[1] येशूले मानिसहरूलाई यी सबै कुराहरू भनिसकेपछि, उहाँ कफर्नहुममा आउनुभयो।
[2] त्यहाँ एकजना कप्तानको तिनले अति माया गर्ने सेवक बिरामी भएर मर्नै लागेको अवस्थामा थियो।
[3] ती कप्तानले जब येशूको बारेमा सुने, तब तिनले यहूदीहरूका केही प्रधानहरूलाई येशूसमक्ष उहाँ आएर तिनको सेवकलाई निको पारिदिनुहुन विन्ती गर्न पठाए।
[4] येशूकहाँ आएपछि तिनीहरूले उहाँलाई आग्रहपूर्वक विन्ती गरे, “यी मानिस तपाईंले यो काम गरिदिन योग्यका छन्,
[5] किनकि तिनले हाम्रो जातिलाई प्रेम गर्दछन् र तिनले हाम्रो सभाघर पनि बनाइदिएका हुन्।”
[6] अनि येशू तिनीहरूसँग जानुभयो। उहाँ घर नजिकै आइपुग्नुहुँदा कप्तानले आफ्ना मित्रहरूलाई उहाँकहाँ यसो भन्न पठाए: “प्रभु, दुःख नउठाउनुहोस्, किनकि तपाईं मेरो छानोमुनि आउनुहुने योग्यको म छैनँ।
[7] त्यसकारण म आफैलाई पनि तपाईंकहाँ आउनसक्ने योग्यको ठानिनँ। तर वचन भनिदिनुहोस् र मेरो सेवक निको हुनेछ।
[8] किनकि म आफू पनि अधिकारमुनि रहने मानिस हुँ, अनि मेरा अधीनतामा पनि सिपाहीहरू छन्। म एउटालाई ‘जा,’ भन्छु अनि त्यो जान्छ, अनि अर्कोलाई ‘आइज,’ भन्छु, अनि त्यो आउँछ। म मेरो सेवकलाई ‘यसो गर्,’ भन्छु, अनि त्यसले त्यो गर्छ।”
[9] यो सुनेपछि येशू तिनीसँग आश्चर्य चकित हुनुभयो, र आफूलाई पछ्याइरहेका भीडतिर फर्केर उहाँले भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, मैले यति ठूलो विश्वास इस्राएलीहरूमा पनि देखेको छैनँ।”
[10] त्यसपछि पठाइएका ती मानिसहरू घरतिर फर्के, र सेवकलाई निको भइसकेको भेट्टाए।
[11] त्यसपछि चाँडै येशू नाइन भनिने एउटा शहरमा जानुभयो, र उहाँका चेलाहरू र एउटा ठूलो भीड उहाँको साथमा गए।
[12] उहाँ शहरको ढोकानिर पुग्नुहुँदा, एउटा मरेको व्यक्तिलाई शहरबाहिर लगिँदैथियो। ऊ आफ्नी विधवा आमाको एउटै मात्र छोरा थियो। अनि शहरको एउटा ठूलो भीड ती विधवाको साथमा थियो।
[13] प्रभुले तिनलाई देखेपछि उहाँ तिनीप्रति दयालु हुनुभयो र भन्नुभयो, “नरोऊ।”
[14] त्यसपछि उहाँले गएर अर्थी छुनुभयो; र ती बोक्नेहरू टक्क अडिए। अनि उहाँले भन्नुभयो, “ए जवान, म तिमीलाई भन्दछु, उठ!”
[15] तब त्यो मृत मानिस उठेर बस्यो, र बोल्न थाल्यो, अनि येशूले त्यसलाई त्यसकी आमाको जिम्मा लगाउनुभयो।
[16] तिनीहरू सबै भयभीत भएर परमेश्वरको प्रशंसा गरे, र भने, “हाम्रा बीचमा एकजना महान् अगमवक्ता प्रकट भएका छन्। परमेश्वर आफ्ना मानिसहरूलाई सहायता गर्न आउनुभएको छ।”
[17] येशूको विषयमा यो खबर सारा यहूदिया प्रदेश र वरिपरिका सम्पूर्ण इलाकाभरि फैलियो।
[18] यूहन्नाका चेलाहरूले तिनलाई यी सबै कुराहरूका खबर दिए। तीमध्ये दुईजनालाई बोलाएर,
[19] तिनले प्रभुकहाँ यसो भनी सोध्न पठाए, “के जो आउनेवाला मुक्तिदाता हुनुहुन्थ्यो, त्यो तपाईं नै हुनुहुन्छ, अथवा हामी अझै कसैको प्रतीक्षा गरौं?”
