Skip to content
Opens in a new window
Listen to this chapter • 10:47

[1] अब अखमीरी रोटीको निस्तार भनिने चाड नजिकै थियो,

[2] अनि मुख्य पूजाहारीहरू र व्यवस्थाका शिक्षकहरूले कसरी येशूलाई मार्ने भनी केही उपाय खोजिरहेका थिए, तर तिनीहरू मानिसहरूदेखि डराउँथे।

[3] तब शैतान बाह्रजनामध्ये इस्करियोत भनिने यहूदाभित्र पस्यो।

[4] अनि यहूदा मुख्य पूजाहारीहरू र मन्दिरका पहरेदारहरूका अधिकारीकहाँ गयो, र त्यसले येशूलाई कसरी पक्राइदिन सक्छु भनेर तिनीहरूसित छलफल गर्‍यो।

[5] त्यसपछि तिनीहरू खुशी भए, अनि त्यसलाई पैसा दिन राजी भए।

[6] त्यो तिनीहरूसँग सहमत भयो, र भीड नभएको बेलामा येशूलाई तिनीहरूका हातमा पक्राइदिनलाई मौका खोज्न लाग्यो।

[7] त्यसपछि अखमीरी रोटीको चाडको दिन आयो, जुन दिनमा निस्तार चाडको थुमा बलिदान चढाइनुपर्थ्यो।

[8] येशूले पत्रुस र यूहन्‍नालाई यसो भनेर पठाउनुभयो, “जाओ र हाम्रा निम्ति निस्तार चाडको भोज खाने तयारी गर।”

[9] तिनीहरूले उहाँलाई सोधे, “हामी यो भोज कहाँ तयार गरौं भनी तपाईं चाहनुहुन्छ?”

[10] उहाँले जवाफ दिनुभयो, “सुन, तिमीहरू यरूशलेम शहरमा पस्‍ने बित्तिकै गाग्रोमा पानी बोकिरहेको एकजना मानिसले तिमीहरूलाई भेट्नेछ। त्यसको पछि-पछि जाओ र त्यो जुन घरमा पस्छ,

[11] त्यस घरका मालिकलाई भन, ‘गुरुज्यू सोध्नुहुन्छ: पाहुना कोठा कहाँ छ, जहाँ म मेरा चेलाहरूसँग निस्तार चाडको भोज खाऊँ?’

[12] तिनले तिमीहरूलाई माथिल्‍लो तलामा सजिसजाउ भएको एउटा ठूलो कोठा देखाउनेछन्, त्यहीं तयार गर।”

[13] तिनीहरू गए, र येशूले तिनीहरूलाई भन्‍नुभएझैं भेट्टाए। यसकारण तिनीहरूले निस्तार चाडको भोज तयार गरे।

[14] जब सही समय भयो, येशू र उहाँका चेलाहरू टेबुलमा ढल्कनुभयो।

[15] अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आफूले दुःख भोग्नुभन्दा अगाडि नै तिमीहरूसँग यो निस्तार चाडको भोज खान मैले उत्कट इच्छा गरेको थिएँ।

[16] किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्यमा यसको अर्थ पूरा नभएसम्म म यो फेरि खानेछैनँ।”

[17] कचौरा लिनुभएपछि, उहाँले परमेश्‍वरलाई धन्यवाद दिनुभयो र भन्‍नुभयो, “यो लेओ र तिमीहरू आपसमा बाँड।

[18] किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य नआएसम्म फेरि दाखको फलबाट म कहिल्यै पिउनेछैनँ।”

[19] त्यसपछि उहाँले रोटी लिनुभयो, परमेश्‍वरलाई धन्यवाद दिएर त्यो भाँच्नुभयो, र यसो भन्दै त्यो तिनीहरूलाई दिनुभयो, “यो तिमीहरूका निम्ति दिइएको मेरो शरीर हो, मेरो सम्झनामा यो गर्ने गर।”

[20] त्यसै गरी खाइसकेपछि, उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जो तिमीहरूका निम्ति बहाइन्छ।

[21] तर मलाई पक्राइदिनेको हात मसँगै टेबुलमा छ।

[22] मानिसका पुत्र ता ठहराइएअनुसार जान्छन्, तर धिक्‍कार त्यस मानिसलाई, जसले उनलाई धोका दिन्छ।”

[23] तिनीहरूमध्ये कसले यस्तो काम गर्ने होला भनी आपसमा सोधा-सोध गर्न थाले।

[24] अनि तिनीहरूमध्ये कोचाहिँ सबैभन्दा ठूलो गनिने हो भनेर पनि तिनीहरूका बीचमा विवाद सुरु भयो।

[25] येशूले तिनीहरूलाई भन्‍नुभयो, “गैरयहूदीका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्, र तिनीहरूमाथि अधिकार चलाउनेहरूले आफैलाई ‘उपकारी’ भन्छन्।

