Skip to content
Opens in a new window
Listen to this chapter • 5:30

[1] अपोलोस कोरिन्‍थमा भएको बेला पावल माथिल्लो भूभागको बाटोहुँदै एफिसस सहर आइपुगे र त्‍यहाँ कतिपय चेलाहरूलाई भेटे ।

[2] पावलले तिनीहरूलाई सोधे, “के तिमीहरूले विश्‍वास गर्दा पवित्र आत्मा पायौ त ?” तर तिनीहरूले उनलाई भने, “होइन, हामीले त पवित्र आत्माको बारेमा अहिलेसम्म सुनेका समेत छैनौं ।”

[3] पावलले भने, “त्‍यसो भए तिमीहरूले केमा बप्‍तिस्मा लियौ त ?” तिनीहरूले भने, “यूहन्‍नाको बप्‍तिस्मामा ।”

[4] त्‍यसैले पावलले जवाफ दिए, “यूहन्‍नाले दिने बप्‍तिस्माचाहिँ पश्चातापको हो । उनले मानिसहरूलाई भनेका थिए कि उनीहरूले तिनी भन्‍दा पछि आउनुहुनेमाथि अर्थात् येशूमाथि विश्‍वास गर्नुपर्छ ।”

[5] मानिसहरूले त्‍यो कुरा सुनेपछि उनीहरूले प्रभु येशूको नाउँमा बप्‍तिस्मा लिए ।

[6] त्‍यसपछि पावलले उनीहरूमाथि हात राखे र पवित्र आत्मा उनीहरूमाथि आउनुभयो अनि उनीहरूले अन्‍यभाषाहरूमा बोले र अगमवाणी गरे ।

[7] उनीहरू जम्मा बाह्र जना जति मानिसहरू थिए ।

[8] पावलले सभाघरमा गएर साहससाथ प्रचार गर्दै तीन महिना बिताए । उनले परमेश्‍वरको राज्‍यको बारेमा मानिसहरूसँग बहस गरे र विश्‍वास दिलाए ।

[9] तर केही यहूदीहरूले हृदय कठोर पारे र अनाज्ञाकारी भए, अनि तिनीहरूले ख्रीष्‍टको मार्गको विरुद्धमा भीडहरूका सामु दुष्‍ट कुरा बोल्न थाले । यसकारण पावलले उनीहरूलाई छोडे र विश्‍वासीहरूलाई लिएर त्‍यहाँबाट गए । उनले टुरान्‍नसको प्रवचन कक्षमा हरेक दिन बोल्न थाले ।

[10] यो प्रक्रिया दुई वर्षसम्म चल्यो र यसरी एसियामा भएका यहूदी र ग्रीकहरू दुवैले प्रभुको वचन सुने ।

[11] पावलको हातबाट परमेश्‍वरले महान् कामहरू गर्नुभयो ।

[12] पावलको शरीरमा रुमाल र कपडालाई छुवाएर लगेर बिरामीहरूलाई छुवाइदिँदा समेत तिनीहरू निको भए र दुष्‍ट आत्माहरू तिनीहरूका शरीरबाट निस्केर गए ।

[13] तर त्‍यस इलाकामा येशूको नाउँलाई आफू अनुकुल प्रयोग गर्ने केही यहूदी झारफूक गर्नेहरू पनि थिए । तिनीहरूले भूतात्मा लागेकाहरूलाई यसो भन्‍ने गर्थे, “पावलले प्रचार गरेको येशूको नाउँमा निक्ली जान म तँलाई आज्ञा गर्छु ।”

[14] त्‍यस्तो गर्नेमा एक जना यहूदी प्रधान पूजाहारी स्केवाका सातजना छोराहरू थिए ।

[15] एउटा दुष्‍ट आत्माले तिनीहरूलाई यसो भनेर जवाफ दियो, “येशूलाई म चिन्‍छु; पावललाई पनि चिन्‍छु, तर तँचाहिँ को होस् ?”

[16] त्‍यो दुष्‍ट आत्मा लागेको मानिस तिनीहरूमाथि झम्ट्‌यो र तिनीहरूलाई लछारपछार गरेर पिट्‌यो । तब तिनीहरू त्‍यस घरबाट नाङ्‌गै र घाइते भएर भागे ।

[17] एफिससमा बस्‍ने यहूदी र ग्रीक सबै विश्‍वासीहरूलाई यो कुरा थाहा भयो । यसले गर्दा उनीहरूमा ठूलो भय उत्त्पन्‍न भयो अनि प्रभु येशूको नाउँको महिमा भयो ।

[18] साथै धेरै विश्‍वासीहरू आएर आफूले गरेका दुष्‍ट कामहरू स्वीकार गरे ।

[19] टुनामुना गर्नेहरू धेरै जनाले आफ्ना पुस्तकहरू ल्याई सबैको सामुन्‍ने जलाए । तिनीहरूले यी सबैको मूल्याङ्‌कन गर्दा पचास हजार चाँदीका सिक्‍का बराबर भयो ।