[20] ती मानिसहरू येशूकहाँ आएर भने, “बप्तिस्मा दिने यूहन्नाले हामीलाई तपाईंकहाँ यसो भनी सोध्न पठाएका छन्, ‘के जो आउनेवाला मुक्तिदाता हुनुहुन्थ्यो, त्यो तपाईं नै हुनुहुन्छ, अथवा हामी अझै कसैको प्रतीक्षा गरौं?’ ”
[21] ठीक त्यही समयमा येशूले रोगीहरू, बिरामीहरू र दुष्ट आत्मा लागेकाहरूलाई निको पार्नुभयो; र धेरै दृष्टिविहीनहरूलाई दृष्टि दिनुभयो।
[22] त्यसपछि उहाँले ती मानिसहरूलाई जवाफ दिनुभयो, “जाओ, र जे तिमीहरूले देख्यौ र सुन्यौं, त्यो यूहन्नालाई भन: दृष्टिविहीनहरूले दृष्टि पाउँछन्, हिँड्न नसक्नेहरू हिँड्छन्, कुष्ठरोग लागेकाहरू निको हुन्छन्, सुन्न नसक्नेहरूले सुन्छन्, मरेकाहरू जीवित पारिन्छन् र गरिबहरूलाई सुसमाचारको घोषणा गराइँदछ।
[23] त्यो धन्यको हो, जसको विश्वास मबाट हट्दैन।”
[24] यूहन्नाका मानिसहरू गएपछि येशूले भीडलाई यूहन्नाका विषयमा भन्न लाग्नुभयो: “तिमीहरू उजाडस्थानमा के हेर्न गयौ? के हावाले हल्लाएको निगालोलाई?
[25] यदि होइन भने, तिमीहरू के हेर्न गयौ त? के महङ्गो लुगा लगाएको मानिसलाई? होइन, महङ्गो लुगा लगाउने र विलासमा रहनेहरू त दरबारमा हुन्छन्।
[26] तर तिमीहरू के हेर्नलाई गयौ त? के अगमवक्तालाई? हो, म तिमीहरूलाई भन्दछु, एक अगमवक्ताभन्दा पनि महानलाई।
[27] यी तिनी नै हुन्, जसको विषयमा यसरी लेखिएको छ: “ ‘म मेरो दूतलाई तिम्रो अघि-अघि पठाउनेछु, जसले तिम्रो अघि-अघि तिम्रो बाटो तयार पार्नेछन्।’
[28] म तिमीहरूलाई भन्दछु, स्त्रीहरूबाट जन्मनेहरूमा कोही पनि यूहन्नाभन्दा महान् छैन; तापनि परमेश्वरको राज्यमा सानोभन्दा सानो पनि तिनीभन्दा महान् हुनेछ।”
[29] (सबै मानिसहरू, कर उठाउनेहरूसमेत सबैजनाले येशूको यो वचन सुनेर परमेश्वरको मार्ग ठीक छ भनी स्वीकार गरे; किनकि तिनीहरूले यूहन्नाद्वारा बप्तिस्मा पाएका थिए।
[30] तर फरिसीहरू र व्यवस्थाका विद्वान्हरूले परमेश्वरको अभिप्रायलाई अस्वीकार गरे, किनकि तिनीहरूले यूहन्नाद्वारा बप्तिस्मा पाएका थिएनन्।)
[31] येशूले भन्नुभयो, “अब यस पुस्ताका मानिसहरूलाई म केसित तुलना गरूँ? तिनीहरू केजस्ता छन्?
