Skip to content
Opens in a new window
Listen to this chapter • 6:51

[1] जब हामीले इटालीको यात्रा गर्नुपर्छ भन्‍ने निर्णय गरियो, तिनीहरूले पावल र केही कैदीहरूलाई अगस्टसको फौजको कप्‍तान युलियसको जिम्मा लगाइदिए ।

[2] हामी एड्रामिटेनोसबाट जहाजमा चढ्यौं, जुन एसियाको समुद्रीतट भएर जान लाग्दै थियो । त्‍यसैले, हामी समुद्रतिर गयौं । माकेडोनियामा पर्ने थेसेलोनिकेका अरिस्तार्खस हामीसँगै गए ।

[3] अर्को दिन हामी जहाजबाट सिदोन सहरमा उत्रियौं, जहाँ युलियसले पावललाई दयापूर्ण व्यवहार गरे, र उनलाई उनका साथीहरूकहाँ जान अनुमति दिए ताकि उनले तिनीहरूबाट वास्ता पाउन सकून् ।

[4] त्‍यहाँबाट हामी समुद्रतिर लाग्यौं, अनि बतासबाट सुरक्षित भएको साइप्रसको टापू नजिक जहाजमा यात्रा गर्‍यौं, किनभने बतास हाम्रो विपरीत दिशाबाट चलेको थियो ।

[5] किलिकिया र पामफिलियाको नजिकैबाट जहाजमा यात्रा गर्दै हामी लुकिया सहरको माइरा आइपुग्यौं ।

[6] त्‍यहाँ सिपाहीका कप्‍तानले इटाली गइरहेको अलेक्जेन्ड्रियाको एउटा जहाज भेट्टाए । उनले हामीलाई त्‍यसमा चढाइदिए ।

[7] जब हामी धेरै दिन यात्रा गर्दै बिस्तारै र कष्‍टसाथ अन्‍तमा क्‍निडस नजिकै आइपुग्यौं, बतासले हामीलाई त्‍यताबाट अगाडि बढ्न दिएन । त्‍यसैले, हामीले सालमोनेको सामुन्‍ने रहेको क्रेटको आड लिएर यात्रा गर्‍यौं ।

[8] समुद्रीतट भएर लासिया सहरको नजिकै रहेको सुन्‍दर बन्‍दरगाह भन्‍ने ठाउँसम्म नपुगेसम्म हामीले कष्‍टसाथ यात्रा गर्‍यौं ।

[9] हामीले ज्‍यादै धेरै समय लगायौं । यहूदी उपवासको समय पनि बितिसकेको थियो । सामुद्रिक यात्रा खतरनाक भएको थियो । त्‍यसैले, पावलले तिनीहरूलाई चेताउनी दिए,

[10] र भने, “मानिसहरू हो, हामीले सुरु गर्न लागेको सामुद्रिक यात्रामा हाम्रा सामानहरू र जहाजलाई मात्र होइन, हामीलाई पनि ठूलो चोटपटक लाग्‍नेछ र नोक्सानी हुनेछ भन्‍ने म देख्छु ।”

[11] तर सिपाहीका कप्‍तानले पावलले बोलेका कुरामा भन्‍दा जहाजका चालक र जहाजको मालिकको कुरामा बढ्ता ध्‍यान दिए ।

[12] किनभने जाडो समयमा त्‍यो बन्‍दरगाहमा समय बिताउन सजिलो थिएन । त्‍यसैले, जहाज चालकहरूमध्‍ये धेरै जनाले जसरी भएपनि फोनिक्स सहरमा पुगेर जाडो बिताउनको लागि त्‍यहाँबाट यात्रा गर्न सल्लाह दिए । फोनिक्स क्रेटको एउटा बन्‍दरगाह हो, जुन उत्तर-पूर्व र दक्षिण-पूर्वपट्टि फर्केको छ ।

[13] जब दक्षिणी बतास मन्‍द रूपले बहन थाल्यो, तब जहाज चालकहरूले जे चाहेका थिए त्‍यो प्राप्‍त गरे भनी उनीहरूले सोचे । त्‍यसकारण, तिनीहरूले लङ्‌गर निकाली समुद्रमा खसाले, र क्रेटको समुद्र किनार हुँदै यात्रा गरे ।

