Skip to content
Opens in a new window
Listen to this chapter • 3:51

[1] थियोफिलस, मैले पहिला लेखेको पुस्तकले येशूलाई माथि नलगिएसम्म उहाँले गर्न र सिकाउन थाल्नुभएका सबै कुरा बताएको छ ।

[2] उहाँले चुन्‍नुभएका प्रेरितहरूलाई पवित्र आत्माद्वारा उहाँले आज्ञा दिनुभएपछि यसो भएको थियो ।

[3] उहाँको कष्‍टभोगपछि उहाँले धेरै विश्‍वसनीय प्रमाणसहित आफैलाई तिनीहरूकहाँ जीवित प्रस्तुत गर्नुभयो । उहाँ चालीस दिनसम्म उनीहरूकहाँ देखा पर्नुभयो र परमेश्‍वरको राज्‍यको बारेमा बताउनु भयो ।

[4] उहाँले तिनीहरूसँग भेटघाट गरिरहँदा उहाँले तिनीहरूलाई यरूशलेम नछोड्न, तर पिताको प्रतिज्ञाको प्रतीक्षा गर्नलाई आज्ञा दिनुभयो । त्‍यसको बारेमा उहाँले भन्‍नुभयो, “तिमीहरूले मबाट सुन्‍यौ

[5] कि वास्तवमा यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर केही दिनमा नै तिमीहरूलाई पवित्र आत्मामा बप्‍तिस्मा दिइनेछ ।

[6] तिनीहरू सँगै भेलाहुँदा, तिनीहरूले उहाँलाई सोधे, “प्रभु, के तपाईंले इस्राएल राज्‍यको पुनर्स्थापना गर्नुहुने समय यही हो ?”

[7] उहाँले तिनीहरूलाई भन्‍नुभयो, “पिताले उहाँको अधिकारद्वारा तोक्‍नुभएको समय र ऋतुहरू जान्‍ने काम तिमीहरूको होइन ।

[8] तर जब पवित्र आत्मा तिमीहरूमाथि आउनुहुन्‍छ, तिमीहरूले शक्ति प्राप्‍त गर्नेछौ, अनि तिमीहरू यरूशलेममा र सारा यहूदियामा र सामरिया र पृथ्वीको अन्‍तिम छेउसम्मै मेरा साक्षीहरू हुनेछौ ।”

[9] येशूले यी कुराहरू भनिसक्‍नुभएपछि, तिनीहरूले माथि हेरिरहँदा उहाँलाई माथि उठाइयो, र बादलले उहाँलाई तिनीहरूका आँखाबाट छेक्यो ।

[10] उहाँ जाँदै गर्नुहुँदा तिनीहरूले स्वर्गतिर उत्कटतापूर्वक हेरिररहेका बेला सेतो वस्‍त्र पहिरेका दुई जना मानिस अचानक तिनीहरूका छेउमा खडा भए ।

[11] तिनीहरूले भने, “हे गालीलका मानिसहरू हो, तिमीहरू यहाँ उभिएर किन स्वर्गतिर हेरिरहन्‍छौ ? स्वर्ग आरोहण हुनुभएका यी येशूलाई तिमीहरूले जसरी स्वर्गतिर गइरहेका देखेका छौ, उहाँ त्‍यसरी नै फर्कनुहुनेछ ।

[12] त्‍यसपछि तिनीहरू यरूशलेम नजिकै पर्ने जैतून डाँडाबाट यरूशलेमतिर फर्के, जुन एक शबाथ दिनको यात्रा जति टाढा थियो ।

[13] तिनीहरू आइपुगेपछि तिनीहरू बसिरहेका माथिल्लो कोठामा गए । तिनीहरू पत्रुस, यूहन्‍ना, याकूब, अन्‍द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ती, अल्फयसका छोरा याकूब, उग्रवादी सिमोन र यकूबका छोरा यहूदा थिए ।

[14] तिनीहरू एकै मनको भएर प्रार्थनामा निरन्तर लागिरहे । त्‍यहाँ येशूकी आमा मरियम लगायत अन्‍य स्त्रीहरू र उहाँका भाइहरू पनि थिए ।

[15] ती दिनहरूमा झण्डै १२० जना भाइका माझमा पत्रुस खडा भए र भने,

[16] “भाइहरू हो, येशूलाई पक्राऊ गर्नलाई अगुवाइ गर्ने यहूदाको बारे दाऊदको मुखबाट पवित्र आत्माले पहिला नै बोल्नुभएको धर्मशास्‍त्र पुरा हुनु आवश्यक थियो ।

[17] किनभने त्‍यो हामीमध्‍ये एक जना थियो र त्‍यसले आफ्नो सेवाकाइको हिस्सा प्राप्‍त गर्‍यो ।”

[18] (यो मानिसले उसको दुष्‍ट कर्मको कमाइबाट एउटा खेत किन्‍यो । त्‍यसपछि, उसको टाउको तल पारेर खस्यो, उसको शरीर फुट्‌यो, र उसको सबै आन्‍द्रा-भुँडी निस्क्यो ।

[19] यो कुरा यरूशलेममा बस्‍ने सबैले सुने त्‍यसैले तिनीहरूले आफ्नो भाषामा त्‍यस खेतको नाम अाखेल्दामा राखे जसको अर्थ “रगतको खेत” हुन्‍छ । )

[20] “किनभने भजनसंग्रहको पुस्तकमा लेखिएको छ, ‘त्‍यसको खेत उजाड बनाइयोस् र त्‍यहाँ कोही एक जना पनि नबसोस्’ र ‘त्‍यसको नेतृत्वको पद अरू कसैले लिओस् ।’

[21] यसकारण यो आवश्यक छ कि, यूहन्‍नाको बप्‍तिस्माको दिनदेखि उहाँलाई हामीबाट माथि लगिएको दिनसम्म, प्रभु येशू हाम्रो माझमा भित्र-बाहिर गर्नुहुँदा सधैंभरि हामीलाई साथ दिने मानिसहरूमध्‍येबाट एक जना हामीसँगै उहाँको पुनरुत्थानको साक्षी भएको हुनुपर्छ ।”

[23] तिनीहरूले बरब्बा भनिने योसेफ जसको नाउँ युस्तस पनि थियो र मतियास दुई जनालाई अगि सारे ।

[24] तिनीहरूले प्रार्थना गरे र भने, “तपाईं प्रभुले सबै मानसिहरूको हृदय जान्‍नु हुन्‍छ, त्‍यसैले यी दुई जनामध्‍ये कसलाई चुन्‍नुभएको छ प्रकट गर्नुहोस्

[25] यहूदाले अपराध गरेर उसको ठाउँमा गएपछि खाली भएको यो सेवाकाइ र प्रेरितको पद तिनले लेऊन् ।”

[26] उनीहरूले तिनीहरूको निम्ति चिट्ठा हाले; र चिट्ठा मतियासको नाममा पर्‍यो र तिनलाई एघार जना प्रेरितसँगै गनियो ।

प्रेरितहरूका काम — Chapters