Skip to content
Opens in a new window
Listen to this chapter • 5:28

[1] पावलले महासभाका मानिसहरूलाई सिधा हेरेर भने, “हे दाजुभाइहरू हो, आजको दिनसम्म म परमेश्‍वरको अगि सबै असल विवेकमा जिएको छु ।

[2] प्रधान पूजाहारी हननियाले नजिकमा उभिरहेकाहरूलाई पावलको मुखमा हिर्काउन आज्ञा गरे ।

[3] त्‍यसपछि पावलले तिनलाई भने, “परमेश्‍वरले तपाईं चुन पोतेको पर्खाललाई पनि प्रहार गर्नुहुनेछ । तपाईं व्यवस्थाद्वारा मेरो न्‍याय गर्न बसिरहनुभएको छ, र पनि व्यवस्थाको विरुद्धमा गएर मलाई हिर्काउने आज्ञा दिनुहुन्‍छ ?”

[4] ती नजिकमा उभिरहेकाहरूले भने, “के तँ परमेश्‍वरका प्रधान पूजाहारीको यसरी निन्‍दा गर्छस् ?”

[5] पावलले भने, “दाजुभाइहरू हो, उहाँ प्रधान पूजाहारी हुनुहुन्‍छ भन्‍ने मलाई थाहा थिएन । किनभने यस्तो लेखिएको छ, ‘तिमीले तिम्रा मानिसहरूका शासकहरूबारे खराब कुरा बोल्नुहुँदैन‘ ।”

[6] जब पावलले परिषद्को एक भाग सदूकीहरू र अर्को भाग फरिसीहरू रहेछन् भनी देखे, तब उनले परिषद्‍मा ठूलो सोरले भने, “दाजुभाइहरू हो, म त फरिसीको छोरो एक फरिसी नै हुँ । मृतकहरूको पुनरुत्थानमा दृढ आशा भएकै कारणले मलाई न्‍याय गरिँदै छ ।”

[7] उनले यो कुरा भनेपछि सदूकी र फरिसीहरूका बिचमा वादविवाद सुरु भयो, र सभा विभाजित भयो ।

[8] किनकि ती सदूकीहरूले पुनरुथान हुँदैन, स्वर्गदूतहरू छैनन् र आत्माहरू छैनन् भन्‍छन्, तर फरिसीहरूले यी सबै कुराहरू अस्तित्वमा छन् भन्‍छन् ।

[9] त्‍यसैले, त्‍यहाँ ठूलो होहल्ला भयो, अनि कतिपय फरिसीहरूमध्‍येका शास्‍त्रीहरू उठे, र यसो भन्‍दै तर्क गरे, “यी मानिसमा हामी कुनै गल्ती भेट्टाउँदैनौं । यदि आत्मा वा स्वर्गदूतले नै तिनीसँग बोलेका हुन् भने, के गर्ने त ?”

[10] जब त्‍यहाँ अझै ठूलो विवाद उठ्‌यो, तिनीहरूले पावललाई टुक्राटुक्रा पार्लान् कि भनेर मुख्य कप्‍तान डराए । त्‍यसैले, उनले तल गएर परिषद्का सदस्यहरूका बिचबाट पावललाई जबरजस्ती सेनाको किल्लामा ल्याउन सेनाहरूलाई आदेश दिए ।

[11] अर्को रात परमेश्‍वर उनको छेउमा आएर उभिनुभयो, र भन्‍नुभयो, “नडराऊ, किनकि जसरी तिमीले मेरो बारेमा यरूशलेममा गवाही दिएका छौ, त्‍यसरी नै तिमीले रोममा पनि गवाही दिनुपर्छ ।”

[12] जब उज्‍यालो भयो, केही यहूदीहरूले मतो गरे, र तिनीहरू आफैमाथि श्राप घोषणा गरेः तिनीहरूले यसो भने, कि तिनीहरूले पावललाई नमारेसम्म न केही खानेछन्, न त पिउनेछन् ।

[13] यसरी षड्‍यन्‍त्र गर्नेहरू चालीस जना भन्‍दा बढी थिए ।

[14] तिनीहरू प्रधान पूजाहारीहरू र अगुवाहरूकहाँ गएर भने, “हामीले पावललाई नमारेसम्म केही नखाने र केही नपिउने भनी ठूलो भाकल गरेका छौं ।

[15] त्‍यसैले, उनको मुद्दालाई अझ ठिक प्रकारले निर्णय गर्ने गरी परिषद्ले मुख्य कप्‍तानलाई पावललाई तल ल्याउनलाई भनोस् । हामीचाहिँ तिनी यहाँ आउनुअगावै तिनलाई मार्न तयार हुन्‍छौं ।”

[16] तर तिनीहरूले उनलाई मार्न पर्खिरहेका थिए भनी पावलको भान्जाले सुने । त्‍यसैले, ऊ सेनाको किल्लाभित्र प्रवेश गरी पावललाई त्‍यो कुरा बताइदियो ।

[17] पावलले सेनाहरूमध्‍ये एक जना कप्‍तानलाई बोलाएर भने, “यो जवान केटालाई मुख्य कप्‍तानकहाँ लगिदिनुहोस्, किनभने उसँग उहाँलाई भन्‍ने केही कुरा छ ।”

[18] त्‍यसैले, उनले जवान केटोलाई मुख्य कप्‍तानकहाँ लगे, र उनले भने, “कैदी पावलले मलाई बोलाए, र यो केटोलाई तपाईंकहाँ लैजान भने । उसँग तपाईंलाई भन्‍ने केही कुरा छ ।”

[19] मुख्य कप्‍तानले त्‍यो केटोलाई हातले समातेर गोप्य ठाउँमा लगेर उसलाई सोधे, “तिमीले मलाई के भन्‍नु छ ?”

