Skip to content
Opens in a new window
Listen to this chapter • 3:34

[1] त्‍यसै समयमा हेरोद राजाले केही मानिसहरूमाथि हात हाल्न र समूहका केहीलाई दुर्व्यवहार समेत गर्न थाले ।

[2] उनले यूहन्‍नाको भाइ याकूबलाई तरवारले मारे ।

[3] त्‍यसपछि यस कुराले यहूदीहरूलाई प्रसन्‍न पारेको देखेपछि, उनी पत्रुसलाई पनि पक्रन अगि बढे । यो अखमिरी रोटीको चाडको समय थियो ।

[4] उनलाई पक्रेपछि, तिनले झ्यालखानामा हाले र उनलाई सुरक्षा गर्न चार वटा सैनिक दललाई खटाए । निस्तार चाडपछि उनलाई मनिसहरूका बिचमा ल्याउने तिनले विचार गरिरहेका थिए ।

[5] त्‍यसकारण पत्रुस झ्यालखानामा हालिए, तर उनको निम्ति समूहले जोशकासाथ परमेश्‍वरसँग प्रार्थना गरेका थिए ।

[6] हेरोदले तिनलाई बाहिर ल्याउन खोजेको अघिल्लो दिन, त्‍यस रातमा पत्रुस दुई जना सिपाहीका बिचमा दुई वटा साङ्लाले बाँधिएर सुतिरहेका थिए । ढोकाको अगाडि पहरेदारहरूले झ्यालखानाको सुरक्षा दिइरहेका थिए ।

[7] तब अचानक तिनको छेउमा प्रभुका दूत देखा परे र त्‍यस कोठामा ज्‍योति चम्क्यो । उनले पत्रुसको कोखामा हिर्काएर तिनलाई उठाए र भने, “छिटो उठ ।” त्‍यसपछि तिनका हातहरूबाट साङ्लाहरू झरे ।

[8] स्वर्गदूतले तिनलाई भने, “तिमी आफैले कपडाहरू र चप्‍पलहरू लगाऊ ।” पत्रुसले त्‍यसै गरे । स्वर्गदूतले तिनलाई भने, “आफ्ना बाहिरी वस्‍त्रहरू लगाऊ र मलाई पछ्याऊ ।’’

[9] त्‍यसकारण पत्रुसले स्वर्गदूतलाई पछयाए र बाहिर गए । स्वर्गदूतले जुन काम गरेका थिए त्‍यो वास्तविक थियो भन्‍ने कुरा पत्रुसलाई थाहा नै थिएन । उनले दर्शन देखिरहेको छु भनी विचार गरे।

[10] त्‍यसपछि पहिलो र दोस्रो पहरेदारलाई पार गरी सकेपछि, तिनीहरू सहरतिर डोर्‍याउने फलामे ढोकामा आइपुगे; यो तिनीहरूका निम्ति आफै खोलियो । तिनीहरू बाहिर गए र तलतिरको गल्लीमा गए र ठिक त्‍यही समयमा स्वर्गदूतले तिनलाई छाडेर गए ।

[11] जब पत्रुस आफ्नो होशमा आए, उनले भने, “अहिले मलाई साँच्‍चै थाहा भयो कि प्रभुले आफ्ना स्वर्गदूत पठाएर हेरोदको हातबाट यहूदी मानिसहरूले आशा गरेको कुराबाट मलाई छुटकारा दिनुभयो ।”

[12] उनले यो महसुस गरेपछि, उनी मर्कूस उपनाउँ गरेका यूहन्‍नाकी आमाको घरमा आए; त्‍यहाँ धेरै विश्‍वासीहरू भेला भएर प्रार्थना गरिरहेका थिए ।

[13] जब उनले ढोका ढकढक्याए, तब रोधा नाउँ गरेकी एकजना दासी केटी ढोका खोल्न आइन् ।

[14] जब तिनले पत्रुसको आवाजलाई चिनिन्, तब आनन्‍दले भरिएर ढोका खोल्नै भुलिन् अनि कुदेर कोठाभित्र आइन् र पत्रुस ढोकानिर उभिरहेका थिए भनी सुनाइन् ।

[15] त्‍यसैले तिनीहरूले तिनलाई भने, “तिमी बहुलाएकी छौ ।” यो त्‍यस्तै नै थियो भनी तिनले जिद्दी गरिन् । तिनीहरूले भने, “यो उनको स्वर्गदूत हो ।”

[16] तर पत्रुसले निरन्‍तर ढोका ढकढक्याइरहे र जब तिनीहरूले ढोका खोले, तिनीहरूले उनलाई देखे र चकित भए ।

[17] पत्रुसले तिनीहरूलाई चुप रहन हातले इसारा गरे र प्रभुले उनलाई कसरी कैदबाट बाहिर ल्याउनुभयो तिनीहरूलाई भने । उनले भने, “याकूब र भाइहरूलाई यी कुराहरू बताइदेओ ।” त्‍यसपछि उनले त्‍यो ठाउँ छाडे र अर्को ठाउँतिर गए ।

[18] जब उज्‍यालो भयो, पत्रुसलाई के भयो होला भनी त्‍यहाँ सिपाहीहरूको माझमा कम्ति उत्तेजना भएन ।

[19] हेरोदले उनलाई खोजे र भेटाउन नसकेपछि, तिनले पहरेदारहरूलाई प्रश्‍न गरे र तिनीहरूलाई मृत्‍युदण्डको हुकुम दिए । त्‍यसपछि तिनी यहूदियाबाट कैसरियामा झरे र त्यहीं बसे ।

[20] हेरोद सीदोन र टुरोसका मानिसहरूसँग साह्रै रिसाएका थिए । तिनीहरू उनीकहाँ सँगै गए । तिनीहरूलाई सहयोग गर्नका निम्ति राजाका सहायक बलस्तसलाई मनाए । अनि तिनीहरूले शान्‍तिको लागि बिन्‍ती गरे, किनभने तिनीहरूको देशले राजाको देशबाट खाद्यान्‍न प्राप्‍त गर्ने गर्दथ्यो ।

[21] एउटा तोकिएको दिनमा राजकीय पहिरन पहिरिएर हेरोद सिंहासनमा बसे, उनले तिनीहरूलाई भाषण दिए ।

[22] मानिसहरूले यसो भन्‍दै चिच्‍च्‍याए “यो त ईश्‍वरको अवाज हो, मानिसको होइन ।”

[23] तिनले परमेश्‍वरलाई महिमा नदिएका हुनाले तुरुन्‍तै प्रभुका एउटा दूतले तिनलाई प्रहार गरे, अनि किरा परेर तिनी तिनी मरे ।

[24] तर परमेश्‍वरको वचन वृद्धि र गुणात्मक हुँदै गयो ।

[25] शाऊल र बारनाबासले यरूशलेमको तिनीहरूको मिसन पुरा गरेपछि, तिनीहरूले आफूसँगै यूहन्‍नालाई लिएर गए, जसको अर्को नाउँ मर्कूस थियो ।

प्रेरितहरूका काम — Chapters