[1] त्यसपछि सभाका सम्पूर्ण सदस्यहरू उठेर उहाँलाई पिलातसकहाँ लगे।
[2] अनि तिनीहरूले उहाँलाई यसो भनेर दोष लगाउन थाले, “यस मानिसले हाम्रो राष्ट्रलाई नै बहकाउँदै गरेको हामीले भेट्टायौं। यसले सिजरलाई कर तिर्ने कुराको विरोध गर्छ र आफैलाई ‘ख्रीष्ट, राजा हुँ’ भन्छ।”
[3] तब पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” “हो, तपाईंले भन्नुभएझैं हो,” येशूले भन्नुभयो।
[4] त्यसपछि पिलातसले मुख्य पूजाहारीहरू र भीडलाई घोषणा गरिदिए, “यस मानिसलाई दोष लगाउन म केही आधार भेट्दिनँ।”
[5] तर तिनीहरूले जिद्दी गरिरहे, “यसले आफ्नो शिक्षाद्वारा सारा यहूदिया प्रदेशका मानिसहरूलाई भड्काउँछ। यो गालील प्रदेशदेखि सुरु गरेर यहाँसम्म आइपुगेको छ।”
[6] यति सुनेपछि पिलातसले कतै उहाँ गालीलको पो हुनुहुन्छ कि भनी सोधपुछ गरे।
[7] जब तिनले येशू हेरोदको अधिकार क्षेत्रका हुनुहुन्छ भन्ने थाहा पाए, तब तिनले उहाँलाई हेरोदकहाँ पठाए। हेरोद पनि त्यस बेला यरूशलेममा नै थिए।
[8] येशूलाई देखेर हेरोद अत्यन्तै खुशी भए; किनकि तिनले धेरै दिनदेखि उहाँलाई हेर्न इच्छा गरिरहेका थिए। तिनले उहाँका विषयमा जे-जे सुनेका थिए, त्यसअनुसार उहाँद्वारा केही अलौकिक चिन्हहरू भएको हेर्न तिनले आशा राखेका थिए।
[9] तिनले उहाँलाई धेरै प्रश्नहरू सोधे, तर येशूले तिनलाई केही जवाफ दिनुभएन।
[10] मुख्य पूजाहारीहरू र व्यवस्थाका शिक्षकहरू, उहाँकहाँ बडो जोडतोडका साथ दोष लगाउँदै त्यहाँ उभिरहेका थिए।
[11] हेरोद र तिनका सिपाहीहरूले उहाँको निन्दा र गिल्ला गरे। तिनीहरूले उहाँलाई रवाफिलो वस्त्र लगाइदिएर पिलातसकहाँ फिर्ता पठाए।
[12] त्यस दिन हेरोद र पिलातस आपसमा मित्र बने; यसभन्दा अघि तिनीहरूमा शत्रुता थियो।
[13] पिलातसले मुख्य पूजाहारीहरू, शासकहरू र जनतालाई एकसाथ बोलाए,
[14] र तिनीहरूलाई भने, “तिमीहरूले यी मानिसलाई जनतालाई विद्रोह गर्न भड्काउने मानिस भन्दै मकहाँ ल्यायौ। मैले तिमीहरूकै अघि यिनको जाँच गरें, र यिनी विरुद्ध तिमीहरूले लगाएका दोषको लागि मैले केही आधार पाएको छैनँ।
[15] हेरोदले पनि केही दोष भेट्टाएनन्, तिनले पनि यिनलाई हामीकहाँ नै फिर्ता पठाइदिए, तिमीहरूले देखेकै छौ कि मृत्युदण्ड पाउने योग्यको कुनै काम यिनले गरेका छैनन्।
[16] त्यसकारण म यिनलाई सजाय दिएर छोडिदिनेछु।”
[17] चाडको उपलक्ष्यमा तिनीहरूका निम्ति पिलातसले एकजनालाई छोडिदिनुपर्थ्यो।
[18] त्यो भीडले एकै सोरमा चिच्याउँदै भन्यो, “यसलाई हटाउनुहोस्! हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस्!”
