Skip to content
Opens in a new window
Listen to this chapter • 8:42

[1] प्रधान पूजाहारीले भने, “के यी कुराहरू साँचा हुन् ?”

[2] स्तिफनसले भने, “दाजुभाइ तथा पिताहरू हो, मेरो कुरा सुन्‍नुहोस्ः हाम्रा पिता अब्राहाम हारानमा बस्‍नुअगि महिमाका परमेश्‍वर मेसोपोटामियामा तिनीकहाँ देखा पर्नुभयो ।

[3] उहाँले तिनलाई भन्‍नुभयो, “तिम्रो देश र तिम्रा नातेदारहरूलाई छोड र मैले देखाउने देशमा जाऊ ।”

[4] त्‍यसपछि तिनी कल्दीहरूको देशबाट प्रस्थान गरे अनि तिनी हारानमा आएर बसे । त्‍यहाँ तिनका पिताको मृत्‍यु भएपछि परमेश्‍वरले तिनलाई यस देशमा ल्याउनुभयो जहाँ अहिले तपाईंहरू बस्‍नुहुन्‍छ ।

[5] उहाँले तिनलाई कुनै पनि कुरा पैत्तृक सम्पत्तिको रूपमा दिनुभएन, यहाँसम्म कि पर्याप्‍त पाइला राख्‍ने ठाउँसम्म पनि दिनुभएन । तर अब्राहामको कुनै सन्‍तान नहुँदा पनि उहाँले त्‍यो देश तिनलाई सम्पत्तिको रूपमा दिनुहुनेथियो र त्‍यसपछि तिनका सन्‍तानहरूलाई दिनुहुनेथियो भनी तिनीसित प्रतिज्ञा गर्नुभयो ।

[6] परमेश्‍वरले तिनलाई भन्‍दै हुनुहुन्‍थ्यो कि तिनका सन्‍तानहरू विदेशी भूमिमा केही समयको लागि बस्‍नेथिए र त्‍यहाँका बासिन्‍दाहरूले तिनीहरूलाई कमारा तुल्याउनेथिए र चार सय वर्षसम्म तिनीहरूलाई थिचोमिचो गर्नेथिए ।

[7] परमेश्‍वरले भन्‍नुभयो, “तिनीहरू जुन जातिको अधीनमा कमारा हुनेछन् म तिनीहरूको न्‍याय गर्नेछु र त्‍यसपछि तिनीहरू त्‍यहाँबाट बाहिर निस्‍केर आई यस ठाउँमा मेरो आराधना गर्नेछन् ।”

[8] अनि उहाँले अब्राहामसित खतनाको करार बाँध्‍नुभयो । त्‍यसैले, अब्राहाम इसहाकका पिता बने र तिनले आठौँ दिनमा उनको खतना गरे । इसहाक याकूबका पिता बने र याकूब बाह्र कुलका पिता बने ।

[9] कुलपतिहरूले योसेफको विरुद्धमा डाह गरे र तिनलाई मिश्रमा बेचिदिए । तर परमेश्‍वर तिनीसित हुनुहुन्‍थ्यो ।

[10] र उहाँले तिनलाई सबै दुःखकष्‍टबाट छुटाउनुभयो र मिश्रका राजा फारोको सामने तिनलाई कृपा र बुद्धि दिनुभयो । तब फारोले तिनलाई मिश्र र तिनका सारा घरानाका शासक बनाए ।

[11] त्‍यस बेला सारा मिश्र र कनानभरि अनिकाल पर्‍यो र ठूलो सङ्‌कष्‍ट आइपर्‍यो । परिणाम स्वरूप हाम्रा पुर्खाहरूले कुनै खाना पाएनन् ।

[12] तर जब मिश्रमा अन्‍न पाईंदोरहेछ भनी याकूबले सुने तिनले पहिले हाम्रा पुर्खाहरूलाई त्‍यहाँ पठाए ।

[13] दोस्रो पटकको भेटघाटमा योसेफले आफूलाई आफ्ना दाजुहरूकहाँ प्रकट गरे, र योसेफको परिवारलाई फारोकहाँ परिचित गराइयो ।