[14] तर त्‍यसको केही समयपछि डरलाग्दो उत्तर-पूर्वी नामक तुफान चल्यो र त्‍यो सम्पूर्ण टापूभरि हामीमाथि बज्रन थाल्यो ।

[15] जहाजले त्‍यस आँधीको सामना गर्न नसकेपछि हामीले हार मान्‍यौं, र त्‍यसले जता लैजान्‍थ्यो, त्‍यतै गयौं ।

[16] हामी क्लौडा नाउँ गरेको एउटा सानो टापूको सुरक्षित स्थान हुँदै लाग्यौं, अनि बडो कष्‍टका साथ पानी जहाजमा रहेको सानो डुङ्‌गालाई जोगाउन सक्षम भयौं ।

[17] जब तिनीहरूले यसलाई माथि उचाले, त्‍यसपछि त्‍यसका डोरीहरू जहाजको मुख्य भागलाई बाँध्‍नको लागि प्रयोग गरे । हामीहरू सिरटिसको बलौटे धापमा फस्छौं कि भनेर तिनीहरू डराएका थिए । त्‍यसैले, तिनीहरूले लङ्‌गरहरू झारिदिए, र जहाज आफै तैरन थाल्यो ।

[18] हामी आँधीद्वारा धेरै धकेलियौं । त्‍यसकारण, अर्को दिन जहाज चालकहरूले जहाजमा राखिएका समानहरू समुद्रमा फाल्न लागे ।

[19] तेस्रो दिन जहाज चालकहरूले जहाजलाई नियन्‍त्रण गर्न सामान पुनः फाले ।

[20] जब धेरै दिनसम्म सूर्य र ताराहरू हाम्रामाझ चम्किएनन्, र ठूलो आँधी हामीमाथि बज्रिरह्यो, तब हामीले बच्‍न सक्छौं कि भन्‍ने आशा नै त्‍यागेका थियौं ।

[21] जब तिनीहरूले खानाविना धेरै दिन बिताइसकेका थिए, त्‍यसपछि पावल जहाज चालकहरूका माझमा खडा भए, र भने, “मानिसहरू हो, यो चोट र हानि नभोग्‍नलाई मेरो कुरा मानेर क्रेटबाट यात्रा नगरेको भए असल हुने थियो ।

[22] अब म तपाईंहरूलाई साहसी बन्‍न उत्साह दिन्‍छु, किनभने तपाईंहरूका माझमा कुनै पनि मानवीय क्षति हुनेछैन, जहाजको मात्रै क्षति हुनेछ ।

[23] किनभने गएको रात मैले आराधना गर्ने परमेश्‍वर जसको म हुँ, उहाँका एक स्वर्गदूत मेरो छेउमा उभिए

[24] र भने, “नडराऊ, पावल । तिमी कैसरको अगाडि उभिनु पर्छ र हेर परमेश्‍वरले आफ्नो कृपामा तिमीसँग यो जहाजमा यात्रा गरिरहेका सबैलाई तिम्रो हातमा दिनु भएको छ ।

[25] त्‍यसकारण, मानिसहरू, साहसी हुनुहोस् किनभने म परमेश्‍वरलाई भरोसा गर्दछु, कि मलाई जे भनिएको छ त्‍यस्तै हुनेछ ।

[26] तर हाम्रो जहाज भने कुनै टापूमा पुगेर क्षतिग्रस्त हुनुपर्नेछ ।”

[27] जब चौधौं रात आयो, हामी यताउता गर्दै भएर एड्रियाटिक समुद्रमा यात्रा गरिरहेका थियौं, मध्‍यरातमा जहाज चालकहरूले कुनै जमिन नजिक पुगिरहेका छौं भन्‍ने विचार गरे ।

[28] तिनीहरूले गहिराइ नापे र गहिराइ लगभग छत्तिस मिटर भएको पत्ता लगाए, केही समय पछि फेरि उनीहरूले नाप लिए र गहिराइ सत्ताइस मिटर भएको पत्ता लगाए ।

