[1] त्यसपछि येशू परमेश्वरको राज्यको सुसमाचार घोषणा गर्दै शहर-शहर र गाउँ-गाउँमा जानुभयो। ती बाह्रैजना चेलाहरू उहाँसँगै थिए।
[2] दुष्ट आत्मा र रोगहरूबाट निको भएका कतिपय स्त्रीहरू पनि उहाँसँगै थिए: मग्दलिनी भन्ने मरियम, जसबाट सातओटा दुष्ट आत्माहरू निस्केका थिए,
[3] हेरोदका कामदार कुजाकी पत्नी योअन्ना थिइन्। साथै सुसन्ना र अरू धेरै स्त्रीहरू थिए, जसले आफूसँग जे छ, त्यसबाट उहाँको सेवामा सहायता गर्थे।
[4] जब ठूलो भीड जम्मा भए, र धेरै मानिसहरू शहर-शहरबाट येशूकहाँ आएका थिए, तब उहाँले यो दृष्टान्त भन्नुभयो:
[5] “एउटा किसान बीउ छर्नलाई निस्क्यो। उसले जब बीउ छर्दैथियो, केही बीउ बाटोमा परे, ती कुल्चिए, र आकाशका चराहरूले आएर ती खाइहाले।
[6] केही ढुङ्गेनी जमिनमा परे, र उम्रिने बित्तिकै बिरुवाहरू सुकिहाले, किनकि तिनमा ओस थिएन।
[7] केही बीउ काँडाहरूका झाडीमा परे, जो त्योसाथ-साथै बढेर आए, र बिरूवाहरूलाई निसासिदिए।
[8] कतिपय बीउ असल जमिनमा खस्यो, र त्यो उम्रियो, र छरिएकोभन्दा सय गुणा बढी फल फलायो।” यति भनिसकेपछि उहाँले उच्च सोरमा भन्नुभयो, “जसका सुन्ने कानहरू छन्, त्यसले सुनोस् र बुझोस्।”
[9] उहाँका चेलाहरूले यो दृष्टान्तको अर्थ के हो भनी उहाँलाई सोधे।
[10] उहाँले भन्नुभयो, “परमेश्वरको राज्यको रहस्यको ज्ञान तिमीहरूलाई प्रकट गरिएको छ, तर अरूहरूसँग म दृष्टान्तद्वारा बोल्छु, यसरी धर्मशास्त्र पूरा होस्: “ ‘तिनीहरूले हेरेर पनि नदेखून्, र सुनेर पनि नबुझून्।’
[11] “दृष्टान्तको अर्थ यही हो कि, बीउचाहिँ परमेश्वरको वचन हो।
[12] बाटोतिर परेका तिनीहरू हुन्, जसले वचन त सुन्छन्, तर तिनीहरूले विश्वास नगरून् र नबाँचून भनी शैतान आउँछ, र तिनीहरूका हृदयबाट वचन लैजान्छ।
[13] ढुङ्गेनी ठाउँमा छरिएका तिनीहरू हुन्, जसले सुन्दैगर्दा त वचन बडो आनन्दसाथ त्यसलाई ग्रहण गर्छन्, तर तिनको कुनै जरा हुँदैन। तिनीहरू केही बेरको निम्ति विश्वास त गर्छन्, तर परीक्षाको समयमा तिनीहरू पछि हट्छन्।
[14] काँडाहरूका बीचमा परेका तिनीहरूलाई दर्शाउँछ, जसले वचन सुन्छन्, तर आफ्नो बाटोमा अघि बढ्दै जाँदा जीवनको चिन्ता, धनसम्पत्ति र सुख-चैनका कारण निसासिन्छन्, र परिपक्व हुन पाउँदैनन्।
[15] तर असल जमिनमा परेकोले तिनीहरूलाई दर्शाउँछ, जसको हृदय निष्कपट र भलो छ, तिनीहरूले वचन सुन्छन्, त्यसलाई हृदयमा जोगाइराख्छन् र मेहनत गरी फल फलाउँछन्।
[16] “कसैले पनि बत्ती बालेर भाँडाले छोप्दैन अथवा खाटमुनि राख्दैन। तर भित्र आउनेहरूले उज्यालो पाऊन् भनी उसले त्यो सामदानमाथि राख्दछ।
[17] किनकि लुकेको कुनै कुरो छैन जो प्रकट हुँदैन, र गुप्तमा कुनै कुरो छैन, जो थाहा लाग्दैन। अथवा खुल्ला नगरियोस्।
[18] त्यसकारण तिमीहरू कसरी सुन्छौ त्यसमा होसियार रहो। जससित छ, त्यसलाई अरू दिइनेछ; र जससित छैन, त्यसले आफूसँग छ भनी ठानेको पनि त्यसबाट खोसिनेछ।”
[19] येशूका आमा र भाइहरू उहाँलाई भेट्न आए, तर भीडले गर्दा तिनीहरू उहाँको नजिक पुग्न सकेनन्।