[14] आफ्ना पिता याकूब र तिनका सबै नातेदारहरू अर्थात् पचहत्तर प्राणीलाई मिश्रमा आउनुहोस् भनी तिनले आफ्ना दाजुहरूमार्फत खबर पठाए ।

[15] त्‍यसैले याकूब मिश्रमा गए । त्‍यहाँ तिनको मृत्‍यु भयो र हाम्रा पुर्खाहरू पनि त्‍यहीं नै मरे ।

[16] तिनीहरूका मृत शरीर शकेममा लगिए र अब्राहामले शकेममा हमोरका छोराहरूबाट चाँदीको मूल्यमा किनेको चिहानमा तिनीहरूलाई गाडियो ।

[17] परमेश्‍वरले अब्राहामसित प्रतिज्ञा गर्नुभएको समय नजिकिँदै गर्दा मानिसहरू मिश्रमा गुणात्मक रूपमा बढे ।

[18] त्‍यसपछि मिश्रमा अर्का राजाको उदय भयो जसले योसेफलाई चिन्‍दैनथे ।

[19] ती राजाले हाम्रा मानिसहरूलाई छल गरे र हाम्रा पुर्खाहरूलाई यसरी दुर्व्यवहार गरे कि आफैलाई बचाउन तिनीहरूले आफ्ना शिशुहरूलाई बाहिर फाल्नुपर्थ्यो ।

[20] त्‍यही बेला मोशाको जन्‍म भयो । तिनी परमेश्‍वरको सामु सुन्‍दर थिए र तिन महिनासम्म तिनका पिताको घरमा तिनको स्याहार गरियो ।

[21] जब तिनलाई फ्याँकियो फारोकी छोरीले तिनलाई उठाइन् र तिनलाई आफ्नै छोरासरह हुर्काइन् ।

[22] मोशालाई मिश्रका सारा विद्यामा शिक्षा दिइयो र तिनी आफ्ना वचन र कर्ममा शक्तिशाली बने ।

[23] तर जब तिनी करिब चालीस वर्ष पुगे, तिनलाई आफ्ना दाजुहरू अर्थात् इस्राएलीहरूलाई भेट गर्न मन लाग्यो ।

[24] एक जना इस्राएलीमाथि अन्‍याय भएको देखेर तिनले उसको रक्षा गरे र अत्‍याचार गर्ने मिश्रीलाई मारिदिए ।

[25] परमेश्‍वरले तिनीद्वारा तिनका दाजुभाइहरूको छुट्कारा गर्न खोज्दै हुनुहुन्‍थ्यो भन्‍ने कुरा तिनीहरूले बुझ्लान् भनी तिनले सोचे, तर तिनीहरूले त्‍यो कुरा बुझेनन् ।

[26] अर्को दिन तिनी केही इस्राएलीहरूकहाँ आए जहाँ तिनीहरू एक आपसमा झगडा गरिरहेका थिए । तिनले तिनीहरूको झगडा मिलाउन खोजे र भने, “तपाईंहरू दाजुभाइ हुनुहुन्‍छ । किन एकअर्काको विरुद्धमा लड्नुहुन्‍छ ?”

[27] तर जसले आफ्नो छिमेकीलाई हानि पुर्‍याएको थियो त्‍यसले तिनलाई धकेलेर भन्‍यो, “तिमीलाई कसले हाम्रो शासक र न्‍यायकर्ता तुल्यायो ?

[28] हिजो तिमीले त्‍यस मिश्रीलाई मारेझैं के तिमी मलाई पनि मार्न चाहन्‍छौ ?”