[32] तिनीहरू त बजारमा बसेर एक-अर्कालाई यसो भन्ने बालकहरूजस्ता छन्: “ ‘हामीले तिमीहरूका लागि बाँसुरी बजायौं, तर तिमीहरू नाचेनौ, हामीले शोकको गीत गायौं, तर तिमीहरू रोएनौ।’
[33] किनकि बप्तिस्मा दिने यूहन्ना न रोटी खाँदै, न ता दाखमद्य पिउँदै आए, अनि तिमीहरूले ‘तिनलाई भूत लागेको छ’ भन्दछौ।
[34] मानिसका पुत्र खाँदै र पिउँदै आएँ, अनि तिमीहरू भन्छौ, ‘हेर, यो घिचुवा र पियक्कड, अनि कर उठाउनेहरू र पापीहरूको मित्र!’
[35] तर बुद्धि ठीक छ भन्ने त त्यसका सबै सन्तानले प्रमाणित गर्छन्।”
[36] एकजना फरिसीले येशूलाई आफूसँग भोजनका लागि निम्तो दिए, र उहाँ ती फरिसीको घरमा टेबुलमा बसी आराम गर्दैहुनुहुन्थ्यो।
[37] जब त्यस शहरमा पापमय जीवन बिताइरहेकी एउटी स्त्रीले येशू ती फरिसीको घरमा भोजनमा बस्नुभएको छ भन्ने सुनिन्, तब तिनले संगमरमरको एउटा भाँडोमा अत्तर लिएर त्यहाँ आइन्,
[38] र उहाँको पछिल्तिरबाट उहाँका पाउनिर उभिएर रुँदै, तिनले उहाँका पाउ आफ्नो आँसुले भिजाउन थाली। त्यसपछि त्यसले आफ्नै कपालले उहाँका पाउहरू पुछी, र तिनीहरूमा चुम्बन गर्दै अत्तर घसी।
[39] उहाँलाई निम्तो दिने फरिसीले यो देखेर मनमनै भने, “यदि यिनी अगमवक्ता हुँदाहुन् ता यिनलाई कसले छुँदैछ, र यो कस्तो चरित्रकी स्त्री हो भनी थाहा पाउनेथिए, किनकि यो ता पापी स्त्री हो।”
[40] येशूले तिनलाई जवाफ दिनुभयो, “सिमोन, मैले तिमीलाई केही भन्नु छ।” तिनले भने, “गुरुज्यू, भन्नुहोस्।”
[41] “एउटा साहूबाट दुईजनाले ऋण लिएका थिए। एक जनाले पाँच सय र अर्कोले पचास दिनार तिर्नुथियो।
[42] तिनीहरू कसैसँग ऋण तिर्नलाई केही पनि थिएन; त्यसैले तिनले ती दुवै जनाका ऋण माफी गरिदिए। अब तीमध्ये कसले तिनलाई बढी प्रेम गर्ला?”
[43] सिमोनले जवाफ दिए, “मेरो विचारमा बढी ऋण माफी पाउनेले।” येशूले भन्नुभयो, “तिमीले ठीक विचार गर्यौ।”
[44] अनि त्यस स्त्रीतिर फर्केर उहाँले सिमोनलाई भन्नुभयो, “यस स्त्रीलाई देख्छौ? म तिम्रो घरमा आए। तिमीले मलाई पाउ धुने पानी दिएनौ, तर यसले ता आफ्नो आँसुले मेरा पाउ भिजाएर आफ्ना केशले पुछेकी छ।
[45] तिमीले मलाई चुम्बन गरेनौ; तर यस स्त्रीले ता म घरमा आएदेखि मेरा पाउमा चुम्बन गर्न छोडेकी छैन।
[46] तिमीले मेरो शिरमा तेल घसिदिएनौ, तर यसले ता मेरा पाउमा अत्तर नै खन्याएकी छे।
[47] त्यसकारण म तिमीलाई भन्दछु, यसका धेरै पापहरू क्षमा भएका छन्, किनकि यसले बढी प्रेम देखाएकी छे। तर जसलाई थोरै मात्र क्षमा गरिन्छ, त्यसले थोरै नै प्रेम गर्दछ।”
[48] त्यसपछि येशूले त्यस स्त्रीलाई भन्नुभयो, “तिम्रा पापहरू क्षमा भए।”
[49] अब अरू पाहुनाहरूले आपसमा भन्न लागे, “पापहरू पनि क्षमा दिने यिनी को हुन्?”
[50] येशूले त्यस स्त्रीलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई बचाएको छ; शान्तिसित जाऊ।”