[19] (बारब्बाचाहिँ शहरमा भएको एउटा विद्रोह र हत्याको मुद्दामा झ्यालखानामा थुनिएको थियो।)
[20] येशूलाई छोडिदिने इच्छा गरेर पिलातसले भीडलाई फेरि अनुरोध गरे।
[21] तर तिनीहरू भने यसो भन्दै चिच्याइरहे, “त्यसलाई क्रूसमा टाँग्नुहोस्! त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
[22] तिनले तेस्रोपल्ट तिनीहरूलाई भने: “किन? यी मानिसले के अपराध गरेका छन् र? मैले यिनमा मृत्युदण्डका निम्ति कुनै कारण भेट्टाइनँ। त्यसकारण म यिनलाई सजाय दिएर छोडिदिनेछु।”
[23] तर चर्को सोरले चिच्याउँदै उहाँलाई क्रूसमा टाँग्नैपर्छ भनी तिनीहरूले जिद्दीकासाथ माग गरे, र तिनीहरूका आवाजको नै जीत भयो।
[24] यसरी पिलातसले तिनीहरूकै माग पूरा गरिदिने निर्णय गरे।
[25] तिनले विद्रोह र हत्याको मुद्दामा झ्यालखानामा परेको मानिस, तिनीहरूले मागेको मानिसलाई नै छोडिदिए र येशूलाई तिनीहरूकै इच्छामा तिनले सुम्पिदिए।
[26] सिपाहीहरूले उहाँलाई लैजाँदै गर्दा साइरिनीवासी सिमोनलाई समाते, जो गाउँबाट आउँदैथिए, अनि तिनलाई क्रूस बोकाएर येशूको पछि-पछि हिँड्न लगाए।
[27] धेरै मानिसहरूको एउटा ठूलो भीडले उहाँलाई पछ्यायो, त्यहाँ उहाँका लागि रुँदै र विलाप गर्दै गरेका केही स्त्रीहरू पनि थिए।
[28] येशूले फर्केर तिनीहरूलाई भन्नुभयो, “ए यरूशलेमका छोरीहरूहो, मेरो निम्ति नरोओ, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीका निम्ति रोओ।
[29] किनकि समय आउनेछ, जब तिमीहरूले भन्नेछौ, ‘बाँझी स्त्रीहरू र गर्भधारण नगर्ने कोखहरू, र दूध नखुवाउने स्त्रीहरू धन्यका हुन्!’
[30] त्यसपछि, “ ‘तिनीहरूले पहाडहरूलाई “हामीमाथि खस!” र डाँडाहरूलाई, “हामीलाई छोप!” भन्नेछन्।’
[31] किनकि रूख हरियो छँदै त मानिसहरूले यसो भन्छन् भने, त्यो सुकेपछि झन् के होला?”
[32] अरू दुईजना मानिसहरू जो अपराधी थिए, तिनीहरू पनि उहाँसँगै मृत्युदण्ड दिन लगिए।
[33] तिनीहरू खप्परे भनिने ठाउँमा आएपछि त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, ती अपराधीहरू पनि टाँगिए—एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई चाहिँ उहाँको देब्रेपट्टि।
[34] येशूले भन्नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गरिदिनुहोस्; किनकि यिनीहरूले के गर्दैछन्, सो जान्दैनन्।” अनि तिनीहरूले उहाँको वस्त्र चिट्ठा हालेर आपसमा बाँडे।
[35] भीड यो दृश्य हेर्दै त्यहाँ उभियो र शासकहरूले त उहाँको ठट्टा पनि गरे। तिनीहरूले भने, “यसले अरूलाई त बचायो; यदि यो परमेश्वरको ख्रीष्ट, चुनिएको जन हो भने, आफैलाई बचाओस्।”
[36] सिपाहीहरू पनि आए, र उहाँको गिल्ला गरे। तिनीहरूले उहाँलाई सिर्का दिए,
[37] र भने, “यदि तँ यहूदीहरूको राजा होस् भने, आफूलाई बचा।”
[38] उहाँको माथिपट्टि एउटा लिखित दोषपत्र थियो, जसमा यसो लेखिएको थियो: “यो यहूदीहरूको राजा हो।”
[39] त्यहाँ झुण्डिएका अपराधीहरूमध्ये एउटाले उहाँको अपमान गर्दै भन्यो: “के तिमी ख्रीष्ट होइनौ? तिमी आफैलाई र हामीलाई पनि बचाऊ!”