[29] हामीहरू चट्टानहरूमा ठोकिएर दुर्घटनामा पर्छौं कि भनेर तिनीहरू डराए, त्‍यसैले तिनीहरूले जहाजको पछाडि पट्टिबाट चार वटा लंगर तल खसालेर चाँडै बिहान होस् भनेर प्रार्थना गरे ।

[30] जहाज चालकहरूले त्‍यो जहाजलाई त्‍याग्‍नको लागि बाटो खोजिरहेका थिए र सानो डुङ्‌गा समुद्रमा तल झारे अनि जहाजको अगाडिको भागबाट लंगरहरू तल खसाल्छौं भनी बहाना बनाए ।

[31] तर पावलले सिपाहीहरू र उनीहरूका कप्‍तानलाई भने, “यी मानिसहरू यस जहाजमा बसेनन् भने तपाईंहरू जीवित रहन सक्‍नुहुने छैन ।”

[32] त्‍यसपछि सिपाहीहरूले त्‍यो डुङ्‌गाको डोरी काटिदिए र त्‍यसलाई त्‍यही पानीमा नै बगेर जान दिए ।

[33] जब बिहानको हुनै लागेको थियो, पावलले ती सबैलाई खाना खान बिन्‍ती गरे । उनले भने, “तपाईंहरूले खाना नखाई पर्खिएको आज यो चौधौं दिन हो, तपाईंहरूले केही पनि खानु भएको छैन ।

[34] त्‍यसैले तपाईंहरूले केही खानुहोस् किनकि यो तपाईंहरूलाई बाँच्‍नको लागि हो र तपाईंहरूको टाउकोको एउटै रौं पनि नष्‍ट हुन पाउने छैन ।”

[35] त्‍यति भनिसकेपछि, उनले रोटी लिए र सबैको सामु परमेश्‍वरलाई धन्‍यवाद दिए । त्‍यसपछि उनले त्‍यो रोटी भाँचे अनि खान सुरु गरे ।

[36] त्‍यसपछि तिनीहरू सबै उत्साहित भए र खाना खाए ।

[37] हामी जहाजमा २७६ जना मानिस थियौं ।

[38] जब उनीहरूले पर्याप्‍त खाना खाए, त्‍यसपछि तिनीहरूले गहुँलाई समुद्रमा फ्याँकेर जहाजलाई हलुका बनाए ।

[39] जब उज्‍यालो भयो, तिनीहरूले जमिनलाई चिन्‍न सकेनन्, तर तिनीहरूले समुद्रबाट बलौटे किनारा भएको खाडी देखे, अनि तिनीहरूले जहाजलाई त्‍यहाँ लैजान सक्छन् कि सक्दैनन् भनी छलफल गरे ।

[40] त्‍यसैले तिनीहरूले लंगरहरू काटेर र समुद्रमा नै छोडिदिए । त्‍यही समयमा तिनीहरूले जहाजमा भएका पतवारको डोरीहरू खोलि दिए अनि बतासतिर जहाजका पालहरू फर्काए, र त्‍यसपछि तिनीहरू समुद्र किनारतिर अगि बढे ।

[41] तर तिनीहरू दुई वटा पानीको प्रवाह मिलेको ठाउँमा पुगे अनि जहाज जमिनमा भासियो । जहाजको अगाडिको भाग त्यहीं अड्‌कियो र जहाज हलचल गर्न सकेन । तर प्रचण्ड बतासको कारणले जहाजको पछाडिको भाग भाँचिन सुरु भयो ।

[42] कैदीहरू पौडेर नभागून् भनेर सिपाहीहरूले तिनीहरूलाई मार्ने योजना गरे ।

[43] तर सिपाहीको कप्‍तानले पावललाई बचाउने चाहना गरे, त्‍यसकारण उनले तिनीहरूको योजनालाई रोके, र जसलाई पौडी खेल्न आउँछ तिनीहरूले पहिले जहाजबाट हाम फालेर उत्रून् र जमिनमा जाऊन् भन्‍ने आदेश दिए ।

[44] त्‍यसपछि तिनले बाँकी मानिसहरू जाऊन्, कोही काठका तख्ताहरूमा र केही जहाजका अन्‍य सामानहरूमा चढेर जाऊन् भने । यसरी हामी सबै जना जमिनमा सुरक्षित आइपुग्यौं ।

प्रेरितहरूका काम — Chapters