[20] यसरी प्रभुको वचन धेरै शक्तिशाली रूपमा फैलियो ।

[21] अब पावलले एफिससमा अफ्नो सेवा-कार्य पुरा गरिसकेपछि पवित्र आत्माको अगुवाइमा उनले माकेडोनिया र अखैया हुँदै यरूशलेमतर्फ जाने निर्णय गरे । उनले भने, “यरूशलेम पुगेपछि म रोममा पनि जानै पर्छ ।”

[22] पावलले आफ्ना दुई जना चेलाहरू तिमोथी र इरास्तसलाई माकेडोनिया पठाए जसले उनलाई सहयोग गरेका थिए । तर पावल आफैचाहिँ केही समय एसियामै बसे ।

[23] त्‍यसैबेला एफिससमा यो मार्गको विषयमा ठूलो खैलाबैला मच्‍चियो ।

[24] डायनाको चाँदीका मूर्तिहरू बनाउने चाँदीका सिल्पकार डेमेत्रियसले कारीगरहरूलाई धेरै व्यापार जुटाइदिन्‍थे ।

[25] त्‍यसैकारण ती मानिसहरूलाई भेला गरेर तिनले भने, “साथीहरू, यो व्यापारबाट हामीले धेरै पैसा कमाइरहेका छौं ।

[26] तर तपाईंहरूले देख्दै र सुन्‍दै हुनुहुन्‍छ कि एफिससमा मात्र नभएर एसियामा भएका सबै ठाउँहरूमा पावलले कसरी धेरै मानिसहरूलाई यी कुराहरूबाट फर्काएको छ । उसले हातले बनाएका कुराहरूलाई ईश्‍वरहरू होइनन् भनिरहेछ ।

[27] त्‍यसले गर्दा हाम्रो व्यापारमा नोक्सानी हुने मात्र होइन तर हाम्री महान् देवी डायनाको मन्‍दिर र तिनीप्रति मानिसहरूको आस्था पनि अब एसिया र संसारबाटै हराउनेछ ।”

[28] यो कुरा सुनेपछि, तिनीहरू रिसाएर यसो भन्‍दै चिच्‍याए, “एफिसीहरूकी देवी डायना महान् छिन् !”

[29] यसरी सहरका सबै मानिसहरू अलमलमा परे । अनि पावलसँग माकेडोनियाबाट यात्रा गरी आएका गायस र अरिस्तार्खसलाई लिएर तिनीहरू सबै रङ्‌गशालाभित्र दौडे ।

[30] पावल पनि त्‍यस भीडमा जान चाहन्‍थे, तर चेलाहरूले उनलाई रोके ।

[31] साथै कतिपय स्थानीय अधिकारीहरू जो पावलका मित्र थिए तिनीहरूले उनलाई त्‍यस भीडमा नआउन अनुरोध गर्दै खबर पठाए ।

[32] केही मानिसहरू एउटा कुरा भन्‍दै थिए भने अरूले चाहिँ अर्कै कुरा गर्थे, कारण भीडका मानिसहरू अलमलमा थिए । धेरै मानिसहरूलाई त तिनीहरू त्‍यहाँ किन भेला भएका थिए भन्‍ने कुरा समेत थाहा थिएन ।

[33] यहूदीहरूले एलेक्जेन्डरलाई भीडको पंक्तिमा ल्याए र तिनले आफ्ना हातद्वारा इशारा गरेर भीडलाई केही कुरा बुझाउन बोल्न लागे ।

[34] तर जब तिनीहरूले अलेक्जेन्डर पनि यहूदी हुन् भन्‍ने थाहा पाए, तब तिनीहरू सबैले एउटै स्वरमा दुई घण्टासम्म “एफिसीहरूकी देवी डायना महान् छिन् !” भन्‍दै चिच्‍याए ।

[35] तब नगर-सचिवले भीडलाई शान्‍त गराएर भने, “एफिससका मानिसहरू हो ! एफिसीहरूको सहर महान् डायनाको मन्‍दिर र आकाशबाट खसेको तिनको मूर्तिको रक्षक हो भन्‍ने कुरा कसलाई थाहा छैन र ?

[36] यसरी यी कुराहरूलाई इन्कार गर्न सकिँदैन, यसकारण तपाईंहरू शान्‍त रहनुपर्छ र हतारमा केही गर्नु हुँदैन ।

[37] किनकि तपाईंहरूले ल्याएका यी मानिसहरूले न त मन्‍दिर लुटेका छन् न त हाम्री देवीको विरुद्धमा ईश्‍वरनिन्‍दा नै गरेका छन् ।

[38] त्‍यसकारण, डेमेत्रियस र उसका कारीगरहरूसँग कसैको विरुद्धमा केही भएमा अदालतहरू खुल्ला छन् र त्‍यहाँ न्‍यायाधीशहरू छन् । त्‍यहाँ तिनीहरूले उजुरी देऊन् ।

[39] तर यदि अरू कुराहरू भएमा नियमित सभामा निर्णय लिइने छ ।

[40] किनभने आजको यस खैलाबैलाको दोष हामीलाई लाग्‍ने खतरा छ । यो बिनाकारणको हो र यसको व्याख्या गर्न हामी सक्दैनौं ।”

[41] यति भनेपछि उनले सभालाई विसर्जन गरे ।

प्रेरितहरूका काम — Chapters