[40] तर अर्को अपराधीले त्यसलाई हप्कायो। त्यसले भन्यो, “तँ पनि त्यही दण्डमा छस्, र पनि परमेश्वरको डर मान्दैनस्?
[41] हामीले ता न्यायोचित रूपले दण्ड पाइरहेका छौं, किनकि हामीले हाम्रो कामको उचित दण्ड पाइरहेका छौं, तर यी मानिसले ता कुनै अनुचित काम गरेका छैनन्।”
[42] त्यसपछि त्यसले भन्यो, “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्।”
[43] येशूले त्यसलाई जवाफ दिनुभयो, “म तिमीलाई साँचो भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ।”
[44] लगभग दिउँसोको बाह्र बजेको थियो, तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो,
[45] किनकि सूर्यले तेज दिन छोड्यो। अनि मन्दिरको पर्दा दुई भाग भएर च्यात्तियो।
[46] अनि येशूले चर्को सोरमा कराएर भन्नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु।” यति भनेर उहाँले आफ्नो प्राण त्याग्नुभयो।
[47] कप्तानले भएको सबै घटना देखेर परमेश्वरको प्रशंसा गर्दै भने, “निश्चय नै यिनी धार्मिक मानिस थिए।”
[48] जब यो दृश्य हेर्न त्यहाँ जम्मा भएका सबै मानिसहरूले त्यहाँ भएको घटना देखे, तब विलाप गर्दै तिनीहरू आ-आफ्ना छाती पिट्दै फर्के।
[49] तर उहाँलाई चिन्नेहरू, स्त्रीहरू, जो गालील प्रदेशबाट उहाँलाई पछ्याउँदै आएका थिए, टाढै उभिएर सबैजना यी घटनाहरू हेरिरहेका थिए।
[50] त्यहाँ योसेफ नाउँ भएका सभाका एक सदस्य, एक असल र धार्मिक मानिस थिए,
[51] जसले तिनीहरूका निर्णय र कार्यमा सहमति जनाएका थिएनन्। तिनी यहूदिया प्रदेशको अरिमथिया शहरका मानिस थिए, र तिनले परमेश्वरको राज्यको प्रतीक्षा गरिरहेका थिए।
[52] पिलातसकहाँ गएर तिनले येशूको शव मागे।
[53] त्यसपछि तिनले शव तल झारे, त्यसलाई मलमलको लुगाले बेह्रे, र चट्टानमा खोपेर बनाइएको एउटा चिहानमा राखे, जसमा कसैलाई पनि राखिएको थिएन।
[54] यो तयारीको दिन थियो, र विश्रामदिन सुरु हुनै लागेको थियो।
[55] गालील प्रदेशबाट येशूसँगसँगै आएका स्त्रीहरू योसेफका पछि-पछि गएर त्यो चिहान अनि येशूको शव त्यसमा कसरी राखियो भनी देखे।
[56] त्यसपछि तिनीहरू घर फर्केर सुगन्धित मसलाहरू र अत्तरहरू तयार पारे, तर विश्रामदिनमा व्यवस्थाको आज्ञाबमोजिम तिनीहरूले विश्राम गरे।