[20] कसैले उहाँलाई भन्यो, “तपाईंकी आमा र भाइहरू बाहिर उभिरहेका छन् र तपाईंलाई भेट्न चाहन्छन्।”
[21] उहाँले जवाफ दिनुभयो, “मेरा आमा र भाइहरू तिनीहरू नै हुन्, जसले परमेश्वरको वचन सुन्छन् र त्यो पालन गर्दछन्।”
[22] एक दिन येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “हामी तालको पारिपट्टि जाऔं।” अनि उहाँहरू डुङ्गामा चढेर जानुभयो।
[23] डुङ्गामा तिनीहरू जाँदै गर्दा, येशू निदाउनुभयो। तालमा ठूलो आँधी चल्न लाग्यो, र त्यसले गर्दा डुङ्गा पानीले भरिन थाल्यो, र तिनीहरू ठूलो खतरामा परे।
[24] चेलाहरू उहाँकहाँ गएर यसो भन्दै बिउँझाए, “गुरुज्यू, गुरुज्यू, हामी ता डुब्नै लाग्यौं!” तब उहाँ उठ्नुभयो र बतास अनि उर्लंदो पानीको छाललाई हप्काउनुभयो। आँधी थामियो र सबै शान्त भयो।
[25] उहाँले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूको विश्वास खोइ?” डर र आश्चर्यमा परी तिनीहरूले एक-आपसमा भने, “यिनी को हुन्? यिनले ता आँधी र पानीलाई समेत आज्ञा दिन्छन्, अनि तिनीहरू यिनको आज्ञा मान्दा रहेछन्।”
[26] उहाँहरू डुङ्गामा चढेर गालीलको तालको पारिपट्टि गिरासिनीहरूको मुलुकमा आइपुग्नुभयो।
[27] येशू किनारमा उत्रनुहुँदा, भूत आत्माले ग्रसित त्यस शहरको एकजना मानिसले उहाँलाई भेट्यो। धेरै लामो समयदेखि त्यस मानिसले लुगा लगाउँदैनथियो र घरमा बस्दैनथियो, तर चिहानहरूका गुफामा बस्ने गर्थ्यो।
[28] जब त्यसले येशूलाई देख्यो, त्यो चिच्यायो, अनि उहाँको पाउमा पर्यो, र चर्को सोरले कराएर भन्यो, “हे येशू, सर्वोच्च परमेश्वरका पुत्र, तपाईं मसित के चाहनुहुन्छ? म तपाईंलाई विन्ती गर्दछु, मलाई नसताउनुहोस्!”
[29] किनकि येशूले अशुद्ध आत्मालाई त्यो मानिसबाट अघिबाटै निस्किआउन आज्ञा गर्नुभएको थियो। त्यस आत्माले त्यसलाई धेरैपल्ट पक्रन्थ्यो, अनि त्यसलाई हात र खुट्टामा साङ्लोले बाँधेर पहरा दिएर राखिएको भए तापनि साङ्लाहरू छिनाइहाल्थ्यो, र भूत आत्माले त्यसलाई एकान्त ठाउँहरूमा लैजान्थ्यो।
[30] येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाउँ के हो?” त्यसले जवाफ दियो, “फौज,” किनकि त्यसभित्र धेरै भूत आत्माहरू पसेका थिए।
[31] अनि तिनीहरूले उहाँसँग तिनीहरूलाई अतल कुण्डमा जान आज्ञा नदिनका निम्ति बारम्बार विन्ती गरे।
[32] अनि त्यहाँ डाँडामा सुँगुरहरूको एउटा ठूलो बगाल चरिरहेको थियो। भूत आत्माहरूले तिनीहरूलाई ती सुँगुरहरूभित्र पस्न दिनुहोस् भनी उहाँलाई विन्ती गरे, र उहाँले अनुमति दिनुभयो।
[33] अनि भूतहरू त्यो मानिसबाट निस्केर ती सुँगुरहरूभित्र पसे, र त्यो बगाल भिरालो पाखोबाट हुर्रिदै गएर तालमा खसे, अनि डुबेर मरे।
[34] जब सुँगुर चराउनेहरूले त्यहाँ भएको यो घटना देखे, तब तिनीहरू भागे अनि शहर र गाउँतिर यसको खबर दिए।
[35] अनि मानिसहरू जे घटेको थियो, त्यो हेर्न गए। येशूकहाँ आउँदा तिनीहरूले जुन मानिसबाट भूत आत्माहरू निस्केर गएका थिए, त्यसलाई लुगा लगाएर सद्दे दिमागको भई येशूका पाउमा बसिरहेको भेट्टाए, र तिनीहरू डराए।
