[1] रोमी सम्राट सिजर तिबेरिअसको शासनकालको पन्ध्रौं वर्षमा, जब पन्तियस पिलातस यहूदिया प्रदेशका राज्यपाल, हेरोद गालील प्रदेशका शासक, उनका भाइ फिलिप इतुरिया र त्राखोनितिस प्रदेशका शासक, अनि लुसानियास अबिलेने प्रदेशका शासक थिए,
[2] तब हन्नास र कैयाफा प्रधान पूजाहारी भएका समयमा परमेश्वरको वचन उजाडस्थानमा जकरियाका छोरा यूहन्नाकहाँ आयो।
[3] तिनी पाप क्षमाको लागि पश्चात्तापको बप्तिस्माको प्रचार गर्दै, यर्दन नदीका वरपर सबै इलाकातर्फ गए।
[4] जसरी यशैया अगमवक्ताका वचनको पुस्तकमा लेखिएको छ: “उजाडस्थानमा कराउने एकजनाको आवाज, ‘प्रभुको निम्ति मार्ग तयार पार, उहाँको निम्ति बाटो सीधा बनाओ।
[5] सबै खाल्टाखुल्टीहरू पुरिनेछन्, हरेक पहाड र डाँडा समथर बनाइनेछन्; बाङ्गाटिङ्गा बाटाहरू सीधा बन्नेछन्, अप्ठेरो बाटाहरू समतल हुनेछन्।
[6] अनि सबै मानव जातिले परमेश्वरको मुक्ति देख्नेछन्।’ ”
[7] यूहन्नाले तिनीबाट बप्तिस्मा लिन आउने भीडहरूलाई भने, “हे सर्पका सन्तानहो! तिमीहरूलाई आउन लागेको क्रोधबाट भाग्न कसले चेतावनी दियो?
[8] पश्चात्तापअनुसारको फल फलाओ, अनि आफै, ‘हामी अब्राहामका वंशज हौं’ भन्ने नठान, किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाहरूबाट पनि अब्राहामका निम्ति सन्तान उत्पन्न गर्न सक्नुहुन्छ।
[9] रूखहरूका जरामा बन्चरो परिसकेको छ; अनि असल फल नफलाउने हरेक रूख ढालिनेछ र आगोमा फालिनेछ।”
[10] त्यसपछि भीडले सोध्यो, “त्यसो भए हामीले के गरौं त?”
[11] यूहन्नाले जवाफ दिए, “आफूसँग दुईओटा दौरा हुने मानिसले, नहुनेलाई एउटा दिइहालोस्, र जससँग खानेकुरा छ, त्यसले पनि त्यसै गरोस्।”
[12] कर उठाउनेहरू पनि बप्तिस्मा लिन आए, र तिनीहरूले सोधे, “गुरुज्यू, हामी के गरौं?”
[13] तिनले उनीहरूलाई भने, “तिमीलाई जत्ति खटाइएको छ, त्योभन्दा बढी नलेओ।”
[14] त्यसपछि केही सिपाहीहरू आएर सोधे, “हामीलेचाहिँ के गर्ने त?” तिनले जवाफ दिए, “कसैलाई नलूट, अनि मानिसहरूलाई झूटो आरोप नलगाओ। आफ्नो तलबमा सन्तुष्ट रहो।”
[15] मानिसहरू आशामा पर्खिरहेका थिए, र सबैले आ-आफ्ना मनमा कतै यूहन्ना नै ख्रीष्ट हुन् कि भनी विचार गरिरहेका थिए।
[16] तब यूहन्नाले तिनीहरू सबैलाई जवाफ दिँदै भने, “म ता तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु; तर मभन्दा शक्तिशाली एकजना आउँदै हुनुहुन्छ, जसको जुत्ताको फित्ता खोल्ने सेवक जत्तिको योग्यको पनि म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ।
[17] उहाँको खला सफा गर्न उहाँको निफन्ने नाङ्लो उहाँको हातमा छ, र उहाँले गहुँ आफ्नो धनसारमा जम्मा गर्नुहुनेछ, तर भुसलाई उहाँले कहिल्यै ननिभ्ने आगोमा जलाउनुहुनेछ।”
[18] अनि अरू पनि यस्तै वचनद्वारा यूहन्नाले मानिसहरूलाई शिक्षा दिए र तिनीहरूलाई सुसमाचार प्रचार गरे।
