ‘मेरा बुबाका कति धेरै ज्यालादार सेवकहरूसँग अघाएर उबार्नेसमेत भोजन हुन्छ, तर म यहाँ भोकले मर्दैछु!

[18] म उठेर मेरा बुबाकहाँ फर्केर जानेछु, र उहाँलाई भन्‍नेछु: पिता, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु।

[19] म अब तपाईंको छोरो भनिने योग्यको छैनँ; मलाई तपाईंका ज्यालादार सेवकहरूमध्ये एउटासरह बनाउनुहोस्।’

[20] अनि त्यो उठेर आफ्नो बुबाकहाँ गयो। “तर त्यो अझै पनि धेरै टाढामै छँदा त्यसका बुबाले त्यसलाई देखेर तिनी त्यसप्रति दयाले भरिए; तिनी आफ्नो छोराकहाँ दगुर्दै गई त्यसलाई अँगालो हाली त्यसलाई चुम्बन गरे।

[21] “छोराले बुबालाई भन्यो, ‘पिता, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु। म अब तपाईंको छोरो भनिने योग्यको छैनँ। मलाई तपाईंका ज्यालादार सेवकसरह एउटा बनाउनुहोस्।’

[22] “तर बुबाले आफ्ना सेवकहरूलाई भने, ‘छिटो गर! सबैभन्दा असल लुगा ल्याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेओ।

[23] पोसिराखेको मोटो पशु ल्याएर मार। हामी भोज गरौं र आनन्द मनाऔं।

[24] किनकि यो मेरो छोरो मरेको थियो, र फेरि जीवित भएको छ; यो हराएको थियो, र भेट्टाइएको छ।’ अनि तिनीहरूले आनन्द मनाउन लागे।

[25] “त्यस बेला जेठो छोरो खेतबारीमा थियो। त्यो घरको नजिकै आइपुग्दा त्यसले बाजा र नाचगानको आवाज सुन्यो।

[26] त्यसकारण त्यसले एउटा सेवकलाई बोलाएर के हुँदैछ भनी सोध्यो।

[27] त्यसले जवाफ दियो, ‘तपाईंको भाइ आउनुभएको छ, अनि तपाईंका बुबाले पालिराखेको मोटो पशु मार्नुभएको छ, किनकि उहाँले तिनलाई सुरक्षित र स्वस्थ नै पाउनुभएको छ।’

[28] “तब जेठो दाजु रिसायो र भित्र जान मानेन। त्यसकारण त्यसका बुबा बाहिर गएर त्यसलाई फकाउन थाले।

[29] तर त्यसले आफ्नो बुबालाई जवाफ दियो, ‘हेर्नुहोस्! यतिका वर्षसम्म मैले तपाईंको सेवा गरिरहेको छु, र तपाईंका आज्ञा कहिल्यै उलङ्घन गरिनँ; तापनि मैले मेरा मित्रहरूसँग आनन्द मनाउन सकूँ भनेर तपाईंले मलाई एउटा पाठो पनि कहिल्यै दिनुभएन।

[30] तर जब तपाईंको सम्पत्ति वेश्याहरूसँग उडाउने तपाईंको यो छोरो घर आयो, तब तपाईंले त्यसका निम्ति पोसाइराखेको मोटो पशुसमेत मार्नुभयो।’

[31] “बुबाले भने, ‘मेरो छोरा, तिमी ता सधैं मैसँग छौ, र मसँग भएका सबै थोक तिम्रा हुन्।

[32] तर हामीले आनन्द मनाएर खुशी हुनपर्ने नै पर्छ, किनकि तिम्रो यो भाइ मरेको थियो, र फेरि जीवित भएको छ; यो हराएको थियो, र पाइएको छ।’ ”

लूका — Chapters