[36] जतिले यो देखेका थिए, तिनीहरूले त्यस दुष्ट आत्मा लागेको मानिस कसरी निको पारियो भनी मानिसहरूलाई भनिदिए।
[37] तब गिरासिनी इलाकाका सबै मानिसहरूले येशूलाई तिनीहरूलाई छोडेर गइहाल्न विन्ती गरे, किनकि तिनीहरू डरले भरिएका थिए। यसकारण उहाँ डुङ्गामा चढेर फर्कनुभयो।
[38] जुन मानिसबाट भूतहरू निस्केका थिए, त्यसले उहाँकै साथमा जानपाऊँ भनी विन्ती गर्यो, तर येशूले त्यसलाई यसो भन्दै पठाउनुभयो,
[39] “तिमी आफ्नो घर फर्क र परमेश्वरले तिम्रो निम्ति कति ठूलो काम गरिदिनुभयो, सो भन।” अनि त्यो मानिस गयो र येशूले त्यसका निम्ति कति ठूलो काम गरिदिनुभयो भनी सारा शहरभरि प्रचार गर्यो।
[40] येशू फर्केर आउनुहुँदा, एउटा ठूलो भीडले उहाँलाई स्वागत गर्यो, किनकि तिनीहरू सबैले उहाँको प्रतीक्षा गरिरहेका थिए।
[41] तब याइरस नाउँ गरेका सभाघरका एकजना शासक आए, र उहाँलाई तिनको घरमा आइदिनुहोस् भनी विन्ती गर्दै येशूका पाउमा घोप्टो परे,
[42] किनकि लगभग बाह्र वर्ष पुगेकी तिनकी एउटै मात्र छोरी मर्न लागेकी थिई। येशू त्यहाँ जाँदै गर्नुहुँदा, भीडहरूले उहाँलाई घचेटिरहेका थिए।
[43] अनि बाह्र वर्षदेखि रगत बग्ने रोगले सताइएकी एउटी स्त्री त्यहाँ थिई, त्यसलाई कसैले निको पार्न सकेको थिएन।
[44] त्यो स्त्री येशूको पछिल्तिर आई, र उहाँको लुगाको किनार छोई, अनि तुरुन्तै त्यसको रगत बग्न बन्द भयो।
[45] अनि येशूले “मलाई कसले छोयो?” भनी सोध्नुभयो। सबैले होइन भनेपछि, पत्रुसले भने, “गुरुज्यू, भीडले तपाईंलाई घेरेर घचेटिरहेका छन्।”
[46] तर येशूले भन्नुभयो, “मलाई कसैले छोएकै हो, मबाट शक्ति निस्केर गएको मैले थाहा पाएँ।”
[47] तब त्यस स्त्रीले आफू उम्केर जान नसक्ने देखेर काम्दै आई, र येशूको पाउमा घोप्टो परी। त्यसले उहाँलाई किन छोएकी थिई र ऊ कसरी तुरुन्तै निको भई भन्ने कुरा त्यसले सबै मानिसहरूका सामु बताइदिई।
[48] तब उहाँले त्यसलाई भन्नुभयो, “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ; शान्तिसित जाऊ।”
[49] येशू बोलिरहनुभएकै बेला सभाघरका शासक याइरसको घरबाट एकजना मानिस आइपुग्यो र त्यसले भन्यो, “तपाईंकी छोरीको मृत्यु भयो; अब गुरुज्यूलाई कष्ट नदिनुहोस्।”
[50] यो सुनेर येशूले याइरसलाई भन्नुभयो, “नडराऊ, केवल विश्वास मात्र गर, र ऊ निको हुनेछे।”
[51] याइरसको घरमा आइपुगेपछि उहाँले पत्रुस, यूहन्ना र याकोब, अनि केटीका आमा र बुबाबाहेक अरू कसैलाई उहाँसँग भित्र आउन दिनुभएन।
[52] त्यस बेला सबैजना त्यस केटीका लागि रोइरहेका र बिलौना गरिरहेका थिए। तर उहाँले भन्नुभयो, “बिलौना नगर, ऊ मरेकी छैन, तर निदाएकी छे।”
[53] त्यो मरिसकेकी छ भनी जानेर तिनीहरूले उहाँको हाँसो गरे।
[54] तर उहाँले त्यसको हातमा समातेर भन्नुभयो, “मेरी छोरी, उठ!”
[55] अनि त्यसको आत्मा फर्कियो, र ऊ तुरुन्तै उठी। त्यसपछि येशूले उसलाई केही खान दिनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो।
[56] त्यसका आमाबुबा आश्चर्य चकित भए, तर उहाँले तिनीहरूलाई जे भएको थियो, त्यसबारे कसैलाई नभन्नू भन्ने आज्ञा दिनुभयो।