[26] तर तिमीहरूचाहिँ यस्तो नहोओ। तर वास्तवमा तिमीहरूमध्ये जो ठूलो छ, त्यो सबैभन्दा सानोझैं बनोस् र साशकचाहिँ सेवा गर्नेजस्तै बनोस्।

[27] किनकि ठूलो को हो, टेबुलमा ढल्कने कि सेवा गर्ने? के टेबुलमा ढल्कने नै ठूलो होइन र? तर म तिमीहरूका बीचमा एकजना सेवा गर्नेजस्तै छु।

[28] मेरो परीक्षामा मसँग खडा रहनेहरू तिमीहरू नै हौ।

[29] अनि म तिमीहरूलाई एउटा राज्य नियुक्‍त गर्छु, जसरी मेरा पिताले मलाई नियुक्‍त गर्नुभएको छ,

[30] ताकि तिमीहरूले मेरो राज्यमा मेरो टेबुलमा खानपान गर्नेछौ र इस्राएलका बाह्र कुलहरूको न्याय गर्दै सिंहासनहरूमा बस्‍नेछौ।

[31] “सिमोन, हे सिमोन, हेर शैतानले तिमीलाई गहुँजस्तै गरी निफन्‍ने अनुमति मागेको छ।

[32] तर सिमोन तिम्रो विश्‍वास नटुटोस् भनेर मैले तिम्रो निम्ति प्रार्थना गरेको छु। अनि तिमी फेरि फर्केपछि आफ्ना भाइहरूलाई स्थिर पार।”

[33] तर तिनले भने, “हे प्रभु, म ता तपाईंसँगै झ्यालखानामा र मृत्युसम्मै जान तयार छु।”

[34] येशूले जवाफ दिनुभयो, “पत्रुस, म तिमीलाई भन्दछु, आज भाले बास्‍नुभन्दा अघि तिमीले मलाई चिनेको कुरा तीनपल्ट अस्वीकार गर्नेछौ।”

[35] त्यसपछि येशूले तिनीहरूलाई सोध्नुभयो, “जब मैले तिमीहरूलाई थैली, झोला अथवा जुत्ताविना नै पठाएँ, तब के तिमीहरूलाई कुनै कुराको अभाव भयो?” तिनीहरूले जवाफ दिए, “भएन।”

[36] उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर अब भने तिमीहरूसित थैली भए, त्यो लेओ र झोला पनि बोक, अनि तिमीहरूसित तरवार छैन भने, आफ्नो लुगा बेचेर एउटा किन।

[37] यसो लेखिएको छ: ‘उहाँ अपराधीहरूसँग गनिनुभयो,’ अनि म तिमीहरूलाई भन्दछु, यो लेखाइ ममा पूरा हुनैपर्छ। हो, मेरो विषयमा जे लेखिएको छ; त्यो पूरा हुन लाग्दैछ।”

[38] चेलाहरूले भने, “प्रभु, हेर्नुहोस्, दुईटा तरवारहरू छन्।” उहाँले भन्‍नुभयो, “त्यति भए पुग्छ।”

[39] येशू बाहिर निस्केर सधैंझैं जैतुन डाँडामा जानुभयो र उहाँका चेलाहरू उहाँको पछि लागे।

[40] त्यस ठाउँमा पुगेपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू परीक्षामा नपर्नका निम्ति प्रार्थना गर।”

[41] अनि उहाँ तिनीहरूबाट करीब तीस मिटर पर जानुभयो र घुँडा टेकेर प्रार्थना गर्नुभयो,

[42] “हे पिता, तपाईंको इच्छा भए यो कचौरा मबाट हटाइदिनुहोस्, तापनि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्।”

[43] स्वर्गबाट एक स्वर्गदूत उहाँकहाँ देखा परे, र उहाँलाई बल दिए।

[44] अनि सङ्कष्‍टमा परेर उहाँले अझै बढी आग्रहपूर्वक प्रार्थना गर्नुभयो; र उहाँको पसिना रगतका थोपाजस्तै भुइँमा खसिरहेका थिए।

[45] जब उहाँ प्रार्थनाबाट उठेर चेलाहरूकहाँ फर्कनुभयो, तब उहाँले तिनीहरूलाई शोकले थकित भई निदाइरहेका भेट्टाउनुभयो।

[46] उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू किन निदाइरहेका छौ? उठ र परीक्षामा नपर्नका निम्ति प्रार्थना गर।”

[47] उहाँ बोलिरहनुभएकै बेला एउटा भीड त्यहाँ आयो, अनि बाह्रजनामध्येको यहूदा भनिनेले तिनीहरूलाई अगुवाइ गरिरहेको थियो। त्यो येशूलाई चुम्बन गर्न अघि बढ्यो,

[48] तर येशूले त्यसलाई भन्‍नुभयो, “यहूदा, के तिमी मानिसका पुत्रलाई एउटा चुम्बनद्वारा विश्‍वासघात गर्दछौ?”

