Skip to content
Opens in a new window
Listen to this chapter • 2:18

[1] ती दिनमा जब चेलाहरूको सङ्ख्या गुणात्मक रूपमा बढ्दै गयो ग्रीक भाषा बोल्ने यहूदीहरूले हिब्रूहरूको विरुद्धमा गनगन गर्न थाले किनकि तिनीहरूका विधवाहरूलाई दैनिक खाद्य वितरणमा वेवास्ता गरिँदै थियो ।

[2] बाह्र प्रेरितले चेलाहरूको समूहलाई बोलाएर भने, “खुवाउने-पियाउने काममा अल्झिन हामीले परमेश्‍वरको वचनलाई वेवास्ता गर्नु उपयुक्त हुँदैन ।

[3] यसकारण भाइ हो, तपाईंहरूमध्‍येबाट सात जना मानिसलाई छान्‍नुहोस् जो नाउँ चलेका, बुद्धि र पवित्र आत्माले भरिएका होऊन् जसलाई हामी यस कामको लागि नियुक्त गर्न सकौं ।

[4] हाम्रो सम्बन्धमा भन्‍नुपर्दा, हामी निरन्‍तर रूपमा प्रार्थना र वचनको सेवामा लागिरहनेछौं ।”

[5] तिनीहरूको भनाइ पूरै समुदायलाई मन पर्‍यो । त्‍यसैले, तिनीहरूले विश्‍वास र पवित्र आत्माले भरिएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी-मत मान्‍ने निकोलाउसलाई छाने ।

[6] विश्‍वासीहरूले यी मानिसहरूलाई प्रेरितहरूका सामु ल्याए जसले प्रार्थना गरे र तिनीहरूमाथि हात राखे ।

[7] यसरी परमेश्‍वरको वचन फैलियो र यरूशलेममा चेलाहरूको सङ्ख्या गुणात्मक रूपमा वृद्धि भयो । र धेरै पूजाहारीहरूले यस विश्‍वासलाई स्वीकार गरे ।

[8] अब अनुग्रह र शक्तिले भरिएर स्तिफनसले मानिसहरूका बिचमा महान् आश्‍चर्य र चिन्हहरू देखाउँदै थिए ।

[9] तर त्‍यहाँ स्वतन्‍त्र दल नामक सभाघरका मानिसहरू, कुरेनीहरू, अलेक्ज्‍यान्ड्रियाका बासिन्‍दाहरू र किलिकियासाथै एसियाका केही मानिसहरू खडा भए । यी मानिसहरू स्तिफनससित वादविवाद गर्दै थिए ।

[10] तर स्तिफनसले जुन बुद्धि र पवित्र आत्माको शक्तिमा बोलेका थिए तिनीहरूले त्‍यसको सामना गर्न सकेनन् ।

[11] त्‍यसपछि तिनीहरूले केही मानिसहरूलाई गुप्‍तमा मनाई यसो भन्‍न लगाए, “हामीले स्तिफनसले मोशा र परमेश्‍वरको विरुद्धमा ईश्‍वर-निन्‍दक वचनहरू बोलेका सुनेका छौं ।”

[12] तिनीहरूले मानिसहरू, एल्डरहरू, शास्‍त्रीहरूलाई उक्साए अनि स्तिफनससित मुकाबला गरे; तिनलाई पक्रे र परिषद्‍मा ल्याए ।

[13] तिनीहरूले झुटा साक्षीहरू पेस गरे जसले भने, “यो मानिसले यस पवित्रस्थान र व्यवस्थाको विरुद्धमा बोल्न छाड्दैन ।

[14] नासरतको यो येशूले यस स्थानलाई नष्‍ट पार्नेछ र मोशाले हामीलाई सुम्पेका चलनहरूलाई बद्लनेछ भनी त्‍यसले बोलेको हामीले सुनेका छौं ।”

[15] परिषद्‍मा जम्मा भएका हरेकको आँखा तिनमा केन्‍द्रित भयो र तिनको मोहोडा स्वर्गदूतको झैं देखियो ।

प्रेरितहरूका काम — Chapters