Skip to content
Opens in a new window
Listen to this chapter • 4:59

[1] यसरी अग्रीप्पाले पावललाई भने, “तिमी आफ्नो निम्ति बोल्न सक्छौ ।” तब पावलले उनका हातहरू पसारे, र आफ्नो बचाउ गरे ।

[2] “यी यहूदीहरूले लगाएका सबै दोषहरूको विरुद्धमा मेरो मुद्दालाई राजा अग्रीप्पा तपाईंको आगाडि राख्‍न पाउँदा म आफै खुसी भएको महसुस गर्दछु ।

[3] खास गरी, किनकि तपाईं यी सबै यहूदी रीतिरिवाजहरू र प्रश्‍नहरूबारे ज्ञाता हुनुहुन्‍छ । त्‍यसैले, तपाईंले मेरो कुरा धैर्यपूर्वक सुनिदिनुहोस् भनेर म बिन्‍ती गर्दछु ।

[4] साँच्‍चै, यी सबै यहूदीहरूले जान्‍दछन्, कि म कसरी मेरो जवानीदेखि मेरो आफ्नै देशमा र यरूशलेममा जिएँ ।

[5] तिनीहरूले मलाई सुरुबाट नै जान्‍दथे, र मैले फरिसीको रूपमा जिएको कुरा तिनीहरूले स्वीकार गर्नुपर्दछ, जुन हाम्रो धर्मको अति कट्टरपन्थी दल हो ।

[6] अब म यहाँ न्‍यायको लागि उभिन्‍छु, किनकि परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञाको म आशा राख्दछु ।

[7] यसैकारणले गर्दा, हाम्रा बाह्र कुलले उत्कटतासाथ दिन-रात परमेश्‍वररको सेवा गरे, र हामी पनि यसमा पुग्‍ने आशा राख्छौं । हे राजा, त्‍यही आशाको कारणले यहूदीहरू मलाई दोष लगाउँछन् ।

[8] मृतकहरूलाई जीवित बनाउने कुरा परमेश्‍वरको लागि अपत्‍यारिलो छ भनेर तपाईंहरू किन विचार गर्नुहुन्‍छ ?

[9] एक समय येशू नासरीको नाउँको विरुद्धमा धेरै कुराहरू गर्नुपर्छ भन्‍ने म आफैंले पनि विचार गरें ।

[10] मैले यरूशलेममा यी कामहरू गरें; मैले धेरै सन्‍तहरूलाई झ्यालखानामा थुनें, र मैले यसो गर्ने अधिकार मूख्य पूजाहारीहरूबाट पाएँ । जब तिनीहरू मारिए, मैले तिनीहरूका विरुद्धमा मेरो मत पनि जाहेर गरें ।

[11] मैले तिनीहरूलाई सबै सभाघरहरूमा बारम्बार सजाय दिएँ, र मैले तिनीहरूलाई ईश्‍वरको निन्‍दा गर्ने बनाउन कोसिस गरें । म तिनीहरूसित अति नै रिसाएँ, र तिनीहरूलाई विदेशका सहरहरूमा पनि खेदाएँ ।

[12] यसो गर्ने क्रममा मुख्य पूजाहारीहरूबाट पाएको आज्ञा र अधिकार लिएर म दमस्कसमा गएँ ।

[13] अनि बाटोमा, मध्‍यदिनमा, हे राजा, मैले स्वर्गबाट आएको ज्‍योति देखें, जुन सूर्य भन्‍दा पनि चम्किलो थियो, र त्‍यो म र मसँग यात्रा गर्ने मानिसहरू दुवैका वरिपरि चम्कियो ।

[14] जब हामीहरू सबै जना भुइँमा लोटेका थियौं, मैले हिब्रू भाषामा मसँग यसो भनेर बोलिरहेको एउटा आवाज सुनें, “ए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ ? सुइरोमा लात हान्‍नु तिमीलाई कठिन हुन्‍छ ।”

[15] तब मैले भनें, ‘तपाईं को हुनुहुन्‍छ, प्रभु ? ’ प्रभुले जवाफ दिनुभयो, ‘म येशू हुँ, जसलाई तिमी सताउँछौ ?

