[1] कैसरिया सहरमा कर्नेलियस नाउँका एक जना मानिस थिए जो इटालिया नामक पल्टनका कप्तान थिए ।
[2] तिनी ईश्वरभक्त मानिस थिए । तिनी र तिनका सारा घरानाले परमेश्वरको आराधना गर्थे । तिनले यहूदीहरूलाई धेरै रूपैयाँ-पैसा सहयोग गरे र तिनले सधैं परमेश्वरलाई प्रार्थना चढाइरहन्थे ।
[3] दिउँसो तिन बजेतिर तिनले दर्शनमा परमेश्वरका एक स्वर्गदूत आफूतिर आइरहेको देखे । स्वर्गदूतले भने, “ए कर्नेलियस ”
[4] कर्नेलियसले एकटक लगाएर स्वर्गदूतलाई हेरे र भयभीत हुँदै भने, “हजुर, भन्नुहोस् ।” स्वर्तदूतले तिनलाई भने, “तिम्रा प्रार्थना र तिमीले गरिबहरूलाई दिएका दान सम्झनायोग्य बलिको रूपमा परमेश्वरको उपस्थितिमा पुगेका छन् ।
[5] पत्रुस पनि भनेर चिनिने सिमोन भनिने मानिसलाई ल्याउन योप्पा शहरमा मानिसहरू पठाऊ ।
[6] तिनी सिमोन नामक चर्मकारसित बसिरहेका छन् जसको घर समुद्रको छेउमा छ ।”
[7] आफूसित बोल्ने स्वर्गदूत गएपछि कर्नेलियसले आफ्नो घरका दुई जना नोकर र तिनको सेवा गर्ने सिपाहीहरूमध्ये परमेश्वरलाई पुज्ने एक जना सिपाहीलाई बोलाए ।
[8] कर्नेलियसले तिनीहरूलाई सबै कुरा बताएर तिनीहरूलाई योप्पा पठाए ।
[9] भोलिपल्ट लगभग दिउँसोको बाह्र बजेको थियो । तिनीहरू यात्रा गरेर शहरको नजिक आइपुग्दा पत्रुस प्रार्थनाको लागि घरको माथिल्लो कौसीमा उक्ले ।
[10] तिनी भोकाए र तिनलाई केही खान मन लाग्यो । तर मानिसहरूले खानेकुरा पकाइरहँदा तिनीले एउटा दर्शन देखे ।
[11] तिनले आकास खुलेको र एउटा वस्तु पृथ्वीतिर खसिरहेको देखे जुन चारै कुनामा बाँधिएको एउटा ठूलो तन्ना जस्तो थियो ।
[12] त्यसमा सबै किसिमका चारखुट्टे प्राणीहरू, पृथ्वीमा घस्रने जन्तुहरू र आकासका चराचुरुङ्गीहरू थिए ।
[13] त्यसपछि एउटा आवाजले तिनलाई भन्यो, “पत्रुस, उठ अनि मारेर खाऊ ।”
[14] तर पत्रुसले भने, “हुँदैन प्रभु । किनकि मैले कहिल्यै अशुद्ध र अपवित्र कुराहरू खाएको छैनँ ।”
[15] तर त्यो आवाज दोस्रो पटक पनि तिनीकहाँ आयोः “परमेश्वरले जेलाई शुद्ध पार्नुभएको छ तिमीले त्यसलाई अशुद्ध नभन ।”
[16] तीन पटकसम्म यसै भयो । त्यसपछि त्यो तन्ना जस्तो वस्तु तुरुन्तै आकासतिर लगियो ।
[17] आफूले देखेको दर्शनको अर्थ के होला भनेर पत्रुस अन्योलमा परिरहँदा कर्नेलियसले पठाइएका मानिसहरू ढोकाको सामु खडा भए । तिनीहरू घर खोज्दै त्यहाँ आइपुगेका थिए ।
[18] पत्रुस भनिने सिमोन त्यहाँ बसिरहेका छन् कि छैनन् भनी तिनीहरूले सोधे ।
[19] पत्रुसले दर्शनको बारेमा अझै सोचिरहेकै बेला पवित्र आत्माले तिनलाई भन्नुभयो, “हेर, तीन जना मानिसले तिम्रो खोजी गर्दैछन् ।
[20] उठ र तल जाऊ अनि तिनीहरूसँगै लाग । तिनीहरूसँगै जानदेखि नडराऊ किनकि मैले नै तिनीहरूलाई पठाएको हुँ ।”
[21] त्यसैले, पत्रुस ती मानिसहरूकहाँ ओर्ले र तिनले भने, “तपाईंहरूले खोजिरहनुभएको व्यक्ति मै हुँ । तपाईंहरू किन आउनुभएको ?”
