[1] पाँच दिनपछि, प्रधान पूजाहारी हननिया, केही एल्डरहरू र तर्तुलस नाउँ गरेका कुशलवक्ता त्यहाँ गए । यी मानिसहरूले शासककहाँ पावलको विरुद्धमा दोष लगाए ।
[2] जब पावल शासकका अगाडि उभिए, ततुर्लसले तिनलाई दोष लगाउन थाल्यो र शासकलाई भन्यो, “तपाईंको कारणले हामीलाई ठूलो शान्ति मिलेको छ; तपाईंको दूरदृष्टिले हाम्रो देशमा असल सुधार ल्याउँछ ।
[3] त्यसकारण अतिउच्च फेलिक्स, सबै धन्यवादका साथ तपाईंले गर्नुभएको हरेक कुरालाई हामी स्वागत गर्छौं ।
[4] त्यसैले म तपाईंको अझ बढी समय नलिकन, मेरो कुरा छोटकरीमा दया गरी सुनिदिनलाई आग्रह गर्छु ।
[5] किनभने हामीले यस मानिसलाई दुःख दिने र सारा संसारभरिका यहूदीहरूलाई विद्रोह गर्न लगाउने व्यक्तिको रूपमा पाएका छौं । ऊ नाजरी सम्प्रदायको एउटा अगुवा हो ।
[6] उसले मन्दिरलाई अशुद्ध पार्न पनि प्रयास गर्यो, त्यसैले उसलाई हामीले पक्र्यौं ।
[7] तर जब सैनिक अधिकृत आइपुगे, तिनले पावललाई हाम्रो हातबाट बलजफ्ति गरेर खोसेर लगे ।
[8] जब तपाईंले यी सबै कुराहरू बारे पावललाई प्रश्न गर्नुहुन्छ, हामीले उसलाई दोष लगाएको कुराको बारेमा तपाईं आफैले थाहा पाउनुहुनेछ ।
[9] यहूदीहरूले पनि एकैसाथ पावललाई दोष लगाए र यी कुराहरू सत्य हुन् भने ।
[10] तर जब शासकले पावललाई बोल्नका लागि इशारा गरे, पावलले जवाफ दिए, “म बुझ्छु कि तपाईं यस जातिको निम्ति धेरै वर्षदेखि न्यायकर्ता हुनुभएको छ, र यसैले म आफैलाई तपाईंको सामु खुसीसाथ बयान गर्छु ।”
[11] तपाईं आफैले प्रमाणित गर्न सक्नु हुन्छ कि म यरूशलेममा आराधना गर्न गएको बाह्र दिन भन्दा बढी भएको छैन ।
[12] र जब तिनीहरूले मलाई मन्दिरमा भेट्टाए, मैले कसैसँग विवाद गरिनँ, र मैले सभाघरहरू वा सहरहरूमा भीडलाई उक्साइनँ ।
[13] र तिनीहरूले मेरो विरुद्धमा जुन दोष लगाएका छन् त्यो तपाईंको अगाडि अहिले प्रमाणित गर्न सक्दैनन् ।
[14] तर तपाईंसँग म यो स्वीकार गर्छु कि तिनीहरूले पन्थ भन्ने गरेको मार्गअनुसार नै म मेरा पुर्खाहरूका परमेश्वरको सेवा गर्छु । व्यवस्थामा भएका सबै कुराप्रति र अगमवक्ताहरूले लेखेका पुस्तकहरूप्रति म विश्वासयोग्य छु ।
[15] यी मानिसहरूले दुवै धर्मी र अधर्मी मृतकहरूको पुनरुत्थानको प्रतीक्षा गरे जस्तै, परमेश्वरमा मेरो पनि त्यस्तै दृढ विश्वास छ ।
[16] र यसमा नै परमेश्वर र मानिसहरूको सामु सबै कुराहरूद्वारा दोषरहितको विवेक पाउन म काम गर्छु ।
[17] अहिले धेरै वर्षपछि म यहाँ मेरो जातिलाई सहायता र पैसाको उपहारहरू ल्याउन आएँ ।
[18] जब मैले यो गरें, एसियाका केही यहूदीहरूले मलाई शुद्धिकरणको समारोहमा मन्दिरमा भेट्टाए, जहाँ कुनै भीडभाड वा होहल्ला थिएन ।
[19] ती मानिसहरू अहिले तपाईंको अगाडि हुनुपर्दथ्यो । अनि यदि मेरो विरुद्धमा तिनीहरूको केही थियो भने भन्नुपर्दथ्यो ।
[20] नत्र भने म यहूदी परिषदअगि खडा हुँदा तिनीहरूले ममा के गल्ती भेट्टाए, यिनै मानिसहरूले भन्नुपर्छ ।
[21] मैले उनीहरूको माझमा खडा भएर ठूलो स्वरमा यतिमात्र भनेर कराएको थिएँ, ‘मृतकहरूको पुनरुत्थानको विषयले नै आज तपाईंद्वारा मेरो इन्साफ गरिँदैछ ।”
[22] फेलिक्स यो मार्गको बारेमा जानकार थिए, त्यसैले उनले यहूदीहरूलाई पर्खन लगाए । तिनले भने “यरूशलेमबाट सेनापति लुसियस तल आएपछि म तिमीहरूको मुद्दा फैसला गर्नेछु ।”
[23] त्यसपछि उनले कप्तानलाई पावललाई पहरा दिने आज्ञा दिए, तर उनीसँग कोमलता साथ व्यवहार गर र कसैले उनका कुनै पनि साथीहरूलाई सहायता गर्न वा भेटघाट गर्न नरोक्नू भनी आदेश दिए ।
[24] केही दिनपछि, फेलिक्स आफ्नी श्रीमती द्रुसिल्लासँग फर्के, तिनी यहूदी थिईन्, अनि उनले पावललाई बोलाए, र उनबाट ख्रीष्ट येशूप्रतिको विश्वासको बारेमा सुने ।
[25] तर जब पावलले उनलाई धार्मिकता, संयमता र आउँदै गरेको न्यायको बारे उनीसँग बहस गरे, फेलिक्स भयभीत भए; अनि उनले जवाफ दिए, “अहिलेलाई जाऊ, तर जहिले मलाई फेरि समय मिल्छ, म तिमीलाई बोलाउनेछु ।”
[26] त्यही समयमा, पावलले तिनलाई पैसा दिन्छन् कि भनी तिनले आशा गरिरहेका थिए, त्यसैले तिनले पावललाई प्रायः बोलाउँथे र तिनीसँग कुरा गर्दथे ।
[27] तर जब दुई वर्ष बित्यो, फेलिक्सपछि पर्सिअस फेस्तस शासक बने, तर फेलिक्सले यहूदीहरूको समर्थन प्राप्त गर्न चाहन्थे, त्यसैले उनले पावललाई निरन्तर पहरामा नै छोडिराखे ।