[16] अब तिमी उठ, र तिम्रो पाउमा खडा होऊ, किनकि म तिमीलाई सेवक र अहिले तिमीले मेरो बारेमा जानेका कुराहरू र पछि मैले तिमीलाई देखाउने कुराहरूको गवाही बन्‍नको लागि नियुक्त गर्ने उद्देश्यले म तिमीकहाँ देखा परें ।

[17] म तिमीलाई मानिसहरूबाट र गैरयहूदीहरूबाट उद्धार गर्नेछु, जसकहाँ मैले तिमीलाई पठाइरहेको छु,

[18] तिनीहरूका आँखा खोल्न र तिनीहरूलाई अन्धकारबाट ज्‍योतिमा फर्काउन र शैतानको शक्तिबाट परमेश्‍वरमा फर्काउन, ताकि तिनीहरूले परमेश्‍वरबाट पापको क्षमा पाऊन् र ममाथिको विश्‍वासद्वारा मेरो आफ्नै निम्ति अलग गरेकाहरूलाई मैले दिने उत्तराधिकार प्राप्‍त गर्न सकून् ।

[19] त्‍यसकारण, राजा अग्रीप्पा, मैले त्‍यो स्वर्गीय दर्शनको अवज्ञा गरिनँ ।

[20] तर पहिले दमस्कसमा भएकाहरूकहाँ, त्‍यसपछि यरूशलेममा र यहूदियाको देशभरि रहनेहरू, र गैरयहूदीहरूकहाँ पनि तिनीहरूले पश्चाताप गरेर परमेश्‍वरमा फर्कनुपर्छ र पश्चाताप योग्यका कार्यहरू गर्नुपर्छ भनेर प्रचार गरें ।

[21] यसैकारण, यहूदीहरूले मलाई मन्‍दिरमा पक्राउ गरे, र मलाई मार्ने प्रयास गरे ।

[22] परमेश्‍वरले अहिलेसम्म मलाई सहायता गर्नुभएको छ । यसैकारण म खडा भएर साधारण मानिसहरू र ठूला मानिसहरूलाई अगमवक्‍ताहरू र मोशाले भनेका कुराहरू पूरा हुने बाहेक अरू कुनै बढी कुराहरूको गवाही दिएको छैन -

[23] कि ख्रीष्‍टले दुःख भोग्‍नुपर्छ, र उहाँ मृतकहरूबाट जीवित हुनेहरूमा पहिलो हुनुहुन्‍छ, र यहूदीहरूसाथै गैरयहूदी मानिसहरूमा ज्‍योतिको घोषणा गर्ने जन हुनुहुनेछ ।

[24] पावलले उनको बचाउलाई पुरा गरिसकेपछि फेस्तसले उच्‍च सोरमा भने, “पावल, तिमी पागल भएका छौ, तिम्रो धेरै विद्याले तिमीलाई पागल बनाएको छ ।”

[25] तर पवालले भने, “म पागल होइनँ, सम्माननीय फेस्तस, तर म साहसकासाथ यी सत्‍य र गम्भीर वचनहरू बोल्छु ।”

[26] किनकि राजाले यी कुराहरूको बारेमा जान्‍नुहुन्‍छ, र यसैले म उहाँसँग खुलेर बोल्छु, किनकि मलाई विश्‍वास छ, कि उहाँबाट यीमध्‍ये कुनै पनि कुराहरू लुकेका छैनन्, किनकि यो कुरा गुपचुपमा गरिएको छैन ।

[27] राजा अग्रीप्पा, के तपाईं अगमवक्‍ताहरूमा विश्‍वास गर्नुहुन्‍छ ? म यो कुरा जान्‍दछु, कि तपाईंले विश्‍वास गर्नुहुन्‍छ ।”

[28] अग्रीप्पाले पवाललाई भने, “के तिमी छोटो समयमा मलाई फकाएर ख्रीष्‍टियान बनाउन चाहन्‍छौ ?”

[29] पावलले भने, “चाहे छोटो समयमा होस्, या लामो समयमा होस्, तपाईं मात्र होइन तर आज मेरो कुरा सुन्‍ने जति सबै यी झ्यालखानाका साङ्लाहरूबाहेक अरू कुरामा म जस्‍तै होऊन् भनी म परमेश्‍वरमा प्रार्थना गर्छु ।”

[30] त्‍यसपछि राजा उठे, र शासक, बरनिकी र तिनीहरूसँग बसिरहेकाहरू पनि उठे ।

[31] तिनीहरू सभा भवनबाट बाहिरिँदा, तिनीहरूले एक अर्कामा कुराकानी गरे, र भने, “यी मानिसले मृत्‍यु वा कैदमा पर्न लायक कुनै कुरो गरेका छैनन् ।”

[32] अग्रीप्पाले फेस्तसलाई भने, “यदि तिनले कैसरकहाँ अपील नगरेको भए यी मानिसलाई छाड्न सकिन्‍थ्यो ।”

प्रेरितहरूका काम — Chapters