[22] तिनीहरूले भने, “परमेश्वरको आराधना गर्ने कर्नेलियस नाउँ गरेका कप्तान धर्मी मानिस हुनुहुन्छ जो सारा यहूदी जातिको बिचमा प्रसिद्ध हुनुहुन्छ । परमेश्वरका पवित्र स्वर्गदूतले तपाईंलाई बोलाएर उहाँको घरमा ल्याऊ भनी उहाँलाई आज्ञा दिए ताकि उहाँले तपाईंको सन्देश सुन्न सकून् ।”
[23] त्यसैले, पत्रुसले तिनीहरूलाई भित्र आई तिनी र तिनका मानिसहरूसित बस्न निमन्त्रणा दिए । भोलिपल्ट बिहान पत्रुस उठे र तिनीहरूसँगै गए । योप्पाका केही भाइहरू पनि तिनीसँगै लागे ।
[24] अर्को दिन तिनीहरू कैसरिया आइपुगे । कर्नेलियसले तिनीहरूको प्रतीक्षा गर्दै थिए । तिनले आफ्ना नातेदारहरूसाथै घनिष्ठ मित्रहरूलाई पनि बोलाएका थिए ।
[25] पत्रुस भित्र पसेपछि कर्नेलियसले तिनलाई स्वागत गरे र तिनको सम्मान गर्दै तिनले दण्डवत् गरे ।
[26] तर पत्रुसले तिनलाई उठाएर भने, “उठ्नुहोस् । म आफै पनि केवल मानिस हुँ ।”
[27] पत्रुस तिनीसित बातचित गरिरहँदा तिनी भित्र प्रवेश गरे र धेरै मानिसहरू जम्मा भएका देखे ।
[28] पत्रुसले तिनीहरूलाई भने, “तपाईंहरूलाई थाहा छ कि एउटा यहूदीले अर्को जातिका मानिसहरूसित सङ्गत गर्नु वा तिनीहरूलाई भेटघाट गर्नु अनुचित कार्य हो । तर मैले कुनै पनि मानिसलाई अशुद्ध वा अपवित्र भन्नु हुँदैन भनी परमेश्वरले मलाई देखाउनुभएको छ ।
[29] त्यसकारण, मलाई बोलाइँदा म गनगन नगरीकन आएँ । तपाईंहरूले मलाई किन बोलाउनुभएको ?”