[19] तर जब हेरोदले आफ्नै भाइकी पत्नी हेरोदियासलाई राखेको कारण, र उनले गरेका सबै दुष्कर्मका कारण यूहन्नाले उनलाई हप्काए,
[20] तब यूहन्नालाई झ्यालखानामा थुनेर हेरोदले सबै दुष्कर्महरूमाथि अझै एउटा दुष्कर्म थपे।
[21] धेरै मानिसहरूको बप्तिस्मा हुँदा, येशूले पनि बप्तिस्मा लिनुभयो। अनि उहाँले प्रार्थना गर्दैगर्नुहुँदा स्वर्ग उघ्रियो।
[22] अनि पवित्र आत्मा एउटा ढुकुरजस्तै शारीरिक रूपमा उहाँमाथि ओर्लनुभयो, अनि स्वर्गबाट एउटा यस्तो आवाज आयो: “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्न छु।”
[23] अब येशू आफैले आफ्नो सेवा सुरु गर्नुहुँदा उहाँ करीब तीस वर्षको हुनुहुन्थ्यो। उहाँ योसेफका पुत्र हुनुहुन्छ भनी मानिसहरूले ठानेका थिए। योसेफ हेलीका छोरा थिए,
[24] हेली मत्तातका छोरा, मत्तात लेवीका छोरा, लेवी मल्कीका छोरा, मल्की यन्नाईका छोरा, यन्नाई योसेफका छोरा,
[25] योसेफ मत्ताथियाहका छोरा, मत्ताथियाह आमोसका छोरा, आमोस नहूमका छोरा, नहूम इसलीका छोरा, इसली नग्गैका छोरा,
[26] नग्गै माथका छोरा, माहथ मत्ताथियाहका छोरा, मत्ताथियाह सेमैनका छोरा, सेमैन योसेखका छोरा, योसेख योदाका छोरा,
[27] योदा योआननका छोरा, योआनन रेसाका छोरा, रेसा जेरोबाबेलका छोरा, यरुबाबेल शालतिएलका छोरा, शालतिएल नेरीका छोरा,
[28] नेरी मल्कीका छोरा, मल्की अद्दीका छोरा, अद्दी कोसामका छोरा, कोसाम एलमादामका छोरा, एलमादाम एरका छोरा,
[29] एर यहोशूका छोरा, यहोशू एलीएजरका छोरा, एलीएजर योरीमका छोरा, योरीम मत्तातका छोरा, मत्तात लेवीका छोरा,
[30] लेवी शिमियोनका छोरा, शिमियोन यहूदाका छोरा, यहूदा योसेफका छोरा, योसेफ योनामका छोरा, योनाम एल्याकीमका छोरा,
[31] एल्याकीम मलेआका छोरा, मलेआ मिन्नाका छोरा, मिन्ना मत्ताथाका छोरा, मत्ताथा नातानका छोरा, नातान दाविदका छोरा,
[32] दाविद यिशैका छोरा, यिशै ओबेदका छोरा, ओबेद बोअजका छोरा, बोअज सल्मोनका छोरा, सल्मोन नहशोनका छोरा,
[33] नहशोन अम्मीनादाबका छोरा, अम्मीनादाब आरामका छोरा, आराम हेस्रोनका छोरा, हेस्रोन फारेसका छोरा, फारेस यहूदाका छोरा,
[34] यहूदा याकोबका छोरा, याकोब इसहाकका छोरा, इसहाक अब्राहामका छोरा, अब्राहाम तेरहका छोरा, तेरह नाहोरका छोरा,
[35] नाहोर सरूगका छोरा, सरूग रऊका छोरा, र ऊ पेलेगका छोरा, पेलेग एबेरका छोरा, एबेर शेलहका छोरा,
[36] शेलह केनानका छोरा, केनान अर्पक्षदका छोरा, अर्पक्षद शेमका छोरा, शेम नूहका छोरा, नूह लेमेखका छोरा,
[37] लेमेख मतूशेलहका छोरा, मतूशेलह हनोकका छोरा, हनोक येरेदका छोरा, येरेद महलालेलका छोरा, महलालेल केनानका छोरा,
[38] केनान एनोशका छोरा, एनोश शेतका छोरा, शेत आदमका छोरा, अनि आदम परमेश्वरका छोरा थिए।