[49] येशूका पछि लाग्नेहरूले के हुन लागेको थियो, सो देखेर भने, “प्रभु, के हामी तरवारले हानौं?”

[50] अनि तिनीहरूमध्ये एक जनाले प्रधान पूजाहारीको सेवकलाई हाने, र त्यसको दाहिने कान काटिदिए।

[51] तर येशूले भन्‍नुभयो, “अब यसो नगर!” अनि उहाँले त्यस मानिसको कान छुनुभयो र त्यसलाई निको पार्नुभयो।

[52] त्यसपछि येशूले उहाँलाई पक्रन आएका मुख्य पूजाहारीहरू, मन्दिरका पहरेदारहरूका अधिकारीहरू र प्रधानहरूलाई भन्‍नुभयो, “के राजद्रोहको अगुवाइ गरेको छु र तपाईंहरू तरवार र लाठीहरू लिएर आउनुभयो?

[53] म ता दिनहुँ मन्दिरका चोकहरूमा तपाईंहरूसँगै थिएँ, अनि तपाईंहरूले ममाथि हात उठाउनुभएन; तर अब यो तपाईंहरूको समय हो, जब अन्धकारले अधीन गर्छ।”

[54] त्यसपछि तिनीहरूले उहाँलाई पक्रेर लगे, र उहाँलाई प्रधान पूजाहारीको घरमा लगे। पत्रुसले उहाँलाई टाढैबाट पछ्याए।

[55] तर जब तिनीहरू चोकको बीचमा आगो बालेर साथसाथै बसेका थिए, अनि पत्रुस पनि तिनीहरूसितै बसे।

[56] एउटी सेविका केटीले आगोको उज्यालोमा तिनलाई त्यहाँ बसिरहेको देखी। त्यसले तिनलाई नजिकैबाट नियालेर हेरी र भनी, “यी मानिस पनि तिनीसँगै थिए।”

[57] तर तिनले इन्कार गरेर भने, “ए नारी, म उहाँलाई चिन्दिनँ।”

[58] केही बेरपछि कोही अर्को व्यक्‍तिले तिनलाई देख्यो र भन्यो, “तिमी पनि तिनीहरूमध्येकै एक हौ।” पत्रुसले जवाफ दिए, “ए मानिस, म होइनँ।”

[59] लगभग एक घण्टापछि अर्को एक जनाले दृढतासाथ भन्यो, “साँच्‍चै नै यी मानिस तिनीसँगै थिए; किनकि यिनी पनि गालीली हुन्।”

[60] पत्रुसले जवाफ दिए, “ए मानिस, तिमी के भनिरहेछौ, म जान्दिनँ।” तिनी बोलिरहेकै बेलामा भाले बास्यो।

[61] अनि प्रभुले फर्केर पत्रुसलाई सोझै हेर्नुभयो। तब पत्रुसले तिनलाई प्रभुले भन्‍नुभएको यो वचन सम्झे: “आज भाले बास्‍नुभन्दा पहिले तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।”

[62] अनि तिनी बाहिर गए, र धुरुधुरु रोए।

[63] येशूलाई पक्रने मानिसहरूले उहाँलाई गिल्‍ला गर्न र पिट्न थाले।

[64] तिनीहरूले उहाँका आँखा छोपिदिए, र उहाँलाई आज्ञा गरे, “लौ अगमवाणी गर्! तँलाई हिर्काउने को हो?”

[65] अनि तिनीहरूले उहाँलाई अरू धेरै निन्दाका कुराहरू पनि भने।

[66] उज्यालो हुने बित्तिकै जनताका प्रधानहरू, मुख्य पूजाहारीहरू र व्यवस्थाका शिक्षकहरूको सभा एकसाथ भेला भए, र येशूलाई तिनीहरूका अघि लगियो।

[67] तिनीहरूले सोधे, “यदि तँ ख्रीष्‍ट होस् भने हामीलाई भन्।” येशूले जवाफ दिनुभयो, “मैले भनें भने पनि तपाईंहरूले मलाई विश्‍वास गर्नुहुन्‍न,

[68] अनि यदि मैले प्रश्न गरें भने पनि तपाईंहरूले जवाफ दिनुहुन्‍न।

[69] तर अबदेखि उसो, मानिसका पुत्र सर्वशक्‍तिमान परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नेछन्।”

[70] तिनीहरू सबैले सोधे, “त्यसो भए, के तँ परमेश्‍वरको पुत्र होस्?” अनि उहाँले उत्तर दिनुभयो, “म उही हुँ भनी तपाईंहरूले ठीक भन्‍नुभयो।”

[71] त्यसपछि तिनीहरूले भने, “अब हामीलाई अरू साक्षीको किन आवश्यकता पर्‍यो र? हामीले त्यसको आफ्नै मुखबाट सुनेका छौं।”

लूका — Chapters