[30] कर्नेलियसले भने, “चार दिनअगि यही घडीमा म मेरो घरमा दिउँसो तिन बजे प्रार्थना गरिरहँदा सेतो पोशाक लगाएका एक जना मानिस मेरो सामु खडा भए ।
[31] तिनले भने, ‘हे कर्नेलियस, परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ र तिमीले गरीबहरूलाई दिएको दानको सम्झना गर्नुभएको छ ।
[32] त्यसैले, कसैलाई योप्पामा पठाऊ र पत्रुस भनिने सिमोनलाई डाकेर ल्याऊ । तिनी सिमोन भनिने चर्मकारको घरमा बसिरहेका छन् जुन समुद्रको छेउमा पर्छ ।’
[33] त्यसैले, तुरुन्तै मैले तपाईंलाई बोलाउन पठाएँ । तपाईं गनगन नगरीकन आइदिनुभयो । अब परमप्रभुले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा सुन्न हामी सबै यहाँ परमेश्वरको उपस्थितिमा छौं ।”
[34] तब पत्रुसले आफ्नो मुख खोलेर भनेः “साँच्चै म जान्दछु कि परमेश्वरले कसैको पक्षपात गर्नुहुन्न ।
[35] बरु, हरेक जातिमा उहाँको आराधना गर्ने र धार्मिक कामहरू गर्ने व्यक्ति उहाँको अगि स्वीकारयोग्य हुन्छ ।
[36] परमेश्वरले इस्राएलीहरूलाई पठाउनुभएको सन्देश तपाईंहरूलाई थाहै छ । उहाँले सबैका प्रभु अर्थात् येशू ख्रीष्टद्वारा शान्तिको बारेमा सुसमाचार प्रचार गर्नुभयो ।
[37] यूहन्नाले प्रचार गरेको बप्तिस्मापश्चात् गालीलबाट सुरु गरेर सारा यहूदियाभरि भएका घटनाहरूको बारेमा तपाईंहरूलाई थाहै छ ।
[38] ती घटनाहरू नासरतका येशूको बारेमा हुन् जसलाई परमेश्वरले पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभएको थियो । उहाँले असल कामहरू गर्नुभयो र शैतानद्वारा पीडितहरूलाई निको पार्दै जानुभयो किनकि परमेश्वर उहाँसित हुनुहुन्थ्यो ।
[39] यहूदीहरूको देश र यरूशलेम दुवैमा उहाँले गर्नुभएका सबै कुराहरूका हामी साक्षी हौं। यही येशूलाई तिनीहरूले काठमा झुण्ड्याएर मारे ।
[40] परमेश्वरले उहाँलाई तेस्रो दिनमा बिउँताउनुभयो र प्रकट गराउनुभयो,
[41] सबैकहाँ होइन तर परमेश्वरले पहिले नै छान्नुभएका साक्षीहरूकहाँ । हामी नै ती साक्षीहरू हौं जसले उहाँ मृतकहरूबाट बौरी उठ्नुभएपछि उहाँसँगै खायौं र पियौं ।
[42] परमेश्वरले उहाँलाई नै जिउँदा र मरेकाहरूको न्यायकर्ता हुन चुन्नुभएको छ भनी मानिसहरूलाई प्रचार गर्न र गवाही दिन उहाँले हामीलाई आज्ञा दिनुभयो ।
[43] सबै अगमवक्ताहरूले उहाँको गवाही दिएका छन् ताकि उहाँमाथि विश्वास गर्ने हरेकले उहाँको नाउँद्वारा पापको क्षमा पाओस् ।”
[44] पत्रुसले यी कुराहरू बताइरहँदा तिनको सन्देश सुन्नेहरू सबैमाथि पवित्र आत्मा ओर्लनुभयो ।
[45] पत्रुससँगै आएका यहूदी विश्वासीहरू छक्क परे किनकि पवित्र आत्माको वरदान अन्यजातिहरूलाई पनि दिइएको थियो ।
[46] किनभने तिनीहरूले यी अन्यजातिहरूले अन्य भाषाहरूमा बोलेका र परमेश्वरको प्रशंसा गरेका सुने । तब पत्रुसले जवाफ दिए,
[47] “हामीले जस्तै पवित्र आत्मा प्राप्त गर्ने यी मानिसहरूलाई पानीको बप्तिस्मा लिनदेखि कसैले रोक्न सक्छ ?”
[48] तिनले तिनीहरूलाई येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लिनू भन्ने आज्ञा दिए । तिनीहरूले तिनलाई केही दिन तिनीहरूसँगै बस्न अनुरोध गरे ।