[29] यो सुनेर मोशा भागे । तिनी मिद्यान देशमा परदेशी बने जहाँ तिनी दुई छोराका पिता बने ।

[30] चालीस वर्ष बितेपछि सीनै पर्वतको उजाड–स्थानमा जलिरहेको आगोको पोथ्रामा एउटा स्वर्गदूत तिनीकहाँ देखा परे ।

[31] मोशाले ज्वालालाई देखेपछि तिनी छक्‍क परे । त्‍यसलाई हेर्न तिनी नजिक जाँदा त्‍यहाँ परमप्रभुको आवाज आयो,

[32] “तिम्रा पुर्खाहरू अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर मै हुँ ।” मोशा काँपे र तिनले हेर्ने साहस गरेनन् ।

[33] परमप्रभुले तिनलाई भन्‍नुभयो, “तिम्रा जुत्ता फुकाल किनकि तिमी उभिएको ठाउँ पवित्र भूमि हो ।

[34] निश्‍चय नै मैले मिश्रमा भएका मेरा मानिसहरूको दुःखकष्‍टलाई देखेको छु । मैले तिनीहरूको क्रन्‍दन सुनेको छु र म तिनीहरूलाई छुट्कारा दिन तल ओर्लीआएको छु । म तिमीलाई मिश्रमा पठाउनेछु ।”

[35] यी मोशा जसलाई तिनीहरूले इन्कार गरेका थिए, जसलाई तिनीहरूले भनेका थिए, “कसले तिमीलाई शासक र न्‍यायकर्ता तुल्यायो ?”, तिनैलाई परमेश्‍वरले शासक र उद्धारकर्ता दुवै बनाएर पठाउनुभयो । पोथ्रामा मोशाकहाँ देखा पर्ने स्वर्गदूतद्वारा परमेश्‍वरले तिनलाई पठाउनुभयो ।

[36] मिश्र, लाल समुद्रसाथै उजाड–स्थानमा चालीस वर्षसम्म आश्‍चर्यकर्म र चिन्हहरू गरेर मोशाले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याए ।

[37] यी तिनै मोशा थिए जसले इस्राएलीहरूलाई भनेका थिए, “परमेश्‍वरले तिमीहरूका दाजुभाइहरूकै बिचबाट म जस्‍तै एक जना अगमवक्‍ता खडा गर्नुहुनेछ ।”

[38] यी तिनै मानिस हुन् जो उजाड-स्थानमा भएको समुदायसित स्वर्गदूतसँगै थिए जो सीनै पर्वतमा तिनीसित बोलेका थिए । यी तिनै मानिस थिए जो हाम्रा पुर्खाहरूसित थिए; यी तिनै मानिस थिए जसले हामीलाई दिन जीवित वचनहरू प्राप्‍त गरे ।

[39] यी तिनै मानिस थिए जसप्रति हाम्रा पुर्खाहरू आज्ञाकारी बनेनन्; तिनीहरूले तिनलाई पन्‍छाए र तिनीहरू आफ्ना हृदयमा मिश्रमा फर्कने चाहना गरे ।

[40] त्‍यस बेला तिनीहरूले हारूनलाई भने, “हामीलाई अगुवाइ गर्ने देवताहरू बनाउनुहोस् । हामीलाई मिश्र देशबाट अगुवाइ गरेर ल्याउने यी मोशालाई के भयो हामीलाई थाहा छैन ।”

[41] ती दिनमा तिनीहरूले एउटा बाछोको मूर्ति बनाए र तिनीहरूले त्‍यसलाई बलिदान चढाए र तिनीहरू आफूले गरेको काममा रमाए ।

[42] तर परमेश्‍वर तिनीहरूबाट तर्कनुभयो र तिनीहरूलाई आकाशका ताराहरूको सेवा गर्न छाडिदिनुभयो जस्‍तो अगमवक्‍ताका पुस्तकहरूमा लेखिएको छः “इस्राएलका घराना हो, के तिमीहरूले मलाई चालीस वर्षसम्म उजाड-स्थानमा पशुबलि र बलिदानहरू चढायौ र ?”

[43] तिमीहरूले मोलोखको पवित्र वासस्थान र रेफन देवताको तारा र आफूले पूजा गर्न बनाएका मूर्तिहरूलाई स्वीकार गर्‍यौ । यसकारण म तिमीहरूलाई बेबिलोन भन्‍दा पर निर्वासनमा लैजानेछु ।”

[44] उजाड-स्थानमा हाम्रा पुर्खाहरूको गवाहीको पवित्र वासस्थान थियो जुन परमेश्‍वरले मोशालाई आज्ञा गर्नुभए अनुसार उहाँले देखाउनुभएको नमुनाबमोजिम बनाइएको थियो ।