[20] त्‍यो जवान मानिसले भन्‍यो, “तिनीहरूले उनको मुद्दालाई अझ ठिकसँग सोधपुछ गर्ने गरी ती यहूदीहरूले भोलि पावललाई तल परिषद्‌मा ल्याउनका लागि तपाईंलाई अनुरोध गर्न सहमत भएका छन् ।

[21] तर पावललाई उनीहरूको हातमा नसुम्पनुहोस्, किनभने त्‍यहाँ चालीस भन्‍दा बढी मानिस उनलाई मार्न पर्खेर बसिरहेका छन् । उनीहरूले पावललाई नमारेसम्म खाना पनि नखाने र केही पनि नपिउने भनी भाकल गरेका छन् ।”

[22] त्‍यसैले, प्रमुख कप्‍तानले त्‍यो जवान मानिसलाई यस्तो निर्देशन दिएर जान दिए, “तिमीले मलाई भनेका यी कुराहरू अरू कसैलाई पनि नभन्‍नू ।”

[23] त्‍यसपछि तिनले दुई जना कप्‍तानलाई बोलाए, र भने, “कैसरियासम्म जानको लागि दुई सय जना सिपाही, सत्तरी जना घोडचढी र दुई सय जना भालाधारी सिपाही तयार पार । तिमीहरू रातको तेस्रो पहरमा हिडँनुपर्नेछ ।”

[24] अनि उनले पावलले चढ्न सक्‍ने जनावरहरू उपलब्ध गराउन र उनलाई शासक फेलिक्सकहाँ सुरक्षित पुर्‍याउनलाई आज्ञा गरे ।

[25] त्‍यसपछि उनले यस्तो चिट्ठी लेखे ।

[26] “क्लाउडियस लुसियसबाट, माननीय राज्‍यपाल फेलिक्सलाई अभिवादन ।

[27] यी मानिस यहूदीहरूबाट पक्रिएका थिए र तिनीहरूले यिनलाई मार्नै लागेका थिए । जब मैले सैन्‍यदलसहित गएर यी मानिसको उद्धार गरें, त्‍यसपछि तिनी रोमी नागरिक रहेछन् भन्‍ने कुरा थाहा पाएँ ।

[28] यिनीहरूले यी मानिसलाई किन दोष लगाएका रहेछन् भनी जान्‍नको लागि मैले तिनलाई तिनीहरूको परिषद्‌मा ल्याएँ ।

[29] मैले थाहा पाएँ, कि उनीहरूले उनीहरूको आफ्नै व्यवस्थाको विरुद्धमा यी मानिसलाई दोष लगाएका रहेछन् । तर मृत्‍युदण्ड दिनुपर्ने वा झ्यालखानामा हाल्नुपर्ने तिनको विरुद्धमा त्‍यस्तो कसुर भएको मैले देखिनँ ।

[30] र मलाई यो पनि जानकारी गराइयो, कि त्‍यहाँ यी मानिसलाई मार्नको लागि षड्‌यन्‍त्र गरिएको थियो । त्‍यसकारण, मैले तुरुन्‍तै यी मानिसलाई तपाईं समक्ष पठाइदिएको छु, र दोष लगाउने मानिसहरूलाई पनि यिनको विरुद्धमा जे-जे छ तपाईंकै उपस्थितिमा राख्‍नू भनी निर्देशन दिएको छु । बिदा !”

[31] यसरी सिपाहीहरूले तिनीहरूलाई दिइएको आज्ञाअनुसार पावललाई लगे, र उनलाई सोही रात एन्टिपाट्रिस ल्याए ।

[32] अर्को दिन धेरैजसो सिपाहीहरूले पावललाई घोडचढीहरूसँग छोडेर उनीहरूचाहिँ सैन्‍य किल्लामा फर्के ।

[33] जब घोडचढीहरू कैसरिया पुगे, र तिनीहरूले शासकलाई पत्र हस्तान्‍तरण गरे, तिनीहरूले पावललाई पनि तिनीकहाँ बुझाए ।

[34] जब शासकले चिट्ठी पढे, उनले पावल कुन प्रान्‍तबाट आएका हुन् भनी सोधे । तिनी किलिकियाबाट आएको कुरा थाहा पाएर

[35] उनले भने, “तिमीलाई दोष लगाउने मानिसहरू आएपछि म पूर्ण रूपमा तिम्रो कुरा सुन्‍नेछु ।” तब उनले पावललाई हेरोदको दरबारमा राख्‍ने आज्ञा गरे ।

प्रेरितहरूका काम — Chapters