[45] हाम्रा पुर्खाहरूको पालोमा तिनीहरूले यस पाललाई यहोशूसँगै यस देशमा ल्याए । हाम्रा पुर्खाहरूको उपस्थितिमा परमेश्‍वरले ती जातिहरूलाई बाहिर निकाली तिनीहरूको देश हाम्रा पुर्खाहरूको हातमा दिनुहुँदा यो घटना भएको थियो । दाऊदको समयसम्म यस्तै भयो,

[46] जसले परमेश्‍वरको दृष्‍टिमा निगाह पाए र तिनले याकूबका परमेश्‍वरको निम्ति एउटा वासस्थान निर्माण गर्नका निम्ति अनुरोध गरे ।

[47] तर सोलोमनले परमेश्‍वरको निम्ति एउटा भवन बनाए ।

[48] तथापि सर्वोच्‍च परमेश्‍वर हातले बनाएका घरहरूमा बस्‍नुहुन्‍न जस्‍तो अगमवक्‍ताले भनेका छन्ः

[49] ‘स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरा खुट्टाको पाउदान । तिमीहरूले मेरो निम्ति कस्तो किसिमको घर बनाउन सक्छौ ?’ परमप्रभु भन्‍नुहुन्‍छ । वा मेरो विश्राम स्थान कहाँ छ ?

[50] के यी सबै कुराहरू मेरै हातले बनाएका होइनन् र ?’

[51] हे हठी मानिसहरू हो, हृदय र कानको खतना नभएकाहरू, तपाईंहरू सधैं पवित्र आत्माको विरोध गर्नुहुन्‍छ । तपाईंहरूका पुर्खाले जस्‍तो गरे तपाईंहरू पनि त्‍यस्तै गर्नुहुन्‍छ ।

[52] तपाईंहरूका पुर्खाले कुनचाहिँ अगमवक्‍तालाई सताएनन् ? तिनीहरूले अगमवक्‍ताहरूलाई मारे जो धर्मी जनको आगमनअगि देखा परेका थिए । अहिले आएर तपाईंहरूले उहाँका विश्‍वासघाती र उहाँका हत्‍यारा बन्‍नु भएको छ ।

[53] तपाईंहरूले स्वर्गदूतहरूद्वारा स्थापित व्यवस्था पाउनुभयो तर त्‍यसको पालना गर्नुभएन ।”

[54] जब परिषद्का सदस्यहरूले यी कुराहरू सुने तिनीहरू स्तिफनसको विरुद्धमा क्रूद्ध बने र तिनीहरूले दाह्रा किटे ।

[55] तर तिनले पवित्र आत्माले भरिएर एकटकले स्वर्गतिर हेरे र परमेश्‍वरको महिमा साथै येशूलाई परमेश्‍वरको दाहिने हातपट्टि उभिरहनुभएको देखे ।

[56] स्तिफनसले भने, “हेर्नुहोस्, म स्वर्ग उघ्रेको र मानिसका पुत्रलाई परमेश्‍वरको दाहिने हातपट्टि उभिरहनुभएको देख्दछु ।”

[57] तर परिषद्का सदस्यहरू ठूलो सोरले चिच्‍च्‍याए; तिनीहरूले आफ्ना कान थुने र तिनीहरू तिनीमाथि जाइलागे ।

[58] तिनीहरूले तिनलाई सहरबाहिर ल्याए र तिनीमाथि ढुङ्‌गा बर्साए । साक्षीहरूले शाऊल नाउँ गरेका जवान मानिसको खुट्टानेर आफ्ना बाहिरी वस्‍त्रहरू खोलेर राखे ।

[59] तिनीहरूले स्तिफनसमाथि ढुङ्‌गा बसाईरहँदा तिनले निरन्‍तर रूपमा प्रभुको पुकारा गरे र भने, “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस् ।”

[60] तिनले घुँडा टेकी ठूलो सोरले चिच्‍च्‍याए, “हे प्रभु, तिनीहरूलाई यो पापको दोष नलागोस् ।” यति भनेपछि तिनले आफ्नो प्राण त्‍यागे ।

प्रेरितहरूका काम — Chapters